निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै

काठमाडाैं | कात्तिक २९, २०७९

निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै

 

काठमाडौँ: आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 


दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । “निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ”, उहाँले भन्नुभयो । 


आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले याुत्रको भीडभाड बढेको हो । यात्रुको सङ्ख्या बढेपछि दसैँ तिहारमा जस्तै एयरलाइन्सको विजनेश पनि बढेको छ ।


 वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताउनुभयो । उहाँका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ । “निर्वाचन अघिका तीन दिन र निर्वाचन पछिका दुई दिन हवाई उडानमा अध्यधिक चाप हुनेछ, अहिले निर्वाचनको सङ्घारमा पनि उडानका यात्रु बढेका छन्”, प्रवक्ता शर्माले भन्नुभयो ।

 
निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ ।


बुध्द एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताउनुभयो । उहाँका अनुसार अहिले बुध्द एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ । 


“अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको सङख्या बढेको छ, आगामी शुक्रबार र शनिबार सङ्ख्या अझ बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो, “यी दुई दिनका लागि बुकिङ पनि बढेको छ ।” बुध्द एयरले हाल दैनिक एक सय ५० उडानमार्फत् सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको सङ्घारमा आन्तरिक उडानमा चहलपहल बढेको बताउनुभयो । कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उहाँको भनाइ छ । 


तर पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरु पनि बढेको उहाँको भनाइ छ । उहाँका अनुसार काठमाडौँदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम रु तीन हजार छ सय र बढीमा चार हजार १५ भाडा दर कायम छ । साथै, काठमाडौँ–धनगढीका लागि अधिकतम रु १६ हजार भाडा तोकिएको छ । यती एयरलाइन्सले छ थान एटिआरमार्फत् सेवा दिइरहेको छ । 
     

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ । “निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन”, उहाँले भन्नुभयो । 


मङ्सिर ४ गते उडान नहुने

मतदान हुने  दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान भने हुने छैन । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ । 


“चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैन”, विमानस्थलका प्रवक्ता सिटौलाले भन्नुभयो । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उहाँको भनाइ छ ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्