काठमाडौं: वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनु भएको छ । तर अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने बताउनु भयो । प्रेस चौतारी नेपाल धनकुटाले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले एमाले सरकार बनाउने खेलमा नरहेको प्रस्ट पार्नुभयो । उहाँले भर्खरै सम्पन्न निर्वाचनमा जनताले एमालेलाई सरकारले जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताउनुभयो । तर गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उहाँको तर्क छ । गठबन्धन राष्ट्र हितमा छैन यो पहिले तोडिनु पर्छ उहाँले भन्नु भयो ।
काठमाडौं: सामाजिक सञ्जाल मार्फत महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । फेसबुकमा साथी बनाई विभिन्न प्रलोभनमा पारी महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएको आरोपमा ३१ वर्षीय विश्वनाथ कुर्मीलाई पक्राउ गरेको हो । रुपेन्देही शिद्वार्थनगर नगरपालिका वडा नं। ११ घर भई हाल वैदशिक रोजगारमा रहेका कुर्मीलाई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको साइबर व्युरोले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । विज्ञप्तिमा कुर्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको ओदेशमा ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको उल्लेख गरिएको छ ।
सुर्खेत: पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गाडी शुक्रबार पञ्चपुरी नगरपालिका–२ सिरी चौरमा दुर्घटनामा परेको हो। घाइते हुनेमा पञ्चपुरी नगरपालिका–८ बस्ने ५६ वर्षीय जनक देव गिरी, दैलेखमो नौमुले गाउँपालिका–३ का १६ वर्षीय हिमा सलामी मगर, जुम्ला चन्दननाथ गाउँपालिका–८ बस्ने २० वर्षीय बसन्ती धरला रहेका छन् । यस्तै पञ्चपुरी नगरपालिका–२ का २७ वर्षीय धनिराम रेग्मी, वडा नम्बर ५ का ३४ वर्षीय नन्दा शाही र दैलेख भैरवी गाउँपालिका–२ का ६८ वर्षीय मुना पुरीको ढाँडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । पञ्चपुरी–५ बाबियाचौरबाट सुर्खेतका लागि छुटेको काँक्रेबिहार समितिको कर्णाली प्रदेश ०२००१ ख ०१६१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी सडकबाट २ मिटर तल बायाँ साइटमा पल्टिएको थियो । उनीहरूको स्थानीय स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।
मकवानपुर: बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोक्नुभएको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डेले गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभई हिजो मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिनुभएको थियो ।
बाजुरा: ए यो भुवो काँ जादोः भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे। भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन् । बाजुराका विभिन्न ठाउँमा यसरी भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै रौनकता छाएको छ । पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको रौनक छाउन थालेको छ । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाएका छन् । केही वर्षअघि कोरोनाको कहरका कारण यो पर्व मनाइएको थिएन । यो वर्ष बाजुराका विभिन्न ठाउँमा भव्य रुपमा भुवा पर्व खेल्न सुरु गरिएको छ । जिल्लाको बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, स्वामिकात्तिक, हिमाली, जगनाथलगायतका स्थानीय तहमाका विभिन्न गाउँमा आजबाट यो वर्ष भुवा पर्व विशेष रुपमा मनाउने गरिन्छ । भुवा पर्व सुदूरपश्चिमको एक विशेष पर्व हो । यो पर्व पुसे औंसीको दिनदेखि सुरु हुन्छ । भुवा पर्व मनाउन यहाँका विदेश गएका स्थानीय यतिबेला धमाधम गाउँ फर्किएका छन् । विगतका केही वर्ष कोरोनाको कहरमा भुवा पर्व मनाउन नपाएकाहरु यतिबेला भुवापर्व मनाउन गाउँ फर्किएका हुन् । खप्तड छेडेदह गाउँपालिका –७ का स्थानीय भीम नेपालीले धेरै वर्षसम्म जागिरको सिलसिलामा गाउँमा आउन नपाएकाहरु अहिले गाउँ फर्किएको बताउनुभयो । कोरोना कहरले दुई वर्षसम्म यो पर्व खेल्न नपाएकाहरु यतिबेला गाउँमा आएर ढाल तरवार समात्दै अहिले भुवा खेल्न थालेको उहाँको भनाइ छ । बाजुराका स्थानीय जोतिष कृष्णराज जोशीले, पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा यहाँका स्थानीयले मध्यरातमै राँकेजुलुस निकालेर भुवापर्व सुरु गर्नेगरेको बताउनुभयो । गोरखापत्र
काठमाडौं: चर्चित संगीत संयोजक महाराज थापा अस्पताल भर्ना भएका छन् । ब्रेन सिजरका कारण उनलाई शुक्रबार नर्भिक अस्पताल भर्ना गरिएको हो । बिहान साथीहरुसँग ब्याडबेन्टिन खेल्ने क्रममा एक्कसी लडेका उनलाई तुरुन्तै नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा डाक्टरले उनलाई ब्रेन सिजर भएको बताएका संगीतकार चेन सापकोटाले बताए । ‘बिहान अस्पताल ल्याउँदा उहाँको अवस्था एकदमै खराव थियो’ सापकोटाले भने, ‘अहिले डाक्टरले खतरा मुक्त भएको बताएका छन् ।’ सापकोटाले थापाको उपचार खर्च सबै संगीतकार संघले गर्ने समेत जानकारी दिए ।
काठमाडौं: नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज (शुक्रबार) पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए । त्यहाँ पुर्याएपछि बिट क्वाइनमा इन्भेष्ट गराउनेलगायतका गैरकानुनी काम लगाउनुका साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकम लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको हो । निजहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा चलान गरिएको छ ।
रौतहट: रौतहटको गुजरा नगरपालिका–९ अमतवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक गुजरा–१ मनहर्वाका ३२ वर्षीय तुफानी माझी रहेका छन्। उनको उपचारका क्रममा चन्द्रपुर अस्पताल प्रालिमा मृत्यु भएको हो। सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २० वर्षीय सजकी माझीको सोही अस्पतालमा नै उपचार भैरहेको छ। गएराति साढे १ बजे तुफानीले चलाएको ना ४० प ५०३० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी चौकी सिमराभवानिपुरले जानकारी दिएको छ।

