काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

 नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।   नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उहाँले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो। राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उहाँको भनाइ छ।      “लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ”, उहाँले भन्नुभयो,“यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ। त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ।”   नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकूल संविधानको व्याख्या नगर्न उहाँले आग्रह गर्नुभयो। “लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न”, उहाँले भन्नुभयो। 

बागलुङ: जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद सजाय तोकेको छ ।    जिल्ला न्यायाधीश डा. दिवाकर भट्टले फागुन २३ गतेको अन्तिम आदेशले अभियोग दाबी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ३० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको हो । निसीखोला गाउँपालिकाका वृद्धले गत वर्षको चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।    प्रहरीले आराेपीविरुद्ध गत असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतले असार २३ गते पुर्पक्षका लागि कारागार पठाएको इजालास अधिकृत गङ्गाधर सापकोटाले बताउनुभयो । 

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भौगोगोलिक अखण्डता र लोकतन्त्र रक्षाका लागि राष्ट्रपतिको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।   संसद् भवनमा मतदानपछि ओलीले देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा,भौगोलिक अखण्डताको रक्षा,राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि अभिभावकको भूमिका वहन गर्न सक्ने राष्ट्रपति आवश्यक रहेको बताए ।   ओलीले भने,‘राष्ट्रपतिले लोकतन्त्रको रक्षा,जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षकको भूमिका निर्वाह गर्नुपर्छ । ’   राष्ट्रपतिप्रति आलोचना भइरहेको छ नि भन्ने प्रश्नमा ओलीले संकीर्ण स्वार्थ भएकाहरू सानो स्वार्थ पूरा नभएपछि उफ्रिनु स्वभाविक रहेको बताए । ओलीले भने,‘राजनीतिमा जे पनि सम्भव छ । कांग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।

काठमाडौं:  अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालि गंगबुले एक दिने सीप विकास साक्षरता तालिम सम्पन्न गरेको छ । एक दिने सीप विकास साक्षरता तालिम अन्तर्गत मोफिन तथा डुनुट बनाउने तालिम प्रदान गरिएको थियो ।  महिलाहरुलाई सीप विकास मार्फत आर्थिक रुपमा सक्रियताका लागि हौसला प्रदानहोस भन्ने उदेश्यले एकदिने मोफिन तथा डुनट बनाउने तालिम प्रदान गरिएको कार्यक्रमका सभापति राजन लोहनीले बताए ।  सामाजिक उत्तरदायित्व अनुसार सस्थाले यो कार्यक्रमको आयोजना गरि नारीहरुको सशक्तिकरणका लागि ऐक्यवद्धता जनाउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै लैजाने संस्थाको योजना रहेको स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालिका  निर्देशक लिला बहादुर वि.क.ले बताए  ।  स्टारजोन होटल प्रालि र जिभ करियर इन्ष्टिच्युट प्रालिको सहयोगमा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनार लगाएत क्षेत्रगत अतिथिहरु, सवाजसेवीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम नमुना इटानीले संचालन गर्नु भएको थियो ।  भने संस्थाले उपलब्ध गराउदै आएको कार्यक्रमहरुको बारेमा संस्थाका प्रबन्धक निर्देशक दुर्गा सुनारले जानकारी गराएका थिए ।  उक्त कार्यक्रममा २५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा संसदीय दलको बैठकमा भएको सहमति अनुसार मतदान गर्ने निर्णय गरेको छ ।   रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सो निर्णय गरेको जानकारी दिनुभयो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने व्यवस्था भएकाले यस्ता निर्णयहरु सार्वजनिक गर्नु ऐन र संविधानको मर्म विपरीत भएकाले मतदान गर्ने उम्मेदवारको नाम सार्वजनिक नगरिएको उहाँको भनाइ छ ।   यद्यपि, रास्ववपाको एक नेताका अनुसार रास्वपाले नौ दलीय गठबन्धनलाई सघाउने भएको छ । यस बीचको राजनीतिक घटनाक्रम र पार्टीको संगठन विस्तारको व्यवस्ताका कारण पार्टीले यो निर्णय आज गरेको उहाँको भनाइ छ ।   “यसबीचमा जे जस्ता राजनीतिक घटनाक्रम भए । संगठन विस्तरको क्रममा थियो, राजनीतिक पार्टीको हिसाबमा, राजनीतिक संघर्षको रुपमा जुन व्यवस्था छ, हामी राष्ट्रपति निर्वाचनमा भाग लिनेछौं ।,” बैठकपछि रास्वपाका ती नेताले भन्नुभयो, ‘‘निर्वाचन आयोगले आचारसंहिता लगाएको छ । हामीले यो गर्ने वा त्यो गर्ने भन्न पाउँदैनौं । संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भूमिका कस्तो रह्यो भनेर बैठकमा समिक्षा गर्‍यौं ।”   दलीय गठबन्धनलाई सहयोग गर्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले लोकतन्त्र एवम् संविधानको रक्षा गर्ने उद्देश्यले सो निर्णय भएको बताउनुभयो ।

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको बताएका छन् ।    संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले प्रचण्डले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरे पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका हुन् ।   नेपालले भने, ‘मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दा नेपाली कांग्रेसलाई नै राष्ट्रपतिको उम्मेदवार बनाऔं । हामी सबैको सहयोगमा पौडेल जीलाई राष्ट्रपतिको उम्मेदवार बनाएका हौं । उहाँलाई राष्ट्रपति उम्मेदवार बनाउन हाम्रो पनि भूमिका छ । ’

काठमाडौं : प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते भएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा न्यौपाने सिढीबाट लडेर घाइते भएका हुन् ।    न्यौपानेको टाउकोमा चोट लागेको छ ।  लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ ।    नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरी ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

काठमाडौं : राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा आज अपरान्ह १२ बजेसम्म  ४२१ मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म संघतर्फ २०२ र प्रदेशसभातर्फ २१९ गरी कूल ४२१ मत खसेको हो।   बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्‍नेछ। ​ राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । मतदानमा संघीय संसद्तर्फ प्रतिनिधिसभाका २७२,राष्ट्रियसभाका ५९ र सातै प्रदेशसभाका ५५० गरी कूल ८८१ मतदाताले सहभागी हुँदैछन्। ​ संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।   संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।    राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्। पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।

चितवन:  चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ ।    निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक २० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । निकुञ्जको नियमित गस्ती टोलीले बुधबार बिहान ९ः३० बजे मृत अवस्थामा गैँडालाई फेला पारेको थियो । एक आपसमा जुधेर मृत्यु भएको हुन सक्ने सूचना अधिकारी तिवारीले बताउनुभयो ।    मृत गैँडाको खाग खुर सुरक्षित छ भने साउन महिना यता प्राकृतिक र चोरी शिकारीले गर्दा १३ वटा गैँडाको मृत्यु भएको छ ।  गैँडाको वासस्थान परिवर्तन भएर पश्चिम क्षेत्रमा धेरै हुन थालेपछि जुधेर मर्ने सख्या वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने र यहाँबाट अन्य निकुञ्जमा लैजानको लागि तयारी भए पनि काम हुन ढिलाइ भइराखेको उहाले बताउनुभयो ।    पश्चिम अमलटाडी, कावासोती लगायतको क्षेत्रमा गैँडाको लागि उपयुक्त वासस्थान छ । नारायणी नदीको भँगालो, घाँसे मैदान, पानीको व्यवस्था, मानवीय चापको कमीलगायतको कारणले गैँडाको वासस्थान पश्चिम हुन थालेको छ । त्यसलाई व्यवस्थापन गर्नको लागि विभागबाट पनि पहल भइराखेको उहाँले जानकारी दिनुभयो । संरक्षित वन्यजन्तुका लागि सबैभन्दा महत्वपूर्ण वासस्थान रहेकाले त्यसतर्फ विभागको ध्यान गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताउनुभयो ।    गैँडाको सुरक्षाका लागि वासस्थानको सुधार, स्थानान्तरण, जनसङ्ख्या व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, समुदाय परिचालनलगायतको काममा विभागले योजना अनुसार काम गरिराखेको जानकारी दिनुभयो । पछिल्लो गणना अनुसार निकुञ्जमा छ सय ९४ गैँडा छन् ।