काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त कुुरा बताउनुभएको छ । “महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ”, शुभकामना सन्देशमा भनिएको छ, “यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ, यसको फलस्वरूप मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ, यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।” अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ । “राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो”, सन्देशमा भनिएको छ, “त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन चाहन्छु ।” अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्ने विश्वास राष्ट्रपति गर्र्नुभएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ । यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । “डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँचमार्फत सार्वजनिक सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न गुणात्मक प्रगति हासिल गर्न सकिन्छ”, सन्देशमा भनिएको छ, “नवप्रवर्तन तथा प्रविधिको विकासमा महिलाको योगदानलाई कदर गर्दै, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनका निम्ति यसबाट हामीलाई थप प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।”
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । “राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “महिलाको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्ण हुन्छ ।” मुक्ति, समानता र स्वतन्त्रताको आकङ्क्षासहित सुरु भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको स्मरण गर्नुभएको छ । “लोकतन्त्र प्राप्तिका आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलनलगायतका गौरवपूर्ण सङ्घर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण सङ्घर्षको जगमा नै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ”, सन्देशमा भनिएको छ, “यो गौरवपूर्ण सङ्घर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।” जनताको वीरतापूर्ण सङ्घर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको सन्देशमा उल्लेख छ । “संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन”, शुभकामना सन्देशमा भनिएको छ, “सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था गरेको छ ।” सम्पत्ति, कानूनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको र लैङ्गिक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य स्मरण गर्नेपर्ने प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुभएको छ ।
काठमाडौं: फुटबल खेलाडी अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो । यो विधामा फुटबलका विष्टसहित किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए । उनीहरुलाई पछि पार्दै अवार्ड हात पारेका अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए । यस्तै उनले १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गरेका थिए । गत वर्ष नै भएको नेपाल सुपर लिग एनएसएलमा उनी सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए । उनले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।
काठमाडौं: भलिबल खेलाडी अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरेको हो । यो विधामा शाहीसँगै क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए । उनीहरुलाई पछि पार्दै अवार्ड जितेकी अरुणा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि उचाल्ने कप्तान हुन् । उनकै कप्तानीमा नेपालले समूह चरणका ५ खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित उपाधि जितेको थियो । उनी यो प्रतियोगितामा बेस्ट सेटर बनेकी थिइन् । यस्तै घरेलु प्रतियोगिता छैटौं एनभीए कपमा पनि उनी बेस्ट सेटर बनेकी थिइन् । वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी अरुणाले पल्सर मोटरसाइकल पुरस्कार पाएका छिन् ।
काठमाण्डाै: फुटबलर मनिष डाँगी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फको वर्षकाे उत्कृष्ट युवा खेलाडी बनेका छन् । प्रज्ञा भवन कमलादीमा मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् । मनिषले विश्व कप छनाेटमा इराकसँगकाे खेलमा उत्कृष्ट गाेल गरेका थिए । यस्तै उनले साफ च्याम्पियनशिपकाे उद्घाटन खेलमा आयाेजक माल्दिभ्सँगकाे खेलमा पनि गाेल गरेका थिए । मनिषलाई मच्छिन्द्र फुटबल क्लबलाई शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि पनि जिताएका थिए । मनिषले फुटबलकी प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् । यस्तै पब्लिक च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले पाएकी छिन् । उनले फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । यस्तै ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरिएको छ । खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
काठमाण्डाै: नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर अलमुताइरीलाई 'स्पाेर्ट्स अवार्ड–२०७८' अन्तर्गत वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड दिएकाे हाे । यस विधामा क्रिकेटका डेभ वाटमोर, भलिबलका जगदीश भट्ट, तेक्वान्दोका कविराज नेगी र बक्सिङका दीपक महर्जन मनोनयनमा थिए । बाँकी चार जना मनाेनीतलाई पछि पार्दै अलमुताइरीले अवार्ड जितेका हुन् । अलमुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएकाे थियाे । अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि जितेको थियो ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । सोलुखोला दुधकोशी जलविद्युत परियोजना उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदै गएको र आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका हुन् । प्रचण्डले भने,‘ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतिर जाने यो उत्कृष्ठ अवसर हो । डीजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्ने सुझाव आएको छ । त्यसका लागि पनि मैले तयारी गरेको छु ।’ नेपाल ग्रीन इनर्जीको प्रचुर सम्भावना रहेको देश भएको बताए । उनले भने,‘प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । म हाइड्रोजन गाडी तयारीमा छु । हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदैछ । हाइड्रोजनलाई आर्थिक उत्पादनसँग जोड्न जरुरी छ । अर्थतन्त्र संकट समाधानमा सरकार गम्भीर भएर लागेको छ । ’
पोखरा: जिल्ला ट्राफिक कार्यालय कास्कीले होली पर्वको दिन हिजो (शुक्रबार) ट्राफिक नियम उल्लघन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । पोखराको सिर्जनाचोक, चिप्लेढुङ्गा, लेकसाइड र हेम्जामा होली मनाउने क्रममा ट्राफिक नियम उल्लघंन गर्ने ३ सय ५६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो । होलीको दिनमा कुनै अप्रिय दुर्घटना हुन नदिन ट्राफिक कार्यालयले १७ ठाउँ बढीमा सवारी चेकिङ गरेको थियो । कारबाहीमा पनर्मो मोटरसाइकल, स्कुटर, कार र जिप छन् । सवारी चालक अनुमति पत्र नभई गाडी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट क्षमताभन्दा बढि यात्रु राख्ने, तिव्र गतिमा सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल/स्कुटर कुदाउँने लगायत सवारी कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन,’ पाठकले भने, ‘धेरैले मादक पदार्थ सेवन गरेको, हेल्मेट नलगाएको, क्षमता भन्दा बढी सवार भएर यात्रा गरेको कारण बढी कारबाहीमा परेका छन् ।’ पाठकका अनुसार २०२ जना मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, १५४ जना हेल्मेट नलगाउने र क्षमता भन्दा बढी सवार गर्ने कारबाहीमा परेको छन् । भने ११९ जना पक्राउ परेका छन् । यसैबीच, हिजो मात्रै पोखरामा ८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् । घाइतेको हाल मणिपाल अस्पातालमा उपचार भईरहेको पाठकले बताए ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सङ्क्रमणकालीन न्यायको मान्यता अनुरुप यो सत्य निरुपण मेलमिलाप आयोगमार्फत समाधान गर्ने विषय भएको बताउनुभएको छ । मङ्गलबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले अहिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा जे जस्ता बहस उठेको र छलफल चलिरहेको सन्दर्भमा यसको क्षेत्राधिकार भनेको सङ्क्रमणकालीन न्यायको मान्यता अनुसार सत्य निरुपण मेलमिलाप आयोगमार्फत समाधान गर्नुपर्ने बताउनुभएको हो । महासचिव गुरुङले भन्नुभयो, “अहिले सङ्क्रमणकालीन न्याय सम्बन्धितको विषयमा जे जस्ता बहस उठिरहेका छन्, छलफल चलिरहेका छन् । यसको क्षेत्राधिकार भनेको सङ्क्रमणकालीन न्यायको मान्यता अनुसार सत्य निरुपण मेलमिलाप आयोगमार्फत नै समाधान गर्ने विषय हो । यो विषायन्तर कसैले पनि गर्नुहुँदैन र क्षेत्राधिकारको अन्तर पनि कसैले पनि गरिनुहुँदैन ।” उहाँले यस विषयमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माओवादीका अन्य घटक दलहरुसँग पनि छलफल भएको बताउनुभयो । “साथ साथै माओवादी आन्दोलनको सन्दर्भमा दीर्घकालीन रुपमा कसरी जान सकिन्छ भन्ने विषय पनि थियो । मुख्यतः दुइवटा विषयसँग बढी नै सम्बन्धित थियो”, मङ्गलबार बिहान बालुवाटार बैठकमा पनि यी दुई मुख्य विषयमा छलफल भएको उहाँको भनाइ छ । राज्यको प्रचलित कानुन अनुसार पनि सङ्क्रमणकालीन न्याय बृहत् शान्ति सम्झौता अन्तर्गत केन्द्रित गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको प्रचलित कानुनले, राज्यको बृहत् शान्ति सम्झौता र प्रचलित कानुनले चाहिँ सत्य निरुपण मेलमिलाप आयोग अथवा सङ्क्रमणकालीन न्यायको सिद्धान्त र मान्यताअन्तर्गत केन्द्रित गरेको छ । यस कारणले गर्दा ती निकायमा छिटोभन्दा छिटो संयन्त्र परिपूर्ति गरेर त्यसमार्फत नै सबै समस्या सम्बन्धित प्रक्रियाका बाँकी समस्या छिटोभन्दा छिटो हल गरिनुपर्छ ।”

