एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटे भारतका विदेश सचिव क्वात्राले

काठमाडाैं | फागुन २, २०७९

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटे भारतका विदेश सचिव क्वात्राले

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन् । दुई दिने नेपाल भ्रमणमा हिजो आइपुगेका सचिव क्वात्रा नेपालको निवासमै गएर भेटेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

 

दुईजनाको बीचमा बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ । जनता–जनताबीचको सम्बन्धको बारेमा दुईजनाको बीचमा कुरा आदान प्रदान भएको बताइएको छ । 

 

हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौडेल, काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनले भेटघाट गरेका थिए ।

 

नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग हिजो भएको छलफलमा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायत भारत र नेपालबीचको बहु आयामिक सहयोगका विविध पक्षबारे छलफल भएको दूतावासले जनाएको छ । 

 

गत वर्ष प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तर देशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य लगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको विषयमा पनि दुवै परराष्ट्र सचिवले समीक्षा गरेको बताइएको छ । 

 

रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति जनाइएको छ । साथै दुई पक्षबीच प्रस्तावित रक्सौल–काठमाडौँ रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई द्रुतरुपमा अगाडि बढाउने सहमति भएको भारतीय दूतावासले जनाएको छ । 

 

दुवै पक्षले गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिको चर्चा गर्‍यो जस अन्तर्गत नेपाल अहिले ४५२।६ मेगावाट विद्युत् भारततर्फ निर्यात गर्न सक्षम भएको छ । यसले भारतलाई बिजुली प्रदान गरेको छ भने नेपालमा थप राजस्व स्रोतको सिर्जना गरेको बताइएको छ । 

 

नेपाली पक्षले दीर्घकालीन रूपमा भारततर्फ विद्युत् निर्यातका लागि मार्ग प्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गरिएको बताइएको छ । भारत  र नेपाल बीचको उर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गरेको बताइएको छ । 

 

सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति जनाएको छ  ।

 

विश्वमा व्याप्त कठिनाइको समयमा नेपालमा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न विशेष गरी नेपालका लागि भनेर चिनी, गहुँ र धानको निर्यातमा भारतले गरेका विशेष व्यवस्थालाई नेपाली पक्षले प्रशंसा गरेको दूतावासले दाबी गरेको छ ।

काठमाडौं:   सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष ...

थप पढ्नुहोस्

पोखरा:     पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी पुुनर्ताजगी  तालिम सुरु भएको छ ।“मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने उद्देश्य सहित तीन दिनसम्म सञ्चालन ...

थप पढ्नुहोस्

काठमाडौ:     सरकारले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न तथा नुनको नियमित आपूर्ति सुनिश्चितता गर्ने घोषणा गरेको छ ।  मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक व...

थप पढ्नुहोस्