काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं : पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिकामा नयाँ रूट सार्वजनिक गरिएको छ । दोर्दीको नौथरसेराबाट सुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राबबाट फेरि नौथरसेरा झर्ने ४ दिने ट्रेक गर्न सकिने छ । काठमाडौंबाट पोखराहुँदै दोर्दी गाउँपालिका पुग्न सकिनेछ ।    मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकलाई सहजका लागि  पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेल्टरको रुपमा विकसित गर्ने कार्य गरिरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।    ‘यस गाउँपालिका अत्यन्त्यै सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यको रुपमा यस गाउँपालिकाभित्र अनेकौं स्थानहरू छन्।’ अधिकारीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।   नौथर शेरा इलमपोखरी,लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरापुग्ने ८ दिनको रूट छ । यस्तै, नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसीसहर ११ दिनको ट्रेकिङ रुट रहेको बताइएको छ ।   तर,अहिलेलाई ४ दिने रुटलाई गाउँपालिकाले खुल्ला गरेका छ । यस रुटमा ट्रेकिङको क्रममा आवश्वक पर्ने पानी,हिँड्न उपयुक्त बाटोको प्रबन्ध गाउँपालिकाले गरेको छ । पर्यटनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले ५९ लाख रुपैयाँ छुटाएको र आगामी वर्ष थप रकम व्यवस्था गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।    लिपेको सिधै अगाडि देखिने मिमालचुलि हिमाल (७८८३ मि.) पनि दोर्दी गाउँपाकिकामा पर्दछ । हिमाल चड्ने सम्भावनाको खोजि गाउँपालिकाले गरिरहेको छ । लिपे लेकबाट नौटाँचे,दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाब निस्कन सकिन्छ ।   मानव वस्ती नभएकाले यो रूटमा मोटरबाटो छैन । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध हुँदैन । पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरीहुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोड्नका लागि अहिले काम भइरहेको बताइएको छ ।    इलमपोखरी–लिपे–दाम्राब छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको वार्मअप ट्रेकिङको रुपमा पनि जान सकिन्छ । यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालिगुराँसको जंगलै जंगल हिँड्न पाइन्छ । गुराँस फुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगल छिचोल्नुको मजा बेग्लै हुन्छ । यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ ।    पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम यस पालिकाले गर्दै आइरहेको छ । यसो हुँदा सो रुटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेल्टर बनाएर बस्न सक्नेछन् ।    मोटरबाटो विस्तार हुने अवस्था नरहेकोले ट्रेकिङको अर्गानिक स्वाद लिन सकिने यी रुटहरु छोटो ट्रेकका लागि अत्यन्तै उत्तम रुट रहेको छ । यी रुटहरूबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छ । 

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठन  दर्ता गराउँदै छन् ।    बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए।    यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।    यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ । 

तनहुँ:  तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुवेसी स्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ ।     मादी श्री आवासीय माध्यमिक विद्यालयका शिक्षक मनोज राउतले कानको जाली नै फुट्ने गरी कुटेका हुन् । राउतले कक्षा ६ मा पढ्ने १२ वर्षीय रोनिश पराजुलीलाई कुट्दा देब्रे कानको जाली फुटेर दुई वटा प्वाल परेको र कानभित्र रगत समेत जम्न पुगेको छ ।     राउतले आइतबार कक्षा ६ मा पढ्ने रोनिश पराजुलीले गल्ती गरेको भन्दै  कानको जाली नै फुट्ने गरी पिट्नु भएको थियो  । शिक्षक राउतले आफूले विद्यार्थी पराजुलीलाई पिटेको स्वीकार गर्नुभयो । रोनिशको आमा अर्पणा पराजुली छोरा घाइते भएपछि सुरुमा एपोलो हस्पिटल दमौली लागेको र अस्पतालले पोखरा रिफर गरेपछि मङ्गलवार गण्डकी मेडिकल कलेज लगेर जचाएका थिए । त्यसपछि विद्यालयले विश्वास नगरेपछि पुनः पोखराकै पार्कल्याण्ड हस्पिटलमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर सुधीर गोपाल पराजुलीसँग परीक्षण गरिएको थियो  । परीक्षणका क्रममा कानको जालीमा दुई वटा प्वाल परेको र रगत समेत जमेको डाक्टरको रिर्पोटमा उल्लेख छ ।    कुट्ने शिक्षक माथी कारबाही गर्नुपर्ने माग राख्नु भएको छ ।  शारीरिक र मानसिक यातना दिएको स्थितिमा नकारात्मक असर परेर विगत पाँच दिन देखि विद्यालय जान नसकेकोको बालकका हजुरआमा नानीमाया अधिकारीले बताउनुभयो ।  

पोखरा:    नेकपा एमाले पोखरा महानगर कमिटिका आयोजनामा ग्रासरुट अभियान अन्तर्गत ३३ वटै वडाको वडा कमिटिका पदाधिकारी र महानगर सदस्यहरु बिचको पार्टी सुदृढीकरण बिस्तार अभियान २०७९ सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कमिटि सदस्य मायानाथ अधिकारीले नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट अभियानले एमालेका कार्यकर्ताहरुलाई संगठित गर्दै पार्टी सञ्चालनलाई सुदृढ गर्न तर्फ लागिरहेकाले सम्पूर्ण पोखरा महानगर अन्तरगतका ३३ वटै वडाका पदाधिकारीहरुले यसवारेमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए । एमालेले पार्टी निर्माणका लागी देशैभर अभियान सञ्चालन जारी राखेकाले यसतर्फ सम्पूर्ण सदस्यहरु आ आफ्नो ठाउबाट एकवद्ध भएर लाग्न समेत उनले आग्रह गरे ।  महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि  सचिवालय सदस्य पुण्य पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य शिव पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए ।  कमिटिको उपाध्यक्ष मोहन गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन कमिटिका सचिव जीवन आचार्यले गरेका थिए । कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारीको समेत उपस्थिती रहेको थियो ।   

पोखरा:    बालअधिकारको लागि नागरिक समाज (बालअधिकार मञ्च)ले कास्कीले पछिल्लो समयमा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै चासो व्यक्त गरेको छ । मञ्चले प्रमुख जिल्ला अधिकारी टेकबहादुर के.सी., पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार वि.क., र श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाललाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ । शान्तिका लागि नागरिक समाजको संजाल पोखराका संयोजक विना सिलवाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेल, बालहितकारी परियोजना नेपाल पोखराका संयोजक केशव पौडेल, असल छिमेकी सहयोग संघ (गोनेसा) का संयोजक शिवराज शर्मा, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम संयोजक पीति पाण्डे, एड्भोकेसी फोरम पोखराका संयोजक कुञ्जनी परियार प्यासी, सिवीन नेपाल पोखराका संयोजक शंकर नेपाली लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । पछिल्लो समय पोखराका विभिन्न स्थानमा सञ्चालित खाजाघरहरूमा १८ बर्षमुनिका बालिकाहरू राखी उनीहरूलाई जोखिमपूर्ण कार्यमा लगाउने गरेको तथा कतिपयले बालिकाहरूलाई घर भाडामा नै लिएर राख्ने र ग्राहकको माग अनुसार उनीहरूलाई ओसारपसार गर्ने पाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यसैगरी १४ बर्ष मुनिका बालबालिकाहरूलाई बालश्रममा लगाउने गरेको पाइएको, पोखरा ५ खुँडेपोखरीमा डुबेर ४ बर्षीय बालकको मृत्यु भएको, फागुन ९ गते पोखरा सेती दोभानस्थ्ति सेनाको प्रशिक्षणमा फेला परेको बिस्फोटक पदार्थ खेलाउँदा २ जना बालक घाइते भएको र घटनाको बारेमा सेनाबाट नै फरक फरक धारणा आएको भन्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने मञ्चको माग छ । पोखराका विभिन्न स्थानमा सञ्चालिकत स्केट पार्कहरूमा बालबालिकाको आकर्षण बढ्दै गएको र उनीहरू त्यसबाट जोखिमपूर्ण गतिविधिमा संलग्न हुने गरेको पाइएको भन्दै सम्बन्धित पक्षले निगरानी तथा अनुगमन गर्न मञ्चले माग गरेको छ  ।    

काठमाडौं:   नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ ।  भेटमा काठमाडौं–५ को विकासका लागि सङ्घ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको सांसद पौडेलले बताउनुभयो । सांसद पौडेलले प्रमुख साहसँग सात विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभयो ।   कलङ्कीदेखि धोबी खोलासम्म रिङ्गरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढङ्गले निर्माणकार्य अघि बढाउने र मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने विषयमा कुराकानी भएको सांसद पौडेलले बताउनुभयो ।   त्यस्तै, हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने विषयमा छलफल भएको छ ।   साथै, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गरिनेछ ।   सांसद पौडेलले भन्नुभयो, ‘‘आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो साथै काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनुभएको तत्परता र ऊर्जाले उहाँसँग निरन्तर सहकार्य हुने विश्वास लिएको छु ।’’

पोखरा:  गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेका हुन् ।   सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहिबार राति १२ बजेटबाट अन्त्य भएको व्यहोरा सम्बनिधत सबैको जानकारीको लागि अनुरोध छ ।’ बुधबार प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि सभा स्थगित गरिएको थियो ।   सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेपनि सरकारको सिफारिसमा बिहीबार चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा छ ।

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखलामा युएईविरुद्धको खेलमा नेपालले तीन ‌ओभरमा तीन विकेट गुमाएको छ।   तीन ओभरको समाप्तिमा नेपालका कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेलको विकेट झरेको हो।   युएईका लागि जुनेदले दुई र सबिर अलिले एक विकेट लिएका हुन्। टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको छ। २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २३ रनमा खेलिरहेको छ। 

धनगढी:  आफ्नो निर्वाचन क्षेत्रको जनताका समस्या बुझ्न प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले घरदैलो अभियान थाल्नु भएको छ । कैलाली क्षेत्र ३ बाट निर्वाचित उहाँले प्रतिनिधि सभाको बैठक नभएका बेला निर्वाचन क्षेत्र फर्केर जनताको घरदैलोमा पुगिरहनु भएको हो ।   सो क्रममा उहाँले जनताको समस्या बुझ्ने, उनीहरूको माग, मुद्दा सुन्ने कार्य गरिरहनु भएको छ । उहाँले दुई दिनसम्म भजनी र कैलारी गाउँपालिकाको केही गाउँमा पुगेर जनतासँग भलाकुसारी गर्नुभयो ।   सुगम जिल्लाको दुर्गम गाउँ मानिने कैलारी गाउँपालिका –७ को हौसलपुर र वडा ३ को मोहनपुर गाउँमा पनि पुगेर जनताको समस्या बुझ्ने कार्य गरेको चौधरीले बताउनुभयो । मोहना नदी पारी रहेको दुवै गाउँवासीले कटान र बाटोघाटोको समस्या भोग्दैआएका छन् ।    हौसलपुरमा शिक्षा र स्वास्थ्यको ठूलो समस्या रहेको उल्लेख गर्नुहुँदै सांसद चौधरीले त्यो गाउँमा एउटा बाल विकास कक्षा र गाउँघर क्लिनिकसम्म सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । २९ घरपरिवार रहेको हौसलपुर गाउँका सबै बालबालिकाको शिक्षा भारतमा निर्भर छ । आफ्नो देशमा शिक्षाआर्जन गर्न नपाएका हौसलपुरका सबै बालबालिका भारतका विद्यालयमा पढ्न बाध्य छन् ।    विद्यालय सञ्चालन गर्दा मापदण्ड नपुग्ने भएकाले बाल विकास कक्षासम्म सञ्चालन गर्न उचित हुने चौधरीले बताउनुभयो । ‘बाटोको समस्या र टाढा भएको कारणले ती गाउँका बालबालिका आफ्नो देशको विद्यालयमा पठनपाठन गर्न आउन सकेका छैनन्’ उहाँले भन्नुभयो, ‘कम्तीमा एउटा बाल विकास कक्षा सञ्चालन गर्न आवश्यक देखियो ।’ बाल विकास कक्षा र गाउँघर क्लिनिक सञ्चालनका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।    यसैगरी, सांसद चौधरीले हौसलपुरवासीका लागि मोहना नदीमा निर्माण भइरहेको झोलुङ्गे पुल निर्माण कार्य तदारुकताका साथ अगाडि बढाउन ठेकेदारलाई निर्देशन दिनुभएको छ । ‘अबको एक महिनाभित्रै पुल निर्माण कार्य सम्पन्न गर्ने ठेकेदारले बताउनुभएको छ’ उहाँले भन्नुभयो ।  यस्तै, चौधरीले नदी कटान, विभिन्न अधुरा योजना, निर्माणाधीन आयोजनाको पनि अवलोकन गर्नु भएको छ । दुवै पालिकाका स्थानीयले नदीको कटान समस्या भोग्दै आएकाले कटान नियन्त्रणका लागि आफूले पहल गर्ने उहाँको भनाइ छ ।