अत्यधिक चिसोका कारण ग्यास नबल्दा कर्मचारीलाई सकस

मनाङ | मंसिर २, २०७९

अत्यधिक चिसोका कारण ग्यास नबल्दा कर्मचारीलाई सकस चामे गाउँपालिकास्थित गौरीशंकर आधारभुत विद्यालय तिमाङमा मुख्य निर्वाचन अधिकृतलगायतका टोली ।

मनाङः   हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । 


“खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला”, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, “आगो बाल्न दाउरा किन्दा भारीको रु दुई हजार प¥यो । समस्या टार्नै प¥यो ।”


उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् । 


सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताउनुभयो । “यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,” रेग्मीले भन्नुभयो । 


मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताउनुभयो । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उहाँले बताउनुभयो । 


“यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । दुई दिन लगाएर उहाँहरू पुग्नुभएको छ । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,” उहाँले भन्नुभयो । नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकै रु एक हजार पाँच सय तिर्नुपरेको उहाँले बताउनुभयो । 


निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक रु दुई हजार पाँच सय दिन्छ । कार्यालय सहयोगीले रु एक हजार दुई सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको रु छ सय पाउँछन् । “एक गिलास तातोपानीको रु एक सय पर्छ । सुगममा रु छ सयले दुई छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,” उहाँले भन्नुभयो । 


मनाङमा दुई सय कर्मचारी खटिएका छन् । सिङ्गो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन् । वडा नं १ को कार्यालय नारगाउँमा ९६, वडा नं २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन् । 


फू गाउँअन्तर्गत वडा नं ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नं ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर)मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन् ।

काठमाडौं:     ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवाल...

थप पढ्नुहोस्

काठमाडौं:     आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लाम...

थप पढ्नुहोस्