रसुवा । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्षरूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्षरूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित भएका छन् । विगतमा कोरोना त्रासा कारण धरासायी बनेको हिमाली क्षेत्रका होटल तथा लज अहिले चलायमान भइसकेका छन् । आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट छिटोछरितो सेवा प्रदान भइरहेको पर्यटकीय होटल व्यवसायी सङ्घ रसुवाले जनाएको छ । असोजको पहिलो सिजनअन्तर्गत आगमन भएका पर्यटकलाई स्थानीयस्तरमा उत्पादन भएका तरकारीको परिकारले उनीहरूको मन लोभ्याउँदै गएको छ । भ्रमणमा आएका पाहुनालाई स्थानीय आलु, रायोको साग, काउली, बन्दाकोभी, फर्सी, बरेला, स्कुस, डल्लेमुलाजस्ता सब्जीको तरकारी र खानाको हकमा स्वदेशी तथा विदेशी पर्यटकको चाहनाअनुरूप मकैको ढिडो, चामलको भात, गहुँ वा आटाको पिठोबाट तयार गरिने रोटी एवं पाहुनाको चाहनाबमोजिम खाना तयार पारिँदै आएको व्यवसायीले बताएका छन् । पाहुना फर्कदा लौ साहुजी मिठो खुवाउनुभयो भनी फ्रफुल्लित मुद्राले धन्यवाद भन्दै जाने गरेको होटल व्यवसायी बताउँछन् । पदयात्राका क्रममा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकका रूपमा महिलाको समेत सहभागिता बढ्न थालेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको अद्यावधिक अभिलेखले बताएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत कात्तिक १५ गतेसम्म आन्तरिक एवं बाह्यरूपले आगमन भएका १४ हजार तीन सय ९३ पर्यटकमध्ये स्वदेशी तथा विदेशीसमेत करिब तीन हजार महिलासमेत आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज वन प्राविधिक नितेन्द्र सिंहले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने प्रत्येक नागरिकको लगत अद्यावधिक गर्ने र नियमानुसार तोकिएको प्रवेश शुल्क उठाउन पदमार्गका प्रवेशद्वारमा कर्मचारीको व्यवस्थापन एवं ठाउँ–ठाउँमा चेतनामूलक होर्डिङबोर्डसमेत राखिएको छ । हिमाली पदयात्राका लागि हेलम्बुतर्फको पूर्वी एवं धुञ्चेतर्फबाट चन्दनबारी जाने यी दुई पदमार्गबाट पर्यटक गोसाइँकुण्ड पुग्ने र चोलाङपाटीबाट ठूलोस्याफ्रु हुँदै लाङ्टाङको क्याङ्जेन पुग्ने गरेका छन् । हिमाली प्रकृति छटाको रसास्वाधन लिन जाने पाउनाको स्वागतार्थ धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको कार्यालय नजिक स्वागतद्वार निर्माणका साथसाथै सन्देशमूलक सूचना एवं महत्वपूर्ण जनावरको चित्रणसमेत राखिएका कारण पर्यटकको यात्रामा केही सहजता आएको बताउँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई सहयोग दिन निकुञ्ज प्रशासन तयार रहेको जानकारी दिनुभयो । आगमन भएका विदेशी पर्यटकहरूमा भने सार्क राष्ट्रका साथै अमेरिका, जर्मन, जापान, कोरिया, अष्ट्रेलियासमेत विभिन्न देशका छन् । अन्य क्षेत्रको तुलनामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागमा अवस्थित हिमाली प्रकृतिको छटा अवलोकन गर्न राजधानी काठमाडौँबाट छोटो दूरी पर्ने र धुञ्चे पुग्नासाथ नजिक जसरी देख्न सकिने लाङ्टाङ हिमाल एवं गोसाइँकुण्ड नजिकको चुचुराले मनमोहक बनाउने आफ्ना अनुभव रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो । कुनै पनि यात्रुले पैदलमार्गमा हिँड्दा देखिने जनावरलाई मार्ने, तर्साउनेजस्ता क्रियाकलाप नगर्ने, कुनै पनि वनस्पति बिरुवा भाँच्ने एवं काट्ने काम नगर्ने र आफूबाट उत्पन्न हुने कागज वा प्लाष्टिकजन्य सबै प्रकारका फोहर तोकिएको स्थान वा ठाउँ–ठाउँमा राखिएका ड्रममा मात्र फ्याँक्न अनुरोध गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । प्रतिव्यक्ति नेपालीका लागि रु एक सय, सार्क राष्ट्रका नागरिकका लागि रु एक हजार पाँच सय एवं अन्य देशका नागरिकको हकमा रु तीन हजार शुल्क लिने कानुनी प्रावधानलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गर्दै साउनदेखि कात्तिक १५ सम्म उठाएको रु ५३ लाख ४२ हजार पाँच सय राजस्व राज्यकोषमा दाखिला गरिसकेको छ । आगन्तु पाहुनालाई सफा मौसमको शरद ऋतुमा देखिने हरियाडाँडा, पदयात्रामा भेटिने वन्यजन्तु, उकाली–ओराली, लाङ्टाङ हिमाल, गोसाइँकुण्ड, धुञ्चेस्थित नेपालको पहिलो तामाङ सङ्ग्रहालय र ऐतिहासिक घलेराजाको दरबारस्थल, बाटोमा हिँड्दा भेटिने पुराना माने, चट्टानले भरिएका पहाड, छ्याङछ्याङ गर्ने ठाडो खोल्छा, स्थानीय परिकारका अग्र्यानिक खाना, लोकल वेषभूषा, स्थानीय सांस्कृतिक नाचगानले नै पर्यटक प्रफुल्लित हुने गरेका छन् । फर्किने क्रममा सबै पाहुना खुसी भएर जाने गरेको पाइएको निकुञ्जका कर्मचारीले बताएका छन् । पर्यटक सेवाका लागि धुञ्चे, स्याफ्रुबेँसी, ठूलोस्याफ्रु, लाङ्टाङ तथा गोसाइँकुण्डसमेतका स्थानमा एक सयभन्दा बढी लज तथा होटलले सेवा दिइरहेका छन् । हिमाली क्षेत्रमा चिसोपन बढिसकेका कारण नयाँ–नयाँ बाक्ला सिरक, डस्नासमेतका बिस्तारा राखिएकाले रातको समयमा पाहुनालाई जाडोको प्रवाह नहुने बताउँदै पर्यटकीय होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान)ले जानकारी दिनुभयो । पर्यटकीय पदमार्गका ठाउँ–ठाउँमा रहेका सबै होटल तथा लज सञ्चालन भएका कारण जति बेला पनि बास बस्न सक्ने व्यवस्थाले आगन्तुक पाहुना प्रफुल्लित हुने गरेको पाइएको छ । पाहुनाको आगमनले हिमाली पाखामा रौनकता छाएको, होटल तथा लज सञ्चालकले राम्रो सेवा दिइरहेको समेत अध्यक्ष गजुरेलले बताउनुभयो । यस्तै भ्रमण गर्न आएका पाहुनाको खर्च साउनदेखि कात्तिक १५ सम्म लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गका होटल लज तथा होमस्टे क्षेत्रमा भ्रमण गरेका पाहुनाले खर्च गरेको बताइएको छ । यस्तै गोसाइँकुण्ड तथा लाङ्टाङका साथै तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जुङ, गतलाङ, चिलिमे, नाकथली, थुमन तथा बृद्विम होमस्टेसम्मको यात्रासमेत रोमाञ्चकारी बन्दै गएको छ । पाहुनाका लागि समयसाक्षेप, स्थानीयका साथै नेपाल–तिब्वत युद्व झल्काउने कलासमेत देखाउने गरेका छन् । होमस्टेमा बस्नका लागि पर्यटकको पहिलो रोजाइ गतलाङ हुने गरेको पर्यटन व्यवसायी फुर्पुसिङ्गी तामाङ बताउनुहुन्छ । गतलाङ क्षेत्रमा हिमालयकी पुत्री पार्वती माता बिराजमान रहनुभएको पवित्र कुण्ड, तामाङ समुदायको झुरुप्प बस्ती, अग्र्यानिक भोजन, स्याब्रु, जरायो, घोडानाचजस्ता प्रहसनले पर्यटकको बसाइ गतलाङतर्फ आकर्षित बन्दै गएको हो । काठमाडौँबाट सिधा बस सेवासमेत सञ्चालनले गतलाङ जाने पाहुनाको आगमनमा निकै सरलता मिलेको छ । रसुवा भ्रमणमा आउने सबै पाहुनाका लागि विशेष सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरीका साथै स्याफ्रुबेँसीमा पर्यटन प्रहरी युनिटसमेत रहेकाले यात्राका लागि सुरक्षा आवश्यक पर्नासाथ प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले सबै पाहुनामाझ अनुरोधसमेत गरेको छ ।
महेन्द्रनगर : सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ । बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुर्ण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गङ्गाजलजस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न सो नदी किनारमा हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन् ।
काठमाडौं : आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् । स्रोतका अनुसार दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेका थिए । तर, अष्ट्रेलियामा रहेका दूतराजले आज बिहान लेखेका छन्, ‘ म केही छिन् हराउँनु म मर्नु हैन नि’ आफू कहिलेकाँही त्यतिकै हराइदिने गरेको, कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैंलाई थुनिदिने गरेको पनि बताएका छन् । ‘हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ यसलाई रोग भनु या मेरो विशेषता’ यही कारणले पनि आफूले आफैंलाई दुःखी बनाउने गरेको उनको भनाइ छ । उनले समाचारपछि आफू र परिवारलाई असजिलो महसुस भएको गुनासो गरेका छन् । ‘समाचार पढें असजिलो महसुस भयो, ‘ उनले अघि लेखेका छन्, ‘ बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो – सानो दुःखले जन्माएको हुर्काएको होइनौं नि तिमीहरू लाई’ । गलत बुझाइका कारण समाचार आएको दाबी दूतराजको छ । र, त्यसले शुभचिन्तकहरूमा परेको असरप्रति क्षमा माग्दै उनले अन्तिममा लेखेका छन्, ‘ माया गर्नेहरूको आँसुले सराप्छ, कसरी मार्न सक्थें र यो शरीरलाई’ । अहिले गायक दूतराज सांगीतिक कार्यक्रममा अष्ट्रेलियामा रहेका छन् । अष्ट्रेलियामै रहेका बेला होटेलमै आत्महत्या प्रयास गरेको समाचार आएका हुन् । अनलाइन खवर
काठमाडौं : प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ । यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने‘लङ्गर परम्परा’को थालनी गर्नुभएको थियो । निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो ।
पोखरा । नेपालको इतिहासमा काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिँदा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । २००७, ०४६ र ०६२र०६३ लगायतका आन्दोलन सहित परिवर्तनहरूमा काँग्रेस र कम्युनिष्टहरुको मिलन महत्त्वपूर्ण साबित भएको उनीहरूले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पटक पटक संसद विघटन गरी देशलाई अँध्यारो तर्फ धकेल्ने प्रयास गरेको अवस्थामा गरिएको यस गठबन्धनले देशलाई बचाएको उनीहरूको बुझाई छ । काँग्रेस र कम्युनिस्ट महत्त्वपूर्ण घडीमा मिलेकाले स्थानीय तहदेखिको आफूहरूको मिलन प्रतिनिधि र प्रदेश सभाको निर्वाचनसम्म कायम रहेको गठबन्धनको तर्फबाट कास्की २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले बताए । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्यसमेत रहेका बरालले यस निर्वाचनपछि पनि देशलाई समृद्धि तर्फ डो¥याउन गठबन्धन कै सरकार आवश्यक भएकाले आफूहरूलाई निर्वाचित गराउन उनको आग्रह थियो । ‘कम्युनिस्ट र काँग्रेस महत्त्वपूर्ण घडीमा मिलेका छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि काँग्रेस र कम्युनिस्ट मिलेर ल्याएका हौँ, उनले भने, संविधानले धेरै व्यवस्था तथा अधिकारहरू ल्याएको भए पनि उचित ऐन नहुँदा समस्या आइरहेको छ । त्यस्तै भू–उपयोग नीति सम्बन्धी ऐन बनाउन मेरो जोड हुनेछ र समग्र देशमा स्वास्थ्य र शिक्षाका लागि उचित ऐन ल्याउन मेरो पहल हुनेछ ।’ पोखरा २० लामिडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले विदेश र स्वदेश कै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरूलाई गाउँमै फर्केर केही गर्ने वातावरण बनाउने बताए । आफूहरू विकासका लागि प्रतिबद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको खानेपानीको मुख्य समस्या हल गरेरै छाड्ने प्रतिबद्धता पनि जनाए । वडा नम्बर २०को लामिडाँडा र अन्य क्षेत्र पशुपालन, कफी र कृषि भूमि रहेकाले सबै क्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरूलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । २० मात्र नभई समग्र २ नम्बर क्षेत्रका विशेष गरेर ग्रामीण क्षेत्र विकास र पूर्वाधारका दृष्टिकोणले पछाडि परेको उनको भनाई छ । क्षेत्र २ ९ख० का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । गठबन्धनबाट उम्मेदवार बनेका थापाले युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान सञ्चालनमा जोड दिनुपर्ने बताए । ‘भलाम कृषि र पर्यटनको सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि उत्तिकै सम्भावना रहेको छ । यहाँको खेतबारी बाँझो भएका छन् घरहरू खाली भएका छन् । युवालाई स्वदेश मै राख्नका लागि योजनाहरू ल्याउन आवश्यक छ, उनले भने, विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ जसले शिक्षा, स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रित भएको अवस्थामा गाउँ फर्क अभियान सुरु गर्नु पर्ने आवश्यकता अहिले छ ।’ कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने स्पष्ट भिजनका साथ विकास गर्नका लागि आफू उम्मेदवार भएर जनताको माझमा आएको बताए । पोखरा २१ दम्सादीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उम्मेदवार लामिछानेले विगतमा यहाँबाट नेतृत्व गर्नेहरूले जनताको एजेन्डामा चासो नदिएको कारण राम्रो विकास हुन नसकेको दाबी गरे । ‘हामी स्पष्ट भिजन सहितका जनताको भावना अनुरूपको योजना लिएर आएका छौँ । विगतमा जितेर गएकाहरूले जनताका एजेन्डामा चासो राखेनन् । यहाँका जनताको भावना बुझेनन् । त्यहिभएर यहाँको उचित विकास हुन सकेन । हामी यहाँहरू कै एजेन्डालाई बोकेर हिँडेका छौँ । हामीसँग स्पष्ट विकास निर्माणका योजना छन् । हामी गफ दिने होइन जे बोल्छौँ, त्यो गरेर देखाउँछौँ ।’ पोखरा महानगरमा गठबन्धनको नेतृत्व रहेको भन्दै उनले प्रदेश र केन्द्रमा समेत गठबन्धन कै सरकार हुँदा काम गर्न सजिलो हुने उनको धारणा छ । उनीहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । कास्कीको निर्वाचन क्षेत्र नं.२ को तर्फबाट चुनावी मैदानमा उत्रिएका गठबन्धनका साझा उमेदवारहरुले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ । उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको छ । दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो । दूतराज अहिले सामान्य अवस्थामा छन् । अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन । सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि दूतराज र भूमिका गिरी नेपाल फर्कने तयारीमा छन् । दूतराजका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ लगायत गीत चर्चित छन् । केही दिनअघि रिलिज भएको उनको गीत ‘देउरालीमा’ पनि निकै रुचाइएको छ ।
पोखरिया । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् । जितेर गएपछि आफ्नै दुनो सोज्याउने काम मात्र नेताहरुले गरेको उनीहरुको भनाइ छ । नेताहरुले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन् । वर्षौदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको महिला बताउँछन् । रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, सडकलगायतको सुविधा मिल्ने र गाउँमा विकासको लहर ल्याउनेजस्ता नारा प्रत्येक चुनावका बेला हुन्छ तर उक्त आश्वासन नारामा सीमित हुने गरेको उनीहरुकोे गुनासो छ । पहिलेको भन्दा केही फरक भए पनि, केही परिवर्तन आए पनि अझ धेरै सकारात्मक परिवर्तनको खाँचो रहेको मतदाता बताउँछन् । दलका उम्मेदवार फेरि पनि आश्वासनको पोको लिएर घरदैलोमा पुग्न थालेका छन् । आफू जिते, गाउँगाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिँचाइ, विद्यालयलगायत सबैमा आश्वासन फेरी दोहो¥याइरहेका छन् । निर्वाचन नजिकिएपछि गाडीमा आ–आफ्ना दलका झण्डा फहराउँदै उम्मेदवार गाउँ पस्न थालेका छन् । पर्सा पकाहा मैनपुरकी सरस्वतीदेवी, नेताहरुले जितेको भोलिपल्टदेखि नै विकासको लहर चलाउने भनिए पनि त्यो अनुसारको कार्य कमै मात्रामा गरेको देखेका छौँ । नाला, सडक, विद्मालयलगायतमा अझ सुधार हुन बाँकी छ । फेिर विभिन्न आश्वासन लिएर नेताहरु घरदैलोमा आइरहेका छन् । विश्वास गर्नुको विकल्प छैन तर यसपालि सोचेर मात्रै विकास गर्ने, गरिबलाई हेर्ने व्यतिmलाई भोट दिने निर्णयमा छु ।पर्साकी परवानीपुरकी सोनमती देवी भन्छिन्, ‘‘गाउँमा भोट माग्न आउँदा वर्षौवर्षको चिनजान भएको जस्तो अपनत्व देखाउने गरेको भएपनि जितेपछि गुहार माग्न जाँदा चिन्दिन भन्छन् । घर बनाइदिने, एक घर एक रोजगारीको व्यवस्था गर्ने भनेर गए तर केही गरेनन् ।’’ गाउँभरिमा विद्यालय एउटा मात्रै छ त्यसमा पनि गुणस्तरीय पढाइ नहुने गरेकाले बालबालिकाको भविष्य अन्धकारमय भइरहेको छ । यतिबेला गाउँदेखि सहरसम्म उम्मेदवार भोट माग्ने चटारोमा छन् । चुनाव जित्नका लागि मधेश प्रदेशमा राजनीतिक दलहरुले चुनावी गठबन्धन गरेर अगाडि बढेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा मधेश प्रदेशका राजनीतिक दलका उम्मेद्वारहरु आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेका छन् । लाउड स्पिकर, कार्यकर्तासहित भोट माग्दै जनताका घरदैलोमा उम्मेदवार पुग्न थालेका छन् । ग्रामीण भेगका किसानलाई भने चुनावले नछोएको पर्सा विन्दसिनीका ७० वर्षिय हरिशङ्कर प्रसाद बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेताहरु आफ्नो जरुरी परेको बेलामा मात्र आउँछन् अनि त्यसपछि कोही आउँदैनन् । हेर्नुस् न केही विकास भएको छैन हाम्रो गाउँमा । खेती किसानीका लागि खाद, सिँचाइ सबै महँगो भइसक्यो । हाम्रो समस्या बुझिदिने कोही भएनन् ।” स्थानीय अर्का वासिन्दा राजेश कुर्मी भन्नुहुन्छ, “युवाका लागि रोजगारीको अवसर नहुँदा गाउँका अधिकांश युवाहरु यत्तिकै भौंतारिनु परेको वा बाध्यताले विदेसिनु बाहेकको विकल्प छैन । गरिबका बालबालिकाको लागि त न गुणस्तरीय विद्यालय छ न त औषधि उपचारका लागि गुणस्तरीय स्वास्थ्य चौकी नै ।’’ पछिल्लो समय चुनावमा पढे लेखेका राम्रा व्यक्ति पनि उम्मेद्वारको रुपमा देखा पर्दा केही आशा पलाएको उहाँको भनाइ छ । पहिले निर्वाचनका बेला गरेका कुलहरु कुनै पूरा नभएपछि यसपटक पनि विकासको नारा फलाक्दै हिडेका नेता तथा उम्मेद्वारहरुका कुरामा धेरैले खासै चासो देखाएको पाइँदैन । सडक विस्तार, शिक्षामा सुधार, स्वास्थ्य तथा रोजगारीमा पहुँच, खानेपानी, फोहोर व्यवस्थापनलगायतका विकासका कुनै काम नभएको महिला मतदाताहरुको गुनासो रहेको छ । गाउँगाउँमा मतदाता शिक्षाको पनि अभाव रहेको देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई के कसरी कस्तो मतपत्रमा मतदान गर्ने हो भन्ने तरिका पनि सिकाउन अझै उम्मेदवार र तिनका प्रतिनिधिहरु नआएको उनीहरु बताउँछन् । पर्सामा पुरुष एक लाख ९४ हजार नौ सय चार, महिला एक लाख ५१ हजार आठ र अन्य १६ गरी कुल तीन लाख ४५ हजार नौ सय २८ मतदाता रहेका छन् ।
कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसँग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसँग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेका छन् । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ’ लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँले नै हो’उनीहरुको भने । आमा समुहका भवन, विद्यालय निर्माण लगायतमा सहयोग गर्न पनि उनीहरुले उम्मेदवार समक्ष माग राखे । घरदैलोमा एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले एमालेको पक्षमा मत माग्दै देशको समृद्धीका लागि एमालेलाई जिताउन आग्रह गरे । चुनावी भेटघाट कार्यक्रमको संयोजन नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष विवेक देवकोटाले गरेका थिए । घरदैलो कार्यक्रममा समानुपातिक उम्मदेवार क्याप्टेन लालकाजी गुरुङ्ग, प्रदेश समानुपातिक उम्मेदवार देवका पहारी, पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, गण्डकी प्रदेश समिति सदस्य गौरी सुवेदी, निर्वाचन परिचालन संयोजक कर्ण गुरुङ्ग लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
ताप्लेजुङ । ग्रामीण क्षेत्रमा तीनदशक अघि घर छेउकै मकैको थाङ्ग्रोको आकारबाट व्यक्तिको आर्थिक हैसियत मापन हुन्थ्यो । गाउँ घरमा कमै मात्र देखिए पनि मकैको थाङ्ग्रोले आर्थिक हैसियत मापन गरेको पाइँदैन । पछिल्लो समय मकैको थाङ्ग्रो राख्ने परम्परा लोप हुँदै गएको छ । मुख्य गरी विवाहको लागि केटी माग्न जाँदा होस् वा छोरी दिँदा, केटाको पक्षको आर्थिक हैसियत मकैको थाङ्ग्रोबाट मापन गरिन्थ्यो तर अहिले त्यसको ठीक उल्टो भएको छ । आर्थिक हैसियत मापन गर्ने विधि नयाँ आएको छ । यसको ठूलो मकैको थाङ्ग्रो त्यस घर धनी मानिन्थ्यो । अनि विवाहको तयारी सुरु हुन्थ्यो । अहिले विवाहको लागि केटी माग्न जाँदा केटाको पढाइ र पेसाको बारेमा सोधिन्छ र अनि मात्र विवाहको फैसाल गर्न थालिएको फुङ्लिङ नगरपालिका–३ केनेम गाउँका ८१ वर्षीय भगिरथ भट्टराईले बताउनुभयो । “हामीले छोराछोरीको विवाह गर्दा पनि मकैको थाङ्ग्रो हेरेर विवाह गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले नाती नातिनाको बिहे गर्दा पेसा, पढाइ सोध्न थालिएको छ । जसले पढेको छैन । विदेश गएको छैन । उसको बिहे नै नहुने जस्तो भएको छ ।” विगतमा मकैको थाङ्ग्रो भनेको जो कुनै घर परिवारको आर्थिक हैसियत पत्ता लगाउने माध्यम भएकाले जसको ठूलो थाङ्ग्रो छ । उसको धेरै जग्गा जमिन भएको धनी व्यक्ति मान्ने परम्परा रहेको भट्टराईले बताउनुभयो । अहिले समय परिवर्तन भएको छ । पहाडी क्षेत्रमा अझै पनि मकै भण्डारण गर्न आगनमा थाङ्ग्रो राख्न परम्परा लोप हुँदै गएको छ । प्रमुख खाद्यन्न बाली मानिने मकै ताप्लेजुङको पहाडी क्षेत्रमा सिँचाइ सुविधा नभएको धेरै जसो ठाउँमा मकै खेती गरिन्छ । विगतका वर्षहरुमा पहाडी क्षेत्रका प्रायः प्रत्येक किसानका घर आँगनमा अग्लो थाङ्ग्रो देखिन्थ्यो । विगतमा कति कोठाको मकैको थाङ्ग्रो लगाएको छ त्यो देख्न बित्तिकै परिवारको मेहनती, आर्थिक तथा सामाजिकरुपमा अवल परिवार मान्ने परम्परा रहेको पाथीभरा याङवरक गाउँपालिका–१ खेमराज गुरुङले बताउनुभयो । आँगनमा बाँस अथवा काठको माच बनाएर खोसेलासहितको मकैका घोगालाई मिलाएर राखेको थाङ्ग्रो भनिन्छ । फक्ताङलुङ गाउँपालिका–६ सन्तकुमार लिम्बूले भन्नुभयो, “पहिला पहिला बाबुबाजेले मकैकै थाङ्ग्रा देखाएर विवाह गर्नुभयो रे अहिले मकैको थाङ्ग्रो देखाएर छोरा नातिको बिहे हुँदैन । अहिले मकै खेती गर्न छोडदै गएको लिम्बूले बताउनुभयो । खासमा मकैलाई थाङ्ग्रो बनाएर राख्दा घामले चाँडै सुक्ने, धुनपुतली, मुसा नलाग्ने बैज्ञानिक कारण भएकाले थाङ्ग्रो लगाउने परम्परा रहेको छ । गाउँभरि देखिने मकैको थाङ्ग्रोले सुन्दरता दिएको हुन्छ । वर्षभरिका लागि अन्नको जोहो गरेको सङ्केत पनि प्रष्ट पाइन्छ । कसैका थाङ्ग्रो ठूला छन् त कसैका साना । कुनै समय थाङ्ग्रोको आकारले समाजमा आर्थिक हैसियत निर्धारण गर्दथ्यो । बिहावारीको फैसाला गर्ने एउटा माध्यम मकैको थाङ्ग्रो पनि एक भएको स्थानीयको भनाइ रहेको छ । थाङ्ग्रो बनाएर मकै भण्डारण गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने यकिन जानकारी नभए पनि पूर्वी पहाडी जिल्लामा धेरै वर्षअघिबाट मकै खेती सुरु भएको इतिहास पाइन्छ । थाङ्ग्रो बनाएर राखेको मकै सुकेपछि जातोमा पिसेर च्याख्ला बनाई खाने र भुटेर खाजा खाने चलन छ । त्यही भएकाले सुरक्षित राख्न र बीउको संरक्षण गर्न थाङ्ग्रो बनाउने प्रचलन कायम छ तर त्यही थाङ्ग्रो आर्थिक हैसियत मापन गर्नेमध्ये अहिले पाइँदैन । जिल्लामा मकै बालीतर्फ चालु आवमा ५७ हजार नौ सय ८८ मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो । मकै १६ हजार एक सय ९८ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । गत वर्ष सोही क्षेत्रफल बराबरको खेतीबाट ५८ हजार तीन सय १२ मेट्रिक टन मकै उत्पादन भएको थियो ।