मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पर्वत:  सशस्त्र प्रहरीले कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सकुशल उद्धार गरेको छ ।   कुश्मा नगरपालिका-७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा बिहीबार भीरमा खस्नुभएको थियो ।   सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतका सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उहाँलाई शुक्रबार सकुशल उद्धार गरेको हो ।   उद्धार पश्चात उहाँलाई उपचारका लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएइको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बाँके: बाँकेमा दादुरा महामारी फैलिएको करिब एक महिनाको अवधीमा एकजनाको मृत्यु भएको छ भने ३१३ जनामा दादुरा सङ्क्रमण देखिएको छ । दादुराको सबैभन्दा बढि सङ्क्रमित देखिएको नेपालगञ्जमा पछिल्ला केही दिनयता नयाँ विरामी फेला परेका छैनन् ।   नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोभिड महामारी विरुद्धको पूर्वा तयारीसँगै अन्य विपद र महामारी जन्य रोगको पूर्वतयारी गरिएकाले दादुरा–रुवेला रोग नियन्त्रण र रोकथामका लागि सहयोग पुगेको बताउनुभयो ।   “विपद पूर्व तयारी भएकाले महामारी फैलिनासाथ तत्काल रोकथाम र नियन्त्रणका लागि परिचालित हुन सक्यौ,” स्वास्थ्य शाखा प्रमुख चन्दले भन्नुभयो, “ छिटोभन्दा छिटो लक्षित बालबालिकालाई दादुराविरुद्धको खोप दिन समेत पूर्व तयारीका कारण सहज भयो ।   नेपालगञ्जमा पछिल्ला केही दिनयता दादुराका नयाँ विरामी नभेटिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो । नगरभित्र लक्षित उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाई सकिएको छ ।   स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले कोभिड सङ्क्रमण र अहिलेको दादुरा महामारी फरक विषय भए पनि कोभिडपछि सुरु भएको भ्याक्सिन लगाउने कार्यले अहिले बढिभन्दा बढि मानिस भ्याक्सिनमा सहभागी हुनु सकारात्मक भएको बताउनुभयो ।   “दादुराका बढि सङ्क्रमित फैलिएका नेपालगञ्ज र नरैनापुरमा पछिल्ला दिनमा नयाँ सङ्क्रमित फेला नपर्नु सकारात्मक छ,” श्रेष्ठले भन्नुभयो, “दादुरा पूर्णरुपमा नियन्त्रणमा नआएपनि नियन्त्रण नजिक पुगेको छ ।”   जिल्लाभर शुक्रबारसम्म १० जना मात्रै सङ्क्रमित रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा जिल्लाभर ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप अभियान चलिरहेको छ । बाँकेमा बैजनाथ र जानकीबाहेक अन्य ६ स्थानीय तहमा दादुरा सङ्क्रमण देखिएको छ ।   स्वास्थ्य कार्यालयका खोप अधिकृत श्रेष्ठका अनुसार महामारी फैलिएको स्थान वा क्षेत्रमा अन्तिम दादुराका विरामी देखिएको ४२ देखि ४६ दिनसम्म नयाँ विरामी देखा नपरेको अवस्थालाई दादुरा नियन्त्रण भएको मानिन्छ । अर्कोतर्फ खोपले पूर्णरुपमा काम गर्न समेत ३० देखि ४५ दिन समय लाग्ने भएकाले बाँकेमा दादुरा पूर्णरुपमा नियन्त्रण हुन भने अझै केही समय लाग्ने देखिएको छ ।

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको एक युवा स्पोर्टस् क्लब नामक संस्थाको जग्गा व्यक्तिको नाममा गैरकानूनी तरिकाले कायम गरेको आरोपमा छ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।    भूमि, सुधार तथा मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख कमोद तिवारीसहित छजनाले साविक बेल्वा गाविस वडा नं. ८ कित्ता नं. २७० को बिगा ०–१–५–० जग्गाधनी युवा स्पोर्टस् क्लबको नाममा रहेको जग्गा शेष सफि अहमदको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भएको सम्बन्धमा अनुसन्धानका लागि उजुरी परेको थियो ।   आयोगका प्रवक्ता श्यामप्रसाद घिमिरेले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा तत्कालीन कार्यालय प्रमुख तिवारीसहित नायब सुब्बा शम्भु साह रौनियार र खरिदार शिवप्रकाश साह तेलीले गलत निर्णयलाई ढाकछोप गर्नका लागि मोठ च्यातिएको आरोप लागेको छ ।   यस्तै, सो कार्यालयका तत्कालीन खरिदार रिन्ता कुमारीविरुद्व सरकारी कागजात नोक्सान गरेको कसूर लागेको हो ।   आयोगका अनुसार पर्साका वीरगंज महानगरपालिका वडा नं. ३१ का शेष सफि अहमदविरुद्व गलत लिखत तयार गरेको र शेष साजिद एकबालविरुद्व पनि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकामा २० वर्ष उमेर कटेकाले मात्र मदिरा सेवन गर्न पाउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ मा मदिरा सेवनलगायतका कुरा राखेर ऐन लागू गरेको हो ।   पालिकाको १२ औं गाउँसभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ४ खण्ड (ख) (१३) र दफा १०२ बमोजिम ऐन बनाएको हो । यस्तै, सभाले पूर्वाधार व्यवस्थापन सम्बन्धी ऐन र सरहकारी एनेलाई संशोधन गरेको छ ।   पालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन ऐनमा २१ दफा रहेको छ भने सभाले पास गरेसँगै लागू भएको छ । पालिकाले बनाएको ऐन भित्र रहेर अनुमति लिएर बिक्री वितरण र सार्वजनिक स्थानमा सेवन गर्न नपाउने गरी ऐन बनाइएको छ ।   पालिका भित्र मदिरा साँझ ५ देखि ८ बजेसम्म पालिकाले तोकेको ठाउँमा सेवन गर्ने पाउने र ८० प्रतिशत बढि घरपरिवारहरुले मदिरा पसल राख्न नदिने निर्णय गरेमा बन्द गरिने छ ।   ऐन विपरित बिक्री वितरण तथा सेवन गरेमा बढीमा एक लाख रुपियाँसम्म जरिवानाको सजाय हुनेछ ।   सार्वजनिक स्थलमा सेवन गर्न बन्देज लगाइएको छ भने ऐन विपरीत मदिरा उत्पादन, सञ्चय, बिक्री वितरण, ओसार पसार, निकासी वा पैठारी गरेको सुराक दिनेलाई पुरस्कारको समेत व्यवस्था गरेको छ ।   पालिकाले सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा, आर्थिक हित तथा अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न गाउँपालिकाले मदिरा प्रयोगलाई व्यवस्थित र प्रभावकारी वनाउन ऐन लागू गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।   यस्तै, पूर्वाधार व्यवस्थापन सम्बन्धी ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा समिति मार्फत गरिने निर्माण कार्यमा उपभोक्ताहरुले न्यूनतम १५% नगद लागत सहभागिता र १५% श्रमदान गर्नुपर्ने भन्ने व्यवस्था रहेकोमा आम उपभोक्ताहरुको हितलाई मध्येनजर गर्दै उत्पादनसँग अधिकतम जोडिने योजनाहरुमा न्यूनतम १०% लागत सहभागिता र उत्पादनसँग कम जोडिने मन्दिर, मस्जिद, मसानघाट, धर्मशाला, सामुदायिक भवन, कूल मन्दिर आदि जस्ता पूर्वाधार निर्माणमा न्यूनतम २०% लागत सहभागिता कायम गर्ने निर्णय गरेको छ ।   यस्तै, सहकारी ऐन, २०७५ को दफा ७२ को उपदफा (१) मा कुनै संस्थाको व्यवसायिक कारोबार सन्तोषजनक नभएको, सदस्यको हित विपरित काम भएको वा संस्थाको उद्देश्य विपरित कार्य गरेको भनी संस्थाको कम्तीमा ५% प्रतिशत सदस्यले छानविनका लागि निवेदन दिएमा दर्ता गर्ने अधिकारीले छानविन गर्न गराउन सक्ने व्यवस्थासहित संशोधन गरिएको छ ।

पर्वत:  पर्वतका कृषकहरुले बाँझो जमिनमा अलैंची खेती गर्न सुरु गरेका छन् । यस वर्ष पर्वतमा २० मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लाका विभिन्न वडाका कृषकहरुले लगाएको अलैंची खेतीबाट उत्पादन बढ्दै गए  पनि बजार अभावका कारण सोचे अनुसार लाभ भने लिन सकिरहेका छैनन् ।    कृषि ज्ञान केन्द्र पर्वत साथै जिल्लाका स्थानीय तहहरुको सहयोगमा कृषकहरुले अलैंची खेती विस्तार गरे पनि बजार अभावका कारण सोचे अनुसारको प्रतिफल पाउन नसकेको गुनासो गरेका छन् । जिल्लाका माथिल्लो भागका अधिकांश वडामा परम्परागत र व्यावसायिक रुपमा अलैंची खेती गरिएको भए पनि स्थानीय तह साथै कृषि ज्ञान केन्द्रले बजारीकरणका लागि आवश्यक समन्वय नगर्दा कृषकहरु मारमा परेका छन् ।   स्थानीय कृषक उर्मिला केसीले प्रत्येक वर्ष अलैंची उत्पादन गर्दै आएको बताउनुभयो । तर, उत्पादन गरेको अलैंची बिक्री नहुँदा अहिले बोटमै छाड्ने गरेको भनाइ उहाँको छ । उहाँका अनुसार राम्रो मूल्य नपाइनुका साथै विगत तीन वर्षदेखि बिक्री नभएका कारण केही अलैंची बोरामा राखिएको र केही बोटमै छाडिएको छ । ‘‘पहिला पहिला बिक्रीको समस्या हुँदैन भनेर खेत बारीमा अलैंची लगाइयो अहिले बिक्री नै हुन छाडेपछि बोटमै छाडेका छौं,’’ केसीले भन्नुभयो, ‘‘गोडमेल, मलखाद, झाडी सरसफाई गर्दा लागेका खेतालालाई तिर्ने पैसा समेत आफैंले व्यहोर्नुपर्ने भएकाले बोटमै छाडेका हौं ।’’   प्रायजसो चिसो ठाउँ, बुट्यान र झाडीभित्र हुने खेती भएकाले चिसो ठाउँमा गएर काम गर्ने मजदुर पाउन समस्या भएको कृषकहरुको भनाइ छ । कालो सुन भनेर जिल्लाका अधिकांश वडामा राम्रो कमाइ गर्ने उद्देश्यले लगाइएको खेती समयमा बिक्री नहुँदा कृषकहरु निराश बनेका छन् ।   कृषि ज्ञान केन्द्र पर्वतका अनुसार जिल्लाको ६० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको छ । केही ठाउँमा व्यावसायिक रुपमा सहकारी तथा कृषि फर्ममार्फत खेती गरिएको भए पनि सोचे अनुसारको प्रतिफल नहुँदा कृषकहरुले बीचैमा खेती गर्न छाडेका छन् । केन्द्रले जिल्लाका अलैंची पकेट क्षेत्रका किसानहरुले आधुनिक भट्टी निर्माण तथा प्रविधिमा सहयोग गरेर उत्पादन बढाएको भए पनि बजारीकरणमा भने खासै चासो दिएको पाइँदैन ।   गुणस्तरीय उत्पादन भएको ठाउँमा व्यापारीहरु खोज्दै आउने तथा केही व्यापारीलाइ भने सम्पर्क गराएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले बताउनुभयो । कृषकहरुले उत्पादन गरेपनि गुणस्तरमा ध्यान नदिँदा बिक्री गर्न भने समस्या भएको उहाँको भनाइ छ ।   गाउँमा बाँझिएको खेतबारीमा वर्षमा १/२ पटक मिहिनेत गरेपछि राम्रो उत्पादन हुने, बाँदर तथा अन्य जन्तुले पनि क्षती नपु-याउने पाखो बुट्यानमा पनि खेती गर्न सकिने भएपछि किसानहरुले खेती विस्तारमा चासो देखाएका हुन ।

 चितवन:  स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् ।   उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे ।   ‘यहाँ फालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुःख र पसिना यसै गयो ।’   उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए ।   लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे । किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधान सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप शशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

सिन्धुपाल्चोक: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ। शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो।   प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ। भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु।”    सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनास लगायतका सबै पीडामा म तपाईहरूसँगै छु। म तपाईसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छु। आगामी दिनमा सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईंहरुकै साथमा हुनेछ।” नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेकाले मन्त्रिपरिषद्को पहिलो बैठकबाट अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको प्रधानमन्त्रीले बताउनुभएको छ।      प्रधानमन्त्रीले भन्नुभयो, “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ।”   प्रतिनिधि सभाबाट विश्वासको मत लिँदा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएकाले आफ्ना लागि ठूलो जिम्मेवारी र चुनौती रहेको उहाँले बताउनुभयो। 

काठमाठौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्‍थगित भएको हो।   पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ।    बैठकमा पार्टीको आन्तरिक गतिविधि,सरकार सञ्चालनमा पार्टीको भूमिका,पार्टीका नेताको जिम्मेवारी हेरफेर लगायतका विषयमा छलफल हुने जनाइएको  थियो।   बिहीबार पनि स्थायी कमिटी बैठक बसेको थियो। 

काठमाडौं:  सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । आज (शुक्रबार) सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले सन्दीपविरुद्धको मुद्दामा सो आदेश दिएको हो ।   सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउने आदेश न्यायाधीश फुँयालले दिनुभएको छ ।   गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट पुस २९ गते लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।   उक्त आदेशबदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मङ्गलबार सर्वोच्चमा निवेदन दिएको थियो । यता, धरौटीमा रिहा हुनुभएका लामिछानेलाई क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।