पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडानरअवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने बताइन्छ । बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् । उहाँले भन्नुभयो, “पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि आजदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ । बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन् ।” यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो । बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताउनुभयो । बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन् । कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ । उहाँले भन्नुभयो, “हाल चारवटा जहाज पोखरामै रात्रि बिसान हुन्छ । भोलिपल्ट बिहान पोखराबाट सम्बन्धित गन्तव्यमा उडान सुरु हुन्छ । यसले पोखराको पर्यटनलाई ठूलो सहयोग पुग्ने विश्वास छ ।” पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो । पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गर्दै आएका थिए । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । सोही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन । विमानस्थल सञ्चालनमा आएको दुई महिना पुगिसक्दा समेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी तथा उद्योगी निरास छन् । सरकारले भने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरूसँग कूटनीतिक पहल भइरहेको जनाएको छ ।
काठमाडौं: मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए । पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गर्नुभयो । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ तथा सिंहले दुई सय ८२ मत प्राप्त गर्नुभयो । संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो । दलहरुबीच यदी सहमति कायम हुन नसकेमा संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो । संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट बहुमतबाट हुने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते भएको थियो । उक्त निर्वाचनमा सङ्घीय संसद् सदस्य तीन सय ३४ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेकामा सङ्घीय संसद् सदस्य तीन २६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा आठ सय ६२ जना ९९७।५१ प्रतिशत०ले मतदान गरेका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । निर्वाचनमा आठ जना ९०।९३ प्रतिशत० को मत बदर भएको थियो । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार दुई सय ७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार सात सय ३० मत प्राप्त भएको थियो ।
पोखरा: विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस बुधबार पोखरामा मनाइएको छ । नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । सामाजिक विकास कार्यालय कास्कीको समन्वयमा सभागृहबाट सुरू भएको प्रभातफेरी सहिदचोकस्थित मन्त्रालयमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरूले ‘सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, ‘समृद्ध नेपालका लागि महिला साक्षारता र सहभागिता आजको आवश्यकता’ लगायतका प्लेकार्ड बोकेका थिए । ¥यायालीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोपिला नेपाल, थ्री एन्जल्स नेपाल, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द,गैरसरकारी सस्था महासंघ ,सामाजिक बिकास तथा स्वास्थ मन्त्रालय ,महिला मानव अधिकार रक्षक सजाल,पत्रकार महासंघ कास्की लगायत विभिन्न संघ संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव घनश्याम पौडेल, कार्यालय प्रमुख इन्द्रबहादुर थापा, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, राष्ट्रिय मानवअधिकार आयोगका मोहन काफ्ले, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले नारालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई सशक्त बनाउँदै दूरदराजका महिलालाई मूलधारमा ल्याउनुपर्ने उनीहरूको भनाइ थियो । दिवसमा विभिन्न कार्यक्रम गरेपनि महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा भने कमी आउन सकेको छैन् । अनौचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले सन् २०२२ मा ४ हजार ३ सय ३९ जना महिला र १ हजार ४ सय ४ जना बालिका गरी कूल ५ हजार ७ सय ४३ जना पीडित भएको जनाएको छ । १ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ (फागुन २४ गते) एक प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो । सन् २०२२ मा बेचबिखन तथा ओसारपसारका घटनामा २४ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा २४ जना, घरेलु हिंसाका घटनामा ३ हजार ३१ जना, ‘बोक्सी’को आरोपमा २३ जना, बलात्कारका घटनामा ६ सय ५ जना, बलात्कार प्रयासका घटनामा १ सय ४५ जना, यौन दुर्व्यवहारका घटनामा ४२ जना महिला पीडित भएका अभिलेख राखेको प्रतिवेदनमा जनाइएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधित्व गराउन आफूहरू गम्भीर रहेको बताउनुभयो । नारीहरूको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले नारी दिवसका दिनमात्र महिलाको हकहितसम्बन्धी कुरा गर्दैमा उपलब्धि नहुने विचार व्यक्त गर्नुभयो । अध्यक्ष थापाले अग्रपङ्क्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पुर्याउन राप्रपा नेपाल निरन्तर लागिरहेकाले वडा तहसम्म सङ्गठन विस्तार गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभयो । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सङ्गठनका उपाध्यक्ष सङ्गीता लाखाजु, काठमाडौँ जिल्ला अध्यक्ष मिरा कार्की महर्जनलगायतले महिला सशक्तीकरणका लागि पार्टीले प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।
अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहकाबीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो । जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् । तस्बिरका साथ उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशीर्वाद दिनुहोला ।’ पन्त र सुवेदीको बिहीबार चितवनको सौराहामा विवाह समारोह आयोजना हुँदैछ । विवाहमा दुबैतर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् । दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । पन्तले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभ–कामना मिलिरहेको छ ।
पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गर्नुभएको छ । काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गर्नुभएको हो । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताउनुभयो । महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । “पर्यटनमा मात्रै होइ, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरु (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो । यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गर्नुभयो । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए । निगमको आजको दुबई–काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाउनुभएको थियो । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ । निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट हुनुहुन्छ ।
बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म 'पठान' ले नेपालबाट राम्रो कमाइ गरेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको छ। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ। जनावरी २५ देखि प्रदर्शन भएको फिल्मले भारतमा अझै पनि राम्रो व्यापार गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतबाट ५३६ करोड ७७ भारू कमाएको छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्। शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।
काठमाडौं : देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ। कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ। बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरूले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। उनले भने, 'लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन्। आउँछन् र खुरुखुरु जान सक्छन्।' बिहानदेखि सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ। सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उनले बताए। सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने उनले बताए। प्रमुख कपालीले भने, 'ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ।' कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ। त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए। उनले भने, 'समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ।' कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन्। विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन्। कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए। सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ। उनले भने, '३ बजेपछि कार्यालय नै सुनसान हुन्छ।' यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ। पहिले संघीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत गएको छ। कार्यालयहरूले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ।
काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ । उक्त तथ्यांकअनुसार वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १ः३५ बजे काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २३४ यूएस आईक्यूआई छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । आईक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । वातावरण विभागका अनुसार यो समाचार तयार पर्दासम्म बुधवार रत्नपार्कको यूएस आईक्यूआई १७३, भक्तपुरको २०७, कीर्तिपुरको १८१ र नारायणीको २४२ देखिएको छ । आईक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम–२।५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौँमा यो मात्रा ४६ पुगेको पाइएको हो । यसअघि आइक्यूएयरले आफ्नो वेभसाईटमा प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौँ सन् २०२१ मा विश्वको छैटौँ प्रदूषित राजधानी बनेको थियो। आइक्यू एयरले नेपाल प्रदूषित मुलुकको १० औँ स्थानमा राखेको थियो। पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौँ प्रदूषित मुलुकमा परेको छ । वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले पिएम–२.५ को मात्रा २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौँ र तराईका सहरमा यो मात्रा तीन सयदेखि चार सयसम्म पुग्ने अनुमान वातावरण विभागको छ। वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार काठमाडौँमा यस वर्ष हिउँदमा पानी धेरै नपरेकाले पनि मौसम धमिलो वा तुवाँलो देखिएको हो। उनले भने, ‘यो अझै केही दिन लम्बिने देखिन्छ। गर्मी सुरु भएपछि तराईमा प्रदूषणको तह झन् बढ्ने देखिन्छ ।’

