मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएकी छन् ।   बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको बताएकी हुन् ।   नेपालको स्वास्थ्य बीमाको मोडल गलत रहेको भन्दै त्यही कारण स्वास्थ्य बीमा बोर्डका अध्यक्षले हालै राजीनामा दिएको पनि उनले उल्लेख गरिन् ।   अर्बपति र गरिबले एउटै शुल्क तिर्नुपर्ने बीमाको मोडल गलत भएको भन्दै उनले भनिन्, ‘वैज्ञानिक ढंगले स्वास्थ्य बीमाको शुल्क तोकिनुपर्छ ।’   अस्पतालहरुले बीमावापत दिइएको एक लाखको हेल्थ प्याकेजलाई जसरी पनि खर्च गर्नुपर्छ भन्ने मान्यता राखेर अनावश्यक परीक्षण पनि गर्न लगाउने गरेको भन्दै डा. कार्कीले यसको नियमन एकदमै फितलो भएको बताइन् ।   स्वास्थ्य बीमा जुन अस्पतालमा तोकिएको छ, त्यसमा मात्र सेवा पाउने व्यवस्थाले पनि यो प्रभावकारी हुन नसकेको भन्दै सांसद कार्कीले बीमा गरेपछि जुनसुकै अस्पतालमा पनि सेवा पाउने व्यवस्था गर्न सुझाव दिइन् ।   देशमा आत्महत्या बढ्दै जाँदा पनि मानसिक स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको भन्दै उनले यो सेवालाई व्यवस्थित गर्न र विस्तार गर्न माग गरिन् ।   आगलागीमा परेका सांसद चन्द्र भण्डारीको ३० प्रतिशत शरीर जलन हुँदा पनि कीर्तिपुर अस्पतालले उपचार गर्न नसकेर रेफर गर्ने अवस्था रहनु दुखद भएको कार्कीले बताइन् । जलनको उपचार व्यवस्था प्रभावकारी बनाउन र देशभरका अस्पतालमा जलनको उपचार सेवा सुरु गर्न पनि उनले सुझाव दिइन् ।

काठमाडौं:  नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।   अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।   मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।   त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।    मंगलबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:  राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ ।   ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थाबमोजिम उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।   ऐनले यस प्रयोजनका लागि ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद बुझिने स्पष्ट गरेको छ । ऐनको दफा १२ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन अयोग्य मानेको छ ।   यस्तै, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउने छैन ।   साथै उल्लिखित कसुरबाहेक अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको व्यक्ति उम्मेदवार हुन अयोग्य हुनेछ ।   निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी मिति तय गरेको छ । निर्वाचनका लागि यही फागुन ८ गतेदेखि नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । सो कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्दैछ । दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सङ्घीय संसद्का ३३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल ८८४ मतदाता रहने छन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । विद्यमान कानुनअनुसार सङ्घीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेश सभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार ३८६ गरी कूल ५२ हजार ७८६ मतभार कायम हुनेछ ।   स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिएको छ । साथै फागुन १३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ देखि अपराह्न २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । 

काठमाडौं : निर्वाचन आयोगले  राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले बुधबार ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको हो।   जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ र  प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्नेछन्।   तीनजना सांसदले भने निर्वाचनमा भाग लिन पाउने छैनन्। संसाद अरूण चौधरी र टेकबहादुर गुरूङ निलम्बनमा छन्। चौधरी थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका थिए। तर सरकारले  जेलमुक्त गरेपनि उनको निलम्बित सांसद पद संसदबाट फुकुवा भएको छैन। यसैगरी भ्रष्टाचार मुद्दामा  गुरूङ निलम्बनमा छन्। नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गुमेपछि सो स्थान रिक्त छ। त्यसका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।   फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारले फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। राष्ट्रपति निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ।    नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन्। राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्।    हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन्। संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ।   संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ। जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ।

नवलपरासी:  पश्चिम नवलपरासीको सुस्ता गाविसको हरकपुरामा दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएको छ । मंगलबार दुई छोरालाई साथै चुन्नीले बाँधेर नहरमा हाम्फालेका तीन जना मृत भेटिएका हुन् ।    सुस्ता गाउँपालिका वार्ड नम्बर २ सुकुम्वासी टोल निवासी २९ वर्षीया प्रतिमा थारुले ९ वर्षीय छोरा कृश र ७ वर्षीय सुमित थारु सहित गण्डक नहरमा हामफालेको प्रहरीले जनाएको छ । नहरमा बेपत्ता भएपछि प्रहरीले नहरको पानी बन्द गरेर खोजी गरी मृत अवस्थामा तीनै जनालाई मंगलबार बेलुकी फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।    शवहरूको पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ । 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ ।   एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने माग राखे पनि प्रचण्ड माओवादी केन्द्र सहमत देखिएको छैन । माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समेत छ ।   लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन आग्रह गर्दै लोसपाका नेताहरुले आज कांग्रेस सभापति देउवासँग छलफलसमेत गरेका छन् ।   राष्ट्रपतिमा कांग्रेसले पनि दाबी गरेको छ । निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।

काठमाडौं: नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार (आज) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् ।   सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।   बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने तयारीमा लागेको स्रोतले बताएको छ ।    जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।    युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।    उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भइ बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो ।   युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

काभ्रेपलाञ्चोक:  काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लाको सिमाना सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माण सुरु गरिएको छ वर्ष पूरा हुन लाग्दा पनि  निर्माण सम्पन्न हुन सकेको छैन । बागमती नदीमा पक्की पुल निर्माण नहुँदा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा जानका लागि समस्या बेहोर्दै आएका छन् ।    काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालबाट जोड्न आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले बोलपत्र आह्वान गरेको थियो । दुई वर्षभित्र पुल निर्माण गर्न ११ करोड रुपियाँमा महादेव-शिखर-तामाकोसी जेभीसँग ठेक्का सम्झौता भएको थियो ।   काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि पुल निर्माणको काम सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले पुल निर्माणको ठेक्का पाएको कम्पनीले पुल निर्माणको काममा ढिलाइ गरेका कारण प्रदेश राजधानी हेटौँडा जान खानीखोला र महाभारत गाउँपालिकाका बासिन्दाले समस्या भोग्नु परेको बताउनुभयो ।    खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले बागमती नदीमा पुल निर्माणमा ढिलाइ भएका कारण स्थानीय नागरिकले उत्पादन गरेका उपजहरू बिक्रीका लागि बजारसम्म लैजान नसकिएको बताउनुभयो । पुल निर्माणको ठेक्का पाएको महादेव-शिखर-तामाकोसी जेभीका ठेकेदार खड्ग गोपालीले तत्कालीन जिविसले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाएका कारण पुल निर्माणको काममा ढिलाइ भएको बताउनुभयो ।    “सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइयो । पुलसम्म पुग्न साढे पाँच किलोमिटर सडक खन्ने काम ग-यौँ । यसले गर्दा हाम्रो पुल बनाउने दुई वर्षको समय सडकको ट्र्याक खन्नमै सकियो र पछि कोभिड–१९ का कारण काम रोकियो,” उहाँले थप्नुभयो । गोपालीले मकवानपुरतर्फको पिल्लरमा पाइलिङको काम (खोलामुनि पिल्लरका लागि रड राख्ने) सकिएको बताउँदै नदीको बीच भागमा रहने पिल्लरको पाइलिङ गर्ने कामसमेत अघि बढेको बताउँदै एक महिनाभित्र तीनवटै पिल्लरको पाइलिङ गर्ने काम सकिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ भित्र पुल निर्माणको काम सकिने बताउनुभयो । ११ करोड रुपियाँमा ठेक्का सम्झौता भएको पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ ।