मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

जाजरकोट : जाजरकोटमा आमाछोरी एकैपटक स्थायी जागिरे भएका छन्। भेरी नगरपालिका–२ रिसाङ निवासी आमा निर्मला खड्का (कार्की) र छोरी श्रष्टा कार्कीले एकैपटक सरकारी जागिरमा नाम निकालेका हुन्। आमाछोरी एकैसाथ स्थायी जागिरे भएका छन्।    आमाभन्दा २१ वर्ष कान्छी छोरीले लोक सेवा आयोग कर्णाली प्रदेशबाट असिस्टेन्ट सबइन्जिनियर पदमा गत पुस २० गते स्थायी नियुक्ति लिएर मुसीकोट नगरपालिका रुकुमपश्चिममा सेवा सुरु गरेकी छन्।  आमा निर्मलाले भने शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन्। उनले नियुक्ति भने लिइसकेकी छैनन्। आमाभन्दा अगाडि नै छोरीले स्थायी सेवा आरम्भ गरेकी हुन्।    २०३९ जेठ २३ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका कोटजहारीमा जन्मिएकी निर्मलाको २०५९ सालमा जाजरकोट भेरी–२ रिसाङ निवासी महादेव कार्कीसँग विवाह भयो। २०६२ सालमा गाउँकै त्रिभुवन निमाविमा अंग्रेजी विषयमा राहत दरबन्दीमा लामो समय काम गरेकी उनको अथक प्रयासपछि उमेर हदको अन्तिम अवस्थामा स्थायी शिक्षकमा नाम निस्किएको हो। ‘लामो समयको अथक प्रयासपछि सफलता मिल्यो। खुसी लागेको छ। आफू ठुलो पदमा पुग्न नसके पनि छोरीले पहिलो प्रयासमै सफलता प्राप्त गरिन्। यसैमा सन्तुष्ट छु’, निर्मलाले भनिन्।   छोरी श्रष्टाले भने पहिलो प्रयासमै लोक सेवा पास गरेकी हुन्। सदरमुकाम खलंगास्थित त्रिभुवन माविबाट २०७५ सालमा एसईई गरेकी उनले शंखरापुर वहुप्राविधिक शिक्षालय शाँखु काठमाडौंबाट गत वर्ष डिप्लोमा इन सिभिल इन्जिनियर पास गरिन्। सानै उमेरमा पढाइमा निकै रुची राख्ने उनले १९ वर्षको उमेरमै लोक सेवा पास गरेकी हुन्। भन्छिन्, ‘एक वर्ष जति तयारी गरेकी हुँ। पहिलो प्रयासमै सफल भएँ। खुसी छु। जागिर खाए पनि सिभिल इन्जिनियरको पढाइ पनि सँगसँगै लैजाने उनको योजना छ।’ उनले आमाले स्थायी जागिरमा नाम निमालेको खुसी भएको बताइन् ।

काठमाडौं : चीनले नेपाललाई पनि पर्यटक गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ। सन् २०१९ को कोभिड कहरपछि पहिलो पटक चीनले औपचारिक रूपमा नेपालमा पर्यटक गन्तव्य मुलुकमा समावेश गरेको हो।    चैत्र १ गते अर्थात् मार्च १५ बाट चिनियाँ पर्यटक घुम्ने देशमा नेपाललाई पनि राखिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले जानकारी दिए। चिनियाँ पर्यटन मन्त्रालयले अप्रुभड डेस्टिनेसन स्ट्याटस (एडीएस) दिएको पछिल्लो २० देशमा नेपाल पनि परेको छ। यसअघि २०२३ जनवरीमा पनि चिनियाँ मन्त्रालयले एडीएसमा २० देशको नाम सार्वजनिक गरेको थियो। तर, नेपालको नाम थिएन।    त्यसपछि बोर्डले चिनियाँ राजदूतावासलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो। बोर्ड र पर्यटन व्यवसायीको पहलले चीनको गन्तव्य मुलुकमा नेपाल पर्न सफल भएको प्रवक्ता लामिछानेले सुनाए।    चीनको एडीएसमा नेपाल परेपछि मार्च महिनाबाट नै चिनियाँ पर्यटकको संख्या बढ्ने अपेक्षा व्यवसायीको छ। सन् २०२३ को जनवरीमा १ हजार ४ सय ३६ र फेबु्रअरीमा २ हजार २ सय २२ चिनियाँ नेपाल घुम्न आएका छन्। सन् २०१९ को भन्दा करिब ७५ प्रतिशत र अब मार्चमा करिब ८५ प्रतिशतले पर्यटन क्षेत्र सुध्रिने आकलन गरिएको छ। फेब्रुअरीमा नेपाल आउने पर्यटको सूचीमा चीन सातौं स्थानमा परेको छ।    पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रमा चीनको लगानी पनि बढिरहेको छ। सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा पनि चीनको लगानी छ। चिनियाँ पर्यटक लक्षित धेरै व्यापार–व्यवसाय पनि सञ्चालनमा आएका छन्। बोर्डका अनुसार करिब पाँच सय होटल तथा रेस्टुँरा चिनियाँ पर्यटक लक्षित खुलेका छन्। काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत सांस्कृतिक पर्यटनसँगै प्याराग्लाइडिङ, छोटो दूरीका पदयात्रामा चिनियाँ पर्यटक रमाउँछन्।    चीनका धेरै सहरमा नेपालबाट सिधा उडानले पनि पर्यटक बढाउन सघाउने व्यवसायी बताउँछन्। अहिले हिमालय एयरलाइन्सले चीनको बेइजिङ, चोङकिङ र कुनमिङमा सिधा उडान गरिहेको छ। 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बिहान प्रचण्डलाई भेट्न  प्रदेश प्रमुख पुगेका हुन्।   भेटमा उनीहरुले प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याका समाधान गर्न प्रयत्न गर्ने आश्वासन दिएका छन्।   नेपालको संविधानमा प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ। 

म्याग्दी:  म्याग्दीको बेनी नगरपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपियाँ पुरस्कार दिने भएको छ ।   नगर कार्यपालिकाको बैठकले नगरपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।   नगरको प्रतीक चिह्न (लोगो) बनाउन सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र लोगो तयार पारेर नगरमा पठाउन सूचनामार्फत अनुरोध गरेको छ ।   लोगो निर्माण गर्दा बेनी नगरको नाम, पहिचान र नेपालको झण्डा अनिवार्य हुनुपर्ने तथा कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।   सूचनामा प्रकाशित भएको मितिले १५ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत नगर कार्यपालिकाको कार्यालयमा पठाउनुपर्ने नगरपालिकाले जनाएको छ ।   नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले छनाेट समितिले उत्कृष्ट लोगो चयन गर्ने र छनाेटमा परेका डिजाइनकर्तालाई कदरपत्रले सम्मान गरिने बताउनुभयो ।

काठमाडौं:    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

पोखरा:    मखमलको जुत्ता बनाउने १५ दिने तालिम मंगलबार सम्पन्न भएको छ । नेवाः मिस पुच कास्कीको आयोजना, नेवाः खल कास्की, नेवाः ल्याम्ह पुच कास्कीको सहआयोजना तथा पोखरा महनगरपालिका वडा ९ र सिटिइभिटीको सहयोगमा सञ्चालित तालिम सम्पन्न भएको हो । २५ जना प्रशिक्षार्थी सहभागी भएको तालिम फागुन १५ गते बाट ३० गते सम्म नेवाः छे भिमसेन टोलमा भएको थियो । तालिमको प्रशिक्षकको रुपमा सृजनशील महिला समुह तथा सिप बिकास केन्द्र काठमाडौंका अध्यक्ष दिपा शाक्य रहेकी थिइन् । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री सिता सुन्दासले तालिमले नेवारी दिदी बहिनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन् । उनले संस्थाले महिला सशक्तिकरणमा गरेको कामको प्रशंसा गरिन् । प्रदेश सरकारले पनि स्थानीय उत्पादन सँगै महिला सशक्तिकरणलाई जोड दिइको उनको भनाई थियो ।  नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खलको उद्देश्य भाषा, संस्कृति सँगै सिपको बिकास गर्ने योजना अनुसार तालिम आयोजना गरिएको बताए । नेवाः मिस पुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले सिपले महिलाहरुमा आर्थिक उत्पादनमा सहयोग पुग्ने बताइन् । कार्यक्रम संयोजक सोनी ढेवाजुले चुलो चौकोमा मात्र सीमित महिलाहरुको लागि सिपयुक्त तालिमले जिबिकोपार्जनमा सहयोग पुग्ने बताइन् । कार्यक्रममा ल्याम्ह पुच कास्कीका अध्यक्ष मधुसुदन जोशी, सिटिइभिटी अन्नपूर्ण प्रमुख मोतिमाया भुजेल, वडा नं. ९ का वडा सदस्य भवना श्रेष्ठ, नेवाः पत्रकार मञ्चका अध्यक्ष सञ्जयकुमार मल्ल, सिटिवान टेलिभिजनका निर्देशक अनिशा श्रेष्ठ, प्रशिक्षार्थी अम्बिका मुल्मी लगायतले बोलेका थिए ।

पोखराको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दातको परिक्षण गरेका थिए । परिक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ । मंगलबार भएको कार्यक्रममा स्वास्थ्य परिक्षण गर्ने आउने विरामीलाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका विरामीहरुमा जटिल समस्या देखिएमा शिविरको विरामी पूर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त विरामीलाई छुट ब्यवस्था गरेको अस्पतालले जनाएको छ । अस्पतालले विभिन्न संघ संस्थाहरुको समन्वयमा वर्षमा सय स्वास्थ्य शिविर गर्ने योजाना अन्तर्गत प्रतिभा स्कुलमा ११औ कार्यक्रम गरिएको अस्पतालका सहायक बजार ब्यवस्थापक खिम बहादुर लामिछानेले बताए । स्कूलका विद्यार्थी र शिक्षकहरूको मौखिक स्वास्थ्य सुधार गर्ने शिविरले सहयोग पुर्याउने व्यवस्थापक लामिछानेले जानकारी दिए । शिविरले मौखिक स्वास्थ्यको बारेमा चेतना जगाउने मात्रै नभएर समुदायको समग्र कल्याणमा पनि योगदान हुने लामिछानेको भनाइ छ ।

उपराष्ट्रपति पदका उम्मेदवार तथा जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग भेटवार्ता गरेका छन्।   जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार चौधरीलाई उम्मेदवार यादवले आज भेटेका हुन्।   सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उमेदवार यादवले उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न चौधरीसँग आग्रह गरेका छन्।   चौधरीले आफूहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका सांसद प्रदीप यादवले बताए।   'रेशमजीले हाम्रो उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई यसबारे भन्छु भन्नुभएको छ,' उनले भने।   जनमत पार्टी, नागरिक उन्मुक्ति र लोसपाले सहकार्य गर्ने भन्दै गठबन्धनसमेत गरेका थिए।   जनमतले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाएको छ।   यसैबीच उपराष्ट्रपतिका उमेदवार यादवले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि भेटेका छन्।   महतोले यसबारे पार्टीमा छलफल गरिने जवाफ दिएको सांसद प्रदीपले बताए। यही चैत ३ मा उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ।   नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव, जनमतलगायत दलबाट ममता झा उपराष्ट्रपति पदका लागि उम्मेदवार छन्।

काठमाडौं:  यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (मङ्गलबार) भने सामान्य अङ्कको सुधार देखिएको छ ।   आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ०६ अङ्कमा कायम भएको छ ।   आज दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ हजार एक सय आठ कित्ता शेयर २६ हजार चार सय ७३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ ।   आज बैंङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह तीन दशमलव ९५, उत्पादन तथा व्यापार समूह २३ दशमलव ३८, लघुवित्त समूह १४ दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव ०३ र व्यापार समूह ५० दशमलव ३७ अङ्कले घटेको नेप्सेले जनाएको छ ।   आज जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६१ अङ्कले बढेको छ भने विकास बैंक समूह १२ दशमलव ८८ अङ्कले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूह १९ दशमलव ९५, जलविद्युत् समूह १८ दशमलव ९५, लगानी समूह शून्य दशमलव ४४, जीवन बीमा समूह ६ दशमलव ८८ र अन्य समूह ६ दशमलव २१ अङ्कले बढेको छ ।   आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एशिया ब्यालेन्स फन्डको शेयर मूल्य प्रतिकित्ता पाँच दशमलव ६४ प्रतिशतले घटेको छ ।   कारोबार रकम र शेयर सङ्ख्याका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै रू १० करोड ४८ लाख २४ हजार एक सय २५ बराबरको एक लाख ३६ हजार सात सय ३३ कित्ता शेयर किनबेच भएको छ ।