पोखरा: पोखरा २५ हेमजा स्थित बाबियातारामा मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने भएको छ । निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणका लागि रकम अभाव हुने भएपछि महायज्ञ गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको हो । मानव सेवा आश्रमको भवन निर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले बताए । ‘पोखरामा बन्दै गरेको मानवसेवा आश्रमको निर्माणका लागि केही रकम अपुग हुने भएपछि हामीले महायज्ञको आयोजना गर्न लागेका हौं । यसअघि नेपथ्य लाइभ कन्सर्टको समेत आयोजना गरिएको यहाँहरुलाई विदितै छ । लक्ष्मी नारायण मन्दिरको निर्माण कार्य सम्पन्न गर्नेदेखि आश्रमको अक्षयकोष श्रीवृद्धिमा समेत यो कार्यक्रमबाट मदत पुग्ने विश्वास लिएका छौं ।’,उनले भने । जन्मिएर सामान्य न्युनतम मानवअधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै मानव सेवा आश्रमले सेवा प्रवाह गरिरहेको उनले बताए । असहाय र अशक्तहरुको सेवामा नमूना काम गर्दै आएको आश्रमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ २०७९ गर्न लागिएको उनले उल्लेख गरे । महायज्ञमा कमलनयन गौतमले कथावाचन गर्ने छन् । महायज्ञमा नियमित रुपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसादग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । महायज्ञ अन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिने आयोजकले जानकारी गराएको छ । मानवसेवा आश्रमको भवन निर्माणलाई सम्पन्न गर्न सरकारी निकायबाट समेत सहयोग मिलेको छ । स्थानीय, प्रदेश र संघ सरकारको सहयोगबाट नै आफुहरुले भवन निर्माणको कार्यलाई अगाडि बढाएको अभिव्यक्ति अधिकारीको छ । तर दिर्घकालिन सोचअनुसारको योजना बनाउँदै थप परिस्कृत रुपमा मानवसेवा आश्रम अगाडि बढीरहेको उनले बताए । मानव सेवा आश्रमको संचालनमा ४० प्रतिशत अपनत्व सरकारको छ भने बाँकी सहयोगी मनहरुको रहेको जानकारी उनले गराएका छन् । ७० प्रतिशत अधिकार सरकारले लिएर बाँकी ३० प्रतिशत अधिकार सहयोगी मनहरुलाई सुम्पिने लक्ष्य मानव सेवा आश्रमको छ । अधिकारीका अनुसार मानव सेवा आश्रमले पोखरामा बन्दै गरेको भवन जस्तै अन्य १५ जिल्लामा समेत निर्माण गरिरहेको छ । आर्थिक मन्दी भएता पनि महायज्ञलाई सफल पार्न सम्पूर्ण पोखरेलीहरुले सहयोग गर्नेमा उनी आशावादी देखिन्छन् । मानव सेवा आश्रमले अहिलेसम्म सहयोगी दाताहरुको सहयोगबाट नै खर्च व्यवस्थापन गरिरहेको जानकारी उनले गराए । पोखरा २५ का वडाध्यक्ष मोती तिमिल्सिनाले मानवसेवा सँग समर्पित भएको मानवसेवा आश्रम आफ्नो वडामा स्थापना भएको देख्दा खुशी लागेको बताए । महायज्ञ होस् या मानव सेवा आश्रम संचालनमा परेका समस्याहरुलाई समाधान गर्ने गरी आफु लाग्ने प्रतिबद्धता उनको छ । कथावाचक कमल नयन गौतमले सरकारको मात्रै भर पर्नुभन्दा आफु पनि सामाजिक सेवा सक्रिय भए पुण्य मिल्ने बताए । उनले सेवाको सन्देश प्रवाह गर्न मानव सेवा आश्रमले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे । मानवसेवा आश्रम विगत १ दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ । हाल आश्रमले मुलुकभरबाट झण्डै आठ हजार सडक आश्रित मानवको उद्दार गरिसकेको छ । त्यसमध्ये एक हजारलाई पुन परिवारमा मिलन गराउन सफल भएको छ । पोखरा आश्रमले मात्र एक हजार जनाको उद्दार गरिसकेको जानकारी मानव सेवा आश्रमले गराएको छ । छोरेपाटन स्थित सेवा केन्द्र र हेमजा स्थित सेवा केन्द्रमा गरि १६३ जना सडकआश्रित मानवहरुले सेवा प्राप्त गरिरहेका छन् । मानव सेवा आश्रमको भवन निर्माणमा हालसम्म ५ करोड खर्च भइसकेको र अब ४ करोड लाग्ने अनुमान गरिएको छ । हालसम्म पहिलो तल्लाको निर्माण पुराहुने चरणमा छ । अब भोजनका लागि डाईनिङ हल, स्टोर, भवनको दोस्रो, तेस्रो तल्लाको निर्माण, लिफ्ट, आँगन, कम्पाउन्ड, मेडिकल, थेरापि कक्ष निर्माण हुन बाँकी छ ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नेछु, म त्यो गर्छु ।” प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।” प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ । यसभित्र थुप्रै विकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाइँहरूको सा हुनेछ ।” कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीमा रहेका समस्या, विकृति तथा विसङ्गतिको अन्त्य गर्दै मर्यादित व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।।
सुर्खेत: कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संविधानलाई कागजको खोस्टो बनाइरहेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिनेबारेको सैद्धान्तिक छलफलमा शाहीले यस्तो बताएका हुन् । साथै उनले हामी सवै संविधानको विपरित हिँडिरहेको भन्दै आक्रोश समेत पोखे । उनले प्रश्न गरे, ‘ प्रदेशमा एउटा मन्त्री बनाउन पनि केन्द्रको मुख ताक्ने भए प्रदेश आवाश्यक हो वा होइन ?’ साथै उनले यही तरिकाले अघि बढ्ने हो भने संघीयताको अर्थ नरहेको टिप्पणी समेत गरे । साथै केन्द्रमा कांग्रेसले विश्वासको मत दिएपनि प्रदेशमा नदिने बताए । ‘विश्वासको मत दिन मन छ , तर म बस्ने सीट अगाडि विपक्षी दल लेखिएको छ । यस्तो अवस्थामा मैले विश्वासको मत दिनुको के अर्थ ?’ उनले भने, ‘मैले विश्वासको मत दिन त्यो लेखिएको वस्तु झिक्नुपर्छ ।’ साथै उनले मुख्यमन्त्री शर्माले मागेको विश्वासको मतको मन्तव्य गतिलो नभएको भन्दै सल्लाहकार राम्रो राख्न सुझाव समेत दिए । ‘मुख्यमन्त्री ज्यूले विश्वासको मत माग्नुभएको हो की नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो, म अलमलमा परेँ,’ उनले भने ।
काठमाडौैं: नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यादवलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो । धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ। उपसभामुखको चुनाव भोलि हुँदैछ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो ।
काठमाडौँ: सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।घिमिरेसँगै राष्ट्रयसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि सुमेरु अस्पताल पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् । जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।
पोखरा: अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । ज्योती संगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको दोहोरी प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ सविन राइ एण्ड द फेरोहको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिए । युवाहरु माझ चर्चित सविन राइले आफ्नो प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित बनेका थिए । नवौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड वड्दै गएको छ । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ आलिफ खान, जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, जुना क्षेत्री, टेक क्षेत्रीको प्रस्तुती रहने छभने नेत्रपाणी बास्तोलाले कार्यक्रम सञ्चालन गर्नेछन । त्यसैगरी हास्य प्रहसन तर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके मुना गिरीको प्रहसन संगै डान्स जादु प्रस्तुती रहन छभने २३ इन्चको मनोज गोर्खालीमार्फत डान्स प्रस्तुती रहने छ । त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ अनुप्रस्थाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो चरणको प्रतियोगितामा अमरसिंह मावि, श्री नव प्रभात सेकेण्डरी स्कुल, मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल, श्री सिद्ध मावि र बाल कल्याण मावि विच भएको प्रतिस्पर्धामा मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको हो । विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा माघ ८ गते भ्यु प्वाइन्ट बोडिङ स्कुल, मेट्रोपोलिटन एकेडेमी, कास्की मोर्डनाइज र मेरिगोल्ड बोर्डिङ स्कुल बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा पार्टीका सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीका सांसद सोविता गौतम प्रस्तावक रहनुहुने भएको छ । उहाँले भन्नुभयो, ‘‘इन्दिरा रानामगरलाई पठाउने निर्णय गरेका छौँ । जसको प्रस्तावक सोविता गौतम बसेर राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नै चिनेको मान्छे उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय गरेको छ । पार्टीले सर्वसम्मत रुपमा निर्णय गरेको हो । अल्पमतमा होइन ।’’ झापाका मगर समानुपातिक सांसद हुनुहुन्छ । उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भए पनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानुन बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताउनुभयो । त्यस्तै, सांसद इन्दिरा राना मगरले भने आफूले कानुनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘म यो क्षेत्रमा देशमा केही परिवर्तन गरौँ भनेर आएको हो । म प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अवार्डहरु दाबी गरिरहेको मान्छे हो । कानुन नपढे पनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रको अनुभव ३३ वर्षमा गरेको छु ।’’ उपसभामुखका लागि निर्वाचन शनिबार हुँदैछ, आज (शुक्रबार) उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेको छ ।
काठमाडौं: नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दबहादुर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । २०६२र६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो । प्रतिनिधि सभाको सभामुखमा बिहीबार नेकपा ९एमाले० का सांसद घिमिरे निर्वाचित हुनुभएको थियो । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । उहाँ नेपाली कांग्रेसकी प्रतिनिधि सभा समानुपातिक सदस्य हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ ।
काठमाण्डौ: प्रतिनिधि सभाको उपसभामुखका लागि आज शुक्रवार मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले हिजो बिहीवार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा मतदान प्रक्रिया हुनेछ । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले आज ९ बजे संसदीय दलको बैठक बस्ने र पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने बताउनुभएको छ । रास्वपाबाट उपसभामुखको उम्मेदवारमा सोबिता गौतमको चर्चा छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने संविधानको बाध्यात्मक व्यवस्था छ । सभामुखमा हिजो एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरेले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।