काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

पोखरा:  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ ।   विमानस्थलमा आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली आजदेखि लागू भएको विमानस्थलले जनाएको छ ।   ‘यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिनेछ,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले भने ।   बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । यती एअरलाइन्स स्रोतका अनुसार उक्त प्रणालीबाट यतीले शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारीमा छ ।   विमानस्थल प्रमुख गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार छ,’ उनले भने । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो ।   विमानस्थल सबै उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ ।   आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सुरक्षित र सहज भएको दाबी नागरिक उड्डयन प्राधिकरणको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ ।   आजदेखि रात्रिकालीन उडानका लागि तयार भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अन्योल छ । केही दिनअघि विमानस्थल अनुगमनमा आएका पर्यटनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रियस्तरमा हवाइ सेवा सुरु गर्न कुटनीतिक पहल भइरहेको जानकारी दिएका थिए ।   बुद्धले फागुन २५ गतेदेखि रात्रिकालीन उडान गर्ने   बुद्ध एअर फागुन २५ गतेदेखि व्यवसायिक रात्रिकालीन उडान भर्ने भएको छ । एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने जानकारी दिए ।   ‘बुद्धले पोखराबाट जुन/जुन सहरमा उडान गरिरहेको छ ती सहरमा सम्भव भएसम्म रातिको समयमा उडान गर्ने तयारी छ,’ उनले भने ।   बुद्धले काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा पोखराबाट उडान गरिरहेको छ ।

बागलुङ : गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा गाई काटेका ४ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको हो।    पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्की छन्।    डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।    पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा बुधबार मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको प्रनि खड्काले बताए।

काठमाडौं:  एनआरएन सचिव खगेन्द्र न्यौपाने नेपालमा ट्राभल एण्ड टुर्समा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.मा आवद्ध भएका छन् । दुवै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष समेत रहेका छन् । लामो समयदेखि विभिन्न व्यवसायमा आवद्ध न्यौपाने मलेशियामा एनचाएनका पुर्व अध्यक्ष। एटी ग्रुप अफ मलेशियाका संस्थापक सञ्चालक तथा भिनोलिभा हस्पिटालिटिको अध्यक्ष समेत रहेका छन् ।  न्यौपानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको जानकारी गराउनु भयो । काठमाडौं हात्तिसारमा राजिटर्ड कार्यालय रहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि. लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आउनु भएको थियो ।  नेपाल बाहिर समेत व्यापार व्यवसायमा सफल रहेका खगेन्द्र न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्न सकिने संस्थाका सञ्चालक इश्वर सापकोटाले जानकारी दिनु भयो । कम्पनीको सामुहिक कारोबार यहि फ्रेबरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने कम्पनीका सञ्चालक बालकृष्ण खड्काले जानकारी गराउनु भयो ।

बिर्तामोड:  झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जनाको मृत्युभएको छ । साढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ४ ख ९३१९ नम्बरको निधि मावि तथा इन्द्रेणी क्याम्पसको स्कुलबसले मोटरसाइकललाई ठक्कर दिएको हो ।   विपरित दिशातर्फ जाँदैगरेको ०१—०१६ प ३१५९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । दुर्घटनामा परी घाइते ताप्लेजुङ निवासी मोटरसाइकल चालक बर्ष ३० का समिर लिम्बुको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्युभएको प्रहरीले जनाएको छ ।    ठक्कर दिने स्कुलबस इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको तथा ठक्कर दिने चालक इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पोखरा:  कास्की मोडनाइज एकेडेमीले प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।  कास्की मोडनाइज एकेडेमीले जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउदै उपाधि हात पार्न सफल भयो ।   हिसान कास्की छनौट प्रतियोगतामा जेसिए सगँ हारको बदला लिदै कास्की मोडनाइज एकेडेमीले उपाधि सगँ नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र जित्न सफल भयो । उपविजेता बनेको जेसीले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । निर्धारीत समयमा २÷२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।   निधारीत समयमा कास्की मोडनाइजका लागि प्रनिल रायमाझीले दुई गोल गरे । जेसिएका लागि निशान गुरुङ र लोहार पुनले एक÷एक गोल गरे । खेलको अन्तिम मिनेटमा कास्की मोडनाइजका चार खेलाडीमा सिमित भयो । विजय गिरीले रातो कार्ड खादै बाहिरीए पछि चार खेलाडीमा सिमित भएको हो ।  मंगलबारको खेलमा फ्युचर ब्राइटर बाग्लुङ सगँ हारेको जेसिएले उजुरी गरेपछि बुधबार फाइन खेल खल्ने पाएको हो । ब्राइटरले फर्जि खेलाडी खेलाएपछि आयोजकले जेसिएलाई फाइनल खेल्लन दिएको थियो । फाइनल खेलको म्यान अफ दि म्याच हुदै कास्की मोडनाइज एकेडेमीका गोल किपर रोहन क्षेत्री प्रतियोगिताको उत्कृष्ट गोलकिपर बने । त्यसैगरी एकेडेमी कै प्रनिल रानाभाट प्रतियोगिता अवधिभर १० गोल गर्दै हाइस्कोरको उपाधि जिते । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि भने जेसिएका विकास परियार बने । फाइनल खेलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी हुने बताए । प्रतियोगिताका विजयी खेलाडीलाई गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका निर्देशक अम्बिका प्रसाद आचार्य, आयोजन हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सचिब पुण्य प्रसाद शर्मा, सबिन ममोरियल क्लब पोखराका अध्यक्ष संजय लिगल, प्रतियोगिताका संयोजक सन्तो पराजुली लगाएतले पुरस्कार वितरण गरे । प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका थिए । प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरु सहभागी थिए । 

काठमाडौं:  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।   कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज (बुधबार) दिउँसो भएको भेटमा अध्यक्ष नेपालले राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो । उहाँहरूबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्ष, दुई देशबीचको दौत्य सम्बन्धका साथै एकापसमा पारस्परिक सहयोग, विकासबारे छलफल भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।   राजदूत सङले नेपालमा राजदूतका रूपमा आउन पाएकामा खुसी व्यक्त गर्दै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गर्नुभयो ।

काठमाडौं:  उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर सिङ्गो देशको मुद्दा भएको बताउनुभएको छ ।   बुधबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीसँगको छलफलपछि मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । उहाँले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि मन्त्रालयले कार्यदल बनाएको पनि स्मरण गर्नुभयो ।   उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘हामीले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि ’यातायात व्यवस्था सुधार सुझाव कार्यदल’ बनाएका छौँ । अब यातायातको मुद्दा व्यवसायी वा व्यक्ति विशेषको मात्र रहेन । यो सिङ्गो देशको मुद्दा बनेको छ ।’’     यातायात व्यवसायीका गुनासो सम्बोधन गर्न आफू तयार रहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले कार्यदलका प्रतिवेदनका आधारमा व्यवसायीका जायज मागहरू सम्बोधन गरिने आश्वासन दिनुभयो ।   उहाँले भन्नुभयो, ‘‘हामी यातायात व्यवसायीले राखेका मागहरू सम्बोधन गरेर ठोस कदम चाल्न चाहन्छौँ । कार्यदलले हामीलाई जुन प्रतिवेदन दिन्छ, त्यसको आधारमा तपाईंहरूका मुद्दा पनि समेटेर ठोस कदम चाल्छौँ । तपाईंहरूको जायज माग पनि सम्बोधन गर्छौं ।’’   ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीहरूले उपप्रधानमन्त्री श्रेष्ठलाई व्यवसायका समस्या र सुझाव समेटेर चार पृष्ठको सुझाव पेश गरेका छन् । व्यवसायीहरूले मुख्य रूपमा सवारी कर र राजस्व, सडक दुर्घटना, बीमा, पार्किङलगायतले आफूहरूलाई समस्यामा पारेको भन्दै समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।   व्यवसायीहरूले सवारी कर र राजस्व, सडक दुर्घटना र असीमित जोखिम, दुर्घटनाको जटिलता र कानुनको पालना, बीमा तथा सवारी कानुन, पञ्जीकरण, विद्युतीय सवारी, ट्रकपार्क तथा हाइवे पार्किङ वे, तौलपुलको अनिवार्यता, यातायात निर्देशनालय बनाउनुपर्ने, अधिकारसम्मपन्न यातायात प्राधिकरण, बीआईएनका सम्बन्धमा तथा भारतीय सवारी साधनको अतिक्रमणलगायत विषयमा उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।    

काठमाडौं: नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको छ ।   बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद महतले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गरी यातायात र खाना पकाउने प्रविधिलाई विद्युत्मा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।   “२०४६ पछि हामीले पञ्चायतकालमा दुई प्रतिशतमा रहेको आर्थिक वृद्धि पहिलो चरणमा सात प्रतिशत पुर्‍यायौँ । अब दोस्रो चरणको आर्थिक वृद्धिको आवश्यकता छ । त्यसतर्फै सरकारले काम गर्नुपर्ने छ”, उहाँले भन्नुभयो, “व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गर्नुपर्ने छ । यातायात र खाना पकाउने प्रविधिलाई विद्युतमा रूपान्तरण  गर्न जरुरी छ ।” बर्खायाममा विद्युत उत्पादन बढेपनि हिउँदमा भारतबाट आयात गर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै ठूला जलाशययुक्त आयोजना निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।   “बर्खायाममा मात्र विद्युत उत्पादन बढेर हुँदैन, हिउँदमा अहिले पनि विद्युत अभाव छ”, सांसद महतले भन्नुभयो, “बर्खामा बेचेको बिजुलीबाट आएको खर्च हिउँदमा विद्युत किनेर सकिएको छ ।” हिउँदमा विद्युत्मा आत्मनिर्भर हुन जलाशययुक्त आयोजनाको तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्युतमा आत्मनिर्भर भएसँगै व्यापार घाटा कम हुने, विदेशी मुद्रा सञ्चित बढ्ने बताउनुभयो । विद्युत् उत्पादन वृद्धि गरी यसको खपत र निर्यात गरेर वैदेशिक रोजगारीमा आधारित अर्थतन्त्रलाई सुधार गर्न सकिने उहाँको भनाइ छ ।   नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको अवस्था अत्यन्त नाजुक रहेको भन्दै ती आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “के कारण आयोजना समयमै सम्पन्न हुनसकेका छैनन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण अविलम्ब अगाडि बढाउन सरकारसँग आग्रह गर्दछु ।” कार्ययोजना बनाएर विकास निर्माणको काम अघि बढाउन सरकारलाई सुझाव दिँदै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीलाई  कारबाही गर्न उहाँले माग गर्नुभयो ।   नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले जनअपेक्षा पूरा गर्न संसदमा रहेका सम्पूर्ण दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो । संविधान निर्माणमा एक भएका दलहरू संविधान कार्यान्वयनमा पनि एक हुनुपर्ने उहाँको भनाइ छ । “संविधान कार्यान्वयन हुन नसक्दा जनतामा निराशा देखिएको छ, प्रदेशको कार्यसम्पादन निराशाजनक छ, सङ्घीय कानुन बनाउनुपर्थ्यो, अघिल्लो संसद्ले सङ्घीय कानुन बनाउन सकेन । अहिले पनि महत्त्वपूर्ण विधेयक पेस हुनसकेका छैनन्”, उहाँले भन्नुभयो ।   राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ड. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रम असफल हुने दिशामा अगाडि बढेको भन्दै बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले वैज्ञानिक ढङ्गले शुल्क तोक्नाका साथै दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका जुनसुकै स्वास्थ्य संस्थामा उपचार गर्नपाउने व्यवस्था गर्न माग गर्नुभयो ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले निर्माणाधीन बुटवल–नारायणगढ सडक कहालीलाग्दो अवस्थामा रहेकाले तत्काल निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । बैङ्कको ब्याजदर बढ्दा उद्योगी व्यवसायी मारमा परेको जनाउँदै उहाँले वित्तीय क्षेत्रमा सुधारको योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।   जनता समाजवादी पार्टी नेपालका सांसद सुशीला श्रेष्ठले बढ्दो भ्रष्टाचार र बेथिति नियन्त्रणमा सबै दल एकताबद्ध हुनुपर्ने बताउनुभयो । कृषि उत्पादन वृद्धि गर्ने नाममा रासायनिक मलको जथाभाबी प्रयोग बढिरहेको जनाउँदै उहाँले रासायनिक मलको प्रयोगलाई हतोत्साहित गर्नुपर्ने बताउनुभयो ।   नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य संविधानमाथि प्रहार गर्ने उद्देश्यले आएको बताउनुभयो । उहाँले सङ्घीयतामाथि आँच पुर्‍याउने गतिविधि र अभिव्यक्ति  स्वीकार्य नभएको बताउनुभयो । राजनीतिक स्थिरता र राष्ट्रिय समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबै राजनीतिक दललाई उहाँले आग्रह गर्नुभयो ।   जनमत पार्टीका सांसद अनिता देवीले विभिन्न देशमा कारागार सजाय भोगिरहेका निर्दोष नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन माग गर्नुभयो । उहाँले नागरिकता नपाएर नागरिक आफू नै देशभित्र अनागरिक बनिरहेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न, नागरिकलाई रासन कार्डको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले हुलाकी राजर्मागको सर्लाही खण्ड निर्माण छिटो सम्पन्न गर्न माग गर्नुभयो ।   कांग्रेसका सांसद जीवन परियारले जातीय विभेद र छुवाछूत यथावत् रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अन्तर्राष्ट्रिय महासन्धिमा गरेका हस्ताक्षर र राष्ट्रिय घोषणाअनुसार विभेद अन्त्यका लागि व्यावहारिक ठोस् कार्यक्रम र योजना ल्याउन आवश्यक भएको बताउनुभयो ।   एमालेका सांसद हेमराज राईले रोजगारी र उच्च शिक्षाका लागि बिदेसिने क्रम रोक्न ध्यानाकर्षण गराउनुभयो । उहाँले अस्थिर राजनीतिले पार्टीभित्र र जनतामा नैराश्यता पैदा गरेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद्को भूमिका प्रभावकारी नदेखिएको गुनासो गर्नुभयो । उहाँले नीतिगत भ्रष्ट्राचार नियन्त्रण, ऐन कानुन निर्माण र नीतिगत स्पष्टताका साथ सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले बैङ्क तथा लघुवित्तको चर्को ब्याजदरले सर्वसाधारण मर्कामा परेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नयाँ आविष्कार र खोजमा सरकारको लगानी बढाउन माग गर्दै राष्ट्रिय आविष्कार केन्द्रलाई  सहयोग गर्न समेत माग गर्नुभयो ।    कांग्रेसका सांसद शङ्कर भण्डारीले भूकम्पको चपेटामा परेको  सिरिया र टर्कीलाई नेपाल सरकारले थप सहयोग गर्नुपर्ने बताउनुभयो । एमालेका सांसद लालप्रसाद साँवा लिम्बूले सामाजिक र सांस्कृतिक विचलनका कारण सर्वसाधारणमा नैराश्यता बढेको बताउनुभयो । उहाँले बैङ्कले असुल्ने चर्को ब्याजदरका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकारसँगै सम्बन्धित बैङ्कसमेत जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्न माग गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गर्नुभएको हो।    थापाले लघुवित्तका कारण मर्कामा परेकालाई बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताउनुभयो। उहाँले लघुवित्तका कारण कयौं गरिब जनतामाथि उठ्न नसक्ने गरी थला परेको टिप्पणी गर्नुभयो।    उहाँले लघुवित्त संस्थाले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको  बताउनुभयो। उहाँले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान माग गर्नुभयो।    उहाँले भन्नुभयो,‘‘अनुचित नाफा कमाउनको लागि जे पनि गर्ने लघुवित्त संस्था र तत्कालको गर्जाे टार्न जस्तो पनि ऋण लिने ग्राहक। अनुमति लिँदै गर्दा हात फैल्याउने र सुपरीवेक्षण गर्दैगर्दा मुठिकस्ने राष्ट्र बैंकको कारणले लघुवित्तको समस्या देखिएको हो। लघुवित्तको वास्तविक मर्कामा परेकाहरुको लागि सामाजिक उत्तरदायित्व वा निक्षेपकर्ता कोषको प्रयोग गर्ने र बदनियत नियतका साथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्ने र एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरीवेक्षण कार्य तत्लो तहसम्म गर्ने र वित्तीय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तत्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गरोस् भनेर ध्यानाकर्षण गराउँछु।’’   उहाँले राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरिर्वेक्षण कार्य र वित्तीय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गर्नुपर्ने बताउनुभयो।