काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
धरान: धरान उपमहानगरपालिका १७ पटनालीका एक युवा ८ दिनदेखि बेपत्ता छन् । गत पुस १२ गते बिहान घरबाट ट्युसन पढ्न जाने भन्दै हिंडेका १९ वर्षीय पुष्कर बराइली विश्वकर्मा बेपत्ता भएका हुन् । शारीरिक रुपमा सामान्य समस्या भएका, स्पष्ट बोल्न नसक्ने कक्षा १० मा अध्ययनरत पुष्कर हालसम्म सम्पर्कमा नआएको आमा पुष्पाले बताइन् । हातखुट्टा राम्ररी नलागे पनि, मानसिक समस्या नभएको आमा पुष्पाको भनाइ छ । बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै परिवारजनले खोजीकार्य गरिदिन संचारकर्मीमार्फत् आम समुदायलाई अपिल गरेका छन् । ‘आफन्तजन, साथीभाइ सबैसँग सोधीखोजी गरिसक्यौ, कही कतै छ भनेर भन्दैनन,’ बुवा भीम बराइलीले भने, ‘पुलिसले खोजी गर्दैछौ भन्छ, के कस्तो अवस्था छ, एउटै छोरो हो मेरो ।’ प्रहरी प्रशासनमा रिपोर्ट दिएको आठ दिन बितिसक्दा पनि छोराको अवस्था थाहा पाउन नसकेको बुवा भीम बराइलीले बताए ।
चितवन: बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो । गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उहाँले जानकारी दिनुभयो । बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताउनुभयो । बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको त्यहाका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिनुभयो ।
पोखरा: एघारौं पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा हुने एघारौं संस्करणको पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुलाई घोडसवार गराइने भएको हो । घोडसवारको माध्यामबाट महोत्सवको अवलोकन संगै अमरसिंह नजिक रहेको पर्यटकीय गन्तब्यहरुमा पुग्न सकिने महोत्सव आयोजक संस्था युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । बख्रेलका अनुसार हरेक महोत्सवहरुमा नया पन दिदै आइरहेको र एघारौं संस्करणको महोत्सवमा पनि घोडसवार संगै अन्य मनोरञ्जनका गतिविधी समेत रहने वताए । बख्रेलका अनुसार पोखरा महोत्सवको आयोजना गरी क्लवले मुख्य उद्देश्यका साथ अगाडि वढाएको खुल्ला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) पोखराको पचभैयामा निर्माणाधिन अवस्थामा रहेको छ । एघारौ पोखरा महोत्सव स्थल अमरसिंह चौरबाट महोत्सव अवधिभर चिडियाखाना अवलोकनको समेत ब्यवस्था मिलाइने बख्रेलले जानकारी दिए । महोत्सवको तयारी अन्तिम चरणमा पुगिसेको र महोत्सवमा स्थानिय उत्पादनको प्रदर्शनी एवं बिक्री, होमस्टेको प्रवद्र्धन, कृषि, हस्तकलाका सामाग्रीको प्रवद्र्धन एवं बिक्री संगै गण्डकी प्रदेशको कला संस्कृति झल्कने प्रस्तुतीहरु समेत रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
वालिङ: स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न र गुनासाहरूलाई व्यवस्थित रूपमा सुनुवाइ गर्न ‘हेल्लो वालिङ’ कल सेन्टर सञ्चालन गर्ने भएको छ । स्मार्ट वालिङ निर्माणको क्रममा तय गरिएका सूचकहरू मध्ये गुनासो व्यवस्थापन पनि एक भएकाले कल सेन्टरको स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नागरिकका धेरै गुनासो हुने गर्छन्, जसलाई सम्बोधन गर्न सेन्टरको स्थापना गर्न लागिएको हो, नगर प्रमुख खाँणले भन्नुभयो, “अव हामीले समस्याको पहिचान र तत्कालै समाधानको उपाय समेत अवलम्बन गर्ने छौँ ।” सेवा लिँदा कुनै पनि काम गर्दा समस्या आइपरे नागरिकले सिधा सम्पर्क गर्न सक्ने प्रमुख खाँणको भनाई छ । नगरपालिका भित्रका १४ वटै वडाहरूमा नगरले गरेका कामहरू,तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै जनप्रतिनिधिहरू नागरिक माझ पुगिसकेको अवस्था पनि हुनसक्छ,नागरिकका गुनासाहरू धेरै हुनसक्छन् ,ती गुनासाहरूलाई सहज रूपमा छिटो सुनुवाइ गर्न कल सेन्टर लाभदायी हुनेछ ।” नगरपालिकाले सुशासन कायम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कल सेन्टरको स्थापना गर्न लागिएको नगर उपप्रमुख कविता तिवारी गैरेले जानकारी दिनुभयो । कलसेन्टरमा आएका समस्याहरूलाई हामीले उचित समाधान गर्नेछौँ उपप्रमुख तिवारीले भन्नुभयो, “कल सेन्टरका कारण हामीलाई नागरिकसँग जोडिन समेत सहज हुनेछ ।” कल सेन्टरमा फोन गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कल सेन्टरका कारण कर्मचारीहरूलाई सेवा प्रवाह प्रति जिम्मेवार र सचेत बनाउने स्पष्ट पार्नु भयो ।
म्याग्दी: म्याग्दीको बेनी स्थित कालिगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ)सञ्चालन गरिएको छ । जलयात्राको राम्रो सम्भावना देखेर कालिगण्डकीमा स्पलास नेपाल एडभान्चरले बेनीको गलेश्वर देखी म्याग्दी र कालिगण्डकी नदीको सङ्गम स्थलसम्म जलयात्रा सञ्चालन गरेको हो । पर्यटकको चाहना अनुसार नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गर्न सकिने सञ्चालकले जनाएका छन् । म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर बेनीको कालिपुलस्थित गण्डकी होटल सँगको सहकार्यमा कालिगण्डकीमा जलयात्रा सञ्चालन गरेको स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले बताउनुभयो । कालिगण्डकी नदीमा जलयात्राको सम्भावना देखेर आएका छौँ गाइड पुनले भन्नुभयो, ‘‘गलेश्वर देखि बेनी, पर्वतको मालढुङ्गा, नयाँ पुल हुँदै मिर्मीसम्म जलयात्राको रमाइलो यात्रा गर्न सकिन्छ ।’’ कालिगण्डकी नदीमा राम्रो सम्भावना भएकाले वैशाख महिनासम्म जलयात्रालाई निरन्तरता दिने उहाँले बताउनुभयो । पर्वतको नयाँ पुलमा पर्यटकलाई विगत १४ वर्ष देखि जलयात्रा गराउँदै आउनुभएका पुनले बेनीमा पनि जलयात्राको राम्रो सम्भावना देखेको सुनाउनुभयो । गलेश्वरदेखि सुरुभई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावनालाई उजागर गर्न कालिगण्डकीमा जलयात्रा सञ्चालन गरिएको पुनले बताउनुभयो । म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी गलेश्वरदेखि बेनीको दोभानसम्म तिन किलोमिटरको जलयात्राका लागि एक हजार दुई सय रुपियाँ भाडा तोकिएको छ । बेनीदेखि मालढुङा, नयाँ पुल हुँदै मिर्मी सम्म पनि पर्यटकले चाहेमा लैजान सकिने गाइड सन्तोष गिरीले बताउनुभयो । बेनी देखि मिर्मी पुग्न तीन दिन जलयात्रा गर्नुपर्दछ । पुस २८ गते देखि बेनीमा हुने सातौँ म्याग्दी महोत्सवलाई लक्षित गरेर आफ्नो कम्पनीले बेनीमा जलयात्रा सञ्चालन गरेको उहाँले बताउनुभयो । महोत्सव पछि पनि जलयात्रालाई निरन्तरता दिने योजना सुनाउनुभयो । गलेश्वर देखि म्याग्दी र कालिगण्डकीको संगमस्थल सम्म पानीको बहाव राम्रो भएकाले जलयात्राको मज्जा लिन सकिने गाइड पुनले बताउनुभयो । जलयात्राले जिल्लाको समग्र पर्यटन विकासको लागि जल पर्यटनप्रति पर्यटकको आकर्षण बढाउने गण्डकी होटलका सञ्चालक गम पुनले बताउनुभयो ।
काठमाडौं: राष्ट्रिय सभाका सदस्यहरुको हाजिरी विद्युतीय हुने भएको छ । २५ पुस बाट संघीय संसदको अधिवेशन सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको हो । संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रिय सभा सदस्यहरुको हाजिरी पहिलो बैठकबाटै विद्युतीय हुने पक्का भएको छ । त्यसका लागि सचिवालयले हाल प्रत्येक राष्ट्रिय सभा सदस्यहरुको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गर्ने कार्य चलिरहेको छ । २४ गतेसम्म राष्ट्रिय सभाका सबै मानननीयको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गरिसक्ने उनले जानकारी दिए । संघीय संसद सचिवालयले अटोमेसनमा जाने सन्दर्भमा स्वअध्ययन नै गरेको थियो । सोही अध्ययनका आधारमा सांसदहरुको विद्युतीय हाजिरीको विषय अगाडि बढेको हो । तर, राष्ट्रिय सदस्यहरुको विद्युतीय हाजिरी पक्का हुँदा प्रतिनिधिसभा सदस्यहरुको विद्युतीय हाजिरीको विषय अन्योलमै छ । निर्णय भएको खण्डमा प्रतिनिधिसभा सदस्यहरुको विद्युतीय हाजिरीको विषय पनि अगाडि बढ्ने सूचना अधिकारी धमलाले बताए ।
हुम्ला: हुम्लावासीले परम्परादेखि नै मनाउँदै आएको ‘भुओ’ पर्व सल्लाका झरोको (लोस्टो) राँको बालेर गाउँको सार्वजनिक स्थान (चौपाडी)मा मनाउने गरिन्छ। स्थानीय पहिरनमा सजिएका पुरुषहरूले रातभरि चुट्किला गीत गाएर जाग्रम बस्दै सो पर्व मनाउँदै आउनुभएको हो। सिमकोट गाउँपालिका–२ का विशाल बोहराले जिल्लाभर मनाइने भुओ पर्व निक्कै रमाइलो तरिकाले मनाइने गरिएको बताउनुभयो। मानिस मृत्यु नभएका प्रत्येक घरबाट सल्लाको झरो बालेर पुरुषहरू भुओ पर्व मनाउन र साथै गाउँको सार्वजनिक स्थानमा गएर गीत गाउँदै नाच्ने काम धुमधामका साथ हुने गरेको बोहराले बताउनुभयो। मृत्यु भएको घरमा जुठो लागेको भन्दै उक्त घरबाट भने पर्व मनाउन जाने गरिँदैन। तीन सय वर्षपहिलेबाट मनाउने गरिएको पर्वलाई जिल्लाका अधिकांश बस्तीमा मनाउने भएको हुँदा अँध्यारोबाट बच्नका लागि सल्लाको झरो बाल्ने गरिएको स्थानीय मान्यता रहेको छ। उक्त स्थानमा गाउँका पुरुष जम्मा भएर गीत गाउने र त्यसपछि भुओ मनाउने स्थानमा गएर पूजापाठ गर्ने गरिन्छ। त्यसअघि पुरुषहरू आआफ्नो कुटुम्ब पर्ने छिमेकीहरूको छोरी चेलीसँग पानी माग्ने कार्य हुन्छ। लाजसर्म नमानी पानी माग्ने र कुटुम्बकी छोरी चेलीले घरको छतबाट पानी छर्ने कार्य हुन्छ यसलाई भसी माग्ने भन्ने गरिन्छ। भसी माग्ने पुरुषहरू कुटुम्मकी छोरीले छरेको पानीमा भिजेर निथु्रक्कै हुने गर्छन्। दुई घण्टा जति यो क्रम चल्ने र त्यसपछि गाउँवासीले दाउरा जम्मा गरेर आगो बालेको स्थानमा गएर आगो ताप्ने कार्य गरिन्छ। प्रत्येक घरबाट केही दाउर लिएर राख्ने गरिन्छ। त्यसपछि रातभर आगो तापेर रात बिताउने र बिहान सबेरै चिसो पानीमा नुहाएर आफन्त तथा मान्यजनको घरघरमा गएर ढोगभेट गर्ने गरिन्छ। भुओ खेल्न गएका पुरुष ढोगभेट गर्न आफन्तको घरघरमा जाने र सगुनपात खुवाउने चलन पनि रहेको छ। त्यसपछि छोरीचेलीलाई घरमा बोलाएर सगुनपात (अग्रै) खुवाउने पनि गरिन्छ। पर्वको अवसरमा टाढा विवाह गरेर गएकी छोरीचेली पनि माइतीमा आउने गर्नुहुन्छ। हुम्लाका लामा बाहेकका सबै जातजातिहरूले यो पर्व मनाउने भए पनि विशेष गरी सर्केगार्ड गाउँपालिका–३ को उनापानी बस्तीमा विशेष रूपमा मनाउने गरिन्छ।
धनगढी: नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेताका लागि सात जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ । सो पार्टीको मङ्गलबार बसेको प्रदेश समितिको बैठकमा सात जनाले दाबेदारी प्रस्तुत गर्नुभएको हो । दलको नेतामा आकांक्षा देखाउनेमा प्रदेशका महामन्त्री मेघराज खड्का, शिवराज भट्ट, बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा र मानबहादुर रावल रहनुभएको छ । कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह मनुका अनुसार सातै जनालाई सहमतिमा दलको नेता छान्न सुझाव दिइएको छ । बुधबार १० बजेसम्म सहमतिमा दलको नेता छान्ने समय दिएका छौ महामन्त्री शाहले भन्नुभयो, सहमति भएन भने प्रजातान्त्रिक विधिमा दलको नेता छान्नका लागि प्रदेश समितिले वातावरण बनाउनेछ । ५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १९ सदस्य छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल हो । सुदूरपश्चिममा कांग्रेस बाहेकका दल नेकपा (माओवादी केन्द्र) , नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता सर्वसम्मतिले छानिसकेका छन् ।