काठमाडौं: लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ । ५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज एनआईसी एशिया बैंकको ११ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको ६६७ कित्ता सेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार ९१५ रुपैयाँ बराबरको ८०७ कित्ता सेयर कारोबार भएको छ । आज आधिखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनिहरुले १० प्रतिशतले कमाएका छन् भने श्रीजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनिहरुले ९.९९ प्रतिशतले कमाएका छन् ।
नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । “गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ”, उनले भने, “गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।” जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा उल्लेख छ । “आलु उत्पादनका हिसाबले नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आत्मनिर्भर रहेको छ”, प्रमुख लामछिानेले भने, “यो वर्ष समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ ।” मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकामा व्यावसायिकरुपमा आलु खेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ । उक्त केन्द्रले कृषि समूहमा आलु खेती प्रवर्द्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको थियो ।
काठमाडौं: स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुगेका छन्। रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहेका छन्। उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन्।
काठमाडौं: नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् । बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए । निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालाई बधाई दिन बालुवाटार पुगेका हुन् ।
काठमाडौं: राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ।
काठमाडौं: अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चा भन्दा बाहिर छिन् । अहिले धेरै प्रोजेटबाट उनले हात झिकेको खबर समेत बाहिर आइरहेको छ । उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन प्रोजेक्टबाट हात झिकेको बताइन्छ । हिन्दी वेब ‘द फैमिली सिजन २’ को ठूलो सफलतापछि सामन्थाले धेरै बलिउड फिल्म साइन गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनले अहिले धेरै निर्मातालाई लामो ब्रेक चाहिएको बताएकी छन् । केही समयअघि सामन्थाले आफू मायोसाइटिस नामक रोगबाट पीडित भएको खुलासा गरेकी थिइन् । त्यसयता उनी सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । मिडिया रिपोर्टका अनुसार सामन्थाले विजय देवरकोंडासँग फिल्म ‘कुशी’ को छायांकन छिट्टै सक्नेछिन् । त्यसपछि उनी फिल्मबाट टाढा रहनेछिन् । उनका सहयोगीले उनले अब कुनै पनि नयाँ प्रोजेक्ट साइन नगर्ने निर्मातालाई जानकारी दिएका छन् । ‘कुशी’ शिव निर्वाणले निर्देशन गरेको रोमान्टिक फिल्म हो । फिल्म २०२३ को फेब्रुअरीमा रिलिज हुनेछ । सामन्थाको गतवर्ष नागा चैतन्यसँग सम्बन्धविच्छेद भएको थियो । सामन्थाले अक्टोबर २ मा सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी दिएकी थिइन् । विवाहअघि सामन्था र नागा चैतन्यले करिब तीन वर्ष एक अर्कालाई डेट गरेका थिए । त्यसपछि दुबैले हिन्दू र क्रिस्चियन रिवाजअनुसार विवाह गरेका थिए ।
वीरगञ्ज: पर्सामा एक विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो । प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे बुझ्दा सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट भएको थियो । मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् । सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । ‘विवाहमा नाच्ने विषयमा विवाद हुँदा कुटपीट भएको देख्नेहरु छन्’, उनले भने ‘मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’
काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् । बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए । उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए । महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए । महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने बताए ।
काठमाडौं: नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन भनेको छ । लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले जानकारी दिए । संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट समेत बनेका छन् । ‘आफ्नो भाषा र पोशाकमा सपथ लिन पाउने भनेर संविधानले नै व्यवस्था गरेको छ,’ एक सांसदले अनलाइनखबरसित भने, ‘तर, नेतृत्वले ह्वीप लगाएर जसरी राष्ट्रिय भाषा र पोशाकमै सपथ लिनुपर्छ भनेको छ । हामीले आफ्नो भाषा र भुषा अनुसारको शपथ लिन पनि नपाउनु?’ असन्तुष्ट सांसदले उपाध्यक्ष सुवास नेम्वाङ र महासचिव शंकर पोखरेलसँग यसबारे असन्तुष्टि समेत पोखेका छन् । सांसदको गुनासोपछि नेम्वाङले आफूले बालकोट गएर अध्यक्षसँग कुरा राख्ने बचन दिएका थिए । एमालेका नेता लिलानाथ श्रेष्ठले भने सकभर राष्ट्रिय पोशाक र भाषामा सपथ लिंदा राम्रो हुने भनिएको तर अनिवार्य भने नगरेको बताए । ‘सकभर राष्ट्रिय पोशाक र सबैले बुझ्ने भाषामा सपथ खाँदा राम्रो हो,’ उनले भने, ‘त्यस्तो ‘हार्ड एन्ड फास्ट’ केही छैन ।’ प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।

