चार करोडमा बनेको च्याम्बर प्रयोगविहीन
काठमाडाैं | माघ २२, २०७९
टीकापुर: सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको च्याम्बर परीक्षण गरेर बन्द भएको थियो। गत वर्ष च्याम्बर सञ्चालन गरे पनि घाटा भएपछि सञ्चालकले बन्द राखेका छन्।
च्याम्बरमा कर्णाली कृषि सेवा प्रालिका तीन जना सञ्चालकका २०/२० लाख रुपियाँको सेयर र नेपाल बैङ्क लिमिटेडको एक करोड रुपियाँ ऋण लगानी छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि एकाइको एक करोड ९० लाख रुपियाँ अनुदान पनि खर्च भइसकेको छ। च्याम्बरका नाममा ६० लाख रुपियाँको १० कट्ठा जग्गा पनि किनिएको छ।
च्याम्बरमा तीस टन क्षमताका पाँचवटा कोठा छन्। केरा पकाउन पाँच दिन लाग्ने भएकाले हरेक दिन पाकेका केरा निकाल्न पाँचवटै च्याम्बर चलाउनुपर्छ। च्याम्बर ठूलो र बजार सानो भएकाले सञ्चालन गर्न कठिनाइ भएको सञ्चालक शिलाकान्त झा बताउनुहुन्छ। “तीस टन केरा स्थानीय बजारमा मात्रै खपत हुँदैन, पकाएर काठमाडौँसम्म लैजाँदा बिग्रिन थाल्यो,” सञ्चालक झा भन्नुहुन्छ, “चलाउँदा घाटा हुने देखेपछि बन्द राखेका छौँ।”
मुख्य सञ्चालक भानु बजगाईंको मृत्युपछि अर्का सञ्चालक वीरेन्द्र ढुङ्गाना आफू अलग भइसकेको र लगानीको हिसाबकिताब लिन बाँकी रहेको बताउनुहुन्छ। नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख माधव महतका अनुसार प्रालिले २५ लाख रुपियाँ महसुल बुझाउन बाँकी रहेकोले लाइन काटेर कालोसूचीमा राखिएको छ।
केरा उत्पादक किसान टेकेन्द्र धामी गत वर्ष च्याम्बर चलेपछि किसानले ३५ लाख रुपियाँको केरा दिएको र मूल्य नपाएको बताउनुहुन्छ। टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले आफ्नो ठाउँमा उद्योग सञ्चालन होस् भनेर सहयोग गरेको उल्लेख गर्दै च्याम्बर सञ्चालनबारे सञ्चालकसँग छलफल गर्न बाँकी रहेको बताउनुभयो।
योजना थप्दै झा सुरुका दुई सञ्चालक निष्क्रिय भइसकेपछि एक्ला सञ्चालक शिलाकान्त झा भने च्याम्बर चलाउन नयाँ योजना थप्ने तयारीमा हुनुहुन्छ। “च्याम्बरमा पकाएको केरा स्थानीयस्तरमै प्रयोग गर्न केराको पाउडर बनाउने र केराको वाइन बनाउने योजना छ,” झा भन्नुहुन्छ, “केरा छिल्ने र पेल्ने मेसिन जडान गरेर वैशाखसम्म वाइन उत्पादन गर्ने र केराको धुलोमा त्यत्तिकै मात्रामा गेडागुडीको धुलो थपेर असारसम्म बच्चाका लागि पोषण उत्पादन गर्ने तयारीमा छौँ।” उहाँका अनुसार वाइन बनाउने प्लान्ट बनाउन एक करोड रुपियाँ लाग्नेछ। यसका लागि पाँच लाख रुपियाँ भारतीय कम्पनीलाई बैना दिइसकेको उहाँले बताउनुभयो। यस क्षेत्रमा करिब ७०० बिघामा केरा खेती भइरहेको छ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

