तनहुँ । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ । कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेङ्गु सङ्क्रमण देखिएको हो । जिल्लामा भदौको अन्तिम सातादेखि डेङ्गुको सङ्क्रमण फैलिएको थियो भने असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको डा ढकालले बताउनुभयो । डेङ्गुको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उहाँको भनाइ छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने, सरसफाई लगायतको सचेतनात्मक कार्यक्रम समेत सञ्चालन भइरहेको अधिकारीले बताउनुभयो । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिने, सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेङ्गुसँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन कार्यालयले अनुरोध गरेको छ । “रोग नियन्त्रण, न्यूनिकरण र रोकथामका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजौं र नष्ट गरौं भन्ने नारा सहित अभियान सञ्चालन गरिएको छ,” अधिकारीले भन्नुभयो, “लामखुट्टेको बासस्थान नष्ट पार्नु नै सबैभन्दा प्रमुख रोकथामको उपाय हो ।” एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्छ ।
काठमाडौं । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ । छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्नुभएको हो । सिजन अर्यालले तयार गर्नुभएको कथा बदलाको भावमा छ । समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ । त्यसले उहाँको श्रीमती सिमा (वर्षा) र छोरी सिमरन (सिस्टम)सँग अलग बनाउँछ । जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ । त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाउनुहुन्छ । यी दुईसँगै उहाँले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित)सँग बैंक लुटेर त्यहाँको पैसा एक जङ्गलमा लगेर काठमा लुकाउनु हुन्छ । नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण)लाई केस आउँछ । जनक अग्रवाल (प्रशान्त) को बैंकबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ । साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ । के पैसा मनोजले लुकाउनुभयो ? उहाँ जनककै सहयोगी हो ? वा समीरले नै नयाँ योजना बनाउनु भएको हो ? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ ?यी सब प्रश्नको जवाफ फिल्म हेर्दा नै पाइन्छ । विशेषतः फिल्मको क्लाइमेक्स चर्चा भएको छ । हिमाली सुन्दरताको क्लाइमेक्स मनोरन्जक रहेको अभिनेता विनय श्रेष्ठले बताउनुभयो । “फिल्म मेकिङमा निकै मेहनत गरिएको छ । सबै आ(आफ्नो भूमिकामा फिट छन”, विशेष शोमा फिल्म हेर्न आएका अभिनेता श्रेष्ठले भन्नुभयो, “यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ । किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन ।” फिल्म ‘लाखे’ का निर्देशक बस्नेतले आफू द्वन्द्व निर्देशक समेत रहेकाले यसमा प्रयास गरेको बताउनुभयो । “विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु । उहाँहरूको आकर्षण बढेमा हामीले मेकिङ अझैँ खर्च गर्न सक्छौँ”, निर्देशक बस्नेतले भन्नुभयो । करिब रु तीन करोड लगानीमा फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ । फिल्म नेपालभरका हलमा कात्तिक १८ देखि प्रदर्शन भइरहेको छ ।
काठमाडौं । गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौँवासी अचम्मित भए । यहाँ जाम त हुन्थ्यो नै तर यसरी घन्टौँसम्म विनासूचना राजधानीका सडक ठप्प भने हुदैनथे । समाचार कक्षको फोन र त्यहाँ रहेका साथीहरुका मोबाइलका घन्टी बज्न थाले । प्रश्न थियो– आज काठमाडौँमा केको जाम हो ? अकस्मात धेरै फोन आएपछि हामी पनि छक्क पर्यौँ । एकैछिनमा फेसबुक पेजहरुमा जिज्ञासा ओइरिएका थिए ‘लौन आज काठमाडौँ किन यस्तो जाम हो ?’ पछि थाहा भयो– त्यसदिन चिनियाँ सभामुख नेपाल आएकाले सडक खाली गराइएको रहेछ । उहाँ आउने समाचार त थियो तर ट्राफिक व्यवस्थापनको सूचना भने कतै थिएन । त्यस दिन नागरिकले दुःख पाए र व्यापक आलोचना गरेपछि ट्राफिक प्रहरीले भोलिपल्ट भने राजधानीको ट्राफिक रुट सार्वजनिक गर्यो । गत वैशाखमा स्थानीय निर्वाचन सुरु भएसँगै काठमाडौँ महानगरमा फोहर थुप्रिन थाल्यो । चुनाव प्रचार हुँदै थियो, उता फोहर पनि थुप्रिँदै । तर पार्टीका उम्मेदवारले ‘स्मार्ट सिटी’ बनाउने नारा र घोषणापत्र प्रचार गर्न भने छाडेका थिएनन् । जनतालाई भने घर अगाडिको फोहरका डङ्गुर हटे हुन्थ्यो भन्ने मात्र थियो । चुनाव सकियो, नयाँ नेतृत्व आयो तर फोहर उठेन । फोहर फाल्ने गरिएको साइटका नागरिकका माग यताको फोहरको डङ्गुर जस्तै बढ्दै गए । काठमाडौँ गन्हायो । नागरिकस्तरबाट महानगरको आलोचनाको सीमा रहेन । मानिसले स्वयंसेवीरुपमा फोहर उठाउन थाले । करिब दुई महिनामा बल्लतल्ल महानगरले उठायो । सायद लामो समयसम्म थुप्रिएको फोहरबाट पनि अहिलेको कडा खालको डेङ्गु विकसित भएको हुनसक्छ । यो अनुसन्धान हुन भने बाँकी नै छ । काठमाडौँभित्रका (सम्भवतः नेपालकै) कुनै पनि अस्पतालले आफ्नो सेवा र अवस्थाका बारेमा आफ्ना वेबसाइटमा जानकारी गराएर अपडेट गरेका हुँदैनन् । आफ्ना अस्पतालमा आइसियु, सिसियु, बेड तथा अरु के–कस्ता सेवा उपलब्ध छन् या छैनन् भन्नेबारेमा केही जानकारी राख्दैनन् । त्यसो गरिदिँदा बिरामीलाई इमर्जेन्सी सेवामा लैजान सजिलो हुन्थ्यो । स्वभावतः मानिस रगत किन्न रक्तसञ्चार केन्द्र नै जान्छन् । रक्तसञ्चार केन्द्रले आफूसँग कुन रगत छैन भन्नेबारेको सूचना आफ्नै वेबसाइटमा अनिवार्यरुपमा राख्नुपर्छ । अपडेट गरिदिए मानिस त्यहाँसम्म दुःख पाउनै पर्दैनथ्यो । यस्तो अभ्यास हामीसँग छैन । नागरिकका आधारभूत आवश्यकताको यो उपलब्धताका लागि आवश्यक यो चेतनास्तरसम्म हामी कहिले पुगौँला ? त्यसको कुनै योजना पनि अझै हाम्रासामु छैन । सानो सहरका साँघुरा बाटोहरुको व्यवस्थापनको कुनै दिगो योजना छैन । चोभार बस्ने मानिसले आफ्ना छोराछोरीको स्कुल बूढानीलकण्ठतिर राखेको छ, महाराजगञ्ज बस्नेले भक्तपुर या ललितपुरतिर होला । अभिभावक या विद्यालयले पनि बिहान र बेलुकाको कार्यालय समयमा आफ्ना बालबालिकाले सवारी जामको समस्या कस्तो भोगेका छन् भन्ने हेक्का कमै राख्छन् । ट्राफिक व्यवस्थापन राम्रो हुँदो हो त शिक्षा अधिकारी, विद्यालय, ट्राफिक प्रहरी तथा अरु आवश्यक सम्बद्ध सरोकारवालाको समन्वय हुन्थ्यो र बसाई र विद्यालय व्यवस्थापनको वैज्ञानिक प्रबन्ध हुन्थ्यो । नेपालका सरकारी अड्डाका बीचमा कामको समन्वय छैन । पहिले सडक पिच या ढलान हुन्छ । त्यसको केही हप्तापछि बिजुली या खानेपानीको योजना आउँछ र त्यही पिच खन्न थाल्छ । बाटो भत्किन्छ तर फेरि त्यो सडक बन्न कति समय लाग्छ पत्तो हुँदैन । त्यसपछि लामो समयसम्म वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । पूर्वमहानगरप्रमुख विद्यासुन्दर शाक्यले पाँच वर्ष लगाएर निर्माण गरेको स्मार्ट सिटी हो काठमाडौँ । उहाँ महानगर प्रमुखको उम्मेदवार हुँदा गरिएका वाचामा धेरै कुरा थिए तर महानगर यस्तो बन्यो । त्यसो त यो स्मार्ट सिटी शब्दको अर्थ के हो ? अर्थात् स्मार्ट सिटी कस्तो हुन्छ ? नगर या सहरमा के के कुराको विकास गर्दा स्मार्ट सिटी बन्छ ? भन्ने विषयको जानकारी नै धेरैलाई छैन । वाचा या घोषणापत्र बनाउने उम्मेदवारले नै स्मार्ट सिटी बुझेको छैन । बैङ्गलोर स्मार्ट सिटी लिमिटेडका प्रबन्ध निर्देशक पि राजेन्द्र चोलान नेपालका समाचारबाट त्यति अपरिचित हुनुहुन्न । अक्टोबरको तेस्रो साता भारतीय विदेश मन्त्रालयलको निमन्त्रणामा पुगेका नेपाली सम्पादक तथा वरिष्ठ पत्रकारको प्रतिनिधिमण्डलसँग बैङ्गलोरस्थित सो लिमिटेडको कार्यालयमा उहाँले नेपाल तथा दक्षिण एशियाली देशका कतिपय नगर प्रमुखले स्मार्ट सिटी बनाउने चर्चा गरेका तर यस्ता सिटी निर्माणका काम भने कमै मात्र भएको सुनेको बताउनुभयो । कुनै पनि सहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति पहिलो सर्त हुनुपर्ने उहाँको सुझाव छ । उहाँको आशय थियो– जबसम्म खाना, शिक्षा, स्वास्थ्यसहितका नगरवासीका आधारभूत आवश्यकताको सम्बोधन गरिँदैन, यी आवश्यकताबाहेकको अर्को स्मार्ट सिटी बन्न सक्दैन । उहाँको परिभाषामा हाम्रो काठमाडौँको फोहर व्यवस्थापन, पानीको व्यवस्था, वातावरणीय स्वच्छता, शिक्षा र यसको प्राप्तिका भौतिक सुविधा, खाद्यसुरक्षा (स्वास्थ्यका दृष्टिले), आदि स्मार्ट सिटी निर्माणका प्रारम्भिक पूर्वाधार हुन् । बैङ्गलोर स्मार्ट सिटीका प्रमुख इञ्जिनियर विनायक सुगर जसरी नगर महानगरका मेयरहरुले स्मार्ट सिटी बनाउने योजना बनाएका हुन्छन् तीमध्ये ९० प्रतिशतभन्दा बढीलाई त यसको अवधारणा नै थाहा नभएको बताउनुहुन्छ । स्मार्ट सिटी त्यस सहरका सबै सरकारी निकायको दरिलो समन्वय तथा प्रदेश तथा केन्द्र सरकारका सही इच्छाशक्तिबाट मात्र निर्माण हुने उहाँको धारणा छ । उहाँहरुले पहिले त काठमाडौँकै जस्तै सरकारको एउटा निकायले आफ्नो काम सकेर गयो अर्को निकाय आएर सडक भत्काउनेजस्ता आपसमा समन्वय हुन नसकेको अवस्था देख्नुभएको थियो बैङ्गलोरमा पनि । त्यसपछि उहाँहरुले नगरसँग जोडिने सबै सरकारी निकायको समन्वय आवश्यक ठान्नुभयो । उहाँहरुका अनुसार त्यसपछिको अर्को सर्त नागरिक तथा सहरका सरोकारवालाको सहयोग हो । स्मार्ट सिटीबाट लाभ लिने नगरवासी आफू लाभान्वित हुन पाएकामा खुसी, जानकार र उत्सुक हुनु जरुरी छ । यदि त्यसो भयो भने उनीहरु थप चासो र योजनाका साथ आउनेछन् र उनीहरुका पहलबाट सहर थप राम्रो बन्नेछ । जनसहभागिता र ट्राफिक व्यवस्थापनमा प्रहरीको सहयोगले स्मार्ट सिटी निर्माणमा धेरै सहयोग पुग्ने प्रबन्ध निर्देशक राजेन्द्रको अनुभव छ । भारतको ‘आइटी सिटी’ मानिएको बैङ्गलोरले स्मार्ट सिटी निर्माणको एक उत्कृष्ट अभ्यास गरिरहेको छ । सहरका नागरिकले प्राप्त गर्ने आधारभूत सुविधाको प्राप्तिलाई डिजिटल फर्ममा लगिँदैछ । बसको टिकट काट्न कोही लाइन बस्नुपर्र्दैन, बसपार्कमा मानिसको भीड हँुदैन । सहरमा रहरलाग्दो हरियाली छ । सडकको दायाँबायाँ मात्र होइन गल्लीगल्लीमा र हरेक घरका अगाडि रुख छन् । घरको रुख हुर्काउने वाचा नगरी घरको नक्सा पास हुँदैन । नक्सा पास भएर घर बनिसकेपछि पनि सरकारी निकायले रुख हुर्काए नहुर्काएको अनुगमन गर्छन् । सहरमा बागबगैँचा ठाउँठाउँमा छन् । अध्ययनका लागि वनस्पति उद्यान छन् । बालबालिकालाई खेल्ने ‘चिल्ड्रेन पार्क’हरु छन् । शिक्षा र स्वास्थ्यका सेवा डिजिटल बनिरहेका छन् । शिक्षालय विश्वविद्यालय, अस्पताल आदिका सूचना सहजै उपलब्ध छन् । अपाङ्गमैत्री सेवा र भौतिक संरचना छन् । वातावरणीय स्वच्छतालाई प्राथमिकता दिइएको छ । विद्युतीय सवारीलाई प्राथमिकतामा राखिएको छ र यसको प्रवद्र्धनमा सहुलियत दिइएको छ । ट्राफिक व्यवस्थापन सहज छ र विशेष पर्दा सूचना जारी हुन्छ । सरकारी गैरसरकारी निकायका वेबसाइट चुस्त र अद्यावधिक छन् । प्रदूषण मापदण्ड पालनामा कडाइ छ । सिसी क्यामेरा अद्यावधिक छन्, सडक बत्तीको भरपर्दो प्रबन्ध छ, पार्किङको व्यवस्थित प्रबन्ध छ । कक्षाकोठा डिजिटल बनिरहेका छन्, घरबाट हुने कामका लागि कार्यालय नधाए पनि हुने बनाइँदैछ । भारतमा पछिल्लो समय (स्टाटप) नवप्रवर्तन निकै बढ्दो छ । यसलाई नागरिकका जनजीविकालाई सहज र छरितो बनाउनेतर्फ बढी प्रयोग गरिँदैछ । “अहिले ८२ हजार नयाँ नवप्रवर्तन दर्ता छन् र उनीहरुले भारतको डिजिटल रुपान्तरणको काम गरिरहेका छन्”, भन्नुहुन्छ । इन्भेस्ट इन्डियाकी चिफ अपरेटिङ अफिसर प्रिया रावत । यसमार्फत पनि भारतमा लगानीका नयाँनयाँ सम्भावना र क्षेत्र पहिचान हुँदै गएका उहाँको विचार छ । बैङ्गलोर सहरले त झन भारतकै एक गौरवशाली संस्था इन्फोसिस्को दिमागलाई स्मार्ट सिटीको विकासमा प्रयोग गर्न सक्छ । भारतीय आइटी क्षेत्रकै एक थिङ्कट्याङ्क बनिरहेको छ इन्फोसिस्, जसको अहिलेको आइटी क्षेत्रको व्यवसाय करिब ७८ अर्ब अमेरिकी डलर बराबरको छ । सफ्टवेयर तथा सेवा कम्पनीको संस्था नेसकमका अनुसार भारतमा दर्ता भएका स्टाटपमध्ये बैङ्गलोरमा मात्र ४० प्रतिशत छन् । यसको सदुपयोग पनि बैङ्गलोर सहरले गर्न सक्दछ ।
पर्वत : कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ । “अहिले कालीगण्डकी नदीमा र्याफ्टिङले निरन्तरता पाउन सकेको छैन । अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि ¥याफटिङ सुरु हुनेछ”, कम्पनीका सञ्चालक नरेन्द्र केसीले भन्नुभयो, “स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ ।” उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्याफ्टिङ सञ्चालन हुँदै आएको थियो । अब भने हार्नेस कम्पनीले कुश्माबाट नै र्याफ्टिङको सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार सफल परीक्षण सकिएको हुँदा हप्ता दिनभित्रै र्याफ्टिङका लागि बुकिङ खुल्ला गरिने छ । र्याफ्टिङका लागि इजरायल, अमेरिका, युरोपलगायत देशबाट पर्यटक आउने गरेका छन् । विदेशीसँगै स्वदेशी पर्यटकसमेत कालीगण्डकीमा र्याफ्टिङको मज्जा लिन आइपुग्छन् । र्याफ्टिङका लागि चैत, वैशाख, असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकनका साथै प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।
रूपन्देही : रूपन्देहीको सम्मरीमाई-५ रोइनिहवामा भएको चुनावलक्षित टेलिभिजन बहस कार्यक्रममा फरकफरक दलका कार्यकर्ताहरूबीच विवाद हुँदा एक जना घाइते भएका छन्। निर्वाचनलाई लक्षित गरी सञ्चालित एक टिभी च्यानलको बहस कार्यक्रममा उपस्थित दलका कार्यकर्ताहरूबीच कार्यक्रम स्थलमै कुटाकुट भएको हो। बहसमा सहभागी उम्मेदवारले कार्यक्रम प्रस्तोता र सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा सहभागीहरूले एक्कासि होहल्ला गरेपछि विवाद उत्पन्न भएको थियो। रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभा सदस्यका चार जना उम्मेदवारसँग गरिएको उक्त बहसमा होहल्ला भएपछि कुर्सी हानाहान र ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट कार्यक्रममा सहभागी स्थानीय लालविहारी माविका प्रधानाध्यापक मुरलीधर शुक्ला घाइते भएका हुन्। स्थानीय सन्दीप त्रिपाठीका अनुसार शुक्लाको ओठमा चोट लागेको छ। भैरहवास्थित भिम अस्पतालमा उनको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पनि बहस चलिरहेको बखत सहभागीहरूबीच केहीबेर विवाद र कुर्सी हानाहान हुँदा एक जना सामान्य घाइते भएको पुष्टि गरे। विवादपछि केहीबेर स्थगित भएको कार्यक्रम पछि पुनः सुरू भएको समेत उनले जानकारी दिए। बहसमा सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका प्रमोद यादव, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सर्वेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादव गुल्जारी सहभागी थिए। सेतोपाटीबाट
बागलुङ : दुई-दुई पटक जसले हराए उनै दलसँग मिलेर कांग्रेस नेता जीत शेरचन प्रदेशसभा सदस्य चुनावमा होमिनुभएको छ । वाम गठबन्धनको एक्लै सामना गर्नुभएका शेरचनले वि.स. २०७४ र वि.स. २०७६ को उपचुनावमा बागलुङ-२ (२) बाट हार्नुभएको थियो । ती दुई चुनावमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा एउटै मोर्चाबाट कांग्रेसविरुद्ध चुनाव लडेका थिए । अहिले वाम दल एक ठाउँ छैनन् । माके र राजमो कांग्रेससँगको गठबन्धनमा छन् । एमाले एक्लै चुनावी मैदानमा छ । बदलिएको चुनावी समीकरणबीच शेरचनलाई नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीको समेत साथ छ । पाँच दलीय गठबन्धनका आडमा बागलुङ–२ (१) बाट प्रदेशसभा छिर्ने दाउमा हुनुहुन्छ, शेरचन । अघिल्ला चुनावमा बागलुङ–२ (२) बाट चुनाव लड्नुभएका उहाँले यसपालि क्षेत्र (१) राज्नुभएको छ । विसं २०७४ को चुनावमा शेरचन वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दिवङ्गत नेता टेकबहादुर घर्तीसँग तीन हजार दुई सय ६० मतान्तरले पराजित हुनुभएको थियो । घर्तीले ११ हजार आठ सय ८४ र शेरचनले आठ हजार ६ सय २४ मत ल्याउनुभएको थियो । निर्वाचित उम्मेदवार घर्तीको निधन भएपछि विसं २०७६ मङ्सिरमा भएको उपचुनावमा राष्ट्रिय जनमोर्चाकै खिमविक्रम शाहीले शेरचनलाई हराउनुभएको थियो । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राजमोले शाहीलाई उम्मेदवार बनाएको थियो । उपचुनावमा भने शेरचनले पहिलेभन्दा मतान्तर केही घटाउनुभएको थियो । शाहीले ११ हजार दुई सय २५ मत ल्याएर विजयी बन्दा शेरचनले नौ हजार एक सय ३८ मत पाउनुभएको थियो । आसन्न मङ्सिर ४ को चुनावमा भने शेरचनको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीसँग हुँदैछ । उक्त क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार उठाउन सकेन । एमालेको समर्थनमा लालटिन चिह्न लिएर उम्मेदवार बन्नुभएका घर्ती र शेरचन मात्र सो क्षेत्रमा उम्मेदवार छन् । गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित बन्नुभएका घर्ती र तेस्रोपटकमा चुनाव जित्ने दाउमा रहनुभएका शेरचनबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ । विसं २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट ताराखोला गाउँपालिकाको अध्यक्ष बन्नुभएका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उहाँ फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रनुभएको छ । दुईपटकसम्मको हारलाई जीतमा बदल्ने शेरचनको सपना यसपालि पूरा हुन्छ या हुँदैन त्यो त हेर्न बाँकी छ । कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका शेरचन विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । शेरचन नेपाल विद्यार्थी सङ्घका तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापति हुनुभएको थियो । शेरचनले चुनाव लड्ने क्षेत्र बागलुङ–२ (१)मा ५४ हजार दुई ३४ मतदाता छन् । गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई सो क्षेत्रले समेटेको छ । विसं २०७४ को चुनावमा सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बन्नुभएको थियो । गत स्थानीय चुनावमा भने यस क्षेत्रका तीनै स्थानीय तहमा सत्ता गठबन्धनले जितेको थियो । गलकोटको प्रमुख र बडिगाडको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका थिए भने ताराखोलाको अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ । यस निर्वाचनका लागि मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगि कायम हुने मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ । यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीको मतपत्र ढुवानी गरिएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो ।
दार्चुला। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताउनुभएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भन्नुभयो, “हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताको रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इञ्च पनि छोड्दैनौँ ।” भारतले विभिन्न बहानामा काली नदीको उद्गम स्थानसमेत नक्कली बनाएको भन्दै उहाँले सन् १९६६ मै स्वर्गीय प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण पनि गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्नुहुने भएको छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उहाँ यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको तयारीबारे आज परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । सचिव पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा जानुहुनेछ । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी कात्तिक २१ गते साँँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्नुहुने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनुहुनेछ । कार्यक्रममा उपस्थित सरोकारवाला मन्त्रालय मातहत निकाय र चारवटै सुरक्षा निकायका प्रतिनिधिले राष्ट्रपतिको भ्रमणलाई त्रुटिरहित रुपमा सफल बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।