म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

काठमाडौं:   ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज (मङ्गलबार) भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा बनेको छ । त्यस्तै, सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ । यसैगरी, नेपालले ३४ अङ्क प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा  परेको छ । अघिल्लो वर्ष नेपाल ११७ औँ स्थानमा रहेको थियो । नेपालको अङ्कमा केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको टीआईद्वारा जारी रिपोर्टमा उल्लेख छ । सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अङ्क (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिन्छ । यस वर्षको औसत अङ्क ४३ रहेको छ भने विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख छ । यसैगरी, दक्षिण एसियाली राष्ट्रहरूमध्ये भेटानले ६८ अङ्क (२५ औँ), मालदिभ्सले ४० अङ्क(८५ औँ), भारत ४० अङ्क (८५ औँ), श्रीलङ्काले ३६ अङ्क (१०१ औँ), नेपालले ३४ अङ्क (११० औँ), पाकिस्तानले २७ अङ्क (१४० औँ), बङ्गलादेशले २५ अङ्क (१४७ औँ) र अफगानिस्तानले २४ अङ्क (१५० औँ) स्थान प्राप्त गरेको छ । छिमेकी मुलुक चीनले ४५ अङ्क  (६५ औँ) स्थानमा रहेको छ ।

काठमाडौं:  प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्ड भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।  उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच उपनिर्वाचन,गृहमन्त्रालय र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। यसअघि सोमबार साँझ पनि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।  सर्वोच्च अदालतले लामिछानेलाई नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उनले प्रक्रिया पुर्‍याएर पुनः नागरिकताको प्रतिलिपि लिएका  छन्। नयाँ नागरिकता लिएसँगै रास्वपाले लामिछानेलाई पार्टी सभापति बनाएको छ। रास्वपाले फेरि गृहमन्त्रीमा दावी गरेपनि प्रधानमन्त्री प्रचण्ड नदिने मनस्थितिमा छन्। रास्वपाले भने गृहमन्त्रीमा आफ्नो दावी कायम राखेको छ।

काठमाडौं: थाइल्याण्ड भएको एएसबीसी एसियन यू–२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी नेपालकी सुष्मा तामाङ भारतमा हुने वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट भएकी छन् । नेपाल बक्सिङ संघले मंगलबार विज्ञप्ती जारी गर्दै ऐतिहासिक मेडल जितेको अवार्ड स्वरुप उनलाई सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट गराउने जनाएको छ । संघले जारी गरेको विज्ञप्तिमा यही माघ २४ देखि २६ गतेसम्म विभिन्न तौल समूहमा छनोट प्रतियोगिता गराउने जनाएको थियो । ‘नेपाल बक्सिङ संघको निर्णय अनुसार ४८ किलो तौल समूहमा एसियन यू–२२ मा रजत पदक जितेको हुनाले अवार्ड स्वरुप सुष्मा तामाङलाई छनौट गरी सिधै वर्ड च्यम्पियनसिप प्रतियोगितामा सहभागी गराउने निर्णय गर्दै थप ५४ किलो तौल समूहको पनि छनौट गर्ने निर्णय भएको जानकारी गराउदछौं’, बक्सिङ संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सुष्माले थाइल्याण्डको बैंककमा भएको यू–२२ च्याम्पियन्सिमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेकी थिइन् । तर फाइनलमा भने उनी उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गरेकी थिइन् । एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

लमजुङ:  लमजुङ सदरमुकाम बेँसीसहर आउने एक मात्र डुम्रे–बेँसीसहर सडकको उदिपुर देउरालीडाँडामा पहिरोको पुनः त्रास बढेको छ । हिउँदमा समेत सुक्खा पहिरो जाने गरेका कारण वैकल्पिक सडक निर्माणका लागि स्तरोन्नतिको पहल थालिएको छ । बेँसीसहर नगरपालिका–८ को प्रशासन चोक हुँदै बाँझाखेत भएर आँपचौर, चितीको बरबोट, रिट्ठेबगर हुँदै मस्र्याङ्दी नदीपारिको बाटो उदिपुरसम्म वैकल्पिक सडक स्तरोन्नतिको पहल थालिएको छ । उक्त सडकको प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीले निरीक्षण गरेको छ । उदिपुर देउरालीडाँडाको पहिरोको निरीक्षण अवलोकन गर्दै उदिपुरबाट रिट्ठेबगर हुँदै पारिको बाटोको अनुगमन गरेको संविधान सभा सदस्य जमिन्द्रमान घलेले बताउनुभयो ।  प्रतिनिधि सभा सदस्य गुरुङले वैकल्पिक सडक निर्माणका लागि पहल थालिने बताउनुभयो । उहाँले सडक स्तरोन्नतिका लागि मन्त्रालयमा पुगेको फाइल अघि बढाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत भदौ ११ गते पहिरोले यसअघिको डाइभर्सन सडकसमेत बगाएपछि कुनै दिन नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै र कुनै दिन माथिल्लो बाटो तथा पहिरो गएकै बाटो मर्मत गरेर अस्थायी रूपमा सवारी आवागमन गराइएको छ । पहिरोको जोखिम बढेको भन्दै नागरिक तहबाट सडक छिटो निर्माण गर्न सडक कार्यालयलाई दबाब आएको छ । वैकल्पिक सडक निर्माण गर्न नसकिए अझै बर्खायाममा तीन–चार महिना नै सडक बन्द हुनसक्ने बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । डुम्रे–बेँसीसहर–चामे सडक योजनाका कार्यालय प्रमुख इन्जिनियर अच्युतविलास पन्तले वैकल्पिक सडक निर्माणका लागि मस्र्याङ्दी पारिपट्टिको सडकको स्तरोन्नति गर्न १० लाख रुपियाँ बजेट स्टिमेटसहित सडक विभागमा पुगेको बताउनुभयो । उहाँले फास्ट ट्र्याकमार्फत काम गर्न सकिए जेठ–असारभित्र सडक मर्मत सक्ने बताउनुभयो ।  विभागबाट बजेट स्वीकृत भएर मन्त्रालय हुँदै अर्थ मन्त्रालयले बजेट निकासाको स्वीकृति दिएपछि मात्रै निर्माण अघि बढ्ने उहाँले बताउनुभयो । हाल पहिरो गएकै ठाउँमा पक्की सडक निर्माणका लागि २० करोड रुपियाँको टेन्डर आह्वान भएर सडक निर्माण प्रक्रिया अघि बढेको छ ।   

कास्की:   प्रदेश सभा सदस्यहरूले शपथ लिएकै दिनदेखि विभिन्न किसिमका सेवासुविधा तथा भत्ता पाउने कानुनी व्यवस्था रहेको छ । प्रदेश सभा सदस्यले मासिक ३६ हजार २४२ रुपियाँ तलब र एक सहायक स्वकीय सचिव राख्न पाउँछन् । सांसदले संसद्को प्रतिबैठक एक हजार भत्ता र ७५० रुपियाँ यातायात खर्च पाउने व्यवस्था छ । गत मङ्सिर ४ को चुनावमार्फत प्रदेश सभा सदस्य चुनिएकामध्येबाट सभामुख र उपसभामुख चयन भइसकेका छन् ।  प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७४ मा सभामुख, उपसभामुख, विपक्षी दलका नेता, दलका नेता, उपनेता, सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक, अन्य दलका प्रमुख सचेतक, संसदीय समितिका सभापति, दलका सचेतक र सदस्यले सुविधा पाउनेछन् ।  प्रदेश सभाका सभामुखले मासिक ६३ हजार ४८० रुपियाँ पारिश्रमिक पाउँछन् । उपसभामुख र विपक्षी दलका नेताले ६० हजार पारिश्रमिक पाउँछन् । दलका नेताले ५९ हजार पाँच सय, उपनेताले ५८ हजार ८४०, सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक, अन्य दलका प्रमुख सचेतक, संसदीय समितिका सभापतिले ५८ हजार ८४०, दलको सचेतकले ५६ हजार ५२० र सदस्यले ५४ हजार दुई सय पारिश्रमिक पाउँछन् । सांसदले सञ्चार सुविधाबापत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक १५ सय, पाँच वर्षको अवधिमा एक पटक मात्र फर्निचर खर्चबापत ५० हजार, प्रतिमहिना बत्ती खर्च र पानीबापत १५ सय रुपियाँ पाउने व्यवस्था छ । विपक्षी दलको नेतालाई घर भाडाबापत मासिक २० हजार रुपियाँ दिइन्छ । प्रदेश सांसदले घरभाडास्वरूप प्रतिमहिना १५ हजार रुपियाँ पाउँछन् । सांसदले भ्रमण भत्ता पनि पाउने व्यवस्था छ । सांसदहरूले नेपालभित्र भए दुई हजार र विदेश भ्रमण गर्दा दैनिक भ्रमण गर्दाको दिनको अमेरिकी डलर रेटअनुसार १५० डलर पाउने व्यवस्था छ । सांसदहरू यात्रामा हुँदा बीमाबापत प्रतिभ्रमण १० लाख रुपियाँ पाउने व्यवस्था छ ।   

पोखरा:    पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि १५ सम्म र बेलुका २१ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको छ । पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ । चौवारीबाट ५० मिटर अगाडि हेम्जातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको र आधारआधा घण्टामा रोकिएका सवारी साधन छुट्ने व्यवस्था मिलाइएको मध्यपहाडी ९पुष्पलाल० राजमार्ग योजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको कामलाई तीव्रता दिन यातायातका साधन रोकेर काम गर्नेछौँ । सवारी साधनहरूलाई वैकल्पिक बाटो प्रयोग गर्नसमेत आग्रह गरेका छौँ ।” जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले रोकिने सवारी साधनहरूले साधन रोक्दा र चलाउँदा कडाइका साथ आफ्नो लेन अनुसाशन कायम राख्न र सवारी साधन लामबद्ध भएको अवस्थामा ओभरटेक नगर्न आग्रह गरेको छ । जौवारीतर्फबाट जाने सवारी साधनलाई सिमपानीचोक-बगर-शिक्षा कार्यालय-केआइसिँह पुल–दीप हाउजिङ हुँदै नयाँपुल र हलुका सवारी साधनलाई बिन्ध्यवासिनीचोक-सराङकोट-कास्कीकोट हुँदै नौडाँडाको बाटो प्रयोग गर्ने व्यवस्था गरिएको छ ।  यसैगरी हेम्जातर्फबाट आउने सवारी साधनहरू जौवारीपुल–दीप हुँदै सिमपानी र दोस्रो विकल्पमा नौँडाँडा–कास्कीकोट–सराङकोट हुँदै बिन्ध्यवासिनीचोकको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । 

काठमाडौं:    निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको र उपराष्ट्रपतिको चैत ३ गते निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताउनुभयो । प्रवक्ता पौडेलले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते, दाबी, विरोध, उजुरीलगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । यसैगरी, अन्तिम मतदाता नामावली फागुन १२ गते प्रकाशन गर्ने र १३ गते उम्मेदवार मनोनयन दर्ता कार्यतालिका रहेको आयोगले जनाएको छ । त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गते साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।   उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएको छ । प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्ने कामलगायतका कामलाई राष्ट्रपतिकै कामलाई  गरेकोबाट निरन्तरता दिने बताउनुभयो । उहाँका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै छ । उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते छ ।   प्रवक्ता पौडेलले आयोगले संविधानको मर्म र भावलाई  समातेर पाँच वर्षको अवधि नघट्ने गरी तादात्म्य मिलाउनका लागि आयोग लागेको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ ।

पोखराः   पोखरामा ड्युटीमा खटिएका प्रहरीको हात भाँचिदिएको आरोप लागेका शौरभ थापा ४ हजार जरिवाना तिरेर छुटेका छन् ।   अभद्र मुद्धामा प्रकाउ परेका थापालाई ४ हजार जरिवानामा छोडिएको जिल्ला प्रशासन कार्यालय कास्कीका मुद्धा शाखा प्रमुख शिवप्रसाद गौतमले जानकारी दिए ।   सौरभले ५ दिनअघि गाडी चलाउँदा ड्युटीमा खटिएका प्रहरीको हातै भाँचिएको आरोप लागेको थियो । प्रहरीका अनुसार २५ वर्षीय सौरभले मादक पदार्थ सेवन गरी गाडी चलाएका थिए । गत बिहीबार नै उनलाई पक्राउ गरी ५ दिनको म्याद थपिएको थियो । अभद्र मुद्धा लागेका उनलाई प्रशासनले छाडिदिएको हो । प्रहरीका अनुसार पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै नै भाँचिएको छ ।  

काठमाडौं:  सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ । सोमबार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्नुहुँदै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको हो । उहाँले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने उहाँको भनाइ छ । सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाउनुभयो । ‘‘मिडिया भनेकै के होला त भन्दा भइरहेका कुराहरुलाई, समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने होला । अब हुने कुराहरु भनेको देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरु र गरिएका निर्णयहरु हुन् । ति निर्णयहरुलाई, पत्रकारहरुलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठ्यारो पार्नुपर्ने हुँदैन । पत्रकारहरुले पनि नभएका, नचाहिँदा, नहुने कुराहरु गर्न लागेको भए पो ति कुराहरु कसरी प्राप्त गर्ने ? के गर्दा प्राप्त गर्ने ? कोसँग बसेर प्राप्त गर्ने ?कोसँग जुधेर प्राप्त गर्ने ? कोसँग मिलेर प्राप्त गर्ने ? अनेक बाटाहरु खोज्नुपर्ने होला ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘तर त्यो नभएपछि यि कुराहरु सहज ढंगले जाने कुराहरु हुन् । हाम्रो हलको अवस्था, त्यहाँ भित्रको सुरक्षाको कुरा, त्यहाँ भित्रका अन्य प्रवन्धका कुराहरुलाई मिलाउने सन्दर्भमा भएका अप्ठ्याराहरुलाई सहजता गर्न सकिने के छ त्यसलाई अपनाउने कुरा सामान्य कुरा हो ।’’ उहाँले थप्दै भन्नुभयो, ‘‘पत्रकार जनताका बीचमा सही कुरा सम्प्रेषण गर्न लाग्ने । सही कुरा रोक्नको लागि चाहीँ संसद, संसद सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरु छैन, आउँदैन, आउनु हुँदैन । जहाँसम्म गोप्य राख्दाखेरी त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रशारण गर्दाखेरी फाइदाको विरुद्धमा बेफाइदा हुँदैन र? मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो ।’’   उहाँले समाजलाई सचेत गराउन पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पत्रकारहरुले खेलेको भूमिकाले नेपाली समाजलाई सचेत गर्छ । त्यो चेतनाको आधारमा संगठित गर्छ । संगठनको आधारमा उसले अगाडि बढ्ने बाटो तय गर्छ । यो मामिलामा पत्रकारहरुको धेरै ठूलो भूमिका हुन्छ भन्ने म ठान्दछु । तर, हाम्रो पत्रकारिता ति उद्देश्यमाथि कत्तिको गइरहेको छ ? हाम्रो पत्रकारिता त्यो दिशामा हामी कत्तिको लान सकिरहेका छौँ ? जसको कारणले भए पनि त्यो दिशामा हामी कत्तिको जान सकिरहेका छौँ ? यसलाई कसरी त्यो दिशामा लैजान सकिन्छ । यहाँ रहेका कमी कमजोरीहरुलाई कसरी अन्त्य गर्न सकिन्छ ? त्यो गर्नु हाम्रो दायित्व हो । राज्यको तेस्रो आँखा भनेर चर्चा गरिएको हाम्रो पत्रकारितालाई वास्तवमा तेस्रो अंगकै रुपबाट विकास गर्नलाई हामीले के गर्नुपर्ला ? संसदको तर्फबाट के गर्नुपर्ला ?पत्रकारहरुको तर्फबाट के गर्नुपर्ला ?हाम्रो साझा दायित्व हो ।’’ सभामुख घिमिरेले शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो । उहाँले शहीदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो ।