मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

पोखरा:  निर्वाचित भएर गएका जनप्रतिनिधि फर्किएर नआउने गुनासो व्याप्त छ । अन्नपूर्ण गाउँपालिकाकी जमुना विकले बिहीबार नेताले जनताले दैनिक जुधिरहेको विषयमा ध्यान दिनुपर्ने भन्दै आफ्ना समस्या सुनाउन थालिन् ।  २०३४/०३५ सालतिर नापीले गरेको जग्गा विभाजनमा आफूहरुको टोलमा एउटाको जग्गा अर्कैकोमा परेको भन्दै अन्नपूर्ण–३ छ घर टोलकी जमुनाले गाउँपालिका गुहारेकी छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा भएका योजना तथा नियमित सेवा प्रवाहको विषयमा बिहीबार अन्नपूर्ण–३ पत्थरस्थित वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाईमा उनले गाउँपालिका नेतृत्वको ध्यानाकर्षण गराएकी हुन् । ‘नापीबाट गल्ती हुँदा एउटाको जग्गा अर्कैको कित्तामा गएको छ । टोलमा यही विषयले झगडा हुन्छ,’ उनले भनिन्, ‘गाउँपालिकाले नापी ल्याउन सक्छ कि सक्दैन ? ल्याइदिनुपर्यो ।’ उनको गुनासो सुनेपछि पुनः नापी आवश्यक भए त्यसलाई पहल गर्ने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।  अन्नपूर्ण–३ कै राजु पौडेलले गाउँपालिकाले तरकारीको बिउ बाँडे पनि बजार व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे । ‘बिउ बाँडियो तर बजार व्यवस्थापन देखिएन । त्यसमा ध्यान दिनुपर्यो,’ उनले भने, ‘बारीमा साग, तरकारी त्यत्तिकै छन् ।’ गाउँपालिका अध्यक्ष केसीले उत्पादित वस्तु बजारीकरणमा वास्तवमै समस्या भएकास गाउँपालिका सम्बोधन गर्न तयार रहेको बताए ।  कार्यक्रममा टोलटोलका सडकमा बत्ती हाल्नुपर्ने, बाँदरले खेतीमा समस्या पारेको, युवालाई रोजगारीको वातावरण बनाउनुपर्ने, बिउ वितरण आवश्यकभन्दा कम भएको, लालपुर्जा नपाएको, सडक योजनामा पैसा नहाल्देको, प्राविधिकले काम नगरिदिएको गुनासो गरेका थिए । गाउँपालिका अध्यक्ष केसीले सबै समस्या एकैपटक समाधान सम्भव नहुने, ढिलोचाँडो त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।   सार्वजनिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कुल बजेटमध्ये मंसिर मसान्तसम्म ३२. २६ प्रतिशत खर्च भएको देवकोटाले जानकारी दिए । उनकाअनुसार मंसिर मसान्तसम्म ९० लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।  जनप्रतिनिधि तथा कर्मचारीको विवरण संकलन गरेर मुख्यमन्त्री कार्यालय पठाएको, सहकारी संचालक तथा कर्मचारीलाई लेखा तालिम दिइएको, सेवाग्राहीलाई प्रतीक्षा कक्षको व्यवस्था गरेको, अध्यक्षको अनुपस्थितिमा सचिवालयबाट काम अघि बढाउने काम भएको उनले बताए । कृषितर्फ ५० प्रतिशत अनुदानमा २५ हजार केजी आलुको बिउ वितरण गरेको छ । ११ वटै वडामा मोडल फर्म निर्माण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाा तरकारी पकेट कार्यक्रम सम्झौताको तयारीमा रहेको, उवा र कोदो क्लस्टर निर्माण, हिउँदे फलफूल विरुवा वितरणको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए ।  गाउँपालिकामा ८ वटा टोल विकास संस्था, आमा समूह, बाल र युवा क्लब रहेको उनको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षमा कुल १ सय ९१ वटा योजना रहेकोमा ३४ वटा योजना सम्झौता भइसकेको र २० वटाको भुक्तानी भइसकेको देवकोटाले जानकारी दिए । कोरोनाविरुद्ध ४० हजार २ सय १८ जनालाई खोप दिइएको छ भने स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेर ५ सय १३ परिवारको बिमा गरिएको छ ।  गाउँपालिका प्रवक्तासमेत रहेका अन्नपूर्ण–७ का वडाध्यक्ष भरतमान गुरुङले लान्द्रुक खानेपानी योजनालाई सफल बनाएर गाउँपालिकाको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले भूगोल ठूलो भएकाले सार्वजनिक सुनुवाई गर्दा सबैलाई एकै ठाउँमा समेट्न नसकिएको बताए । ‘भौगोलिक विकटताले सबै ठाउँमा पुग्न सकिनँ । घुम्ती शिविरजस्तै सबै वडामा पुग्ने गरी वडा–वडामा सुनुवाई गर्छौं,’ प्रवक्ता गुरुङले भने ।  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । अन्नपूर्ण १, २, ३ का वडाध्यक्ष क्रमशः तुलसीप्रसाद अधिकारी, पिताम्बर भण्डारी, फणिन्द्रप्रसाद पौडेलले पनि बोलेका थिए । उनीहरुले वडामा प्राप्त भौतिक पूर्वाधार निर्माणसम्बन्धी योजनाको कार्यान्वयका लागि उपभोक्ता समिति गठन भएको र छिट्टै काम अघि बढाउने बताए ।   

पोखरा:  कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई शिवालय वर्ष सम्मान–२०७९ बाट सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा ३ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने टीकाराम सुवेदी, अभिभावक मङ्गलप्रसाद ओझा, सञ्चारकर्मी सुरेनकुमार नेपाली ‘सुशील’, विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङ, छात्रवृत्ति अक्षयकोष संस्थापकद्वय डा. नारायण ओझा र सुकमाया सुवेदी रहेका छन् । त्यसै गरी विद्यालयको गौरव बढाएको भन्दै शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालाई शिवालय गौरव सम्मान–२०७९ बाट सम्मान गरिएको थियो । कार्यक्रमका अध्यक्ष सुवेदीले आफ्नो ३ बर्से कार्यकालमा सकेसम्म विद्यालयको हित हुने गरी काम गर्ने प्रयास गरेको बताए । वडा नम्बर २ का वडा अध्यक्षसमेत रहेका उनले विद्यालयमा गरेको कामकै आधारमा आफूलाई वडावासीले वडा अध्यक्ष बनाएको भन्दै धन्यवाद ज्ञापन गरे । शिक्षाबिना समाजका कुनै पनि पक्षको विकास सम्भव नभएकाले राज्यका हरेक तहले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । जनताको शिर नझुक्ने गरी, जनताको मन नभाँचिने गरी नीतिभित्र रहेर काम गर्ने बताउँदै सुखमा नसके पनि दुःखमा सधैँ जनताको साथमा रहने सुवेदीले प्रतिबद्धता व्यक्त गरे । शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको शैक्षिक उन्नति गर्नका लागि अभिभावकहरूको साथ पाएको बताउँदै आगामी दिनमा थप सक्रियताका लागि आग्रह गरे । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगिएको बताए । हाल केही कक्षाहरूमा स्मार्ट बोर्ड र स्मार्ट टिभीका माध्यमबाट पठनपाठन सञ्चालन गर्दा सिकाइ उपलब्धि बढेको अनुभव सुनाउँदै उनले अबका दिनमा भौतिकभन्दा बढी शैक्षिक गुणस्तर वृद्धिमा लाग्ने योजना सुनाए । एस.ई.ई. र कक्षा १२ दुवैमा शिवालयको नतिजा गाउँपालिकाभरिमा उत्कृष्ट रहेको उनको दाबी थियो । आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रममा रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कडेलले विद्यालयको विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी, प्रशासन, व्यवस्थापनलगायतको उत्तिकै सक्रिय र सकारात्मक साथ चाहिने भन्दै शिवालयको प्रगति अनुकरणीय रहेको बताए । नेपाल शिक्षक सङ्घ, रूपाका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको इतिहास कोट्याउँदै आफूले चन्दा सङ्कलन अभियान सञ्चालन गरेको घटना स्मरण गरे । विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यसमेत रहेका उनले विद्यालयको विकासका लागि आफू जुनसुकै सहयोग गर्न तत्पर रहेको बताए । शिवालय मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदीले विद्यालयको प्रगति देखेर आफूलाई गौरव लाग्ने गरेको बताए । उनले विद्यालयको विकासका लागि पूर्व विद्यार्थीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्दै शिवालयका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई मञ्चमा गोलबद्ध हुन आह्वान गरे । कार्यक्रममा सम्मानित व्यक्तित्व सुरेनकुमार नेपाली ‘सुशील’, पूर्व अध्यक्ष तिलबहादुर थापालगायतले शुभकामना दिएका थिए । विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका कार्यक्रममा शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझाले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि तथा पूर्व प्रधानाध्यापक जयराम सुवेदीले गरेका थिए । सो अवसरमा विभिन्न प्रतियोगिता तथा शैक्षिक सत्र २०७८ का उत्कृष्ट विद्यार्थीहरूलाई रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कडेल, पृथ्वीरूपामा माविका प्रधानाध्यापक महादेव सुवेदी, शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम ‌ओझा, विद्यालयका सहायक प्रधानाध्यापक ऋषिराम ओझा, शिक्षिका रस्मिला खनाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हिराप्रसाद सुवेदी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष भोजराज ओझालगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदी र वरिष्ठ उपाध्यक्ष पोस्टराज सुवेदीले मञ्चका तर्फबाट २०७८ को एस. ई. ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने धिरज सुनार र कृति ओझालाई नगद ३र३ हजार रुपैयाँ प्रदान गरेका थिए । सोही कार्यक्रममा नन्दकुमारी अक्षयकोष, पदमराज–मैनादेवी अक्षयकोष,  तुलाराम अक्षयकोष, चूडामणि(बसुन्धरा अक्षयकोष, पूर्णबहादुर थापा अक्षयकोष, झगबहादुर गुरुङ अक्षयकोष, जमुनादेवी अक्षयकोष, तुलसी ढुङ्गाना अक्षयकोष, सरस्वती(दण्डपाणि अक्षयकोष, विश्वनाथ(डिलकुमारी अक्षयको र सुकमाया सुवेदी अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति वितिरण गरिएको थियो । वि.सं. २०१७ मा स्थापित विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।

  काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो नीति तथा प्राथमिकतमा भूमिमा किसानहरूको सहज पहुँचको नीति ल्याउने भएको छ । साथै २ बर्षभित्र सुकुम्बासी समस्या सम्बोधनदेखि भूमिको वैज्ञानिक व्यवस्थापनमार्फत् यसको सही सदुपयोग गर्न र आवाससम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।  उपप्रधान तथा अर्थमन्त्री समेत रहेका विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सरकारको नीति तथा कार्यक्रमको मस्यौदामा ‘भूमिको डिजिटल नापी पूरा गर्ने, भूमिको प्रकृति, स्वरूप र सम्भावनाका आधारमा भूउपयोग गर्ने, निर्माण भइसकेका संरचनाको सम्भव सुधार र उपयुक्त विकल्पको योजनासहित भूउपयोग नीति र कानूनको कार्यान्वयन गर्ने उल्लेख छ ।  साथै पछिल्लो समय समस्याका रुपमा रहेको सार्वजनिक र सरकारी जग्गामाथिको अतिक्रमण हटाउने र रोक्ने नीति लिने भएको छ ।  ‘दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्ने, भूमि व्यवस्थाको संरचनामा अन्तरनिहीत समस्याहरूको दिगो समाधानका लागि ’राष्ट्रिय भूमि आयोग’ गठन गर्ने’, पौडेल नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ ।  सस्तो, सहज र भरपर्दो सञ्चार  सरकारले आधुनिक सञ्चारमार्फत् जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने, प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने नीति लिने भएको छ ।  यसका लागि सवैका लागि सूचना तथा सञ्चार सुविधा सस्तो, सहज र भरपर्दो बनाउने र फाइभ जी प्रविधि प्रयोगमा ल्याउने भएको छ ।  ‘इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने । डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने, सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने, विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिङ कम्प्लेक्सलगायत सार्वजनिक सेवा प्रवाह हुने सार्वजनिक स्थलहरूमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निःशुल्क गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ ।  आधुनिक प्रविधिमार्फत् सेवाग्राहीले सेवा लिन घण्टौं लाइन बस्नुपर्ने वाध्यताको अन्त्य गर्ने, गैरकानुनी काम कारवाही र भ्रष्टाचार अन्त्य गर्न प्रविधिको अधिकतम सदुपयोग गर्ने, कृषिकार्य, बजार मूल्य सूचना, रोजगारीका अवसर, राज्यले दिने सहुलियत तथा मौसम तथा विपद्सम्बन्धी जानकारी नियमितरूपमा मोबाईल सुविधा, जनस्वास्थ्य, एपमार्फत उपलब्ध गराउने सरकारको लक्ष्य हुने भएको छ । ‘राष्ट्र, लोकतन्त्र, शान्ति, विकास र सामाजिक सद्भावप्रति जिम्मेवारीसहितको पूर्ण प्रेस स्वतन्त्रता कायम गर्ने । सञ्चार जगतलाई गरिमामय बनाउने र सञ्चारकर्मीहरूको हक हितको संरक्षण गर्ने’, मस्यौदामा समेटिएको छ ।

काठमाडौँ:  संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमत भएका छन् । शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको कांग्रेस नेता रमेश लेखकले बैठकपछि जानकारी दिए ।  ‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ’, लेखकले भने, ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्ने गरी लगभग सहमति जुटेको छ ।’

काभ्रेपलाञ्चोक:  ऐतिहासिक एवम् पर्यटकीय स्थल काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवम् धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो । नगरको ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व बोकेको विश्वप्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाई थप पहल गर्ने बिहीबारको नगरसभाले विशेष प्रस्ताव पारित गरेको हो । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफल गरेको छ । सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)का नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको थियो । पर्यटकीय स्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ । शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थलको रुपमा नमोबुद्ध लाई मानिन्छ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण गरिएको विश्वास छ । किंवदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ । हाल सो स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत छ । यसैबीच, नगरले नमोबुद्धलाई विश्वकै नमुना पर्यटकीय स्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु. ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ ।     सुरक्षा व्यवस्थापनका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ भने डिपिआर अनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार ‘नमोबुद्ध भगवान् घ्याँ’ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ ।     जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौंबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती ब्यहोर्दै आएका छन् । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृङ्खला देख्न सकिन्छ । यस्तै, काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने भएको छ । पनौती विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया  मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगर उपप्रमुख गीता बञ्जाराले बताउनुभयो । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको बञ्जाराले जानकारी दिनुभयो । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ । पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौं उपत्यका (उपत्यका सात क्षेत्रः  काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ ।

मकवानपुर:  गढी गाउँपालिका–७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

काठमाडौं:   नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको हो । सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो । बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । साथै स्वतन्त्र सांसदहरूलाई पनि बैठकमा बोलाइएको छ । बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायतका विषयमा छलफल गर्ने जानकारी संसद् सचिवालयले दिएको छ । त्यस्तै, निर्वाचन भएर गठन भएको नयाँ संसदमा राष्ट्रपतिले सम्बोधन गर्ने अभ्यास छ । त्यसको व्यवस्था गर्नका लागि पनि सर्वदलीय बैठकमा छलफल हुनेछ ।

काठमाडौं:   उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत थम्पसन शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए।  राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हालेका हुन्। राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।

 सुर्खेत:  सुर्खेत वीरेन्द्रनगरको मध्यभागमा अवस्थित घडी भवन अर्थात् घण्टाघर । यसका पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी । समय दिन्छन् तर गलत दिन्छन् । बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्दथ्यो । त्यसयता घडीका सुई घुम्दैनन् । वीरेन्द्रनगरको पहिचानका रूपमा रहेको घण्टाघरको चारवटै घडी बिग्रिएका छन् । कुनै पनि घडीले समयको जनाउ दिँदैनन् । मर्मतमा कसैले ध्यान नदिँदा मिठो धुनसँगै समयको जनाउँ दिने यी घडी अहिले चल्दैनन् । बाह्र वर्षअघि घण्टाघरका घडीमा टिङटिङ टिङटिङ आवाज आउँथ्यो । सोही आवाज सुनेर कति बज्यो भनेर थाहा पाउँथे । बाटो हिँड्ने बटुवा, घण्टाघर हेर्न पुगेका पर्यटक र स्थानीयले समय सहजै थाहा पाउँथे तर घण्टाघरको चार दिशामा रहेका चार घडीका सुईले १२ वर्षदेखि कहिल्यै समय फेरेका छैनन् । घडी सधैँ स्थिर छन्, सुई जाम भएर समय सधैँ उही देखाइरहेका छन् । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । घण्टाघर रहेको स्थानमा उद्यान छ । घण्टाघरको माथिबाट वीरेन्द्रनगर उपत्यकाको ९० प्रतिशतभू–भाग दृश्यावलोकन गर्न सकिन्छ । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल बिताइसके । उहाँहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सक्नुभएन । यसपटकको स्थानीयतह निर्वाचनमा पनि मतदाताले ‘घण्टाघरको सुई कहिले घुम्छ ?’ उम्मेदवारसँग प्रश्न गरेकै हुन् । विसं २०४५ मा चीन सरकारको सहयोगमा घण्टाघर निर्माण गरी जडान गरिएका चार वटा घडी बिग्रिएको वर्षौैं भएको छ । प्रदेशमुकाम रहेको वीरेन्द्रनगर नगरपालिका–६, मा रहेको घण्टाघरका घडीले समय देखाउन छाडेपछि अहिले पर्यटकीय स्तम्भका रुपमा रहेको घण्टाघरकै पहिचान हराउन थालेको ६५ वर्षीय बेदुराम केसीले बताउनुभयो । वीरेन्द्रनगर उपत्यकाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको घण्टाघरको सुई बन्द हुँदा घण्टाघरकै पहिचान सकिन थालेको बताउँदै उहाँले भन्नुभयो, “नाम घण्टाघर भएर के गर्ने, घडीको सुई सर्दै सर्दैनन् । घडीमा टिङटिङ आवाज बजे कम्तीमा कति बज्यो भनेर आन्दाज त हुन्थ्यो । अहिले मोबाइलको जमाना भए पनि घडीको महत्व छुट्टै छ ।” वीरेन्द्रनगर नगरपालिका–६, का ७१ वर्षीय लालवीर चपाईले पहिले साक्षर नभएका मानिसका लागि घण्टाघरका घडीको महत्व छुट्टै रहेको बताउनुभयो । “घण्टाघरमा प्रत्येक घण्टामा धुन बज्थ्यो र घडीको सुई घुमेको थाहा हुन्थ्यो । घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिने अवस्थामा पुगेको थियो । नयाँ घडी राख्ने कुरा सुनेको छु”, उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँको काँक्रेविहार, देउतीबज्यै र बुलबुलेपछि घण्टाघर नै पर्यटकीय गन्तव्य हो । “उतिबेला सबैले घडी किनेर लगाउन सक्दैन्थे । पहिला घडीको घण्टीले समयको अड्कल दिन्थ्यो, अहिले दिन र रात भन्ने मात्र आँकलन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “घण्टाघरको घडीको ध्वनिले कुनै बेला बेग्लै आनन्द दिन्थ्यो ।” अहिले सबैको हातहातमा घडी छन् । समय हेर्न मोबाइल फोनलगायत अन्य साधन पनि छन् तर घण्टाघरको समय हेर्दाको सम्झना गर्ने पनि उत्तिकै छन् । वीरेन्द्रनगर–१३ लामीडाँडाका छविलाल सार्कीले पहिले घण्टाघरका घडी राम्रोसँग चले पनि लामो समयदेखि सबै घडी बन्द रहेको बताउनुभयो । “दिउँसो १२ बजे ठूलो धुुन सुनिन्थ्यो, अनिमात्र हामीले १२ बज्यो भनेर थाहा पाउँथ्यौँ”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “बाटोमा हिँड्ने बटुवाले पनि घडीको धुन सुनेर कति बज्यो भन्ने थाहा पाउँथे ।” घण्टाघरको संरक्षण गर्ने जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि हालसम्म संरक्षणमा उचित ध्यान नदिँदा अस्तित्व नै सङ्कटमा परेको उहाँले बताउनुभयो । मजदुरी गर्नेका लागि पनि घण्टाघरको सुई र घण्टी महत्वपूर्ण रहेको वीरेन्द्रनगर–६ कै बास्मती भण्डारीले बताउनुभयो । “घण्टाघरले काम जाने र फर्कने समयको ख्याल हुन्थ्यो”, उहाँले भन्नुभयो, “घण्टाघरको सुई चल्दासम्म सुर्खेत बजारभरि आवाज सुनिन्थ्यो ।” विसं २०७७ मा परेको चट्याङले घण्टाघरको संरचनामा क्षतिसमेत पु¥याएको छ । भेरी नदीमा पक्की पुल निर्माण सकिएपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो । घण्टाघर निर्माणपछि यहाँका पर्यटकीय गतिविधिले समेत फड्को मारेको केसीले बताउनुभयो । नगरवासीले पटकपटक घण्टाघरका घडी चलायमान गराउनुपर्ने माग राख्दै आएका थिए । त्यसो त घण्टाघर घुम्न आउने सयौँ पर्यटकलाई त्यहाँ रहेका चारवटा घडीले कहिल्यै सही समय देखाएनन् । घण्टाघर हेर्न आउने सयौँ पर्यटक टावरमा चढेर सुर्खेत उपत्यका नियाल्दै खिन्न भएर प्रश्न गर्छन्, “यति राम्रो उपत्यका नियाल्न शिर चढाउने घण्टाघरका सुईले कहिले चल्लान् र सही समय देखाउँलान् ?” नगरवासीले राख्दै आएको उक्त माग भने अब पूरा हुने चरणमा देखिएको सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घकै पहलमा वीरेन्द्रनगर नगरपालिकाले रु १२ लाखको लागतमा पुराना घडी हटाएर नयाँ घडी जडानको काम गरिरहेको छ । घडी जडान भएपछि घण्टाघरका घडीले १२ वर्षपछि अब सही समय दिनेमा नगरवासी ढुक्क छन् । पुराना घडी मर्मतसम्भार हुन नसकेपछि विदेशबाट नयाँ घडी मगाएर जडान कार्य सुरु भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले नयाँ घडी जडान गर्न प्राविधिक टोलीले घण्टाघरका पुराना घडीलाई विस्थापित गरी नयाँ जडान गर्ने तयारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत तिवारीले नयाँ घडी जडान गर्नका लागि प्राविधिक टोलीले तीव्रताका साथ काम गरिरहेको जानकारी दिनुभयो । घण्टाघरमा राखिने चारवटा घडी भारतबाट ल्याइएको र विश्वकै सबैभन्दा राम्रो कम्पनी अमेरिकन टेक्नोलोजीका घडी भएको पनि उहाँको दाबी छ । वीरेन्द्रनगर उपत्यकाकै एक प्रमुख विशेषताका रुपमा रहेको घण्टाघर सुर्खेत जिल्लाको प्रमुख पर्यटकीयस्थल मात्र नभई कर्णाली प्रदेशकै पहिचानका रूपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । पर्यटकीय गन्तव्यका रुपमा रहेको घण्टाघर उद्यान यहाँ घुम्न आउनेका लागि पहिलो गन्तव्यका रुपमा समेत रहेको छ ।