म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ । संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन् । ‘एक त खाजा समयअघि नै सुनुवाइ सकिएर इजलास उठेको छ, अर्कोतर्फ मगाउनुपर्ने कागजात र बहसनोट केही बाँकी छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘संवैधानिक इजलासका सबै न्यायाधीश छलफलमा जुटेकाले केही न केही आउँछ ।’ स्रोतले भन्यो, ‘विस्तृत नआए पनि संक्षिप्त आदेश र ठहरको व्यहोरा सहितको निर्णय सर्वाजनिक हुनेछ ।’ गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।

काठमाडौं:  चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्वोच्च अदालतमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । सर्वोच्चमा आज (शुक्रबार)देखि सञ्चालनमा आएको हेल्थ डेस्कको उद्घाटन अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अस्पतालका प्रमुख डा.भूपेन्द्रकुमार बस्नेतले गर्नुभएको हो । डा। बस्नेतले मुख्य रजिष्ट्रार कुँवरको स्वास्थ्य जाँच गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हेल्थ डेस्क हप्ताको तीन दिन (आइतबार, मङ्गलबार र बिहीबार) बिहान १० देखि २ बजेसम्म सञ्चालन हुनेछ ।

पोखरा:   माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो ।                                                                                                                                                                                                                                                                                                                                       “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेब्रुअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए । तर विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेक छन्”, रेवान पोखराका अध्यक्ष एवम् होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयो ।  “अहिले झण्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ”, उहाँले भन्नुभयो । हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिकरुपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पर्यटक घटेको उहाँको भनाइ छ । यतिबेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन् । होटल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो सङ्ख्या घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विमान दुर्घटनापछि मानिसहरु मानसिकरुपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए तर बुकिङ रद्द भइरहेका छन् ।” उहाँका अनुसार होटल सरोवरमा  जनवरीमा ६० र फेब्रुअरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन् ।” उहाँले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०÷४० प्रतिशत बुकिङ रहेको दुर्घटनापछि झरेर १०÷१५ प्रतिशतमा पुगेको बताउनुभयो । “ विस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ । सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन् । जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि देखिएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले सङ्ग्रहालयमा दैनिक सिजनको बेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको  र सामान्य अवस्थामा पनि पाँचसयको हाराहारीमा आउने गरेको तथ्याङ्क अहिले घटेको जानकारी दिनुभयो । उहाँले बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवम् अन्य पर्यटक पनि नआएको उहाँको भनाइ छ । माघ १ मा काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार सबैको निधन भएको थियो ।

 काठमाडौं:  चालकहरुले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग नेपाल पेट्रोलियम ट्यांकर चालक संघले  राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग राखेका हुन् । उनले सधैँ परनिर्भर हुनुभन्दा भविष्यमा आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग आफूहरुले राखेको बताए । देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेको उल्लेख गर्दै उनले चालकहरुको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष लामाले एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे । उनले आफूहरुको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने बताए । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकहरुको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानुनहरुमा संशोधन गर्न आवश्यक रहेको बताए  । उनले विनियमावलीमा भएका केही व्यवस्थाहरु समेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरुले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले भने, ‘यो विषयमा भएका विद्यमान ऐन, कानुनमा केही संशोधन गर्नुपर्ने अवस्था छ । विनियमावलीको केही व्यवस्था परिमार्जन गर्नुपर्ने अवस्था छ । त्यसको लागि आ–आफ्नो ठाउँबाट सबै जनाले पहल गर्नुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।’ कार्यक्रममा सांसद राजन केसीले ट्यांकर चालकहरुको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए । उनले ट्यांकर चालकहरुको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हिनताबोध नराखी काम गर्न चालकहरुलाई आग्रह गरे । कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट्यांकर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

काठमाडौं:  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभई अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन् । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भए पनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘ उद्योगमन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई हामी निर्यात गर्ने वस्तुहरुको लागि कहीँ जग्गा खोजिरहेका छौँ । चाँडै हामी त्यो कुराको कमी नहुने गरी सरकारले निर्णय गर्नेछ । समस्याका गीत गाएर होइन, समाधानका सम्भावनाहरुका नजिकमा गर्नुपर्ने दायित्व बोध छ ।’ मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजी गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताए । उनले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउनेकुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढीरहेको बताए । उनले भने, ‘ सरकारको प्राथमिकतामा नीतिगत कुरामा हो । नीतिमा कहाँ हो समस्या ? लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण वा बैंकसँगको कारोबार सुलव बनाउनेकुरामा सरकार गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर उद्योगी, व्यापारीहरु उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध भएको छ, मैले उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नेछु ।’ उनले उद्योगी, व्यापारीहरुले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरु सञ्चालन गर्नका लागि आगामी दिनमा अघि बढाउने प्रतिवद्धतासमेत जनाए। ‘निजी क्षेत्रले राखेका केही मागहरु मसँग, मन्त्रालयसँग आएको छ । यसमा हामी केही विषयहरुका लागि एउटा समिति बनेको छ, त्यो समितिले रुग्ण उद्योगहरु र विगतमा हामीले सञ्चालनमा ल्याउन नसकेका बन्द भएका उद्योगहरुलाई हामी अघि बढाउनेछौँ,’ उनले भने, ‘लिज प्रक्रियाबाट अघि बढाउने सरकारको नीति छ । सरकारले उद्योग चलाउँदैन, सरकारले उद्योगीहरुलाई प्रोत्साहित गर्ने हो । नीति र कानून फुकाइदिने कुरा हो ।’ मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभइ उद्योगीहरुलाई प्रोत्साहित गर्ने र नीति कानून फुकाइदिने काम गर्ने बताए । उनले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई निर्यात गर्ने वस्तुहरुको भण्डारणका लागि ठाउँ हेरिरहेको बताए । एक्स्पो ३ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

काठमाडौँ:  माओवादी केन्द्रकी नेतृ एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्न चाहेको बताएकी छिन् । त्रिभुवन पौडेल पत्रकार मात्र नभएर एक कुशल राजनीतिकर्मी पनि रहेको धारणा राख्दै उनको निधनले अपूरर्णिय क्षति भएको शर्माले बताइन् । प्रेस सेन्टर नेपालले आयोजना गरेको विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको श्रद्धाञ्जली कार्यक्रममा उनले सञ्चार क्षेत्रको सुधारका लागि सबैको सहयोग चाहिने बताइन् । देश बनाउने अभियानमा प्रधानमन्त्री प्रचण्ड लागेको र त्यसलाई सबैले आआफ्नै क्षेत्रबाट सहयोग गर्नुपर्ने उनले बताइन् ।  प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका नेता महेश्वर दाहालले पनि पत्रकार पौडेलको बारेमा आफ्नो धारणा राखेका थिए ।

काठमाडौं:  लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए । उनी निकट गायिका सिर्जु अधिकारीसँग केही दिनअघिको कुराकानीमा पौडेलले आफूलाई हिंडडुल गर्न गाह्रो भएको र रगतको कमी शरीर सुक्दै जान थालेको बताएका थिए । ‘मैले इन्द्रेणी कार्यक्रममा जाऊँ भनेको थिएँ । उहाँले बिरामी छु भन्नुभएको थियो,’ अधिकारीले भनिन् । पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन् । प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् । पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय थिए । ‘भीम शालीन स्वभावका गायक हुन् । उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो,’ अध्यक्ष बीजीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् ।

चितवन:  अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो । भरतपुर महानगरपालिका–१ देवघाटमा यहाँका ज्येष्ठ नागरिकलाई लक्षित गरी देवघाट सु–स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । जलेश्वर आश्रमले उपलब्ध गराएको एक कठ्ठा जग्गामा रु ७० लाख लागतमा भवन निर्माण गरिएको छ । विसं २०७८ कात्तिक २९ गते शिलान्यास गरी निर्माण सुरु गरिएको भवन सम्पन्न भएको छ । भवन निर्माण समितिको संयोजक नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष हरि पोखरेलका अनुसार चारकोठे पक्की भवन बनेको छ । भवनमा देवघाटमा रहेका वृद्धवृद्धाको उपचार सुरु गरिएको छ । विगत पाँच वर्षदेखि नै एउटा कोठा भाडामा लिएर उपचार सेवा दिँदै आएकामा अहिले भवन निर्माण गरी सोही भवनबाट सेवा सुरु गरिएको हो । केन्द्रमा चितवन मेडिकल कलेज, भरतपुर अस्पताललगायतबाट चिकित्सक गएर परीक्षण गर्ने गरेका छन् । चिकित्सक स्वतःस्फूर्तरूपमा सहयोग गर्न जाने गरेको पोखरेलले बताए । यसैगरी औषधिसमेत निःशुल्क व्यवस्था गरिँदै आएको छ । उपचारमा आउने बिरामीको विद्युतीय तथ्याङ्क राख्ने गरिएको पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो कार्य गरिएको हो । पोखरेलले भने, “बिरामीको स्वास्थ्य इतिहास, सेवन गरिरहेको औषधिलगायत सबै विषय कम्प्युटरमा राखिन्छ ।” यस्तो तथ्याङ्क अमेरिकामा रहेका चिकित्सकले समेत हेर्न मिल्ने उनले जानकारी दिए । केन्द्रसँगै अस्पताल निर्माणको तयारीसमेत गरिएको छ । आश्रमले थप जग्गा उपलब्ध गराउने र बिरामीलाई राखेर उपचार गर्न मिल्ने गरी काम गर्न लागिएको पोखरेल बताउँछन् । 

विराटनगर: प्रदेश १ सरकारले चालुआर्थिक वर्षको ६ महिनामा जम्मा १९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७९(०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ९९ करोड ९४लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुँजीगत तर्फको २२ अर्ब ९९ करोडको बजेट मध्ये पछिल्लो ६महिनाको अवधिमा ४ अर्ब ४३ करोड १६ लाख मात्र खर्च गरेको हो । यो खर्च १९।२७ प्रतिशत मात्रै हो । चालुतर्फ प्रदेश सरकारले १६ अर्ब ७३ करोड ८९ लाख बजेट विनियोजन गरेको थियो । जसमा पाँच अर्ब ४५ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा चालु र पुँजीगत खर्च गरी जम्मा ९ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको आन्तरिक आम्दानी पनि निराशाजनक छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार राजस्व बाँडफाँटबाट आर्थिक वर्षमा ११ अर्ब ८८ करोड २४ लाख उठ्ने अनुमान थियो । तर ६ महिनामा ३ अर्ब १४ करोड ८९ लाख १० हजार मात्रै संकलन भएको छ । संघीय सरकारबाट १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ अनुदान आउने अनुमान छ । पछिल्लो छ महिनामा ४ अर्ब ६८ करोड ९९ लाख ६६ हजार मात्रै आएको छ ।