जाजरकोट: नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटका केन्द्रीय सदस्य सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार भेरी नगरपालिका– ११ मा एन.आई सी लघुवित्तका कर्मचारी माथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । दुर्व्यवहार तथा आर्थिक लुटपाट गरेको आरोपमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलबहादुर मल्ल, सेक्रेटरी विराजन शाही र सचिवालय सदस्य कर्णबहादुर बस्याललाई प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) सन्तोष रोकाले मङ्गलबार राती ११ बजे सदरमुकाम खलङ्गाबाट गिरफ्तार गरिएको जानकारी दिनु भयो । कर्मचारी माथि दुर्व्यवहार, केही पैसा लुटपाट भएको भन्दै कार्यालयमा जानकारी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रोकाले जानकारी दिनुभयो । मङ्गलबार भेरी ११ कटी गाउँका स्थानीयले लघुवित्तका कर्मचारीलाई जनकारबाही गरेको भन्दै नेकपाले एक विज्ञप्ति जारी गर्दै जनकारबाहीको समर्थन जनाएको थियो । उता नेकपा माओवादीले प्रहरीले आफ्ना नेताहरूलाई जनताको आवाज बोलेकै भरमा गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग समेत गरेका छन् ।
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरिरहनु भएको छ । मुख्यमन्त्रीले फागुन २१ गते विश्वासको मत लिनु हुने नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो । ‘हाम्रो पार्टी नेतृत्वको सरकारले सम्भवतः फागुन २१ गते विश्वासको मत लिन्छ’, उहाँले भन्नुभयो । तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठुलो पार्टीको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनु भएका उहाँले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ । गठबन्धनको साथले मुख्यमन्त्रीले दुई तिहाइ बहुमत प्राप्त गर्न सक्नेमा आफूहरू विश्वस्त रहेको प्रदेश सभा सदस्य बमले बताउनुभयो । उहाँलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी पार्टी) र स्वतन्त्रको मत प्राप्त हुने बमको भनाइ छ ।
लमजुङ: लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं.४, भुजुङमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ । उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । शुक्रबारदेखि सुरु भएको सो तालिमको सोमबार समापन गरिएको हो । तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, वडाध्यक्ष नारायणबहादुर गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कार्यपालिका सदस्य हेमन्ता गुरुङले समय व्यतीत गर्न मात्रै तालिममा सहभागी हुनुको अर्थ नहुने भन्दै प्रशिक्षकको मेहेनत र प्रशिक्षार्थीको अभ्यासले तालिम सफल बनेको विश्वास व्यक्त गर्नुभयो । समापन कार्यक्रममा दलित महिला वडा सदस्य कोपिला मिजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रतिनिधि वृजबहादुर गुरुङ, लालीगुराँस युवा क्लबका अध्यक्ष नवराज गुरुङ, युम्बु विकास आमा समूहकी अध्यक्ष आशकुमारी गुरुङ, तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै प्रशिक्षार्थीको तर्फबाट ङाश्री गुरुङ, सुशीला गुरुङ र सुलमाया गुरुङले तालिमको अनुभवबारे आआफ्ना भनाइ राख्नुभएको थियो ।
गण्डकीः बागलुङको ताराखोला गाउँपालिकाले सहिद सप्ताहको अवसर पारेर जनयुद्धका सहिद र बेपत्ताजनका २७ परिवारलाई जीवन निर्वाह भत्ता वितरण गरेको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक रु. एक हजारका दरले आठ महिनाको एकमुष्ठ भत्ता रु. आठ हजार प्रदान गर्नुभएको हो । सहिद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सोही समारोहमा गाउँपालिकाभित्रका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई उपहारस्वरुप ‘थर्मस’ पनि प्रदान गरिएको थियो । सहिद सप्ताहकै अवसरमा जनयुद्धका बेला बन्दी जीवन बिताएका गाउँपालिकाका १७ जनालाई सम्मान गरिएको छ । मन्त्री चुमानले उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै मन्त्री चुमानले राजनीतिक परिवर्तनमा ताराखोलाका बासिन्दाले अग्रगामी भूमिका खेलेको बताउनुभयो । उहाँले गाउँपालिकाले जनमुखी योजना र कार्यक्रममार्फत समृद्धि ताराखोलाको लक्ष्य पछ्याएकामा खुसी व्यक्त गर्नुभयो । मन्त्री चुमानले गाउँपालिकाको केन्द्र जोड्ने सहिद मार्गको कालोपत्रका लागि प्रदेश सरकारबाट सक्दो बजेटको प्रबन्ध गरिने प्रतिबद्धता जनाउनुभयो । जनयुद्धमा जीवन गुमाउने सहिद र बेपत्ताजनको सम्मानका लागि मासिक भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताउनुभयो । “रकम थोरै भएपनि सहिदको योगदानको कदर गर्न खोजिएको छ, यो सुरुआत मात्र हो, पछि भत्ता रकम वृद्धि पनि हुँदै जाला”, उहाँले भन्नुभयो । गाउँ सभाले बनाएको कार्यविधि अनुसार सहिद र बेपत्ताजनका परिवारलाई भासिक भत्ता दिन थालिएको हो । ताराखोला जनयुद्धबाट बढी प्रभावित क्षेत्र हो । युद्धमा परी त्यहाँका २६ जनाले ज्यान गुमाएका छन् भने दुई जना बेपत्ता छन् । यस्तै गोली नै लागेर गम्भीर घाइते भई अपाङ्गता भएकाको संख्या १३ र सामान्य घाइतेको संख्या २२ रहेको जनाइएको छ । गाउँपालिकाको चालु आवको नीति तथा कार्यक्रममा पनि जनयुद्धबाट प्रभावित परिवार र तिनका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउने उल्लेख थियो । गाउँपालिकाले सहिद, बेपत्ता तजा घाइतेजनका परिवारलाई लक्ष्य गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालनको पनि तयारी गरेको छ । सहिद सप्ताहमा सम्मानसहित नृत्य प्रतियोगिता, निःशुल्क स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिनुभयो ।
स्याङ्जा: स्याङ्जाको हरिनास गाँउपालिकामा महिला सशक्तिकरणको लागि उद्घोषण तथा भाषण तालिम सुरु भएको छ । एक समारोहका बीच हरिनास गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले तालिमको उद्घाटन गरे । हरिनास गाँउपालिकाका महिला जनप्रतिनिधीहरुको क्षमता र व्यक्तित्व विकासका लागि तालिमको आयोजना गरिएको उपाध्यक्ष इन्द्र कुमारी थापा रानाले जानकारी दिईन । उद्घाटन कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष ओम प्रकास सिग्देल, स्वकीय सचिव पर्शुराम सिग्देल लगायतकाको उपस्थिति रहेको थियो । पाँच दिन सम्म चल्ने तालिममा सञ्चार कर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गर्नेछन् । तालिममा कुल २० जनाको सहभागीता रहेको छ । आजदेखि सुरु भएको तालिम फागुन २० गतेसम्म चल्नेछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ । मंगलबार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्नुहुँदै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्नुभयो । प्रधानमन्त्रीले सरकारको तर्फबाट देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति, योजना र कार्यक्रम बनाएका छौँ । आउने दिनमा यो क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्नसक्यो, त्यति नै हाम्रो समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुनेकुरा र सिङ्गै राष्ट्र पनि सबल रूपमा अघि बढ्ने आधार निर्माण हुने कुरा हो । यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेभन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’’ च्यासल रङ्गशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रङ्गशाला १० हजार दर्शक क्षमताको रहेको छ ।
काठमाडौं: मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन ३.८१ अंकले घटेको बजार २०१९.७३ बिन्दुमा आएर रोकिएको हो । बजार दिनभर जसो नै उतारचढावपूर्ण भने रह्यो । मंगलबार २६२ धितोपत्रको २८ हजार ६८४ वटा कारोबारबाट ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार जलविद्युत, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र ट्रेडिङबाहेक सबै उपसूचकमा गिरावट आयो । सबैभन्दा धेरै लघुवित्त उपसूचकमा ०.८० प्रतिशतको गिरावट आएको छ । यसका बावजुत मंगलबार सबैभन्दा धेरै बढ्नेमा लघुवित्त कम्पनी नै छन् । यस दिन आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । सिद्धार्थ इन्स्योरेन्स र सर्पोट माइक्रोफाइन्सको समेत मूल्य बढेको छ । मंगलबार सबैभन्दा गुमाउने कम्पनीमा प्रिमियर इन्स्योरेन्स रहेको छ । यसको मूल्य ३.८५ प्रतिशतले घट्यो । युनिभर्सल पावर कम्पनी, शिवम् सिमेन्ट, सानिमा माइहाइड्रोपावर लगायतको सबैभन्दा धेरै कारोबार भएको छ ।
काठमाडौं :जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले तत्काल सरकार नछोड्ने बताएका छन्। मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले अरु पार्टीको विभिन्न कारण रहेपनि जनमत पार्टीका लागि सरकार छाड्ने परिस्थिति नबनेको स्पष्ट पारे। उनले अहिले पनि माओवादीकै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको बताए। उनले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताए। सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने,सरकारले पठाएका विधेयकलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अबको राष्ट्रपतिले काम गर्नुपर्ने उनको भनाइ छ। यसअघि नागरिकताजस्ता दुवै सदनबाट पारित भइसकेका विधेयकहरू राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौं युवाहरु नागरिकताबिहीन हुनपुगेको उनको भनाइ छ । राउतले राष्ट्रपति र सभामुख एउटै पार्टीको हुँदा निरंकुशता जन्माउने आधारहरू रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए।
काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताउनु भयो । निर्देशक घिसिङले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत बढी हुने उल्लेख गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘अहिले २५ सय ४४ मेगावाट उत्पादन क्षमता भएको छ । यसमा सोलार ७० मेगावाट छ । प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको ७ हजार मेगावाट विद्युत उत्पादन गर्ने अनुमान छ । विद्युत उत्पादन र विद्युत खपतको लागि पनि लगानी गर्नुपर्ने अवस्था छ । त्यसमा निर्यात र स्वदेशमा नै खपत गर्नका लागि पनि ट्रान्समिसन लाइन बनाउनुपर्छ ।’’ कार्यकारी निर्देशक घिसिङले सन् २०३५ सम्ममा नेपालमा आठ हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावाट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको जानकारी दिनुभयो । निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताउनुभयो । पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको उहाँको भनाइ छ । उहाँले ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका भन्दै करिब सात हजार मेगावाटको पीपीए भइसकेको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘सन् २०४२/४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुख्खा याममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छौँ । नेपालको उद्योग स्थापना वृद्धि भएर उद्योगमा जलविद्युतको माग राम्रो रहेको हुनाले अवधि अघिपछि पनि हुनसक्छ । त्यो समयसम्म जलविद्युतमा आत्मनिर्भर भएर २५ सय मेगावाट विद्युत बढी हुने देखिन्छ ।’’ उहाँले थप्दै भन्नुभयो, ‘‘ऊर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन् । करिब सात हजार मेगावाटको पीपीए भइसकेको छ । यसमा आठ सय मेगावाट विद्युत उत्पादन भएर आइसकेको छ । पाँच हजारको हाराहारीमा पीपीए भएर वित्तीय लगानी भएर अगाडि बढेका र तीन हजार जति वित्तीय लगानीका लागि प्रतीक्षामा रहेका छन् । यसको पनि निजी क्षेत्रबाट लगानी जुटाउनुपर्ने अवस्था छ ।’’ त्यस्तै, निर्देशक घिसिङले जलविद्युत उत्पादनका लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताउनुभयो । उहाँले एजीम बैङ्कबाट सात सय मिलियन, जाइकाले १४० मिलियन, विश्व बैङ्क र एडिबीले दुई मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गर्नुभयो । उहाँले जलविद्युत उत्पादनको लागि नयाँ नयाँ प्रयोजनाहरु बनाउनका लागि अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताउनुभयो । उहाँले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताउनुभयो । निर्देशक घिसिङले प्राधिकरण जलविद्युत उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि जानकारी दिनुभयो ।

