रुकुम पश्चिम: रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खरखरे डाँडामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बस्ने अन्दाजी ७९ वर्षीया धनी वलीको मृत्यु भएको हो । प्रदेश ३–०२–००१ ब ८५७ नम्बरको मोटरसाइकलले हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा गएराति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरासी: नेपाली इतिहासको पहिलो राजनैतिक पार्टी प्रजा परिषद्का अध्यक्ष टङ्कप्रसाद आचार्यको नवलपरासी स्थित जन्म घरलाई संग्राहलय बनाइने भएको छ । राणा शासन विरुद्धका प्रजातान्त्रिक योद्धा एवं पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको परासी स्थित जन्म घरलाई लुम्बिनी प्रदेश सरकारले संग्राहलय बनाउनका लागि लुम्बिनी प्रदेशबाट ५० लाख रुपियाँ रकम विनियोजन गरेको टङ्क प्रसाद आचार्य प्रतिष्ठानका सदस्य एवं प्रदेश सरकारका पुर्वमन्त्री बैजनाथ चौधरीले बताउनु भयो । पूर्व प्रधानमन्त्री टङ्क प्रसाद आचार्यले राणा शासन विरुद्ध सङ्घर्ष गर्नका लागि विक्रम सम्बत १९९३ मा प्रजा परिषद नामको नेपालको पहिलो राजनैतिक पार्टी गठन गर्नु भएको थियो । पूर्व प्रधानमन्त्री आचार्य नेपालको राजनैतिक इतिहासमा छोटो अवधिको पार्टी भए पनि राणा शासनको अन्त्यका लागि गरिएको सङ्घर्षको आधारशिला थियो । नेपाली राजनैतिक इतिहासमा नेपाल प्रजापरिषद पहिलो राजनैतिक पार्टी थियो जसका संस्थापक अध्यक्ष आचार्य हुन् हुन्थ्यो । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित आचार्य जन्मेको घर अहिले जिर्ण अवस्थामा रहेको भए छ भने यो इतिहासको सम्मानका लागि आचार्यको नवलपरासीको जिल्ला मालपोत कार्यालय परिषरमा रहेको जन्म घरलाई टङ्क प्रसाद आचार्यको संग्राहलय बनाउने योजनामा काम अघि बढेको लुम्बिनी प्रदेश पुर्वमन्त्री एवं प्रतिष्ठानका सदस्य चौधरीले बताउनु भएको छ । प्रजातान्त्रिक आन्दोलनका अभियन्ता स्वर्गीय टङ्कप्रसाद आचार्य जन्मेको घरलाई पुरातात्त्विक स्मारकको रूपमा संरक्षण गर्नका लागि दुई वर्ष पहिला प्रदेश सरकारले बजेट विनियोजन गरे पनि रामग्राम नगरपालिकाले समयमा काम नगरे पछि संरक्षणको काम अलपत्र परेको थियो । प्रजातान्त्रिक आन्दोलनका अगुवा टङ्कप्रसाद आचार्यको जन्म विक्रम सम्बद्ध १९६९ मङ्सिर १७ गते नवलपरासीको सदरमुकाम परासीमा भएको थियो । वहाँका बुवा परासी अड्डामा जागिरे भएको बेलामा टङ्क प्रसाद आचार्यको जन्म परासी मालपोत कार्यालय परिषरमा रहेको घरमा भएको थियो । उक्त भवनलाई ऐतिहासिक स्मारकको रूपमा विकास गरिने गरी प्रदेश सरकारले योजना बनाएको पुर्वमन्त्री चौधरीले बताउनु भयाे । आर्थिक वर्ष २०७७-०७८ मा लुम्बिनी प्रदेश सरकारले सो स्मारकको जीर्णोद्धारका लागि सशर्त अनुदानका रूपमा भनेर रामग्राम नगरपालिकालाई ५० लाख रकम उपलब्ध गराएको भए पनि नगरपालिकाले समयमा काम नगरेका कारण उक्त भवनको जीर्णोद्धार हुन सकेको थिएन । टङ्क प्रसाद आचार्य प्रतिष्ठान, लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिकाको सहकार्यमा टङ्क प्रसाद आचार्यको जन्म घरलाई संग्राहलय बनाउने योजना बनाइएको रामग्राम नगरपालिका प्रमुख धनपत यादवले बताउनु भयो । राणा शासनको विरोधमा चेतना फैलाए बापत राणा सरकारले धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दलाई फासी दिएका थिए भने ब्राह्मण परिवारका भएकाले रामहरि शर्मा र टङ्क प्रसाद आचार्यलाई आजीवन कारावासको सजाय सुनाएका थिए । आचार्यका बुवा राणा सरकार कै कर्मचारी गर्ने भए पनि टङ्क प्रसादले राणाको कार्य प्रति विरोध गर्ने गर्नु भएको थियो ।
दमक: झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुइवटा ट्रक एकआपसमा ठक्कर भएको थियो । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा शुक्रबार विहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । पश्चिम बाट पुर्व जादै गरेको ना ६ ख ८८९५ नम्वरको मालवाहक ट्रक लाई सोहि दिशातर्फ जादै गरेकोे ना ३ ख ८३११ नम्वर ट्रकले ठक्कर दिइएको जनाइएको छ। ठक्कर दिने ट्रकका चालक ईटहरी उपमहानगरपालिका बकलौरी निवासी वर्ष ३५ का मदन चौधरीको र पहिचान नखुलेका सह चालकको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटना बाक्लो हुस्सुका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
काठमाडौं: काठमाडौंसहित देशका धेरै ठाउँमा अहिले हुस्सु लागेको छ । अहिले बिहान लागेको हुस्सु बिस्तारै हट्दै जाने र पारिलो घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो देशभरका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका जिल्लामा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने अनुमान छ । बिहानको मौसम धुम्मिएजस्तो देखिए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले अबको तीनरचार दिनसम्म नै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यसपालिको हिउँदमा वर्षा र हिमपात खासै हुन सकेको छैन । यसले गर्दा डढेलो र आगजनीका घटना बढ्न थालेका छन् । हिउँ नपरेपछि हिमाल कालापत्थरमा परिणत भएका छन् । यस्तै कृषि बालीमा पनि क्षति पुगेको छ भने विद्युत् उत्पादनमा पनि असर परेको छ ।
काठमाडौं: नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै नेपाल वायु सेवा निगमलेआजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो । एयरलाइन्सले अन्तर्राष्ट्रिय र डोमेस्टिक यात्रुका लागि टिकट सिस्टम छुट्टा छुट्टै बनाएको छ । एयरलाइन्सले डोमेस्टिक उडानका लागि भोजपुर, दाङ, इलाम, काठमाडौँ, फाप्लु, ताप्लेजुङ, बाजुरा, डोल्पा, जुम्ला, खानिडाँडा, नेपालगन्ज, रुकुम, सिमकोट, ताल्चा, धामकर्ख विमानस्थलका लागि टिकट उपलब्ध गराएको छ । त्यसै गरी अन्तर्राष्ट्रिय चीन, भारत, जापान, मलेसिया, कतार, साउदी अरविया, थाङल्याण्ड, युएइका लागि टिकट उपलब्ध गराएको छ ।
अयोध्या: भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ। राममन्दिरका लागि कलात्मक मूर्तिलगायतका सामग्री निर्माणस्थल रामसेवकपुरममा आयोजित विशेष समारोहकाबीच भारतीय पक्षलाई देवशिला हस्तान्तरण गरिएको हो। नेपालको तर्फबाट जानकी मन्दिर जनकपुरधामका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई चतुर्भुज शालिग्रामसहित शिला हस्तान्तरण गर्नुभयो। महन्थ दासका उत्तराधिकारी रोशन दासले जानकी मन्दिरको तर्फबाट पत्रवाचन गर्दै सो पत्र पनि ट्रष्टका महासचिव रायलाई हस्तान्तरण गर्नुभएको थियो। शिला बुझ्दै महासचिव रायले जनकपुर र अयोध्याको सम्बन्ध अवर्णनीय रहेको भन्दै यो सम्बन्धलाई देवशिलाले थप प्रगाढ बनाएको बताउनुभयो। उहाँले यो पुनीत कार्यको सफलताका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो। जानकारी मन्दिरका महन्थ दासले युगौँदेखि चलिआएको नेपाल भारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवम् नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँगै यो स्थापित भएको उहाँको भनाइ थियो। राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्यको काम भएको भन्दै यसबाट दुवै देशले लाभ उठाउने बताउनुभयो। नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री विमलेन्द्र निधिले राम जन्मभूमिमै आएर शिला हस्तान्तरण गर्नपाउनु आफ्नो सौभाग्य भएको भन्दै यस कार्यलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गर्नुभयो। माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिला माघ १६ गते जनकपुरधामबाट अयोध्यातर्फ प्रस्थान गरेकामा बुधबार अयोध्या पुगेको थियो। शिलालाई राममन्दिरको गर्भभागमा राखी रामको बालस्वरुप बनाइने छ। आगामी जनवरी २०२४ मा मन्दिर निर्माण सम्पन्न गरी उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले जानकारी दिनुभएको छ।
काठमाडौं: राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल) को उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबीच सहकार्य गर्ने घोषणा गर्नुभयो । पूर्वकप्तान खड्कासहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगञ्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन् । उद्घाटनका अवसरमा खड्काले भन्नुभयो, “हरेक क्षेत्रमा मेहनत आवश्यक पर्छ तर सफलताका लागि इमान्दारी र लगनशीलता पनि आवश्यक पर्छ । यस सेन्टरसँग सहकार्य गर्दै हामी राम्रा खेलाडी उत्पादन गर्छौँ ।” एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले क्रिकेट एक्सिलेन्स सेन्टर र विद्यालयमा निर्माण गरिएको सुविधा सम्पन्न प्रशिक्षण स्थलले क्रिकेट विकासमा केही सहयोग पुग्ने बताउनुभयो ।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरू भएको बैठकमा गृहमन्त्रालय,सरकारमा बस्ने कि नबस्नेलगायत विषयमा छलफल हुने बताइएको छ। रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन्। तर प्रचण्ड गृहमन्त्रालय रास्वपालाई नदिने मुडमा छन्। आजको बैठक यसै विषयमा केन्द्रित हुने रास्वपाले बताएको छ।
सोलुखुम्बु : विश्व सिमसार दिवसको अवसरमा सगरमाथा क्षेत्रको सिमसार क्षेत्रको सरसफाइ गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले बिहीबार नाम्चे क्षेत्रको नदी तथा सिमसार क्षेत्रको प्लाष्टिकजन्य फोहोर संकलन गरिएको हो। निकुञ्जका कर्मचारी,सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी),नेपाली सेना,नेपाल प्रहरी,स्थानीयलगायतको सहभागीतामा फुर्ते तथा नाम्चे क्षेत्रका खोला तथा नदी क्षेत्रको सरसफाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । उनका अनुसार सो क्षेत्रबाट अन्दाजी २५ किलो प्लाष्टिकजन्य फोहोर संकलन गरि नष्ट गरिएको छ । साथै निकुञ्जले सिमसारको महत्व र संरक्षणको उपायबारे सचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।