मनाङः हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । “खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला”, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, “आगो बाल्न दाउरा किन्दा भारीको रु दुई हजार प¥यो । समस्या टार्नै प¥यो ।” उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् । सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताउनुभयो । “यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,” रेग्मीले भन्नुभयो । मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताउनुभयो । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उहाँले बताउनुभयो । “यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । दुई दिन लगाएर उहाँहरू पुग्नुभएको छ । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,” उहाँले भन्नुभयो । नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकै रु एक हजार पाँच सय तिर्नुपरेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक रु दुई हजार पाँच सय दिन्छ । कार्यालय सहयोगीले रु एक हजार दुई सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको रु छ सय पाउँछन् । “एक गिलास तातोपानीको रु एक सय पर्छ । सुगममा रु छ सयले दुई छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,” उहाँले भन्नुभयो । मनाङमा दुई सय कर्मचारी खटिएका छन् । सिङ्गो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन् । वडा नं १ को कार्यालय नारगाउँमा ९६, वडा नं २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन् । फू गाउँअन्तर्गत वडा नं ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नं ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर)मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन् ।
काठमाडौंः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन् । यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अहिले सवारीको चाप केही बढेको बताउनुभयो । “उपत्यकाबाट औसत अवस्थामा दैनिक ४० हजारदेखि ४५ हजार जना यात्रु भित्रिने र सोही बराबर बाहिरिन्छन् । तर पछिल्लो २४ घण्टामा ४१ हजार पाँच सय तीन जना यात्रु उपत्यकामा आएका छन् भने ५५ हजार एक सय ४७ जना बाहिरिएका छन्”, भट्टले भन्नुभयो, “अहिले औसतभन्दा केही चाप बढेको छ ।” आजसम्म शैक्षिक संस्था र सरकारी कार्यालय सञ्चालनमै रहेकाले निर्वाचनका लागि बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य देखिनसकेको उहाँको भनाइ छ । “आजसम्म स्कुल र सरकारी कार्यालयहरू खुलै रहेकाले धेरै चाप छैन । भोलिदेखि बढ्न सक्छ”, भट्टले भन्नुभयो । बुधबार ५१ हजार चार सय ५० जना उपत्यका छिरेको र ५१ हजार तीन सय १९ जना बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा आवतजावत गर्ने सवारी साधनको सङ्ख्या हेर्दा आठ हजार १० सवारी साधन भित्रिएको र सात हजार सात सय नौ वटा सवारी साधन बाहिरिएका छन् । त्यस्तै बुधबार आठ हजार तीन सय ३६ वटा सवारी साधन उपत्यकामा भित्रिएका थिए भने सोही सङ्ख्यामा सवारी बाहिरिएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले कात्तिक अन्तिम सातायता सवारी साधन परिचालनमा चाप देखिएको बताउनुभयो । “पछिल्लो तीन–चार दिनयता देशभर रिजर्भ गाडीहरू बढी चलेका छन् । दैनिक बुकिङका गाडी पनि गइरहेकै छन् । यो क्रम शनिबारसम्मै चल्छ”, सिटौलाले भन्नुभयो, “अहिले सबैजसो दलले रिजर्भ गरेरै गाडी लगिरहेका छन् । दैनिकरूपमा टिकट काटेर चल्ने गाडीभन्दा रिजर्भ गाडीहरू बढी चलेका छन् । चुनावलाई मात्रै लक्षित गरेर पाँचदेखि छ लाख मानिस आवत–जावत गर्ने अनुमान हामीले गरेका छौँ ।” लामो दूरीका सवारी साधनहरू शुक्रबार र छोटो दूरीका गाडीहरू शनिबारसम्म चल्ने उहाँको भनाइ छ । चुनावका लागि परिचालन भएका सवारी साधनको सङ्ख्या बढे पनि त्यसको व्यवस्थापन गर्न समस्या नरहेको सिटौलाले बताउनुभयो ।
कास्कीः पोखराको लेखनाथस्थित जनप्रकाश उच्च मावि मतदान स्थलको मतदान केन्द्र (घ) लाई महिलामैत्री केन्द्र बनाइएको छ । छ वटा निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी बटुली सक्नुभएकी गीता न्यौपानेको नेतृत्वमा सहायक मतदान अधिकृतसहित आठ जना महिला कर्मचारी खटाइएको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले जनप्रकाश मावि मतदान स्थलको एक मतदान केन्द्रलाई महिलामैत्री बनाइएको जानकारी दिनुभयो । कास्की निर्वाचन क्षेत्र नं १ अन्तगर्तको उक्त मतदान स्थलको ‘घ’ मतदान केन्द्रमा आड सयभन्दा बढी मतदाता रहेको जानकारी निर्वाचन कार्यालयले दिएको छ । कास्की निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, जसरी निर्वाचन कार्यालयले महिलामैत्री मतदान केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ त्यसरी नै उत्कृष्ट मतदान अधिकृतको रुपमा आफूलाई उभ्याउने उहाँले बताउनुभयो । उक्त केन्द्रबाट मतदान गर्ने हरेक मतदाताले सहज, भयरहित, निष्पक्ष, र स्वच्छरुपमा मतदान गर्ने वातावरण सृजना गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । उक्त मतदान केन्द्रमा मतदान अधिकृत न्यौपानेसहित आठै जना स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, “हामी सबै स्वास्थ्य क्षेत्रका कर्मचारी हौँ मतदानको समयमा कुनै मानिस अचानक बिरामी परेमा प्राथामिक उपचारसमेत गर्न सक्छौँ । ” त्यसैगरी पोखराको बसुन्धरा पार्कको मतदान केन्द्रमा समेत महिलामैत्री मतदान केन्द्र रहेको जानकारी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ गीता दोरञ्जाले मतदान अधिकृतको भूमिका निभाउनुभएको जानकारी निर्वाचन कार्यालयले दिएको छ ।
काठमाडौं: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानमा तीन थान ट्वीनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ र अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ ।
काठमाडौंः यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गर्नुभएको थियो । सो अवसरमा प्रमुख आयुक्त थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्री एवं खटिएका कर्मचारीसमेत पु¥याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । सो अवसरमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुनशमशेर जबराको उपस्थिति रहेको थियो । उहाँहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको थियो ।
बझाङः गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए । तरकारीमा मोलमोलाई पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो । सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए । व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए । “हामीले पनि किनेरै बेच्ने हो । रु १० नाफा नखाएर कसरी व्यापार गर्नु”, व्यापारी विनिता गिरीले भन्नुभयो, “हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौँ । हामीले उत्पादन गरेका होइनौँ । किनेको मूल्यमा रु पाँच/दश नाफा त खानै प¥यो नि ” उहाँका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट यहाँका व्यापारीले तरकारी किनेर ल्याउँछन् । त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुग्नुभएको थियो । उहाँ अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित पर्नुभयो । “सिजनअनुसार सबै ठाउँमा रु १०/२० पर्ने बन्दाको कोहलपुरमा रु १५० भन्यो”, उहाँले भन्नुभयो, “कोहलपुर गएको मौकामा कृषि बजारस्थल पुगेँ, निकै अस्तव्यस्त देखियो । मूल्य सोधें, बन्दाको प्रतिकेजी रु १५० । गलत सुनेकी भनेर फेरि सोधेँ, रु १५० । अर्को स्टलमा सोधेँ, रु १५० नै । म त ट्वाँ परेँ ।” प्रमुख विष्टले बन्दाको प्रतिकेजी रु १५० अहिलेसम्म नसुनेकै मूल्य भएको बताउनुभयो । “अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ’’ उहाँले भन्नुभयो, “बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी रु १२ छ । बित्थडचिरको आनन्दपुरमा रु १५, मुस्याखान बैतडीमा रु १०, खोड्पे बैतडीमा रु १४, अनारखोली डडेल्धुरामा रु १५, धनगढीको दुवै हाटबजारमा रु ७०, सुर्खेतको पहाडी गाउँ हर्रेमा रु ९० रूपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो” कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको प्रमुख विष्टले बताउनुभयो । “म त अचम्ममा परेँ”, उहाँले भन्नुभयो, “मलाई लाग्यो कि हरेक ठाउँमा उत्पादन भइरहेको तरकारीबाट कृषकले मूल्य कति पाउने रहेछन्, उपभोक्ताले कति पाए र विचौलियाले कति खाने रहेछन् भन्ने लाग्यो ।” यही विषयमा बुझ्न खोज्दा एक पटक मन्त्रीसँगै व्यापारीको हात हालाहालको अवस्था सिर्जना भएको सङ्केत गर्दै प्रमुख विष्टले भन्नुभयो, “हुनत तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले कालीमाटी कृषि बजारमा यही प्रसङ्गमा बुझ्न खोज्दा झण्डै हातपात भएन । सुरक्षा व्यवस्था कडा भएकै कारण त्यसबखत घटना बाहिर आएन । त्यसैले मैले पनि व्यापारीसँग थप बुझ्न चाहिन।” व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले रु १३० देखि १४० मा खरिद गरेको बताउनुभयो । सिजनअनुसार नै बन्दाको मूल्य यसपटक बढेको उहाँको भनाइ थियो । “कोहलपुरमा बेसिजनमा त यो मूल्य ठीकै हो । यसपटक भने निकै बढेको छ । कृषकले नै बढी लिएकोर , ढुवानी गर्दा महँगो परेको भनेर हामीलाई बेच्छन् । हामीले पनि रु १०÷१२ त नाफा खानु प¥यो ।” व्यापारी जिसीले भन्नुभयो । अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य रु सयको आसपास छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन । “अहिले बन्दाको थोक मूल्यसमेत रु ८०÷९० छ ।” अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको उहाँले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ । कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ ।
म्याग्दीः म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याउनु भयो । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गर्नुभएका उहाँले अहिले यसबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उहाँले ३५ वटा बोटबाट किवी खेती सुरु गर्नुभएको थियो । “वर्षमा १० पाथी कोदो फल्ने बारीमा लगाएको किवीबाट अहिले राम्रो आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “धेरै दुःख गर्न पनि नपर्ने र गाउँबाटै बिक्री हुने भएकाले कोदो, मकै लगाउन छाडेर किवी खेतीमा सुरु गरेको हुँ ।” पुनले चार वर्षअघि कोदो र मकै नरोपी बारीमा थप ४० बोट किवी लगाउनु भएको छ । जसले यसै वर्षदेखि प्रतिफल दिन थालेको छ । पुनले यसवर्ष समग्रमा रु दुई लाख बराबरको छ सय किलो किवी फलेको बताउनुभयो । अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले यहाँका भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यावसायिक किवी खेती बढिरहेको छ । आयआर्जनको राम्रो सम्भावना भएकाले किवी खेतीतर्फ आकर्षण बढेको कृषक खिम पुनको भनाइ छ । आठ रोपनी बारीमा चार वर्षअघि पुनले लगाएको किवीले उत्पादन दिन थालेको छ । “हाम्रो वडामा करिब ४० जनाले व्यक्तिगत र सामूहिकरुपमा किवी खेती गरेका छन्”, पुनले भन्नुभयो, “२० हजार बोटमध्ये हाल पाँच हजार बोट फलेका छन् ।” छापटोलका बासिन्दाले बारीमा अन्य बालीको विकल्पमा गत वर्ष एक हजार किवीका बिरुवा रोपेर सामूहिक खेती सुरु गरेका थिए । गत वर्ष एक सय किलो किवी बिक्री गरेका लालबहादुर पुनले यसपटक तीन सय किलो उत्पादन भएको बताउनुभयो । “पोखराका व्यापारीसँग प्रतिकिलो रु दुई सय ५० का दरले किवी बेच्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्मका लागि किवी बेच्न बजारको समस्या छैन ।” पुनको बगैँचाका एक सय ३५ किवीका बोट फलेका छन् । गत वर्ष २५ वटा नयाँ बिरुवा लगाउनु भएका पुनले यसपटक २० रोपनीमा किवी खेती विस्तार गर्ने योजना बनाउनुभएको छ । मडकेनाका खिमबहादुर घर्तीले पनि परम्परागत खाद्यबालीको विकल्पमा किवी खेती गर्नुभएको छ । बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार चार वर्षअघि ४२ जना कृषकलाई आठ सय १५ वटा किवीका बिरुवा अनुदानमा वितरण गरिएको थियो । तल्लो क्षेत्रमा सुन्तला र माथिल्लो क्षेत्रमा किवी खेतीमा जोड दिइएको उहाँले बताउनुभयो । धेरै पौष्टिकतत्व पाइने किवीको बजारमा माग र खपत पनि दुबै राम्रो छ । खेती गर्न सुरु गरेको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म किवी फल्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ । अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किवी चीनमा विकास भएको फलफूल हो । न्युजिल्यान्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा रु एक सय पर्छ । निजी नर्सरीबाट रु तीन सयसम्ममा बिक्री हुन्छ । प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो ।(
बलेवाः एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताउनुभयो । सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उहाँको भनाइ छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिदै आएको थियो । एम्बुलेन्स खरिदका लागि अस्पतालले रु ५८ लाख खर्चेको हो । अष्टे«लियामा रहेका नेपालीले रु ४८ लाख र बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमै रु ३२ लाख सहयोग गरेका थिए । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न सकिने, भित्रै अक्सिजन जडान भएको, सुविधासम्पन्न बिस्तारा, बिरामी कुरुवाका लागि छुट्टै बस्ने व्यवस्थालगायतका सुविधा रहेको न्यूरेले बताउनुभयो । “अझै केही उपकरण थप्नुपर्ने छ, त्यसका लागि अस्पतालले आफ्नो स्रोत प्रयोग गर्छ”, न्यूरेले भन्नुभयो, “हामीले तत्कालै सबै व्यवस्थापन गरेर सञ्चालनमा ल्याउँछौँ ।” यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसमेत बाहिर राख्नुपर्ने अवस्था थियो । नेपाल सरकारले वर्गीकरण गरेका एम्बुलेन्स मध्य ‘ख’ वर्गको एम्बुलेन्स अस्पतालले ल्याएको हो । बिरामीको चाप हुने अस्पतालले पोखरा–काठमाडौँलगायतका सहरमा रहेका अस्पतालमा बिरामी सिफारिस गरेर पठाउँदा एम्बुलेन्सको अभाव खेप्दै आएको थियो । “मार्सल जिपलाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिएको थियो, एउटा मात्रै एम्बुलेन्स हुँदा अस्पतालले बिरामीलाई सुविधा दिन सकेको थिएन”, न्यूरेले भन्नुभयो, “अब सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले पाएको छ, यो सबैका लागि खुसीको कुरा हो ।” एम्बुलेन्स खरिदका लागि गत वैशाख महिनामा नै बोलपत्र गरिएको थियो । असारमा सम्झौता भएको भए पनि फोटोन कम्पनीको वितरकले विभिन्न कारण देखाउँदै गत आवमा एम्बुलेन्स उपलब्ध गराएको थिएन । पछिल्लो समय धवलागिरि अस्पतालमा सघन उपचारकक्ष, सुविधासम्पन्न एम्बुलेन्स, अक्सिजन प्लान्टजस्ता बिरामीसँग प्रत्यक्ष जोडिने पूर्वाधार तयार भएका छन् ।
काठमाडौं: यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भएकाले सो अवधिमा प्रचारप्रसार गरिए कानुनबमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको पालना नभएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई निर्देशन दिइएको छ । उक्त ऐनको दफा २४ (५) अनुसार कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न, अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरीतका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेकाले निर्वाचन प्रचारप्रसारसम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई आयोगले लेखी पठाएको छ । मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिस्क मन्थनलगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न–नगराउन तथा आफ्नो सामाजिक सञ्जालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोगले निर्देशन दिएको छ । मतदानका दिन मतदान केन्द्रको वरपर कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्केतिक अर्थ जनिने पोसाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकरलगायत पहिरन वा चिजवस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ । सो अवधिमा सामाजिक सञ्जाल तथा अनलाइन र सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्न– नगराउन र यसअघि गरिएका यस्ता विज्ञापन हटाउन सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोध गर्नाका साथै सोको अनुगमन गर्न पनि विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।