काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिवासी जनजाति आयोगले शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिमलगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।” “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक हो । सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिन्छ” प्रधानमन्त्रीले भन्नुभयो, “राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ । यद्यपि, यो पूर्ण छैन । तर, यो निकै महत्त्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलि नै रहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ ।” “महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ । यो अधिकार हाम्रै संघर्षको परिणाम हो । एकीकृत र केन्द्रिकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा लड्दै आएको छु । भोलि पनि लड्नेछु । कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन । जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ” प्रधानमन्त्रीले भन्नुभयो । “सिङ्गो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन । तर, यसको उचित सम्मान गर्न, नेतृत्व स्थापित गर्न हामी चुकेका छौँ । त्यसलाई सम्मान गर्न सकिएन भने प्राप्त उपलब्धि पनि खोसिने खतरा रहन्छ ।” प्रधानमन्त्री भन्नुभयो, “उत्पीडित वर्ग दिग्भ्रमितमा पर्नु हुँदैन, त्यसो हुँदा आन्दोलनका उपलब्धि खोसिन सक्छन् । यसप्रति तपाईहरु सबै गम्भीर हुनुपर्छ । यी उपलब्धि सजिलै प्राप्त गरेको होइन । धेरै ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको हो । यो कुरा एकथरि मान्छेलाई मन परेको छैन । हामीले त्यसको रक्षा र विकास गर्नुपर्छ ।” “म आन्दोलनको नेतृत्व गर्दा सुरुदेखि नै आदिवासी जनजाति समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै आएको छु”, प्रधानमन्त्रीले भन्नुभयो, “चाहे रोल्पा, रुकुम भन्नुस्, चाहे भोजपुर, खोटाङ भन्नुस्, चाहे गोरखा, लम्जुङ, तनहुँ, मनाङ भन्नुस्, चाहे थारुका आधार क्षेत्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर भन्नुस्, चाहे मधेश भन्नुस्, म उत्पीडित वर्ग र समुदायसँग एकाकार भएर नै आन्दोलनको नेतृत्व गरेको हुँ।” प्रधानमन्त्रीले भन्नुभयो, “केही भ्रमहरु छन् । तर, यो आन्दोलनको सच्चाइ कसैले रोकेर रोक्न सक्दैन । यो माओवादी आन्दोलनको उपलब्धि हो । हामीले विश्वभरिका आन्दोलनको कुरा गर्छौं, अधिकारको कुरा गर्छौं । तर, हाम्रै आन्दोलन र यसको नेतृत्वका बारेमा कुरा गर्न, त्यसको सम्मान गर्न हामीलाई के कुराले रोक्यो ? तसर्थ, इतिहासप्रति न्याय गर्न हामी चुक्नु हुँदैन ।” “अर्थतन्त्रमा चुनौतीहरु छन्, त्यसलाई सही बाटोमा लैजानु छ, समतामूलक समाजको निर्माण गर्नु नै छ । राष्ट्रिय एकताको आधार पनि यही हो । उत्पीडितहरुको एकताले मात्र देशको मात्र रक्षा गर्न सकिन्छ, जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ । तसर्थ, उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी छ । राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
घोडाघोडी: नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव सुरु भएको छ। लाटोकोसेरो तथा हुचिललाई किसानको साथीका रूपमा लिइन्छ। लाटोकोसेरो र हुचिलले मुसा खाएर बालीनाली संरक्षणमा सहयोग पु-याउँछ। हुचिल र लाटोकोसेरोको अवैध व्यापार हुन थालेपछि संरक्षणका लागि केही वर्षदेखि विभिन्न जिल्लामा संरक्षण उत्सव हुँदै आएका छन्। चरा संरक्षण नेटवर्क कैलाली र प्रकृतिका साथीहरू संस्थाको संयुक्त आयोजनामा दुईदिने उत्सव गरिएको हो। घोडाघोडी नगरपालिका–४, माघी होमस्टेमा आयोजित उत्सव अवलोकनका लागि देश तथा विदेशबाट प्रकृतिप्रेमीको उपस्थिति छ। हुचिल र लाटोकोसेरो संरक्षणका लागि २०७६ साल माघमा स्याङ्जा जिल्लाको भैँसेगौँडा राङभाङमा नवौँ संरक्षण महोत्सव गरिएको थियो। कोभिडका कारण तीन वर्ष रोकिएको महोत्सव यस पटक कैलालीमा गरिएको जनाइएको छ। प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यका अनुसार सबैभन्दा पहिले धादिङमा उत्सव आयोजना गरिएको थियो। सुदूरपश्चिमबाट सबैभन्दा बढी लाटोकोसेरो भारततर्फ तस्करी हुने गरेका कारण संरक्षणसम्बन्धी सन्देश दिन १०औँ उत्सव कैलालीमा गरिएको निर्देशक आचार्यको भनाइ छ। गैँडालगायतका वन्यजन्तुकै हाराहारीमा लाटोकोसेरोको सिकार तथा अवैध व्यापार हुन थालेपछि संरक्षणमा पनि चासो बढेको हो। औषधि, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीनलगायत विभिन्न खाडी मुलुकमा यसको अवैध कारोबार हुने गर्छ। निर्देशक आचार्यका अनुसार ४६ वटा जिल्लामा गरिएको प्रारम्भिक अध्ययनअनुसार नेपालबाट वार्षिक कम्तीमा दुई हजारवटासम्म लाटोकोसेरो तथा हुचिल मारिने तथा विभिन्न मुलुकमा अवैध रूपमा पठाइने गरिएको छ। महोत्सवमा भारतको पुनाबाट आएका संरक्षणकर्मी डा. सुरुचि पाण्डेले लाटोकोसेरो संरक्षणमा हातेमालो गर्न नेपाल आएको बताउनुभयो। मानिसले लाटोकोसेरोको बच्चालाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ। यसका अतिरिक्त लाटोकोसेरोको बासस्थान विनाशसमेत तीव्र रूपमा भइरहेको पाइन्छ। नेपालमा कानुनी रूपमा लाटोकोसेरो पाल्न, यसलाई दुःख दिन, बेच्न पाइँदैन। त्यसो गरेमा एक वर्ष कैद ५० हजार रुपियाँ जरिवाना हुने कानुनी व्यवस्था छ। चरा संरक्षण नेटवर्कका अध्यक्ष तथा लाटोकोसेरो उत्सव मूल आयोजक समितिका संयोजक दयाराम चौधरीले लाटोकोसेरो तथा हुचिल संरक्षणमा सचेतना जगाउन उत्सव आयोजना गरिएको बताउनुभयो। नवप्रभात आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित उत्सवमा उल्लु, लेकाली उल्लु, लोखर्के उल्लु, कोचलगाँडे लाटोकोसेरो, गोठे लाटोकोसेरो, घाँसे लाटोकोसेरो, चश्मे उल्लु, चित्री उल्लु, लघुकर्ण लाटोकोसेरो, लामकाने लाटोकोसेरो, हिमाली कोचलगाँडे लाटोकोसेरालगायत २३ प्रजातिका लाटोकोसेरोको तस्बिर राखिएका छन्। तीमध्ये नौ प्रजाति नेपालमा दुर्लभ मानिन्छन्। एक प्रजातिलाई लामो समयदेखि नेपालमा अभिलेख गरिएको छैन। विश्वमा करिब २२५ प्रजातिका लाटोकोसेराे पाइन्छन्। चराप्रेमीले घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराको प्रत्यक्ष अवलोकन गर्न उत्सवले अवसर जुराएको छ। टाढा–टाढाबाट आएका पर्यटकले बिहानको समयमा चरा अवलोकन गरेको बताएका छन्। उत्सवमा मुन्ग्रहुवा, सखिया, झुम्रा, लाठी, हुर्दुङ्गवा, देउडा खेल, कौडा नाच, स्थानीय कलाकारका संरक्षण गीत प्रस्तुत गरिएको थियो। चरा संरक्षणको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अनुसार नेपालमा पाइने ८९१ प्रजातिका चरामध्ये विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका चराचुरुङ्गी पाइन्छ। आठ प्रजातिका लाटोकोसेरो घोडाघोडीमा पाइने चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो। घोडाघोडी सिमसारमा साइबेरिया, मङ्गोलियालगायत ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउने गरेका छन्। यहाँ पाइने चरामध्ये ६४ प्रजातिका जलपन्छी छन्। १२ प्रजातिका विश्वमै दुर्लभ चरा पनि घोडाघोडी सिमसारमा पाइन्छन्। कैलो टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिललगायत विश्वमै दुर्लभ चरा यो सिमसारमा पाइने गरेको चराविद् डा. हेमसागर बरालको भनाइ छ। विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई २०७८ साल माघमा नेपालको पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषण गरेर चरा र उनीहरूको बासस्थान संरक्षणमा काम गरिएको छ। सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा मगरगोही, हरिहाँस र जङ्गली धान सूचक प्रजाति हो। यसैगरी भारतको केरलामा पाइने नादुल हाँसले सन् २०१४ देखि घोडाघोडीमा पनि ‘ब्रिडिङ’ गर्दै आएका छन्। पहिले पाहुना चराका रूपमा केरलाबाट घोडाघोडी पुग्ने नादुल हाँस अब यहाँको रैथाने भइसकेका छन्।
काठमाडौं: सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटका अवसरमा समसामयिक राजनीति र घटना क्रमबारे छलफल भएको बताइएको छ ।
काठमाडाैँ: नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउसो उद्घाटन गर्नेछन् । अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ । उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ । आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ ।
काठमाडौँ: रक्षा मन्त्रालयले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) अघि बढाउने सन्दर्भमा मुख्य समस्याका रुपमा रहेको खोकना जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक पहलको आवश्यकता औँल्याएको छ । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये उच्च प्राथमिकतामा रहेको दु्रतमार्गलाई तीव्रता प्रदान गर्ने सिलसिलामा खोकना विवाद समाधानमा थुप्रै पहल र प्रयास भए पनि समस्या ज्यूँका त्यूँ छ । मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले भने, “खोकनाको विषयमा वडाध्यक्षदेखि प्रधानमन्त्रीसँग समेत कुरा भएको छ, विरोध कहीँबाट छैन, समस्या समाधान पनि हुन सकेन ।” द्रुतमार्गका लागि खोकना क्षेत्रको जग्गा प्राप्तिका विषयमा पटक–पटक संसदीय अनुगमन भएको छ भने सेनाले पनि विशेष संयन्त्र बनाएर अन्तर–निकाय समन्वय गर्दैआएको छ । द्रुतमार्गको प्रस्थान बिन्दु रहेको खोकनामा बाहिरी चक्रपथ, विद्युत् प्रसारण लाइन, सुक्खा बन्दरगाह र बागमती सभ्यता सडकलगायतका ठूला–ठूला आयोजनासमेत रहने भएपछि स्थानीयले आफूहरु विस्थापित हुने डरले विरोध गर्दैआएका हुन् । श्रीकाली र कुदेशसहित काठमाडौँ उपत्यकाभित्रका महत्वपूर्ण पुरातात्विक, पौराणिक र सांस्कृतिक सम्पदासहितको बस्ती रहेको उक्त क्षेत्रमा विकासे आयोजनाले ती धरोहरलाई असर नपार्ने राज्यबाट सुनिश्चिताको माग हुँदैआएको छ । सेनाको व्यवस्थापनमा अघि बढिरहेको द्रुतमार्गलाई तोकिएको समयमै पूरा गर्नुपर्ने भएकाले स्थानीयको लगातार विरोध हुँदैआएपछि सेनाले त्यस क्षेत्रमा करिब चार किमीलाई छोडेर अन्य क्षेत्रको काम भकाभक गरिरहेको छ । प्रधानसेनापति शर्मा भन्छन्, “सडकका लागि अधिग्रहण गर्नुपर्ने जग्गामध्ये ८० प्रतिशतले पैसा बुझी सक्नुभएको छ, बाँकी २० प्रतिशतमात्र हो । समस्या त्यँही अड्केको छ । आयोजनालाई अघि बढाउँदा नियम, कानुन, अदालत, ठेकेदार, नीति, नियम कुनै कुरामा कम्प्रमाइज गरिएको छैन ।” द्रुतमार्ग निर्माणको जिम्मा कसलाई दिने भन्नेमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद, चर्काचर्की र बहसपछि सरकारले नेपाली सेनालाई उक्त सडक निर्माणको जिम्मेवारी सुम्पिएको हो । मन्त्रालयका सचिव किरणराज शर्माले द्रुतमार्गलाई तीव्रता प्रदान गर्न मुख्य समस्याका रुपमा खोकना जग्गा विवाद नै रहेको बताए। उनी भन्छन्, “खोकनाको जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक तहबाट पहल हुनुपर्छ, कर्मचारी संयन्त्रबाट सम्भव छैन ।” द्रुतमार्गका लागि पाँच हजार सात सय ७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म चार हजार सात सय ८० रोपनीको मुआब्जा विवतरण भइसकेको छ । आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको तीन सय ९२ रोपनीको भने स्थानीयसँगको विवादका कारण मुआब्जा वितरण हुन सकेको छैन । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विस २०७६ भदौमा स्वीकृत भएसँगै निर्माण सुरु भएको दु्रतमार्गको लम्बाइ ७२ दशमलव पाँच सय २९ किमी छ । उक्त आयोजनाको महादेव, धेद्रे र लेन डाँडामा गरी छ दशमलव ४१ किमीका तीन सुरुङ तथा करिब १० किमी लम्बाइ बराबरका लामो र छोटा गरी ८७ पुल रहने छ । करिब रु एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख लागत अनुमान गरिएको उक्त सडक आयोजना बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिनेछ । आयोजनाका लागि चालु आर्थिक वर्षमा रु २९ अर्ब ९९ करोड ९७ लाख बजेट विनियोजन भएको छ । आयोजनाको हालसम्म भौतिक प्रगति करिब २० प्रतिशत र वित्तीय प्रगति २१ प्रतिशत छ । सेनाले आयोजनालाई तीव्रता दिने सिलसिलामा ११ प्याकेजमा विभाजन गरी खरिद व्यवस्थापन तथा निर्माणको कार्य सुरु गरिसकेको छ । काठमाडौँ उपत्यकालाई तराई मधेससँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो भएकाले दु्रतमार्गको निर्माणपछि हाल लाग्दै आएको यात्राको समय घटेर एक घन्टामा सीमित हुनेछ । सडक निर्माणपछि वार्षिकरुपमा काठमाडौँ उपत्यका आउन जान खपत हुने पेट्रोलियम पदार्थमा खर्चनुपर्ने करिब रु १० अर्ब रकम बचत हुने अपेक्षा गरिएको छ । एशियाली सडक मापदण्डअनुरुप निर्माण अघि बढेको द्रुतमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।
चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताए । उनले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने बताए । नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुर्याएको उनको भनाइ छ । “जनावरको संरक्षणले पारिस्थतिकीय प्रणालीको रक्षा गर्छ । नेपाल सरकारले उचित तरिकाले त्यस्ता जनावरको सुरक्षामा प्रभावकारी काम गर्न प्रतिबद्ध छ”, उनले भने । स्थानीयको सहयोग र सहभागितामा वन्यजन्तु सुरक्षा गरिने प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वमा भइरहेको वातावरणीय प्रभावको कारण पनि जनावरको संरक्षणमा चुनौती थपिँदै गएको उनले बताए । एसियाका पाँच देशसहित १० देशका संरक्षणकर्मीको सहभागिता रहेको छलफल कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताए । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उनले भने, “गैँडासहित वन्यजन्तु संरक्षणका लागि विस्तृत योजना बनाएर अघि बढ्नुपर्छ ।” तीनवटै तहका सरकारको संयोजनमा गैँडा संरक्षण गर्नुपर्ने समय आएको उनको भनाइ छ । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको कार्यक्रममा नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन् । उनीहरूले आ–आफ्नो देशमा गैँडा संरक्षणका क्षेत्रमा भएका प्रगतिहरू प्रस्तुत गर्नेछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार बैठकमा भेनेजुएयला, संयुक्त अरब इमिरेट्स, केन्या, दक्षिण अफ्रिकालगायतका देशका संरक्षणकर्मीहरू पनि सहभागी भएका छन् । सम्मेलनका सहभागीहरूले गैँडा संरक्षणमा देखिएका चुनौती र भावि योजनाको विषयमा छलफल गर्नेछन् । संरक्षणको बिषयमा सामूहिक दायित्व लिएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने पन्तले जानकारी दिए । नेपाल विश्वमै एकसिङ्गे गैँडाको दोस्रो ठूलो बासस्थान हो । भारतको काजिरङ्गपछि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैँडा पाइन्छन् । विदेशमा गैँडा संरक्षणमा भएका प्रयास र सिकाइलाई आपसमा साटासाट गर्न यो कार्यक्रम सहयोगी बन्ने विश्वास लिइएको छ । कार्यक्रममा संरक्षणका विषयमा भावी योजनासमेत निर्माण गरिने पन्तले बताए । पाँच देशका अधिकारीहरूले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासबारेमा जानकारी गराएसँगै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैँडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । शनिबार गैँडाको बासस्थानको अध्ययन गरिने कार्यक्रम छ । यस्तै आइतबार संरक्षणसम्बन्धी चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । छलफलमा ३० विदेशी र ३० जना नेपाली संरक्षण तथा अधिकारी सहभागी छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओली र विभागका उपमहानिर्देशक अजय कार्कीले भनाइ राखेका थिए । यसअघि ‘राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ पहिलो पटक इण्डोनेसिया र दोस्र्रो भारतको नयाँदिल्लीमा भएको थियो ।
रुपन्देही: भगवान् गौतमबुद्धको शान्ति सन्देशसहित शुक्रबारदेखि तीन दिने लुम्बिनीदेखि कुशीनगरसम्मको साइकल यात्रा सुरु भएको छ । बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट साइकल यात्रा शुरु भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले साईकलयात्राको शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीदेखि कुशिनगरसम्म बुद्धको सन्देश बोकेर साइकल यात्रा गरिनु निकै सकारात्मक रहेको बताए । उनले भगवान् बुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसङ्ग उल्लेख गर्दै बुद्ध स्थल हुँदै गरिने साइकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त गरे । साइकल पर्यावरणमैत्री र स्वास्थ्यका हिसाबले उपयुक्त हुने भएकाले लुम्बिनीमा पनि यसको प्रयोग बढाउने गरी योजना बनाउने उपाध्यक्ष मैत्तयले प्रतिबद्धता जनाए । साइकल अभियानकर्मी, बौद्धमार्गी एवं भारतको अनाहदी यात्राका गरी ७० जनाको टोलीले शुक्रबारदेखि आइतबारसम्म तीन दिन साइकलमा यात्रा गर्ने संयोजक उषा तितिक्षुले जानकारी दिईन् । पञ्चशील पालना गर्दै हरेक दिन ध्यान, साधनासहित जन्मस्थल लुम्बिनीबाट सुरु भएको यात्रा मावली देवदह, रामग्राम हुँदै कुशिनगरमा पुगेर समापन गरिने उनले बताइन् । साइकल यात्रा शुभारम्भका अवसरमा नेपाल साइकल सोसाइटिका अध्यक्ष रत्न श्रेष्ठले भगवान् बुद्धको जन्मस्थानबाट बौद्ध परिपथ साइकल यात्रा सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै लुम्बिनीमा पनि साइकलबाट भ्रमण गर्ने व्यवस्था मिलाउन माग गरे । शुभारम्भमा प्राध्यापक डा. तारालाल श्रेष्ठ, भारतीय पत्रकार पुष्पराज शास्त्रीले साइकल यात्राहरू अन्य बेलामा पनि भएको तर बौद्धपरिपथमा ध्यान र साधना सहितको पहिलो साइकल यात्रा भएकाले उत्साही भएको बताए । साइकल यात्रामा पहिलो दिन शुक्रबार भैरहवा हुँदै, देवदह र रामग्रामसम्मको यात्रा हुनेछ । त्यस्तै दोस्रो दिन शनिबार रामग्रामबाट महेशपुर नाका हुँदै भारतको महाराजगन्जमा पुगेर बास बस्ने र तेस्रो दिन आइतबार महारजगञ्जबाट कुशिनगरमा पुगेर समापन गरिने कार्यतालिका रहेको छ । साइकल यात्रीहरुले यात्रा सुरु गर्नुअघि मायादेवी मन्दिर अगाडि ध्यान गरेका थिए ।
पर्वत: सशस्त्र प्रहरीले कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सकुशल उद्धार गरेको छ । कुश्मा नगरपालिका-७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा बिहीबार भीरमा खस्नुभएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतका सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उहाँलाई शुक्रबार सकुशल उद्धार गरेको हो । उद्धार पश्चात उहाँलाई उपचारका लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएइको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बाँके: बाँकेमा दादुरा महामारी फैलिएको करिब एक महिनाको अवधीमा एकजनाको मृत्यु भएको छ भने ३१३ जनामा दादुरा सङ्क्रमण देखिएको छ । दादुराको सबैभन्दा बढि सङ्क्रमित देखिएको नेपालगञ्जमा पछिल्ला केही दिनयता नयाँ विरामी फेला परेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोभिड महामारी विरुद्धको पूर्वा तयारीसँगै अन्य विपद र महामारी जन्य रोगको पूर्वतयारी गरिएकाले दादुरा–रुवेला रोग नियन्त्रण र रोकथामका लागि सहयोग पुगेको बताउनुभयो । “विपद पूर्व तयारी भएकाले महामारी फैलिनासाथ तत्काल रोकथाम र नियन्त्रणका लागि परिचालित हुन सक्यौ,” स्वास्थ्य शाखा प्रमुख चन्दले भन्नुभयो, “ छिटोभन्दा छिटो लक्षित बालबालिकालाई दादुराविरुद्धको खोप दिन समेत पूर्व तयारीका कारण सहज भयो । नेपालगञ्जमा पछिल्ला केही दिनयता दादुराका नयाँ विरामी नभेटिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो । नगरभित्र लक्षित उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाई सकिएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले कोभिड सङ्क्रमण र अहिलेको दादुरा महामारी फरक विषय भए पनि कोभिडपछि सुरु भएको भ्याक्सिन लगाउने कार्यले अहिले बढिभन्दा बढि मानिस भ्याक्सिनमा सहभागी हुनु सकारात्मक भएको बताउनुभयो । “दादुराका बढि सङ्क्रमित फैलिएका नेपालगञ्ज र नरैनापुरमा पछिल्ला दिनमा नयाँ सङ्क्रमित फेला नपर्नु सकारात्मक छ,” श्रेष्ठले भन्नुभयो, “दादुरा पूर्णरुपमा नियन्त्रणमा नआएपनि नियन्त्रण नजिक पुगेको छ ।” जिल्लाभर शुक्रबारसम्म १० जना मात्रै सङ्क्रमित रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा जिल्लाभर ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप अभियान चलिरहेको छ । बाँकेमा बैजनाथ र जानकीबाहेक अन्य ६ स्थानीय तहमा दादुरा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका खोप अधिकृत श्रेष्ठका अनुसार महामारी फैलिएको स्थान वा क्षेत्रमा अन्तिम दादुराका विरामी देखिएको ४२ देखि ४६ दिनसम्म नयाँ विरामी देखा नपरेको अवस्थालाई दादुरा नियन्त्रण भएको मानिन्छ । अर्कोतर्फ खोपले पूर्णरुपमा काम गर्न समेत ३० देखि ४५ दिन समय लाग्ने भएकाले बाँकेमा दादुरा पूर्णरुपमा नियन्त्रण हुन भने अझै केही समय लाग्ने देखिएको छ ।