काठमाडौँ: आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । “निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ”, उहाँले भन्नुभयो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले याुत्रको भीडभाड बढेको हो । यात्रुको सङ्ख्या बढेपछि दसैँ तिहारमा जस्तै एयरलाइन्सको विजनेश पनि बढेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताउनुभयो । उहाँका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ । “निर्वाचन अघिका तीन दिन र निर्वाचन पछिका दुई दिन हवाई उडानमा अध्यधिक चाप हुनेछ, अहिले निर्वाचनको सङ्घारमा पनि उडानका यात्रु बढेका छन्”, प्रवक्ता शर्माले भन्नुभयो । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ । बुध्द एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताउनुभयो । उहाँका अनुसार अहिले बुध्द एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ । “अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको सङख्या बढेको छ, आगामी शुक्रबार र शनिबार सङ्ख्या अझ बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो, “यी दुई दिनका लागि बुकिङ पनि बढेको छ ।” बुध्द एयरले हाल दैनिक एक सय ५० उडानमार्फत् सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको सङ्घारमा आन्तरिक उडानमा चहलपहल बढेको बताउनुभयो । कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उहाँको भनाइ छ । तर पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरु पनि बढेको उहाँको भनाइ छ । उहाँका अनुसार काठमाडौँदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम रु तीन हजार छ सय र बढीमा चार हजार १५ भाडा दर कायम छ । साथै, काठमाडौँ–धनगढीका लागि अधिकतम रु १६ हजार भाडा तोकिएको छ । यती एयरलाइन्सले छ थान एटिआरमार्फत् सेवा दिइरहेको छ । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ । “निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन”, उहाँले भन्नुभयो । मङ्सिर ४ गते उडान नहुने मतदान हुने दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान भने हुने छैन । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ । “चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैन”, विमानस्थलका प्रवक्ता सिटौलाले भन्नुभयो । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उहाँको भनाइ छ ।
ललितपुर: ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार रहेका डा. सचिन घिमिरे अनसन बसेका छन्। उनले मंगलबारदेखि गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरू गरेका हुन्। उनले सात बुँदे मागसहित अनसन सुरू गरेका छन्। पहिलो बुँदामा नेकपा एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के कति खर्च गरेको हो विवरण सार्वजनिक गर्न माग गरेका छन्। ‘निवर्तमान सासंद नवराज सिलवालले यस क्षेत्रमा कहाँ कति खर्च गरेरु त्यो सार्वजनिक हुनुपर्यो,’ उनले सेतोपाटीसँग भने, ‘हामीले केही थाहा पाएनौं, त्यसैले सार्वजनिक गर्न माग गरेको छु।’ गाउँमा बाँदरले दुस्ख दिएको भन्दै यसको व्यवस्थापन गर्न स्थानीय सरकारसँग उनले माग पनि गरेका छन्। उनले दुई जना विद्यार्थीको पढाइको खर्च व्यहोरिदिन पनि माग गरेका छन्। त्यस्तै गोदावरी नगरपालिकाले महिला स्वयंमसेविकामार्फत किशोरीहरूलाई खुवाइरहेको आइरन चक्कीले जनस्वास्थ्यको औचित्य प्रमाणित गर्नुपर्ने, कोन्ज्योसोम गाउँपालिकाका दलबहादुर विक लगायतको उपचार गर्नुपर्ने माग राखेका छन्। उनले आफ्नो अनशन मौन अवधिमा पनि जारी राख्ने बताएका छन्। ‘मौन अवधिले केही गर्दैन। मौन अवधि सुरू भएपछि सत्याग्रह गर्न हुन्न भनेर कानुन पनि छैन,’ उनले भने, ‘सत्याग्रह गर्न पाउने मेरो नैसर्गिक अधिकार हो। माग पूरा नभएसम्म अनसन जारी रहन्छ।’
नवलपरासी: नवलपरासीको बौदीकाली गाउँपालिका–६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उहाँ निराश हुनुभएको छ । “नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन”, गुरुङले भन्नुभयो, “सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।” विजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको भर पर्नु परेको छ । “हरेक निर्वाचनमा विजुली ल्याउने योजनाहरु सुनिन्छ तर भोट हाल्ने दिन आउँछ तर विजुली आउँदैन”, गुरुङले गुनासो गर्नुभयो । स्थानीय ५३ वर्षे चोलमाया गुरुङ सडक, शिक्षा, स्वास्थ्य र विद्युतका योजनाहरु चुनावी नारामै सीमित नहोस् भन्ने कामना गर्नुहुन्छ । त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका–६ जगदेउका ४५ वर्षीय झमबहादुर बयम्वुलाई अहिलेसम्म पाँचवटा निर्वाचनमा मतदान गरेको सम्झना छ । ५ वर्षअघिका सपना पूरा नगरेका उम्मेदवारलाई फेरि मतदान गर्नुपर्ने दिन नजिकिएको भन्दै झमबहादुरले भन्नुभयो, “राजनीतिलाई समाजसेवाका रुपमा लिनुपर्नेमा नेताहरुले पेसा बनाएका छन्, जसले गर्दा जति विकास हुनुपर्ने हो अझै हुन सकेको छैन, हाम्रो अवस्था उस्तै छ, नेताहरुको दिन फेरिएका छन् ।” यही जन्मे हुर्के तर यस क्षेत्रमा पहिले र अहिले खासै फरक नभएको स्मरण गर्दै बयम्बुले भन्नुभयो, “२०४८ सालदेखि एउटै पार्टीले जिते पनि न बाटो सुधार भयो न खानेपानीको समस्या नै समाधान भएको छ ।” जगदेउ गाउँमा ४० घरधुरी छन् । यहाँको मुख्य समस्या बाटो, खानेपानी र विद्युत् हो । बाह्रै महिना बाटो सञ्चालन भए त्यहाँ उत्पादनले बजार पाउने उनीहरुको आशा छ । भोट माग्न आउने नेताहरुले जनताको समस्या समाधानमा बेवास्ता गरेको ४५ वर्षीया तिलकुमारी सारुको बुझाइ छ । “चुनावी योजना सुन्दा सबै राम्रा लाग्छन् तर काम भने कसैले गर्दैनन्”, सारुले भन्नुभयो, “गिरुवारी खोलामा पुल निर्माण भए वर्षाको समयमा सहज रुपमा यात्रा गर्न पाइने थियो ।” दुई प्रतिनिधि र चार सङ्घीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा यस जगदेउ गाउँ निर्वाचन क्षेत्र नं २ मा पर्दछ । नवलपुर २ अन्तर्गत नै पर्ने बौदीकाली गाउँपालिका–६ लाहापेका स्थानीयको समस्या पनि जगदेउका बासिन्दाको भन्दा फरक छैन । यता उम्मेदवारहरु भने केही नयाँ आफ्ना योजना त केही पुरानै योजना लिएर जनताका सबै समस्या समाधान गर्ने भन्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । यस क्षेत्रमा २०७४ को निर्वाचनमा आमनेसामने भएका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेबाट तिलक महत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनतर्फबाट महत विजयी हुनुभएको थियो । यसपटकको निर्वाचनमा गठबन्धनको समीकरण भने फेरिएको छ । गत निर्वाचनको परिणाम उल्ट्याउने दाउमा कार्की चुनावी दौडमा हुनुहुन्छ भने लगातार दोस्रो जित निकाल्ने कसरतमा महत हुनुहुन्छ । यस क्षेत्रमा विभिन्न राजनैतिक दलका र स्वतन्त्र गरी ३१ जना चुनावी मैदानमा छन् । जम्मा ४० वटा वडा रहेको नवलपुर २ मा गत स्थानीय तहको निर्वाचनमा एमालेले २२ वटा वडा जितेको थियो भने कांग्रेसले १६ वटा वडा, राप्रपा र माओवादीले एक÷एक वडा जितेका छन् । एक लाख २९ हजार दुई सय ८० जना मतदाता रहेको यस क्षेत्रमा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहको छ ।
स्याङ्जा: महिला नेतृत्व जन्माउने जिल्लाका रूपमा परिचित स्याङ्जामा दुई महिला नेतृको प्रदेशसभाको भिडन्त रोचक बनेको छ । गण्डकीका ३६ प्रदेश सभामा १४ महिलाले उम्मेदवारी रहेकोमा स्याङ्जाको क्षेत्र नं १ (क)मा नेकपा (एमाले)का सीता सुन्दास र सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) का अमृता थापामगर शाक्यको भिडन्तले चर्चा लिएको छ । बाल्यकाल देखि नै राजनीतिमा खारिएका दुई नेतृ मध्ये माओवादी केन्द्रका थापा गण्डकीको प्रदेशसभामा पार्टीको उच्च तहको नेता स्थायी समिति सदस्य रहनुभएको छ भने एमाले नेतृ सुन्दास केन्द्रीय सदस्य रहनुभएको छ । बिरुवा गाउँपालिका–३ मा २०२९ सालमा जन्मनुभएकी अमृता २०५२ देखि माओवादी जनयुद्धमा भूमिगत हुनुभएकोमा उहाँले २०६४ र २०७४ मा प्रतिनिधिसभामा सांसद बन्नुभएको थियो । २०४६ मा अनेरास्ववियुको जिल्ला सचिव, गण्डकी सदस्य भएर राजनीति यात्रा सुरु गर्नु भएका थापा रेडियो नेपालकी पूर्व समाचार बाचिका समेत रहनु भएको छ । थापा अहिले अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ । गाउँ“ बनाउने र जनताको अवस्था बदल्न म जन्मेको ठाउँ“मा चुनाव लडेको बताउँदै थापाले अन्य ठाउँमा टिकट पाउने भए पनि जन्मथलोको विकासमा चुनाव लड्न आएको बताउनुभयो । यस्तै, २०२४ साउन ५ गते पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा जन्मनुभएका सुन्दास २०३८ बाट अनेरास्ववियुबाट राजनीति यात्रा थाल्नुभएको हो । पार्टीका विभिन्न मोर्चामा रहँदै काम गरेका सुन्दास दलित अल्पसङ्ख्यक कोटामा नगर सदस्य हुँदै जिल्ला समन्वय समिति स्याङ्जाको निवर्तमान प्रमुख र जिल्ला समन्वय समिति महासङ्घकी निवर्तमान अध्यक्ष रहनुभएको छ । सुन्दास संविधानको मर्म र भावनाअनुरूप सङ्घ बलियो बनाउने प्रदेश बलियो बनाउने हेतुले चुनावी मैदानमा उत्रिएको बताउनुभयो । पाँच वर्ष पहिला वाम गठबन्धनमा माओवादी केन्द्रले जितेको प्रदेशमा स्थानीय तहको मतको आधारमा थापा एक हजार ९२२ मतले अगाडि रहनुभएको छ । साभार: गोरखापत्र अनलाइन
मकवानपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कानुन संशोधन गरी गाँजालाई वैधानिक गराउनुपर्ने बताएका छन्। मकवानपुरको हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गाँजालाई वैधानिक बनाएर सदुपयोग गर्नुपर्ने भन्दै राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। ‘नयाँ ढंगले सोच्नुपर्यो। नयाँ सोचका साथ अघि बढ्नुपर्यो। मकवानपुरको पश्चिमी क्षेत्रमा हेर्नुहोस् त, गाँजा कसरी फस्टाएको छ। त्यसलाई वैधानिक गराउनुपर्यो, सदुपयोग गर्नुपर्यो,’ उनले भने। नेपालमा उत्पादित गाँजालाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके देशको अर्थतन्त्र बलियो हुने उनले दाबी गरे। जनताले राप्रपालाई सरकारको नेतृत्व सुम्पिएमा भ्रष्टाचार न्युनीकरण र बेरोजगारी समस्याको समाधान गरिछाड्ने उनले दाबी गरे।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका शेखर श्रेष्ठसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार टोखामा आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो । माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहनुभएका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई एक कार्यक्रमबीच एमालेमा नेता पोखरेलले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलसहित निर्वाचन परिचालन कमिटीका संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो । काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो । श्रेष्ठसँगै स्थानीय कार्यकर्ताहरू शेखर श्रेष्ठ, कृष्ण विक, सुरेन्द्र श्रेष्ठ, चेतबहादुर थापा, गङ्गालाल श्रेष्ठ, विनोद गौतम, नेत्रमान श्रेष्ठ, प्रकाश भण्डारी, सुनिता विष्ट, विशाल कार्की, विमल मगर, दिपेश श्रेष्ठ, रुपेश महर्जन, सीता भण्डारी, विकास थापामगर लगायत २८ जना एमाले प्रवेश गर्नुभयो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उहाँले देशलाई माया गर्नेहरूलाई एमालेमा समाहित हुन आह्वान पनि गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने उहाँले चर्चा गर्नुभयो । स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडामध्ये एमाले एक्लैले ११ वटा वडामा जित हासिल गरेको छ । बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरू जितेको छ ।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला रु ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार दुई सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३०ले बढेर रु एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
पोखरा: नेकपा एमालेका केन्द्रिय सदस्य, होनहार सृजनशिल युवा नेता । गणतान्त्रिक आन्दोलनका योद्धा मानिने पहारीको राजनीतिक यात्रा विद्यार्थी जिवनबाटै शुरु भएको हो । २०५८ सालमा देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति भएपछि उनको राजनीतिक यात्रा निकै क्रियाशिल बन्यो । स्ववियु सदस्य, उपाध्क्ष हुदै नेतृत्वमा पुगेका पहारी देशकै नमुना स्ववियु सभापति घोषित भए । स्ववियु सभापति रहँदा गणतन्त्र प्राप्तिका लागि पिएन क्याम्पसबाट देशैभर ५ लाख हस्ताक्षर संकलन अभियान सफल पारे । २०५६ सालमा जलेर ध्वस्त भएको पिएन क्याम्पस प्रशासनिक भवन पुनःनिर्माण कार्य, क्याम्पस क्याम्पसको आम्दानी बृद्धीका लागि ५१ सटर निर्माण, सबै शंकाय जोड्ने पिच बाटो निर्माण लगायतका कार्यमा उनको भूमिंका अहम रहयो । २०६० सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य, सचिवालय सदस्य तथा शैक्षिक विभाग प्रमुख बनेका पहारीले २०६२÷०६३ को ऐतिहाँसिक जनआन्दोलनमा पश्चिमाञ्चल क्षेत्रबाट युवा विद्यार्थी जनआन्दोलन परिचालन कमिटिको संयोजक बनेर अग्रपंत्तिमा रहँदै जनआन्दोलनको नेतृत्व गरे । उनको राजनीतिक यात्रा झाँगिदै गर्दा उनले देशकै युवाहरुको ससक्त समुह युवा संघको नेतृत्व कुशल ढंगले सम्हालिसकेका छन् । भारतिय नाकाबन्दिदेखि चर्को मुल्य बृद्धि विरुद्धको आन्दोलनमा उनको स्वर बुलन्द बन्यो । तराईमा भड्किएको बिखण्डनकारी घटनामा सामाजिक सद्भाव कायम गर्न पहारीले अभियाननै छेंडे । र घटनालाई साम्य पार्न महत्वपूर्ण भूमिंका निर्वाह गरे । ७२ को विनाशकारी महाभूकम्पबाट क्षति भएका सिन्धुपाल्चोकका ५० विद्यालयको पुनःनिर्माण कार्यमा उनले पु¥याएको योगदान सम्झन लायक थियो । २०६६ देखि ०६८ सम्म नेकपा एमाले क्षेत्र नम्बर ३ को अध्यक्ष भई काम गरेका पहारीले त्यस अघि नेकपा एमाले कास्की सचिवालय सदस्य, विद्यार्थी फाँट प्रमुख तथा प्रचार विभाग प्रमुख रहि जिम्मेवारी सम्हाले । पहारीले अमेरिका, क्यानडा, जापान लगायत विभिन्न ५५ भन्दा बढि देशको विकासको अनुभव बटुलेका छन् । पार्टीका लागि यति धेरै योगदान पुर्याएका पहारीलाई २०७४ को संघिय निर्वाचनमा पार्टीले कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा उम्मेदवारको रुपमा अगाडी सा¥यो । जनताको मन जितिसकेका पहारीलाई चुनाव जित्न त्यहि गाह्रो थिएन । उनी अत्याधिक मतका साथ विजयी भए । र यो पाँच वर्षे कार्यकालमा आफ्नों क्षेत्रमा विकासे लहर ल्याए । पहारीको पहलमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा घाँटीछिना, नयाँबस्तिमा हर्पन चेक ड्याम बन्यो । अन्नपूर्ण गाउँपालिका १, नागडाँडामा अत्याधिक वर्षाका कारण पैह्रोले गाउँनै जोखिममा परेका बेला पहारीले बस्ति संरक्षणका लागि गरेको कार्य प्रशंसनिय छ । त्यस्तै पामे, ठूलाखेत, फुस्रेखोलामा पक्कि पुल निर्माणकार्य सम्पन्न भए । पर्यटकिय लेकसाइड जोडने मुख्य सडक शहिदचोकदेखि, हल्लनेचोकहँदै गैह्रा चौतारा तथा उत्तरतर्फ जिरो किमीसम्म उनको कार्यकालमा अस्फाल्ट पिच बन्यो । त्यस्तै, फेवातालको किनार स्विमिङपुलघाटदेखि गैह्राचौतारासम्म फुटट्रयाक निर्माण कार्य पनि सम्पन्न भयो । पहारीले आफ्नों क्षेत्रमा पर्ने थुप्रै सरकारी विद्यालयहरुमा युरो गार्ड जडान गरे । कहिले न्यानो कपडा वितरण त कहिले स्यानिटरी प्याड, शैक्षिक सामग्री वितरणमा सक्रिय बने । कोरोना महामारीमा पनि उनी घर बसेनन् । स्वास्थ्य सामग्री लिएर गाउँ गाउँ पुगे । कोरोनाका कारण लकडाउनले आक्रान्तमा परेका जनताको घर घरमा खाद्य सामग्री पुर्याए । लौरुकमा खानेपानीको ठूलो अभाव छ । कास्कीकोटमा पनि खानेपानीको हाहाकारनै थियो । चुनाव जितेपछि पहारी खानेपानी पाइप लिएर गाउँ पुगे । घरघरै पानी पु¥याउने भन्दै लौरुकमा खानेपानी लिफ्टीङ योजना अघि सारे । बजेट पनि पर्याे । धमाधम काम भइरहेको थियो । तर दुर्भाग्य, पुरा अवधि काम गर्न नपाउँदै सरकार ढल्यो । काम पनि विचैमा रोखियो । जनताको घरघरमा पानी पुर्याएरै छाड्ने अठोट लिएका पहारी फेरी यहि क्षेत्रको चुनावमा होमिएका छन्, जनतासंग बाँडेका अधुरा सपना साकार पार्ने अठोटका साथ । प्रतिपक्षमा रहँदा सत्तापक्षका लागि तिखो काँडा बनेका पहारी जनताको आवाज बोल्न कहिल्यै पछि परेनन् । जनजिविकाका सन्दर्भमा जहिले पनि उनले संसदमा चर्को आवाज उठाए । गण्डकी प्रदेशकै विकासको संवाहक राजीव पहारी फेरी पनि यसै क्षेत्रको सांसद बन्न चुनावी होडमा मैदान उत्रिएका छन् । ‘आजको दिनसम्म लगभग मेरो क्षेत्रका सबै जनतासंग प्रत्यक्ष सात्क्षात्कार गरिसकेको छु, धेरैबाट सकारात्म प्रतिक्रिया पाएको छु, यसबाट मलाई फेरी यहि क्षेत्रमा फर्किएर काम गर्न ठूलो हौसला मिलेको छ’–पहारीले भनेका छन् ।
काठमाडौं: आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ । आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।