काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

बाजुरा:  निर्वाचनको क्रममा बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर.७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिए। प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी ल्याइँदै छ। 

बाजुरा:  बाजुराको त्रिवेणी नगरपालिका ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।

काठमाडौं:  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानको पूर्वनिर्धारित समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । देशका अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि ५ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरिसकेका मतदाताहरुले केही अबेरसम्म पनि मतदान गर्न पाउने छन् । केही मतदानस्थलमा विवादका कारण रोकिएकाले ती स्थानमा मतदान गराउने प्रयास जारी छ । दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका स्थानमा मतदान रोकिएको छ । ती स्थानमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरस्थित पातु बनगाउँ मतदान केन्द्रमा बेलुका सात बजेसम्मै मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएका स्थानबाट मतपेटिका संकलनको काम जारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने जानकारी दिए । दुर्गम हिमाली क्षेत्रका जिल्लाबाट भने मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले सोमबारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम स्थानका जिल्लाहरुमा हेलिकोप्टरबाट मतपेटिका संकलनको व्यवस्था मिलाइएको छ ।  

स्याङ्जा: राजनीतिक दलका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएकोस्याङजाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा पुनः मतदान सुरु भएको छ । यहाँस्थित एमाले निकट वडा सदस्यले हातपात गरेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । कार्यकर्ताबीच विवाद चर्किदै जाँदा प्रहरीले सुरक्षाको लागि हवाइ फायर समेत गरेको जनाएको छ ।   सर्वदलीय बैठक बसेपछि विवाद मिलाएर मतदान सुरु गरिएको प्रहरीले जनाएको छ ।

नवलपुर:  नवलपरासी पूर्वको देवचुली नगरपालिका ४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ । उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

चितवन:  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे । बेसिक स्कुल कालिका नगरपालिका–२ मा उनले मतदातासामु भने, ‘किला गडिसक्यौं त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईहरुले जित्ने हो ।’ आफूले चुनाव जितेपछि पनि चुनाव अगाडि मत माग्न आएजसरी नै घरघरमा आउने लामिछानेले बताए ।

काठमाडौं:  आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।

स्याङ्जा:   स्याङ्जाको चापाकोट नगरपालिका १ को भानु माविको मतदान केन्द्रमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।  झडपका कारण मतदान हुन नसक्ने स्थिति आएपछि एक राउन्ड हवाई फायर गरिएको स्याङ्जा प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । अहिले त्यहाँ सर्वदलीय बैठक बसी मतदान सुचारु गर्न लागिएको छ ।

बागलुङ:   बागलुङको जैमिनी नगरपालिका ४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ । उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।