म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम्युनिकेसन सेवा भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताएकी छिन्। नेपाल टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा बोल्दै सञ्चारमन्त्री शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै सर्वसुलभ र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिइन्।    विगतका सरकारको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको योजना सार्थकता पाएको  उनको भनाइ छ। अब भू–उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य पनि लिनु पर्नेमा उनले जोड दिइन्।    टेलिकमले कमजोरी पत्ता लगाएर गुणस्तरीय सेवा दिनुपर्ने उनले जोड दिइन्।  सरकारको सोच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अति विकट स्थानमा सेवा दिन सक्नुपर्ने बताइन्। ‘नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको हो’ उनले भनिन्।    सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित गर्ने राज्यले टेलिकमलाई प्राथमिकता दिएको उनको भनाइ छ। सूचना प्रविधिबाट सरल, सुलभ र बिनाअवरोध गुणस्तरीय सेवा दिने उनले बताइन्।  ‘जनताले प्रत्यक्ष लाभ महसुस गर्ने गरी सेवा परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्छ’ उनले भनिन्। कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको समस्या सल्टाउन उनले जोड दिइन्। समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्न टेलिकम व्यवस्थापनले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। ग्राहक सन्तुष्टि सर्वोपरी ठान्नुपर्ने उनको भनाइ छ। ‘गुणस्तरीय, सस्तो र सर्वसुलभ सेवा दिन दायित्वबाट पन्छिन हुन्न’ उनले भनिन्, ‘कर्मचारीको सेवासुविधा पनि वृद्धि गर्नुका साथै लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु पर्छ।’    मन्त्री शर्माले समयमै आयोजनाको काम पूरा हुन नसक्दा लागत बढेको बताइन्। विकट क्षेत्रमा सेवा विस्तार तथा मानवीय वस्तीमा टावर विस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताइन्।  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमले गुणस्तरीय सेवा दिन नसकेको बताए। ‘काठमाडौं उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी छैन’ उनले भने, ‘व्यवस्थापन कमजोरका कारण उपत्यकाभित्रै राम्ररी चल्न सकेको छैन।’ टेलिकमले गुणस्तरीय सेवा दिन चुकेको बताए। प्रविधि प्रयोगमा टेलिकमले विशेष योजना ल्याउनुपर्ने उनले बताए। सेवा दिए अनुरूप राजस्व घटेको उनले बताए। डाटा र भिडियोजस्ता सेवामा गुणस्तरीयता ल्याउन सके टेलिकमको प्रभावकारी बढ्ने अध्यक्ष खनालले बताए।    अध्यक्ष खनालले सेवा पूर्ण क्षमतामा दिन, क्षतिपूर्ति दिन चुकेको र टेलिकमले  विश्वसनीयता गुमाउँदै गएको बताए। फाइबर नेटवर्क विस्तार गर्न ध्यान केन्द्रित गर्न चुकेको उनले बताए। ‘दुई वर्षसम्म काम नगर्ने ठेकेदारलाई किन कारबाही हुँदैन’ उनले भने। डिजिटल नेपाल फ्रेमवर्कको काम गर्न ढिलो भइसकेको उनले बताए। प्रतिस्पर्धी क्षमता विकास गर्न सके नियामक निकाय सधैं साथमा रहने उनले बताए।    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरि ठान्नुपर्ने बताए। सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने उनको जोड थियो। टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन सेवा प्रभावकारितामा जोड दिनुपर्ने उनले बताए। गुणस्तरीय सेवा सुलभ दरमा देशभर पुर्‍याउनुपर्ने उनको भनाइ थियो। सचिव अर्यालले टेलिकमका प्रबन्ध निर्देशकसँग कार्यसम्पादन गरेको चर्चा गर्दै कम्तीमा पनि ९५ प्रतिशत प्रतिबद्धता पूरा गर्नुपर्ने बताए। लागत घटाउन सके सेवाको मूल्य कम पर्ने उनको भनाइ थियो।  गुनासो आउने संयन्त्र र सम्बोधन गर्ने निकाय दह्रो हुन नसके ग्राहक टाँसिएर नबस्ने सचिव अर्यालले बताए।  

सिन्धुली:  धुलिखेलबाट सिन्धुली जाँदा करिब ४० किलोमिटरको दूरी बी.पी. राजमार्गको बायाँतर्फ एउटा ठूलो आकारमा डम्फु बनाइएको छ । डम्फु पार्क नै नामकरण गरिएको आकर्षक देखिने यो डम्फु सिन्धुलीको रोशी गाउँपालिका वडा नं. ११ कालो ढुङ्गा र रोशी खोलाको किनारमा छ ।   स्थानीयवासी राजवीर तामाङका अनुसार यो एसियाको दोस्रो ठूलो डम्फु हो । जुन ३२ फिट अग्लो र गोलाइ पनि ३२ फिट छ। पहिलो ठूलो डम्फु भुटानमा छ ।  तामाङका अनुसार यसको क्षेत्रफल २२१ रोपनी छ। अझै यहाँ निर्माणकार्य हुन बाँकी छ र यस्तै शैलीको तामाङ संस्कृति झल्किने ढिकी, जाँतो आदि पनि बनाइनुको साथै पार्क, बगैँचा लगाएर विभिन्न भवनहरू निर्माण हुने क्रममा छ। डम्फु तामाङ संस्कृतिको प्रमुख बाजामध्ये एक हो। अब यही स्थलमा तामाङ समुदायको विभिन्न चाडपर्व मनाइनेछ। 

काठमाडौँ:   नेपाली काँग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन् ।  आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्तिनै राष्ट्रपति बन्ने बताएका हुन् ।    महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढङ्गले नसोच्न पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे ।    उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गरे ।  महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे ।     ओली काँग्रेस फोवियाबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री शर्माले भने, ‘राष्ट्रपति पदमा नेपाली काँग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ । नेपाली काँग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नु हुन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिइरहँदै गर्दाखेरि त्यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ । म के सार्वजनिक रूपमा सम्माननीय पूर्व प्रधानमन्त्री केपी ओलीलाई स्मरण गराउन चाहन्छु भने–विपक्षले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने कुरालाई नै पूर्वाग्रही सोच्ने, गलत ग¥यो भनेर सोच्ने हो भने यो देशको प्रथम राष्ट्रपति पनि तत्कालीन विपक्ष दल नेपाली काँग्रेसको उम्मेदवार बन्नु भएको थियो । त्यस बेला पनि यो देशका प्रधानमन्त्री कमरेड प्रचण्ड हुनुहुन्थ्यो । नेपाली काँग्रेस पार्टी विपक्षमा थियो । विपक्ष दल नेपाली काँग्रेसले अगाडि सारेको उम्मेदवार डा. रामवरण यादव देशको राष्ट्रपति बन्नु भयो । यसरी कमरेड केपी ओलीले चाहिँ सुनको बालाको कथा हाली राखेर पिँजडाको फलामे साङ्लो अझै बलियो बनाउने कर्म नगरिदिनु भए हुन्थ्यो । अथवा यो सांसदलाई विचार र सिद्धान्त प्रवाह गर्ने थलो हो । यहाँबाट आवेश र कुण्ठालाई, आक्रोश र गालीलाई व्यक्त नगरौँ भन्ने सोचिदिए हुन्थ्यो । अलिकति अनुरोध गर्दैगर्दा चाहिँ मेरो जिल्लावासी कमरेडलाई अर्को जिल्लावासी नयाँ नयाँ सांसदको के अपिल छ भने–काँग्रेस फोवियाबाट मुक्त भई दिनुस् ।’   महामन्त्री शर्माले सत्तारुढ दलहरूप्रति सङ्केत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे साङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराए । 

काठमाडौं:  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ।   रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमतिनै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताउनुभयो।    प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरेर  देखिएको समस्या तत्काल हल गर्ने बताउनुभयो। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता अप्ठ्यारालाई छलफल गरेर हल उल्लेख गर्नुभएको हो।    प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहाँसँग भएको कुराकानीमा  सरकारलाई दिएको समर्थन फिर्ता चाहिँ होइन, मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो। फेरि हामी छलफल गर्छौं। यसलाई हल गर्नेतिर नै जान्छौं। मेरो कोशिस त थियो–राष्ट्रिय सहमति नै गरौं। हाम्रो सत्ता साझेदार बीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने हो। अदालतको निर्णयपछि उहाँहरुलाई केही असहजता भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’’   प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार (आज) बिहान भएको भेटमा मन्त्री फिर्ता बोलाए पनि सरकारलाईं दिएको समर्थन भने फिर्ता नगर्ने बताउनु भएको स्मरण गर्नुभयो।

काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते संघीय संसदनको दुवै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्ने भएकी छन्।   राष्ट्रपति भण्डारीले संविधानको धारा ९५ बमोजिम शुक्रबार दिउँसो ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्‍ता सागर आचार्यले जानकारी दिए।  

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ ।

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रिय सहमति जरुरी रहेको औँल्याउनुभएको हो  ।   “शान्ति प्रक्रियाका कतिपय काम सम्पन्न गर्नुपर्नेछ । यी काम सम्पन्न गर्न सबै दलबीच राष्ट्रिय सहमति हुनुपर्छ । जनताले निर्वाचनमार्फत मिलेर जान  मत दिएका छन् । एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ”, नेता पौडेल भन्नुभयो ।   सबै राजनीतिक दलको सहमतिबाट मुलुकलाई आजको अवस्थामा ल्याइएको जनाउँदै उहाँले समृद्ध नेपालको जनआकाङ्क्षा पूरा गर्न दलहरुबीच एकता आवश्यक रहेको बताउनुभयो । “शान्ति सम्झौता, गणतन्त्र, धर्म निरपेक्षतालगायत सबै राजनीतिक उपलब्धि सहमतिमा गर्‍यौँ । देशका अगाडि आएका समस्या समाधान गर्न फेरि पनि राष्ट्रिय सहमतिको खाँचो छ”, नेता पौडेलले भन्नुभयो ।   देशको आर्थिक प्रणाली पूरै बिग्रिएको नभई अर्थतन्त्रको केही सूचक उल्टो बाटोमा रहेको जनाउँदै उहाँले विद्यमान समस्यमा समाधानका लागि पनि सबै दल एक ठाउँमा उभिनुपर्नेमा ​जोड दिनुभयो । “अझै पनि ५५ लाख नेपाली वैदेशिक रोजगारीमा छन् । स्वदेशमा रोजगारी सिर्जना चुनौतीका रुपमा छ”, नेता पौडेलले भन्नुभयो ।   गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत राजनीतिक उपलब्धि संस्थागत गर्न जनताले गरेको बलिदानीलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले सोही उपलब्धिका आधारमा आजका दिन जनताले प्रेस स्वतन्त्रता, विधिको शासन, बालिग मताधिकारलगायत अधिकारको प्रयोग गर्न पाएको बताउनुभयो ।   “आजको आवश्यकता प्राप्त उपलब्धिको रक्षा र जगेर्ना गर्नु हो”, नेता पौडेलले भन्नुभयो, “केही कमीकमजोरी छन् भने विधिपूर्वक समाधान खोज्नुपर्छ । अहिलेको प्रणालीमाथि प्रश्न उठाउने कामले जनताको भावनामा ठूलो असर गर्छ ।”

महोत्तरी:   महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जिपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।   लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा सहनीलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताका कारण देश विकासले गति लिन नसकेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर अध्यक्ष ओलीले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए।    उनले ००७ सालपछिका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए। उनले भने, '००७ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन्। ०१५ सालको पहिलो निर्वाचित जनप्रतिनिधिसमेत दुई वर्ष पुग्न नपाउँदै अपदस्थ गरिए, थुनामा राखिए र लोकतन्त्र अपहरित गरियो।'   नयाँ संविधान जारी भएपछि वर्षैपिच्छे प्रधानमन्त्री फेरिएको बताउँदै ओलीले भने, 'राजनीतिक स्थायित्व गरी जारी भएको संविधानपछि पनि सात वर्षभित्र सात जना प्रधानमन्त्री फेरिए। हामीले राजनीतिक स्थायीत्वका साथ नयाँ संविधान जारी गर्‍यौँ। तर स्थायीत्व कस्तो भने वर्षमा एउटा प्रधानमन्त्री फेरिने।'   ओलीले आफूहरूले राजनीतिक स्थिरताको सँधै अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको बताए। उनले भने, 'हाम्रो चाहना प्रयास र खोजी स्थिरता र स्थायीत्वको रह्यो। तर, हाम्रो प्राप्ती भने सँधै अस्थिरता रह्‍यो।'