काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

 भरतपुर:  नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताउनुभएको छ ।  आज मतदान गरेपछि उहाँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै लागि आफूहरू विवाद नगर्ने स्पष्ट पार्नुभयो । कांग्रेसबट पनि साथीहरू हुनुहुन्छ । शेरबहादुर देउवाजी र गगन थापाजीको पनि कुरा छ तर हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ, उहाँले भन्नुभयो ।  गठबन्धनको स्पष्ट बहुमत आउने र आफूहरूले नै सरकार बनाउने पनि प्रचण्डले  जानकारी दिनुभयो । प्रचण्डले शान्तिपुरस्थित प्रहरी स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले मतदान गरेसँगै चितवनमा मतदान सुरु भएको छ । 

दार्चुला:   दार्चुलाको व्यास गाउँपालिका१ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका छन् । छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गास्थित मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन् । तिङ्करमा २३५ जना मतदाता छन् । उनीहरू कात्तिक २९र३० गते नै सदरमुकाम आइपुगेका थिए । उनीहरूले मतदान गरेको खलंगाको मतदान केन्द्र गाउँबाट २८ कोषको दूरीमा छन् । मतदानकै लागि उनीहरू पाँच दिन हिँडेर खलंगा आएका हुन् । तिङ्कर र छाङरुबाट सिधै सदरमुकाम आउने बाटो छैन ।उनीहरुलाई सदरमुकाम आउनसमेत भारतीय भूमिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ । तिङ्कर क्षेत्रमा अहिले चिसो धेरै भएकाले र जाडोमा बस्न नसक्ने भएकाले उनी तल्लो भेगतिर झर्छन् । त्यसैले व्यास१ को छाङरु र तिङ्करका मतदाताका लागि सदरमुकाम खलंगामा छुट्टै केन्द्र बनाइएको छ ।

काठमाडौं-​ मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसक्नुभएको छ ।     मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।   मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ ।   निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

बलेवाः  ढोरपाटन –६ का सम्पूर्ण छन्त्याल यसपटकको निर्वाचनमा गाउँ नजिकै थप गरिएको मतदानस्थलमा मतदान गर्न पाउने भएपछि खुसी हुनुहुन्छ । निर्वाचन आयोगले मतदातालाई सुविधालाई ध्यानमा राख्दै यसपटक गाउँकै जनता प्राथमिक विद्यालयमा मतदानस्थल स्थापना गरेपछि लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ । “यसअघि चार घण्टा हिँडेर मतदात गर्न गइन्थ्यो, तर अहिले ४५ मिनेट मात्रै हिँडे पुग्नेभयो”, अधिकारी चौरका छन्त्यालले भन्नुभयो, “पहिले बुढापाकालाई मतदान केन्द्रसम्म लैजान समस्या हुन्थ्यो तर अब त्यो समस्या हटेकाले उत्साही छु ।” मतदानस्थल टाढा हुँदा वृद्ध र अपाङ्गहरु मतदान गर्ने इच्छा हुँदाहुँदै पनि वञ्चित बन्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “मतदान गर्न जाँदा खाजा पनि सँगै लैजानुपर्ने अवस्था थियो”, छन्त्यालले भन्नुभयो, “अहिले भोट हालेर घरमा फर्केर खाजा बनाएरै खान सकिन्छ । एकजना गएर मतदान गरेर फर्केपछि अर्को गएर मतदान गर्न सकिने भएकाले घरायसी काममासमेत सहज हुने भयो ।” बागलुङमा यस पटक तीन स्थानमा मतदानस्थल थप गरिएपछि यहाँका मतदाताको समस्या समाधान भएको छन्त्यालको भनाइ छ । जिल्ला निर्वाचन कार्यालयले मतदाताको सुविधालाई ध्यानमा राखेर स्थानीय तह निर्वाचनमा एक सय तीन मतदानस्थल रहेकामा अहिले तीन मतदानस्थल थप गरेको थियो ।  कार्यालयले ढोरपाटन नगरपालिका–६, ढोरपाटन नगरपालिका–२ र गलकोट नगरपालिका–१० मा एक÷एकवटा मतदानस्थल थप गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताउनुभयो । छन्त्याल जस्तै ढोरपाटन नगरपालिका–२ की शान्ति थापा पनि मतदानस्थल  नजिक हुँदा उत्साहित हुनुहुन्छ । साढे एक घण्टा हिँडेर मतदानस्थल पुग्नुपर्ने थापालाई यसपटक घरबाट १५ मिनेट मात्रै हिँडे पुग्ने भएको छ ।  ढोरपाटन नगरपालिका–६ का वडाध्यक्ष उमेशकुमार बुढा मगरले यसपटक मतदानस्थल थप हुँदा स्थानीयहरु मतदानका लागि उत्साहित भएको बताउनुभयो । उहाँले साढे चार घण्टाको यात्रा गरेर मतदानस्थल पुग्नुपर्ने नागरिकको समस्या अहिले १ घण्टामा छोटिएकाले वृद्धहरु र अपाङ्गहरुलाई सहज हुने बताउनुभयो ।  ढोरपाटन–२ मा यसपटक दुईवटा मतदानस्थल बनाइए पनि अझै केही स्थानका नागरिकहरुलाई लामो समय हिँड्नुपर्ने अवस्था छ । ढोरपाटन–२ का प्रेम चालिसेले मतदानस्थल थपिँदा केहीलाई राहत भए पनि आफूलाई भने सहज नभएको बताउनुभयो ।

काठमाडौंः   प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमार्फत् उहाँले संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो ।  उहाँले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत् शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन आग्रह गर्नुभएको हो । प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा कानून पालनामा आयोगले विशेष सजगता अपनाएको बताउनुभयो ।  आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदानकार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमन भइरहेको उहाँको भनाइ छ । यसका साथै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको उहाँको भनाइ छ ।  आयोगले मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनुनपर्ने व्यवस्था गरेको छ ।  आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको छ । सरकारले आयोगको सिफारिससमेतका आधारमा यही मङ्सिर ४ र ५ गते देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ । निजी तथा गैह्रसरकारी क्षेत्रमा आबद्ध जनशक्तिले पनि सहजतापूर्वक मतदानमा सहभागी हुन सकुन् भन्ने ध्येयले विदाको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारमार्फत् ती क्षेत्रलाई अनुरोध गरिसकिएको छ ।   मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारी अवरोध पु¥याउनेलाई कानून बमोजिमा कारबाही गर्नका लागि आवश्यक निर्देशन दिइएको उहाँको भनाइ छ ।  “मतदान केन्द्र कब्जा गर्न खोज्ने, मतदाताको बाटो वा गौडा छेक्ने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्नेलाई कानून अनुसार कारबाही हुन्छ,” निर्देशनमा भनिएको छ, “वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने, मतपत्रको दुरूपयोग गर्ने, मतदानको अधिकारविना मतदान गर्ने, पटकपटक मतदान गर्न खोज्ने, मत सङ्केत सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको छ ।” प्रमुख आयुक्त थपलियाले  नर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवम् परिचालित हुने वातावराण बनाउन दृढ सङ्कल्पित रहेकाले सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ मा विश्वास व्यक्त गर्नुभयो ।  “निर्वाचन व्यवस्थापनका लागि राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज आमसञ्चारलगायत सबै सरोकारवालाको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ”, उहाँले भन्नुभयो ।

काठमाडौंः   निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पनासमेत गर्दैनन्”, संयुक्त विज्ञप्तिमा भनिएको छ, “भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।” गत सूचनाप्रति आपत्ति जनाउँदै सो संयुक्त विज्ञप्तिमा यसलाई निर्वाचन अपराधका रुपमा लिएर कानुनी कारबाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ । कांग्रेस र माओवादीले अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ ।  प्रेस सेन्टरको आपत्ति प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा गलत प्रचार गरेको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले  नेकपा (एमाले)को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत केहीले स्थापित अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।      केही स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई ‘स्क्रीनसट’ गरेर सामाजिक सञ्जालमा पोष्ट गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । “सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै ‘स्क्रीनसट’ गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो” अध्यक्ष सापकोटाले भन्नुभयो “यस्तो गलतकार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको उल्लङ्घन पनि हो ।” आम निर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहितरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने अवस्थामा पेसागत पत्रकार सङ्गठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैलाउनु निर्वाचन आचारसंहिताको घोर उल्लङ्घन भएको ठहर गर्दै प्रेस सेन्टरले उक्त घटनालाई गम्भीररुपमा लिई आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।

काठमाडौंः   प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले देशभर दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ ।  आयोगका अनुसार देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन् ।  निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७४ कार्यान्वयनमा छ ।  यसरी निर्वाचनमा खटिएका कर्मचारीले “प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (आर्थिक) निर्देशिका, २०७४” मा रहेको व्यवस्थाअनुसार विभिन्न सेवा सुविधा पाउँछन् । मतदान केन्द्र, अस्थायी मतदान केन्द्र तथा मतदानस्थलमा खटिने कर्मचारीले पाउने सेवा सुविधा निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराउँछ ।  निर्वाचनका क्रममा खर्च हुने रकम कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको नाममा निकासा दिन्छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (आर्थिक) निर्देशिकाअनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई प्रतिदिन रु दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई रु दुई हजार, सहायक कर्मचारीलाई रु एक हजार छ सय र सहयोगी कर्मचारीलाई रु एक हजार दुई सय भत्ता उपलब्ध गराइन्छ । सहायक मतदान अधिकृत राजपत्राङ्कितस्तरको कर्मचारी भएमा भने अधिकृत सरह नै दैनिक तथा भ्रमण भत्ता पाउँछन् ।  मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म, मतदान केन्द्रबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म र निर्वाचन अधिकृतको कार्यालयबाट आफ्नो  कार्यालयसम्म जान आउन लाग्ने दिन र मतदान केन्द्रमा बस्ने तीन दिनसमेतको दैनिक तथा भ्रमण भत्ता दिइन्छ । कर्मचारीहरुले यदि पैदल यात्रा गर्नुपर्ने भएमा प्रति १५ किलोमिटरलाई एक दिन मानी एक दिन बराबरको भत्ता उपलब्ध गराउने व्यवस्था छ ।  यस्ता कर्मचारीलाई आफू कार्यरत रहेको कार्यालय रहेको स्थानबाट निर्वाचन अधिकृतको कार्यालयमा नियुक्ति लिन उपस्थित हुँदा लाग्ने बाटोको म्याद र तयारी म्याद एक दिन गरी दैनिक भत्ता दिइन्छ । त्यस्तै, मतदान अधिकृतलाई मोबाइल रिचार्ज तथा अन्य विविध कार्यका लागि थप सुविधावापत रु पाँच हजार दिइन्छ । मतदान केन्द्रमा स्वयंसेवकका रुपमा नियुक्त हुने व्यक्तिलाई खाजा खानावापत तीन दिनका लागि प्रतिदिन प्रतिव्यक्ति रु एक हजार उपलब्ध गराइन्छ ।   त्यसैगरी मतगणना टोलीमा रहने कर्मचारीले प्रत्येक सिफ्टका लागि निर्धारण गरिएअनुसार दैनिक सुविधा र भत्ता पाउँछन् । निर्देशिकाअनुसार प्रमुख मतगणना अधिकारीलाई रु दुई हजार पाँच सय, सहायक मतगणना अधिकारीलाई रु दुई हजार, अन्य कर्मचारीलाई प्रतिव्यक्ति रु एक हजार छ सय र कार्यालय सहयोगीलाई रु एक हजार दुइ सय दिने व्यवस्था छ ।  मतगणना अवधिभर मतगणना कार्यमा सहयोग गर्ने निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीलाई प्रतिदिन प्रतिव्यक्ति अधिकृतस्तर एकजनालाई रु एक हजार, सहायकस्तर दुई जनासम्मलाई रु आठ सय र सुरक्षागार्डलाई रु छ सय भत्ता दिइन्छ ।  निर्देशिकामा भएको व्यवस्थाअनुसार निर्वाचनमा खटिएका कर्मचारीमध्ये मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले नियुक्ति पाएको मितिदेखि र अन्य कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयमा हाजिर भएको दिनदेखि निर्वाचन सम्पन्न भएको मितिले १५ दिन ननाघ्ने गरी भत्ता पाउँछन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा काजमा रहेको मितिसम्म निर्वाचन भत्तावापत आफूले खाइपाई आएको मासिक तलबको एक सय २१ प्रतिशत बराबर हुन आउने रकम पाउँछन् ।  निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीले कार्यालयमा हाजिर भएको दिनमा खाजा र खानावापतको पनि निश्चित रकम पाउँछन् । अधिकृतस्तरका कर्मचारीका लागि दैनिक रु सात सय, सहायकस्तरका कर्मचारीले रु पाँच सय, हलुका सवारी चालक, कार्यालय सहयोगी, सुरक्षागार्ड (पिएसओ)लाई रु पाँच सय खाना र खाजा खर्चका रुपमा उपलब्ध गराउने व्यवस्था छ ।  अनुगमन भ्रमण वा अन्य कुनै कारणले कार्यालयमा हाजिर नभएको दिनको भने खाजा र खानाबापतको रकम पाइँदैन । त्यस्तै, मुख्य निर्वाचन अधिकृतले जिल्लाभित्रका निर्वाचन अधिकृतबीच समन्वय तथा सहजीकरण गर्न निर्वाचन क्षेत्रको सङ्ख्याको आधारमा प्रतिनिर्वाचन क्षेत्र मासिक रु एक हजार दरले रकम पाउँछन् ।  निर्वाचनमा खटिने सुरक्षाकर्मीले प्रतिदिन रु पाँच सयका दरले खाना तथा खाजा खर्च वापतको रकम पाउँछन् । त्यस्ता सुरक्षाकर्मीले सिफ्ट बमोजिमको काम गरेका अवस्थामा भने दामासाहीका हिसाबले रकम दिने व्यवस्था छ ।  सुरक्षाकर्मीलाई खाजा र खानावापतको रकम उपलब्ध गराउँदा निर्वाचन अधिकृतको कार्यालयमा रहने सुरक्षाकर्मीलाई निर्वाचन अधिकृतको कार्यालयमा रहँदासम्मको खर्च दिइन्छ ।  मतपेटिकाको सुरक्षाका लागि मतगणनास्थलमा खटिएका सुरक्षाकर्मीलाई मतदानका दिनदेखि मतगणना सम्पन्न भएको दिनसम्मको खाजा र खाना भत्ता उपलब्ध गराइन्छ भने निर्वाचन कार्यालयको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई मतदान हुने दिनभन्दा तीस दिन अघिदेखि सम्बन्धित सबै जिल्लाका निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको मितिले तीस दिनसम्मका लागि उपलब्ध गराइन्छ । निर्वाचनको काममा खटिएको अवस्थामा बाहेक जगेडमा रहेका कर्मचारीलाई भने यस्तो भत्ता तथा सुविधा उपलब्ध गराइँदैन । सरकारले स्थानीय भत्ता पाउने भनी तोकेको जिल्लामा अन्य जिल्लाबाट खटिई आएका निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले सरकारले तोके बमोजिमको अतिरिक्त स्थानीय भत्ता पाउँछन् ।  निर्वाचन अधिकृत आफ्नो पदाधिकार रहेको कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालयमा हाजिर हुन गएदेखि कार्य सम्पन्न गरी आफ्नो कार्यालयमा फर्किँदासम्मको अवधिका लागि कर्मचारीको तहअनुसार दैनिक तथा भ्रमण भत्ता दिइन्छ ।  आफ्नो पदाधिकार रहेको जिल्लामा नै खटिएको निर्वाचन अधिकृतले भने दैनिक तथा भ्रमण भत्ता पाउँदैनन् । यद्यपि, पदाधिकार रहेको कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान १५ किलोमिटरभन्दा बढी दूरीमा रहेमा भने यस्तो सुविधा पाइन्छ । दैनिक तथा भ्रमण भत्ता पाउने निर्वाचन अधिकृतले खाजा र खाना खर्च भने पाउँदैनन् ।  निर्वाचन कार्यालयलाई टेलिफोन, फ्याक्स, इन्टरनेटलगायतका सुविधा सरकारले नै उपलब्ध गराउँछ । तर निर्वाचनसम्बन्धी कामका लागि निर्वाचन अधिकृतलाई मोबाइल तथा फुटकर टेलिफोन सुविधावापत निर्वाचन अवधिभरका लागि एकमुष्ट रु सात हजार दिइन्छ । निर्देशिकाअनुसार मतदान केन्द्र निर्माण गर्न भवन भएका मतदान केन्द्रका लागि रु पाँच हजार र भवन नभएका मतदान केन्द्रका लागि रु १० हजार मतदान अधिकृतलाई उपलब्ध गराइन्छ । बिजुली बत्ती नभएको मतदान केन्द्रमा जेनेरेटर तथा अन्य व्यवस्था गर्न मतदान अधिकृतलाइ रु तीन हजार उपलब्ध गराइन्छ ।  ढुवानी खर्चका रुपमा मतपेटिका तथा अन्य निर्वाचन सामग्री रहेको स्थानबाट मतदान गर्दा र मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका तथा अन्य निर्वाचन सामग्री ढुवानी गर्दा पैदल हिँड्नु परेमा पन्ध्र किलोमिटर दूरीका लागि एक दिन कायम गरी प्रतिदिन प्रतिमतपेटिका रु छ सयका दरले मतदान अधिकृतलाई ढुवानी खर्चवापत ढुवानी खर्च उपलब्ध गराइन्छ ।  त्यस्तै, मतगणना व्यवस्थापन खर्चका रुपमा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा आवश्यक पर्ने गुन्द्री, कार्पेट, चकटी, बत्ती, पानी, जेनेरेटर, माइक आदिको व्यवस्थापनका लागि छुट्टै रकम उपलब्ध गराउँछ ।  त्यस्तो सामग्री व्यवस्थापनका लागि २० हजारसम्म मतदाता रहेको निर्वाचन क्षेत्रमा रु २० हजार, ५० हजारसम्म मतदाता रहेको निर्वाचन क्षेत्रका लागि रु ३० हजार, ८० हजारसम्म मतदाता रहेको निर्वाचन क्षेत्रमा रु ४० हजार र ८० हजारभन्दा बढी मतदाता रहेको निर्वाचन क्षेत्रमा रु ५० हजारसम्म मतगणना व्यवस्थापन खर्च छुट्याउने व्यवस्था छ ।

काठमाडौंः   राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गर्नुभएको छ ।  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा आज सन्देश दिँदै उहाँले मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताउनुभएको छ ।  राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गर्ने बताउनुभयो । जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उहाँको भनाइ छ ।  राष्ट्रपति भण्डारीले जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै उहाँको विश्वास छ ।   राष्ट्रपति भण्डारीले आम निर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शीता स्थापित गर्न मद्दत पुग्ने जनाउँदै स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने बताउनुभएको छ ।  राष्ट्रपतिले आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ । भोलि मङ्सिर ४ गते आइतबार देशभर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ ।

सोलुखुम्बुः   सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउपालिका४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन् ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए ।  घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिनुयो ।  सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएका खुलेको छ ।