काठमाडौंः यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ । मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना हुने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको आयोगले जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आजको बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने जनाउँदै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । बैठकले राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय गरेको छ । मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मस्तिष्क मन्थनलगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ । आयोगले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ । बैठकले निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गर्ने निर्णय गरेको छ ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४९ अङ्कले उकालो लागेर तीन सय ८१ दशमलव शून्य छ मा पुगेको छ । कूल दुई सय २३ कम्पनीको ४३ लाख ८४ हजार चार कित्ता शेयर रु एक अर्ब ७१ करोड ५४ लाख १९ हजार दुई सय ८६ बराबरको कारोबार भयो । आजको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड ३९ लाख १५ हजार नौ सय ७२ बराबरको कारोबार भयो । त्यस्तै शिवम् सिमेन्ट रु १३ करोड ४० लाख २७ हजार दुई सय ८८, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ६३ हजार आठ सय ७३, फरवार्ड माइक्रोफाइनान्स रु सात करोड ९० लाख ६५ हजार दुई सय ७४ र हिमालयन पावर पार्टनर रु छ करोड १३ लाख २६ हजार आठ सय ३२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार सिकेलेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराई सात दशमलव ५१, रिडी पावर कम्पनी छ दशमलव शून्य तीन र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ९९ प्रतिशतले कमाएका छन् । त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स दुई दशमलव ९७, इमर्जिङ नेपाल एक दशमलव ८७, तारागाउँ रिजेन्सी होटल एक दशमलव ६९, समता घरेलु लघुवित्त एक दशमलव ४० र युनिलिभर नेपालका लगानीकर्ताले शून्य दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं: यही मङ्सिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको हो । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताउनुभयो । आयोगले कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाइवा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुर्याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानूनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ । “सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील छ र यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।” प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “यो अवधिमा सामाजिक सञ्जालबाट फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन र नियन्त्रण गर्न आयोगले सामाजिक सञ्जालका कम्पनीसँग सहकार्य गरिरहेको र ती कम्पनीले पनि विशेष निगरानी गरिरहेका छन् । मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति फैलन नदिनु सबैको साझा दायित्व भएकाले निर्वाचनको बाँकी अवधिमा सबै पक्षबाट यो दायित्वको पूर्ण पालना हुनेमा आयोग विश्वस्त छ ।” आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्य गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउनसमेत नपाइने व्यवस्था छ । त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ । मतदान केन्द्र बन्दै आयोगले मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिनेलगायत विषयमा आवश्यक तयारी गर्ने जनाएको छ । त्यसैगरी आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैङ्गिक समावेशी, अपाङ्गता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुनेगरी बनाउन आयोगले निर्देशन दिएको छ । बाइस हजार दुई सय २७ मतदान केन्द्र निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै हुनुहुन्छ । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नु हुनेछ । निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ । सात हजार दुई सय १९ पर्यवेक्षण निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार २१९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ । आयोगल हालसम्म करिब सात हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ । आयोगको निमन्त्रणामा भारत, भूटान, बङ्गलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहित निर्वाचन व्यवस्थापन गर्ने निकायको टोली मतदानको दिनको अवलोकन गर्न आउनुहुने भएको छ । नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । मदिरा निषेध मतदान सुरू हुने दिनभन्दा ४८ घण्टाअघिदेखि अर्थात् आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने÷गराउने कार्यलाई पूर्णरूपले निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवन गर्ने÷गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिष्क मन्थनलगायतका विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।
काठमाडौं: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रुपमा यही मङ्सिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले ७० वर्ष सङ्घर्ष गरेर प्राप्त गरेको अधिकार खोसेर प्रतिगमन गर्न खोज्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ भन्नुभयो । उहाँले झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको तत्कालीन नेकपालाई टुक्राटुक्रा पार्ने र जनप्रतिनिधिमूलक संस्थालाई असंवैधानिकरुपमा पटकपटक विघटन गर्ने काम नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले गर्नुभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “संविधान च्यात्नका लागि भोट माग्नुभएको हो ? भनेर अध्यक्ष ओलीलाई सोध्नुपर्छ । भ्रष्टाचार गर्नका लागि वा अरु केहीका लागि भनेर नेपाली जनताले सोध्नुपर्छ ।” नेपालमा समावेशीता, समानुपातिक प्रतिनिधित्व हुनुहुन्न । गणतन्त्र हुनुहुन्न र नेपाली जनतालाई अधिकार दिनुहुन्न भन्ने सोच राख्नेलाई नेपाली जनताले मत दिन नहुने उहाँको भनाइ थियो । नेपाली कांग्रेस र वामपन्थी शक्तिबीचको साझा सहकार्यबाटै नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै उहाँले संविधानको रक्षा, आर्थिक विकासका लागि गरिएको गठबन्धनलाई पूर्णरुपमा सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले काठमाडौँ निर्वाचन क्षेत्र नं २ का मतदाताको आकाङ्क्षालाई समेटेर तयार गरिएको कार्ययोजनालाई आफ्नोतर्फबाट पूरा गराउन पूर्णरुपमा लागिपर्ने धारणा राख्नुभयो । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताले विश्वास गरेर विसं २०७४ मा झण्डै दुई तिहाइ बराबरको जनमत दिए पनि केपी ओलीले त्यसलाई स्वीकार गर्न नसकेका कारण यस पटकको निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ । आफूहरु आबद्ध गठबन्धन देश र जनताको हितका लागि रहेको उल्लेख गर्दै उहाँले अर्को गठबन्धन प्रतिगामी र जनविरोधी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रतिगामी गठबन्धन र पराजित गर्नैपर्छ । सजाय दिनैपर्छ । मौका दिएपछि सदुपयोग गर्न नसक्ने, पार्टीलाई मिलाउन नसक्नेहरुले अबका दिनमा गल्ती सुधार गर्लान् र नयाँ ढङ्गले लान सक्लान् भन्ने आशा गर्न सकिँदैन ।” उहाँले वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलसँग कृषि, पर्यटन, जलविद्युत् क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजनासमेत रहेको र बेरोजगारीको अन्त्य तथा आर्थिक विकास तथा समृद्धिको सुझबुझपूर्ण योजना रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले आफूले अगाडि सारेको योजना, कार्यक्रम र अभियानलाई अगाडि बढाउनका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार ओनसरी घर्तीलाई मतदान गरेर विजयी गराउन आग्रह गर्नुभयो । उहाँले संविधान विरोधी राजावादी र प्रतिगामी गठबन्धनलाई जनताले दण्डित गर्नैपर्ने र सजाय दिनैपर्नेमा जोड दिनुभयो । सभालाई सम्बोधन गर्दै कागेश्वरी मनहरा नगरपालिकाका प्रुमख उपेन्द्र कार्कीले गठबन्धनका उम्मेदवारलाई विजयी गराएर इतिहास कायम गर्नुपर्ने बताउनुभयो । सो क्षेत्रका वाम लोकतान्त्रिक गठबन्धनक उम्मेदवार ओनसरी घर्तीले यही मङ्सिर ४ गते हुने निर्वाचनमा नेपाली जनताले जीत निकाल्ने कि जनविरोधी विजयी हुने भन्ने कुराको निर्धारण गर्ने फैसला जनता आफैँले गर्नुपर्ने बताउनुभयो । प्रदेशसभाका उम्मेदवार भरत फुयाँलले र धुव्र केसीले समग्र निर्वाचन क्षेत्रको विकासका लागि गठबन्धनका तर्फबाट अगाडि सारिएको प्रतिबद्धता प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि लागिपर्ने बताउनुभयो ।
अछाम: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भन्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ ।” प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता भएको पनि बताउनुभयो । उहाँले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन पनि आग्रह गर्नुभयो । लामो सङ्घर्षबाट ल्याइएको संविधानमाथि यसअघि नेकपाको सरकारका प्रधानमन्त्री केपी ओलीले पटक–पटक हमला गरी संसद् विघटन गरेकाले संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनेको पनि उहाँले स्पष्ट पार्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले अब बन्ने गठबन्धनको सरकारले हालसम्म पनि निर्माण हुन नसकेको अछाम, कैलाली र सुर्खेत जोड्ने चिसापानी जङ्गलघाट सडकखण्डलाई गौरवको योजनाका रूपमा राखेर सडकको कालोपत्र गर्ने बताउनुभयो भयो । त्यस्तै उहाँले अछाम, कैलाली र डोटी जिल्लालाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक सेती लोकमार्गको निर्माणकार्यलाई छिटो अगाडि बढाउने पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले बन्द अवस्थामा रहेको अछामको कैलाशखोला जलविद्युत् आयोजना यसअघि आफ्नै कार्यकालमा बनेको र त्यसपछिको सरकारले उक्त योजनालाई बेवास्ता गरेकाले विद्युत् बन्द हुन पुगेको भन्दै अब बन्ने सरकारले उक्त आयोजनालाई अगाडि बढाई अछामलाई उज्यालो बनाउने बताउनुभयो । प्रधानमन्त्री देउवाले आजै अछामको चौरपाटी गाउँपालिकाको आमसभालाई पनि सम्बोधन गर्नुभएको थियो ।
काठमाडौँ: क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताउनुभएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा कुरा गर्दै उहाँले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो । पूर्वउपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।” उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व गर्यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पनता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो । मुलुकका सबै तह र तप्कालाई मिलाएर लग्ने खालको आर्थिक एजेण्डाको नेतृत्व गर्न कांग्रेस अगाडि बढेको बताउँदै पार्टीका पूर्वमहामन्त्री सिंहले ‘केन्द्रमा प्रभाव क्षेत्रमा विकास’ भनेर आफ्नो चुनावी प्रतिबद्धतापत्रमै स्पष्ट भनेको बताउनुभयोे । निर्वाचनपछि नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उहाँले सामान्यतया ठूलो पार्टी जो छ त्यसले नै नेतृत्व गर्छ भन्नुभयो । जनता र राष्ट्रहितलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध राम्रो बनाएर सबै मित्रराष्ट्रको सहयोग र समर्थन प्राप्त गरेर जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार सिंहले बताउनुभयो । निर्वाचन घरदैलोका क्रममा मतदाताले खानेपानी र राजनीतिक स्थिरताका बारेमा जिज्ञासा राखेको बताउँदै पूर्वउपप्रधानमन्त्री सिंहले परियोजना पुनःस्थापित गर्ने काम भइराखेकाले अब छिट्टै नै पानी निरन्तररूपमा आउने विश्वास दिलाउनुभयो ।
काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिनुभयो । ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । यस्तै प्रशासन कार्यालय काठमाडौँले बुधबार पनि एक विज्ञप्तिमार्फत यही मङ्सिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त सवारी साधनबाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी साधन आवागमनमा रोक लगाइएको जानकारी गराएको छ । प्रशासनले आज र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ ।
पोखरा: पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदवारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता उनीहरुको छ । कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी बराल र ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश बरालले विहीबार पोखरा महानगर पालिका वडा नं–६ बैदाममा चुनाब प्रचारको अन्तिम दिन पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिले गरेको घरदैलो तथा कोणसभामा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन । घर दैलो कार्यक्रममा स्थानियहरुले बैदाम क्षेत्र पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन गठबन्धनका उम्मेदवारद्वयसँग माग राखेका थिए । उम्मेदवारहरु कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय रामजी र प्रकाशले नहर मार्ग, खहरे, डिहिको पाटन , हलनचोक र बगंलादि लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिएका थिए । प्रदेश सभा उम्मेदवार बरालले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै फेवातालको संरक्षणमा आफु लागि पर्ने बताउदै, फेवाताल सगं आश्रित जनसमुदायहरुको लागि विषेश योजना रहेको सुनाए । पर्यटकीय महत्व भएको यस क्षेत्रका सडकहरुको स्तोरन्नति गर्ने नेतृत्वदायी भुमिका खेल्ने बाचा गर्दै आफूलाई मत दिन आग्रह गरे । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बरालले बैदाम क्षेत्रका प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि , पर्यटनको र पुर्वाधारलाई ब्यवस्थीत गरी समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने योजना सुनाए । कथाको रुपमा रहेको फेवातालको संरक्षण र विकासको लागि दिर्घकालिन योजना ल्याउने प्रतिवद्धता जनाए । पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिका संयोजक अनिल पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधि हिरा भट्टराई,प्रदेश सदस्य तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराई, इकाई सभापति सन्तोष पौडेल र नेपाली काग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।
काठमाडौं: मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ । उहाँ निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो । मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुनुहुन्छ । “नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ”, दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दुईदिने नेपाल बसाइका क्रममा उहाँले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।