काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश ल...

  विराटनगर । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने ‘छठ’पर्वका लागि बजारमा किनमेल गर्नेको अत्यधिक भीड लागेको पाइएको छ । यो भीड ‘छठ’ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो ।    छठ पर्वका लागि पसलेले पनि आफ्ना सामान बिक्री गर्न व्यस्त देखिएका छन् । विराटनगरमा मात्र नभएर यो पर्व मनाउने क्षेत्रका बजार भीड देखिएको हो ।     लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट ‘छठ’पर्व विधिवत्रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, मूला, अदुवाको बोट पर्छन् ।      पूजाका लागि बर्तालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । ‘छठ’पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटलाई आकर्षक एवं सजावट गर्न बर्तालुले लागिपरेका छन् ।          विराटनगरको सिङ्घिया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् ।     ‘छठ’ पर्व हेतु विराटनगर महानगरपालिकाले सुनसरी मोरङ सिँचाइ आयोजनाको समन्वय एवं सहकार्यमा विराटनगर क्षेत्रभित्र रहेका नहरलाई सरसफाइ पनि सम्पन्न गरेको छ । यसले घाट निर्माण गर्दा बर्तालु एवं श्रद्धालुलाई पूजापाठ गर्न निकै सहज भएको छ ।      विराटनगर–११ पिचरामा स्थानीय युवा क्लब र संस्थाको अग्रसरतामा नहरलाई सिँगार्न जुटेका छन् । शुक्रबारदेखि सुरु भएको ‘पर्व’अन्तर्गत भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।      यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाइ पनि खाने गर्दछन् । यो पर्वका लागि सरकारले आइतबार सार्वजनिक बिदा पनि दिएको छ । यो ‘पर्व’ को रौणक एवं चमक हेर्न आइतबार साँझ र सोमबार बिहान हजारौँ मानिस घाटमा भीड लाग्ने गर्छ ।

  भजनी । अछामको रामारोशन गाउँपालिका १ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो ।  बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरुले राहत उपलब्ध गराउने आश्वासन दिए । सांसद तथा मन्त्रीहरुबाट आश्वासन पाएपछि विकले केही राहतले श्वास फेर्नुभयो ।   तर आश्वासन पाए पनि विकले हालसम्म पनि राहत पाउनु भएको छैन । बाढीले बगाएको विकको खेत अहिले बगरमा परिणत भएको छ । प्रेमबहादुरको खेत मात्रै होइन त्यो बेलाको नयन विकको चार रोपनी खेत बगाएको थियो । प्रेमबहादुर र नयन विक तत्कालीन समयमा पाएको आश्वासन पूरा नहुँदा राजनीतिक दलका नेताहरुप्रति असन्तुष्ट बन्नुभएको छ ।   उहाँहरु आसन्न निर्वाचनमा गाउँमा पुग्ने नेताहरुलाई यही प्रश्न सोध्ने तयारीमा हुनुहुन्छ । “विपदको समयमा कसैले केही नगर्ने र निर्वाचनमा आफ्नो हुँ भन्दै आउने नेताहरुलाई भोट किन दिने भन्दै प्रश्न सोध्नेछु”, नयन विकले भन्नुभयो ।  हामीलाई राहत चाहिएको बेला नदिनेलाई अहिले कसरी भोट दिने ? भन्दै नयन विकले प्रश्न गर्नुभयो ।  “हामी दुई वर्षदेखि खेतीपातीविहीन हुँदा पनि के खायौँ भनेर कसैले सोधेन,” नयन विकले भन्नुभयो, “चुनाव आएपछि सबै समस्याको समाधान हामी गर्छौँ भन्नेलाई कसरी विश्वास गर्नु ?” प्रेमबहादुर र नयनको मात्रै होइन, त्यो बाढीले स्थानीय नामसरा खनाल खेत पनि बगाएको थियो ।  “५० क्विन्टलसम्म धान फल्ने खेत बाढीले एकै झड्कामा बगायो”, खनालले भन्नुभयो, “सन्तानको अध्ययन र घर खर्चको माध्यम नै यही खेत थियो तर यस्तो समस्यामा पनि पर्दा सोधपुछ गर्न कोही आएनन् ।”     कैलाश खोलाको त्रासमा आज पनि तटीय क्षेत्रका स्थानीयमा बाँकी छ । बाढीले अस्तव्यस्त भएको रामारोशनका स्थानीयबासीको जीवन पुरानो लयमा फर्कन अझै सकेको छैन । सङ्घ र प्रदेश सरकारसँग पटकपटक दीर्घकालीन तटबन्धका लागि आग्रह गर्दा समेत कतैबाट सुनुवाइ नभएको स्थानीय अगुवा दाताराम खनाल बताउनुहुन्छ ।  “पछिल्लो दुई वर्षको अवधिमा व्यवस्थापनका लागि कैयन प्रयास भए तर काम हुन सकेन”, उहाँले भन्नुभयो ।   उहाँले आसन्न निर्वाचनमा राजनीतिक पार्टी हेरेर भन्दा पनि उम्मेदवारको क्षमताका आधारमा मतदान गर्न आह्वान गरेको बताउनुभयो ।  “कैलाश खोला हाम्रा लागि लामो समयदेखि समस्या बनेको छ छ । निर्वाचनमा जसले खोला नियन्त्रणका लागि ठोस योजनाका ल्याउँछ हामी उसैलाई भोट दिन्छौँ”, उहाँले भन्नुभयो ।    तत्कालीन बाढीले क्षति पु¥याएको जयगड, रामारोशन सडक पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हिउँदको समयमा अल्पकालीन खोला किनारबाट अस्थायी साधारण बाटो खोलेर सवारीसाधन सञ्चालनमा आउने गरे पनि सहजरुपमा सडक सञ्जाल विस्तार नसकेको हो । सुदूरपश्चिम प्रदेश सरकारले जयगड मुजाबगर सडक कालोपत्रेको काम सुरु गरेपछि खोलाको कटानको बाहनामा निर्माण कम्पनीले काम नै बन्द गरेको छ । बाढीले कटान गरेका कैयौँ ठाउँमा नयाँ साधारण बाटो खोल्नुपर्ने भएका कारण पनि सडक निर्माणले गति लिन सकेको छैन ।  आसन्न निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनको तर्फबाट शेरबहादुर कुँवर, नेकपा एमालेको तर्फबाट झपटबहादुर बोहराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।  साथै, प्रदेश ‘क’ बाट गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेघराज खड्का, नेकपा एमालेबाट टेकबहादुर कुँवर र प्रदेश ‘ख’ बाट गठबन्धनका नेकपा माओवादी केन्द्रका झपट साउँद, एमालेका कृष्णप्रसाद जैसी प्रतिस्पर्धामा हुनुहुन्छ ।

  देउखुरी । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा नेत्रलाल अभागी रङ्गशाला निर्माण गर्ने भनेर लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्बाट २०७५ भदौ २० गते निर्णय भयो ।      सोही आधारमा प्रदेश सरकारले सबै नगरपालिका र गाउँपालिकामा कम्तीमा एउटा खेल मैदान बनाउन भन्दै बजेट पनि विनियोजन गर्यो । त्यो वर्ष सम्भाव्यता अध्ययन मात्रै भयो ।     अन्तर्राष्ट्रियस्तरका खेलकुद आयोजना गर्नसक्नेगरी निर्माण गर्ने भनिएको सो रङ्गशालामा ‘आउट डोर’ र ‘इन्डोर’ खेल खेलाउनसक्ने योजना बनाइएको थियो । जसमा अत्याधुनिक पार्क, चमेना गृह, प्रशासनिक भवनलगायत, ड्रेसिङ कोठासहितको एकीकृत बहुउद्देश्यीय रङ्गशालामा २५ हजार दर्शक क्षमताको अत्याधुनिक फुटबल मैदान बनाउने गरी काम अघि बढाउने भनिए पनि अहिले काम हुनसकेको छैन ।         सरकार हेरफेर र राजनीतिक जोड घटाउको सिकार यो रङ्गशाला बन्न पुगेको छ । साविक सेवार वनगाउँ वडा नं ७ को कित्ता नं १३९, ३०६ र १ को क्रमशः २८ बिघा १९ कट्ठा  १० धुर, २० बिघा दुई कट्ठा १९ धुर र १४ बिघा एक कट्ठा १३, नारायणपुर गाविस वडा नं ४ को कित्ता नं १ को आठ बिघा आठ कट्ठा १४ धुर तथा रावतगाउँ वडा नं ३ को कित्ता नं ४३ को १५ बिघा तीन धुर गरी कूल ८६ बिघा १२ कट्ठा १९ धुर जग्गामा उक्त रङ्गशाला बनाउने गरी घोराही उपमहानगरपालिकाले प्रदेश सरकारलाई स्वीकृति दिएको छ ।         खेलकुदको विकास र सार्वजनिक जग्गाको अतिक्रमण रोक्न प्रदेश सरकारले नीति तथा कार्यक्रममा ‘एक पालिका एक खेल मैदान’ कार्यक्रम समावेश गरेर अघि बढाएको कार्यक्रमअन्तर्गतको यो आयोजना अहिले कम प्राथमिकतामा पर्दा समस्या भएको सरोकारवालाको भनाइ छ ।              रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७६–७७ मा घोराही उपमहानगरपालिकाले आफ्नै रु १० लाख लगानीमा एडन इञ्जिनियरिङ सोलुशन प्रालि काठमाडौँलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को जिम्मा दिएको थियो । पालिकाले २०७६ असार २७ गते सो निर्णय गर्दै निकै उत्साहका साथ काम हुने अपेक्षासहित डिपिआर बनाउने जिम्मा दिएको थियो ।          गुणस्तरमा विशेष ध्यान दिँदै दीर्घकालीन योजनाअनुरुप नकारात्मक प्रभाव नपर्ने गरी डिपिआर तयार पारेको बताइए पनि अहिले प्रदेश सरकारले त्यही डिपिआरका कारण देखाउँदै काममा आलटाल गरिरहेको नेत्रलाल अभागी फुटबल रङ्गशाला निर्माण तथा व्यवस्थापन समिति सदस्य सचिव नरेन्द्र पुनको भनाइ छ ।         प्रदेश सरकारमा नेतृत्व र हेरफेरले विकास निर्माणमा असर परेको उहाँले बताउनुभयो । ठूला आयोजना हेर्ने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरण स्थापना गरिएकामा त्यहाँ पनि राजनीतिक जोड घटाउका कारण रङ्गशाला ओझेलमा परेको हुनसक्ने उहाँ बताउनुहुन्छ ।     विसं २०७६ बाट कामको थालनी भएको भनिएको रङ्गशालाको काम अहिलेसम्म भौतिक प्रगति देखिने गरी हुन सकेको छैन । “पहिलो वर्ष सम्भाव्यता अध्ययनका लागि ५० लाख विनियोजन भएको थियो”, समिति सचिव पुनले भन्नुभयो, “त्यसपछि रु पाँच करोड छुट्याइएको थियो, कोरोनाका कारण काम हुन पाएन । त्यसलगत्तै सरकार परिवर्तन भयो अनि रङ्गशालाको काम झनै लथालिङ्ग जस्तै हुन पुग्यो ।”     प्रदेश सरकारले विनियोजन गरेको रु १५ करोडमध्ये पाँच करोडको काम गर्न ठेक्का लागेकाले मात्रै फिर्ता हुन नपाएको समिति अध्यक्ष देउमन दमाईंको भनाइ छ ।     घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले खेलाडी र खेलकुदको विकासका लागि नेत्रलाल अभागी बुहउद्देश्यीय रङ्गशाला कोशेढुङ्गा सावित हुने बताउनुभयो । तर प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास प्राधिकरणका प्रमुख हेरफेरले असर गरिरहेको छ । रङ्गशाला निर्माण गर्न उपमहानगरकोतर्फबाट सबै खालको सहयोग रहने नगरप्रमुख चौधरीले बताउनुभयो ।      विसं २०८० सम्ममा सञ्चालन गर्नेगरी काम हुने जिल्लावासीले अपेक्षा गरेका थिए तर अहिले उक्त ठाउँ गाईबस्तु चरिचरनस्थलकारुपमा परिणत भएको छ ।  प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल सत्ता हेरफेर र राजनीति बाधक बनेपछि ठूला आयोजना प्रभावित हुने अवस्थामा आइपुगेको स्वीकार्नुहुन्छ ।      विस्तृत परियोजना प्रतिवेदनमा फुटबल मैदानसहितको बहुउद्देश्यीय रङ्गशाला निर्माणको लागत रु दुई अर्ब ४८ करोड ५५ लाख तीन सय ५५ अनुमान गरिए पनि लागतको दायरा बढाएर तीन अर्ब बनाउन सुझाव दिइएको छ । रङ्गशाला निर्माण भएमा खेलक्षेत्रको विकासमात्रै नभई अर्थतन्त्र, पर्यटनलगायत धेरै क्षेत्रले प्रगति गर्ने अपेक्षा गरिएको छ ।

  काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र्र)सार्वजनिक गरेको छ ।       कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार: नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।       साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ । सङ्कल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताउनुभयो ।

  काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका १० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए । बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका १०  रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि  हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ । ‘घटनाको बारेमा यो भन्दा बढी केही जानकारी आएको छैन, अनुसन्धान भइरहेको छ’ डीएसपी रिमालले भने ।

  ललितपुर । केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व उपत्यकाको ललितपुर जिल्लामा यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन लागिएको छ । काठमाडौँको रानीपोखरी, बागमती नदी, गोदावरी खोलालगायत विभिन्न स्थानमा भव्यताका साथ छठ पूजा गरिन्छ । सरकारले छठ पर्वका अवसरमा नेपालभर सार्वजनिक बिदा दिन्छ । दसैँ र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न् । तर अहिले शहरमा बस्नेलाई समय, ठाउँ र समाज नमिलेर खेल्न छोडेको जिल्ला ललितपुर इमाडोलमा बस्ने निभा कर्ण भन्नुहुन्छ, “पहिला छठको सामग्री सबै पाउन गाह्रो थियो । सामान नपाउँदा तराईको घर छठ मनाउन जान बाध्य हुनुपथ्र्यो । अहिले भव्यताको साथ यहीँ पोखरीमा साथीसँग मिलेर छठ मनाउने गर्छु ।” यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्यदिएपछि रातभर नदी तथा तलाउ किनारमा महिला बसी छठको लोकगीत गाउने गरिन्छ ।          कल जोडी छठी माईके कैलौँ पुजनमा         छठी माई पुरैथिन सबके मनकामना          राम हमरा भेटथिन निक सजनिगे ।     भोलिपल्ट सप्तमी (पारन) का दिन बिहान उदाउँदो सूर्यलाई पुनःअघ्र्य दिइ पूजा बिसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । सनातन धर्म महासङ्घ नेपालका संस्थापक तथा अन्तर्राष्ट्रियका अध्यक्ष तथा जिल्ला ललितपुर हात्तीवन काठमाडौा युनिभर्सिटी आर्टका प्राध्यापक डा निर्मलमणि अधिकारीका अनुसार सृष्टिको सुरूआतदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातबास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा लङ्काबाट श्री राम सीता माता फर्किंदा सीता माता गङ्गा नदीको किनारमा छठ व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिकशुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्ने स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी, नहर र पोखरीको घाटमा बर्तालुले स्नान गरी बेलुकाका समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् । बर्तालु भक्तजन राति धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धीको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । डा अधिकारीले भन्नुभयो, “शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले बर्तालुले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छन् ।” षष्ठीको भोलिपल्ट सप्तमी तिथिको ब्रह्म मुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, ठेकुवा,  कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।  छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजनले भाकल गरेको हुन्छ, घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, सप्तमीको बिहान दन्तवन, दूध, फूल,  तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।  सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानव शरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ । व्रत गर्दा स्वास्थ्य ध्यानमा राखी व्रत गर्नुपर्छ । शरीरमा पानीको मात्रा कम भएमा डिहाइड्रेसन हुन जान्छ । कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी  र उपत्यकाका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ । यो चाडमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश पनि दिन्छ ।     त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिने हुँदा सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुईपटक चैत र कात्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धीमा अत्यन्तै ध्यान दिइन्छ ।   विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छैठको पूजा गर्दा उखु, केराको बोट, पाकेको केरा बेसार, अदुवा, नरिवल, केराउ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई बिना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्राथना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ । कात्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दसैँ र तिहारलगत्तै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू  नहाए खाए भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइधुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा बर्तालुले प्रण गर्दछन्, “म अब जथाभावी खाँदिन र तन मनले प्रभूको शरणमा बस्नेछु ।”  छठको दोस्रो दिन (कात्तिक शुक्ल पञ्चमी) मा विधिवत्रूपमा सुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख बर्तालुले सख्खरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एकछाक मात्र भोजन गर्नुका कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिइ निराहार व्रतको पूर्वाभ्यास हो । छठको तेस्रो दिन अर्थात् छठ पर्वका दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देउतालाई चढाउँछन् । प्रातःकालीन अर्घका लागि केही बर्तालु रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर लोकगीत, भजनकीर्तन र नाचगान गरिन्छ । घाटलाई बेहुली झैँ सिँगारिएको हुन्छ ।  छठको चौथो दिन कात्तिक शुक्ल सप्तमीका दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादलाई अर्घ दिई अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफूल र मिठाइ जस्ता प्रसाद छठी मातालाई अर्पण गरी पूजा बिसर्जन गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी अरु खाने कुरा बर्तालुले खान्छन् र लोक छठ पर्व समाप्त हुन्छ । 

  चितवन । खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका  नेपालीको  टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो  ।   नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

  बागलुङ । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट रु १८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताउनुभयो ।     कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त  अवधिमा नौ सय ७९ मोटरसाइकलबाट रु ६ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । तीन सय ८५ कार र जीपबाट रु तीन लाख ८८ हजार, तीन सय ४९ ट्रक तथा टिपरबाट रु दुई लाख ४० हजार, चार सय ९३ ट्र्याक्टरबाट रु तीन लाख ४२ हजार, चार सय १९ बसबाट रु दुई लाख ७४ हजार पाँच सय र अन्य २२ सवारीसाधनबाट १३ हजार गरी रु १८ लाख ९७ हजार राजस्व सङ्कलन भएको हो ।     पछिल्लो तीन महिनाको राजस्व अघिल्लो वर्षको तीन महिनाको तुलनामा झन्डै रु आठ लाखभन्दा बढी हो ।  ट्राफिक प्रहरी प्रमुख केसीले आफूहरुले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोे बताउनुभयो । ट्राफिक सेचतानासँगै कारबाही हाम्रो अभियान हो, अहिले यातयात व्यवस्था कार्यालयको परीक्षास्थलमै ट्राफिक सचेतना गरिएको छ”, उहाँले भन्नुभयो, “ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकलाई विशेष कारबाही गरेका छौँ, नो पार्किङ, एकतर्फी पार्किङ तथा पार्किङ व्यवस्थापनसँगै दुर्घटना न्यूनीकरणमा हाम्रो ध्यान छ ।”     ट्राफिक प्रहरी प्रमुख केसीले मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिलबुकबिना चलाउने, द्रुत गतिमा चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक सवारीलाई कारबाही गरिएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा मापसे परीक्षणलाई बढी प्राथमिकता दिएको पनि जानकारी गराउनुभयो । 

  काठमाडौँ । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।     एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको  पक्षाघात   मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ ।  मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा  मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।  समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ ।     नेपाल पक्षघात सङ्घका अध्यक्ष डा राजु पौडेल पक्षाघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताउनुहुन्छ ।     उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षघात परियोजनासँगसहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।     यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षघात सम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।  देशभरका १५ अस्पतालको पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि संघले गर्दै आएको छ ।     ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत वरिष्ठ न्यूरोलोजिस्टसमेत रहनुभएका डा पौडेल पक्षाघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको  भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुहुन्छ । “विश्वमा हरेक चारजनामा एक जनालाई र छ सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ”, उहाँको भनाइ छ ।     नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा पौडेल जोड दिनुहुन्छ । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।     उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ ।     सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा पौडेल बताउनुहुन्छ ।     पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र  यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।     नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा पौडेल बताउनुहुन्छ ।     नेपाल पक्षघात सङ्घले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीलगायत विभिन्न अस्पतालसँगको सहकार्यमा अक्टोबर १९ मा विभिन्न कार्यक्रम आयोजना गरी विश्व पक्षघात दिवस मनाइरहेको छ । यसै अवसरमा आजै काठमाडौँको महाराजगञ्ज चोकदेखि सामाखुसीसम्म पदयात्रा गरिएको थियो ।