काठमाडौंः यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्र्तक्रिया , सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । यसैगरी मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ । स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन । यसैगरी मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन हुँदैन । मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने आचारसंहितामा उल्लेख छ । कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न हुँदैन तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिकरूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताको लागि आयोगले तोकको निकाय वा अधिकारीले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा पर्ने नपर्ने आचारसंहितामा उल्लेख छ । त्यस्तै मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न हुँदैन । निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ । साथै उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न हुने उल्लेख छ । ऐनअनुसार उक्त प्रावधानविपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमानकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्नेछ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको छ । आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भन्नुभयो । उहाँले भन्नुभयो “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उहाँले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको छ भन्नुभयो । मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उहाँले आग्रह गर्नुभयो ।
डडेल्धुरा: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले संविधान मिचिने खतरा बढेकाले पनि गठबन्धन गर्नुपरेको बताउनुभयो । “संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्न खोजियो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “त्यसैले हामीले अस्थिरता अन्त्यका लागि गठबन्धन गरेर अघि बढेका हौँ ।” लामो समय मुलुकको विकास एवं समृद्धिका लागि अघि बढेकाले गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन उहाँले आग्रहसमेत गर्नुभयो । उहाँले स्थानीय सडक पूर्वाधार निर्माण, खानेपानी समस्या समाधान गर्नुका साथै बगरकोट शीर्ष रुपालसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको बताउनुभयो । “अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक बनाउने छौँ”, उहाँले भन्नुभयो, “समग्र डडेल्धुराको विकासका काम अघि बढाइनेछ ।”
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अङ्क बढेर एक हजार नौ सय ११ दशमलव २६ विन्दुमा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८६ अङ्क बढेर तीन सय ७६ दशमलव ५७ विन्दुमा पुगेको छ । कूल दुई सय ३२ कम्पनीको २४ लाख ९५ हजार छ सय १२ कित्ता शेयर रु ८५ करोड ९४ लाख छ सय १२ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४९ अर्ब ११ करोड ४५ लाख १६ हजार पाँच सय १७ पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारका रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको रु छ करोड तीन लाख ३८ हजार छ सय ३० बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड एक लाख ९० हजार सात सय १६, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ८१ लाख २६ हजार तीन सय ३०, शिवम् सिमेन्ट रु तीन करोड ७८ लाख ५८ हजार पाँच सय २३ र जाल्पा सामुदायिक लघुवित्तको रु दुई करोड ७८ लाख १४ हजार नौ सय ४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । आजको कारोबारमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, गणपति लघुवित्त सात दशमलव ७१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ५३, रिडी पावर कम्पनी पाँच दशमलव ४४ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६५ प्रतिशत शेयर मूल्य बढेको छ । त्यस्तै, जनउत्थान सामुदायिक चार दशमलव १३, सबैको लघुवित्त तीन दशमलव ६८, विशाल बजार कम्पनी दुई दशमलव ८४, बुद्धभूमि नेपाल हाइड्रोपावर दुई दशमलव ७४ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले दुई दशमलब ६४ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं: मध्यक्रमले संहालिएको ब्याटिङ गरेपछि नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि ३ विकेटको जित रचेको छ । यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलले शृंखलाको विजेता टुंगो लगाउनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । त्रिवि मैदान कीर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य ७ विकेट गुमाएर भेट्टाउँदा मध्यक्रमका कुशल भुर्तेल, गुल्सन झा र आरिफ शेखले संहालिएर ब्याटिङ गरे । ४७.५ ओभरमा सोमपाल कामीले चौका प्रहार गरी नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् । थोरै लक्ष्य पछ्याएको नेपालको सुरुवाती तीन विकेट सस्तैमा गुमाउँदा दवावमा परेको थियो । पहिलो खेलमा अर्धशतक बनाएका अर्जुन साउद पहिलो ओभरमै रनको खाता नखोली आउट हुँदा अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्र बनाउन सके । कप्तान रोहितकुमार पौडेलले लगातार दोस्रो खेलमा रन बनाउन सकेनन् । उनी ८ रनमै युएईका रोहन मुस्तफाबाट एलबीडब्यूको शिकार बने । तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले ५९ बलमा ४ चौकासहित २६ रन बनाएर पारी संहाल्ने प्रयास गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बल चम्काउने नाममा थुकको प्रयोग गर्न नपाउने अभ्यासलाई नियमकै रुपमा मान्यता दिएको छ । तर, युएईका एकजना बलरले थुकको प्रयोग गरी बल चम्काएपछि युएईले ५ रन पेनाल्टी ब्यहोर्नुपरेको थियो । २१ औं ओभरको सुरुवात गर्ने क्रममा यूएईका बलर अलिशान सराफूले बल पुछ्ने क्रममा थुकको प्रयोग गरेका थिए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे । २९.१ ओभरमा कुशल भुर्तेल ३५ रनको स्कोरमा आउट हुँदा नेपाल १०६-६ को कठिन स्थितिमा थियो । तर, सातौं विकेटका लागि आरिफ शेख र गुल्सन झाले ६२ रनको अर्धशतकीय साझेदारी गरेपछि नेपाले जितको आधार बनाएको छ । गुल्सनले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्बाधिक ३७ रन बनाए । बलिङमा १ विकेटसमेत लिएका गुल्सन प्लेयर अल द म्याचसमेत चुनिए । आरिफ ३३ रनमा अविजित रहे । सोमपाल कामीले पनि १६ बलमा २ चौकासहित अविजित १६ रन बनाए । बलिङमा युएईका रोहन मुस्तफाले ३, हजरत विलालले २ तथा बसिल हमिदले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुनुअघि १९१ रनको योगफल खडा गरेको थियो । सोमपाल कामी र ललित नारायण राजवंशीले ३–३ विकेट लिएपछि नेपालले युएईलाई सस्तैमा समेट्न सकेको हो । युएईका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । वासिमले वृत्य अरविन्दसँग मिलेर ७२ रनको सुरुवाती साझेदारी गरेका थिए । १२औं ओभरको अन्तिम बललमा दीपेन्द्रसिंह ऐरीले अरविन्दलाई २५ रनको स्कोरमा आउट गरेपछि युएईको विकेट पतन सुरु भएको हो । युएईविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट बलिङ गरेका कुशल भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय विकेटसमेत लिए । २४औं ओभरको पहिलो बलमा कुशलले युएईका कप्तान सिपी रिजवानलाई २२ रनको स्कोरमा आउट गरेका हुन् । युएईका लागि अलिसन सराफुले ३५, विष्णु सुकुमरनले १५ र बसिल हमिदले २४ रन जोडे । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३–३ विकेट लिए । सोमपालले ७.२ ओभर बलिङ गर्दै ३५ रन खर्चिए । ललितले १० ओभरमा ४१ रन खर्चिए । करण केसी, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए । सोमबार भएको शृंखलाको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हराएको थियो ।
काठमाडौँ: नेपालको पहिलो बैंक कुन होला? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन् नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकभन्दा पनि जेठो यस बैंकले अनेकन घुम्ती, मोड र सुखदुःख व्यहोरेको छ । बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ । सो बैंकका वित्तीय विवरणले पनि अब सबल संस्थाका रुपमा नेपाल बैंक आफ्नो गन्तव्यमा स्पष्ट छ भन्ने सन्देश दिएको छ । विसं १९९४ देखि २०१३ सम्म देशको केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको गौरवपूर्ण इतिहास समेत बोकेको छ । नेपाली बजारमा भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन् । विसं १९९४ कात्तिक ३० गते सोमबार लक्ष्मीपूजाका दिन स्थापना भएको सो बैंक आजदेखि ८६ वर्षमा प्रवेश गरेको छ । नेपालको समग्र आर्थिक एवं वित्तीय क्षेत्रको एउटा ऐनाका रुपमा रहेको बैंकले विगतमा अनेकन आरोह अवरोह भोगेको छ । बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गर्नुभएको थियो । विश्वव्यापी रुपमा बैंकिङको अभ्यास धेरै पहिले भए पनि नेपालमा भने २०औँं शताब्दि कुर्नुपरे पनि नेपालको नामसँगै जोडिएको यो बैंक सार्वजनिक निजी साझेदारीमा ढाँचामा सुरु भएको पहिलो वित्तीय संस्था हो । स्थापना गर्दा बैंकमा १० जना लगानीकर्ता थिए । सुरुवाती वर्षमा रु आठ लाख ४२ हजार चुक्तापूँजी र रु १७ लाख निक्षेपबाट सुरु भएको बैंकले गत असोज मसान्तसम्म रु एक खर्ब ९७ अर्ब बराबर निक्षेप सङ्कलन गरेको छ । त्यस्तै रु एक खर्ब ७३ अर्ब ५४ करोड बराबरको कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो । छयासी वर्ष पहिले सुुरु भएको सो बैंकको चुक्ता पूँजी हाल रु १४ अर्ब ४० करोड बराबर छ । हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैंकको जगेडा कोषमा रु २१ अर्ब ६८ करोड बराबरको रकम छ । कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ । प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्नुहुन्छ, “हामी अस्तीभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील छौँ ।” बालक, बृद्ध, प्रौढ हुँदै ज्येष्ठ नागरिकको रोजाइमा रहेको भन्ने दाबी गर्ने बैंकमा हाल २३ लाख बढी ग्राहक जोडिएका छन् । एकाध वर्ष पहिलेसम्म पनि निजी क्षेत्रका अन्य बैंकले अत्याधुनिक प्रविधिको सुरु गर्दासमेत सो बैंक परम्परागत रुपमा नै ढ्डामा नै आधारित थियो । समय बदलियो, बैंकको नेतृत्व बदलियो, सोच र योजनामा पनि परिवर्तन आयो । फलस्वरुप नेपाल बैंकले पनि आधुनिक बैंकिङ प्रणाली अवलम्बन गर्यो । बैंकिङ क्षेत्रमा उपलब्ध सबै प्रकारका सेवा उपलब्ध गराइरहेको सो बैंकले डिजिटल बैंकिङ सेवा पनि प्रदान गरेको छ । कूल दुई सय २६ शाखामार्फत् कारोबार गर्दै आएको सो बैंकको एक सय १९ एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ । आधुनिक प्रविधिसँगै बैंकमा युवा पुस्ताको प्रवेशले बैंकलाई गतिशील व्यवहारिक र प्रविधिमा पनि उत्तिकै निपूर्ण बनाएको बैंकका सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीको भनाइ छ । बैंकमा कार्यरत जनशक्तिको औसत उमेर ३६ वर्ष छ भने राज्य अङ्गालेको समावेशीतालाई पनि उत्तिकै आत्मसात गरेको छ । कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथकिता प्राप्त क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको छ । युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैंकले अन्य संस्थाको तुलनामा महत्वपूर्ण योदना दिएको छ । अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमार्फत् व्यवस्थित गरी नेपालमा बैंकिङ संस्कृतिको सुरुवात गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो आर्थिक आर्थिक विकास र समृद्धिका लागि सरकारले लिएको लक्ष्य र योजनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
पोखरा: नेपाल बैंक लिमिटेड ८६ औं बर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी गरेको छ । गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा बुधबार पोखरामा प्रभातफेरी गरिएको हो । पोखरा–९ पृथ्वीचोकमा रहेको बैंकको प्रदेश कार्यालयबाट शुरु भएको र्याली नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृह हुँदै पुनः पृथ्वीचोकमा पुगेर समापन भएको थियो । प्रभातफेरिमा पोखरा क्षेत्र भित्रका शाखामा कार्यरत ८६ जना कर्मचारीको सहभागिता रहेको थियो । प्रभातफेरी पश्चात कार्यक्रममा बोल्दै गण्डकी प्रादेशिक कार्यालय पोखराकी प्रमुख प्रतिमा श्रेष्ठले आगामी दिनहरुमा बैंकलाई अझ आधुनिक र प्रविधिमैत्री बनाउँदै ग्राहकहरुको सेवामा लाग्ने बताइन। उप–प्रबन्धक धु्रब पौडेलले बैंकले बार्षिकोत्वको अवसरमा शुभकामना दिँदै कर्मचारीहरुलाई उच्च मनोबलको साथमा काम गर्न अनुरोध गरे। बैंकका नेपालभर २२६ शाखा, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै बैंकका गण्डकी प्रदेशमा ३० वटा शाखा र पोखरा महानगरपालिकामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ ।
काठमाडौं: अमेरिकामा यो वर्ष नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढेको छ । सन् २०२१र२२ मा अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थानले ओपन डोर्सको रिपोर्टले जनाएको छ । रिपोर्ट अनुसार यो अघिल्लो वर्षका तुलनामा ५.६ प्रतिशतको वृद्धि हो । कोभिड–१९ महामारीको प्रभाव मत्थर भएसँगै अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा बृद्धि भएको देखाएको छ । यो वृद्धि प्रतिशतसँगै अमेरिकामा धेरै विद्यार्थी पठाउने मुलुकमध्ये नेपाल १२औं स्थानमा परेको छ। अमेरिकामा संसारभरिका २ सय देशका ९ लाख ४८ हजार विद्यार्थी अध्ययनरत मध्ये १.२४ प्रतिशत विद्यार्थी नेपाली छन्। अमेरिकाका विश्वविद्यालय र शैक्षिक संस्थामा भर्ना भएकामध्ये ९० प्रतिशतले भौतिक उपस्थितिमै कक्षा लिइरहेको प्रतिवेदनले जनाएको छ। सबैभन्दा धेरै अमेरिकामा चीनका २ लाख ९० हजार विद्यार्थी अध्ययनरत छन्। त्यसपछि भारतका १ लाख ९९ हजार, दक्षिण कोरियाका ४१ हजार, क्यानडाका २७ हजार तथा भियतनामका २१ हजार विद्यार्थी अध्ययनरत छन्। अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर बराबरको लाभ पाएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाण्डौ: भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए ।