काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

  काठमाडौं: आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा ।  पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ ।   भरतपुर महानगरपालिका–१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गर्नुभयो । “भोट हालेर चुनावमा जिताएर के गर्ने ? काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन”, उहाँले गुनासो गर्नुभयो । “रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झदै उहाँले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने”, भन्नुभयो ।  उहाँले ठेलामा मकै पोलेर परिवार पाल्दै आउनुभएको छ । उहाँले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उहाँको ठेला नियन्त्रणमा लिएका थिए । “पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन”, उहाँले भन्नुभयो, “हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।” उहाँले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताउनुभयो । भरतपुर महानगरपालिका–११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउनुहुन्छ । “यसअघि पटक–पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन”, उहाँले भन्नुभयो । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उहाँले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गर्नुभयो ।  “महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र ?” उहाँले प्रश्न गर्दै भन्नुभयो । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उहाँका श्रीमान्ले ज्याला मजदुरी गर्नुहुन्छ । यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमान्ले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।” उहाँले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भन्नुभयो । “तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो”, उहाँले भन्नुभयो, “अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।” अटो चलाउँदै आउनुभएका भरतपुर–१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनुपरेको बताउनुहुन्छ । “निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ”, उहाँले भन्नुभयो । भरतपुर–१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पुर्याउनुपर्ने बताउनुभयो । “फकाउन र प्रलोभन दिन घर–घरमा आउन सक्छन्”, उहाँले भन्नुभयो, “देशको अवस्था हेरेर सोचविचार गरेर मत दिनुहोला ।” दियालो टोल विकास समिति भरतपुर–१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताउनभयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन् । यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन् ।

ढोरपाटनः   “हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा  नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्,  आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन् ।” बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय  इसुफ मियाँ भन्नुभयो । उहाँको आफ्नो र पैतृक सम्पत्ति केही छैन ।    मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने आश्वासन धेरै उम्मेदवारले दिए । आफूलाई लालपुर्जा दिलाउन नसकेको उहाँले गुनासो पोख्नुभयो । उहाँ आफ्नो जग्गा, जमिन र बस्ने बाससमेत नभएको जनाउँदै अरुको आश्रय लिएर बस्नुपरेको बताउनुहुन्छ । नेताले जित्नका लागि सुकुम्बासी बस्तीमा आएर भोटका लागि अनेक आश्वासन दिने तर काम भने नगरेको उहाँको भनाइ छ ।   “अहिलेसम्म दर्जनौँ नेताले सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरेर लालपुर्जा दिन्छौँ भनेर आश्वासन दिनुभयो, हामी पनि होला भन्दै आश गरेर बस्यौँ तर अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा । धेरै व्यवस्था फेरियो तर हाम्रो अवस्था उस्तै छ, कहिल्यै फेरिएन, दिनदिनैको बढ्दो महँगी उस्तै, निकै दुःख पाएका छौँ”, उहाँले भन्नुभयो, “चुनाव आउने बेला जहिले पनि सुकुम्बासीको काम गर्न हामी चुनावमा उठेका छौँ, जितेपछि तपाईँहरूका लागि यो गर्छौँ, त्यो गर्छौँ भन्छन् तर जितेर गए भने एकपटक पनि हामीलाई भेट्न आउँदैनन्, हाम्रा आशाहरू यतिकै मरे ।”   आफ्ना छ भाइ छोरामध्ये कान्छो छोराले मात्रै घडेरी किनेर घर बनाएको जनाउँदै अन्य पाँच भाइ सुकुम्बासी नै रहेको मियाँले बताउनुभयो । उहाँले वर्षौँदेखि सरकारसँग गाँस, बास र कपासको ग्यारेन्टीका लागि माग गरे पनि कुनै सुनुवाइ नभएको गुनासो पोख्नुभयो । आफूहरूले वर्षौँदेखि मजदुरी गरेर जीविका चलाइरहेको उहाँको भनाइ छ ।   स्थानीय आमुला खातुनले चुनावका बेला आश्वासन दिने नेताले सुकुम्बासीका लागि रोजगारको व्यवस्था मिलाइदिए दैनिकी चलाउन सहज हुने बताउनुभयो । उहाँले रोजगारसमेत नहुँदा दैनिकी चलाउनसमेत गाह्रो पर्ने बताउनुभयो । खातुनले वृद्धवृद्धाले नसके पनि युवाहरूले काम गर्न सक्ने र परिवार चलाउन सहज हुने उहाँको भनाइ छ । सुकुम्बासीका लागि राज्यको नजर पुग्न नसकेको उहाँले बताउनुभयो ।   “सांसद, मन्त्रीहरू भएका सबै हामीहरूले मत दिएर जितेका त हुन् नि, उनीहरूलाई हामीले माथि पु¥यायौँ, तर हाम्रा लागि कसैले केही गर्न सकेन, चुनावका बेला भोट माग्न आएर यो गदिन्छौँ र ऊ गदिन्छौँ भन्नेले केही नगरेर सुकुम्बासीलाई रोजगरको व्यवस्था गरिदिए त आफैँ कमाएर जीवन चलाउन सकिन्थ्यो नि”, उहाँले भन्नुभयो, “काम केही गर्न पर्दैन, भाषण मात्रै दिन्छन्, जितेर गए भने पाँच वर्ष फर्किएर गाउँ आउँदैनन्, यस्ता नेतालाई के भोट दिनु, भोट मात्रै खेर गइरहेको छ ।”   उहाँले यहाँका बालबालिका, वृद्धवृद्धालाई अझ बढी समस्या पर्ने गरेको बताउनुभयो । उहाँले सुकुम्बासीहरू अरुको आश्रयमा बसेको हुँदा खाना, बस्न र औषधोपचारमा बढी समस्या हुने गरेको हुँदाको भनाइ छ । सरकारले सुकुम्बासीका लागि निःशुल्क स्वास्थ्योपचार र खाद्यान्नको व्यवस्था गरे आफूहरूलाई ठूलो राहत मिल्ने बताउनुहुन्छ ।   उहाँ भन्नुहुन्छ, “नेताहरूसँग हाम्रो ठूलो अपेक्षा छैन, हामीहरूको आधारभूत आवश्यकता पूरा गरिदिए अरु हामी जसोतसो जीविका चलाउन सक्थ्यौँ, जाडो सुरु हुन थाल्यो, लत्ताकपडाको समस्या हुन्छ, खाना र अरुको कुरा त सबै समस्याको विषय भयो, यहाँ त खानेपानीको पनि निकै समस्या छ, यहाँका केटाकेटीले पढ्न पनि समस्या छ, औषधोपचार पाउनै गाह्रो छ ।”   स्थानीय यज्ञबहादुर क्षेत्री सुकुम्बासी बन्नुपरेको धेरै समय भएको छैन । आधा दशक अगाडिसम्म उहाँको व्यवसाय, गाडी थियो । परिवार राम्रोसँग चलेकै थियो । बैंकबाट ऋण लिएर गाडी किनेको केही समयै दुर्घटनामा परेपछि क्षेत्रीको घर, सम्पत्ति र व्यवसाय सबै डामाडोल बन्यो । बैंकले घर जग्गा कब्जा गरेपछि क्षेत्री परिवार सुकुम्बासी हुनुप¥यो ।   आफू सुकुम्बासी भएपछि धेरै नेताले घर बासको व्यवस्थापन गरीदिने आश्वासन दिए काम नगरेको बताउनुभयो । उहाँले अहिले भोट माग्न आउने उम्मेदवारलाई आफूजस्ता सुकुम्बासीको समस्या समाधान नगरेसम्म मत नदिने बताउनुभयो ।    उहाँले भन्नुभयो, “नेताले त कुरामात्रै गर्ने हुन् काम गर्दैनन्, यो गाउँमा यति धेरै सुकुम्बासी छौँ, चुनाव आउँदा मात्रै गाउँ आउँछन्, जितेपछि कहाँ जान्छन्, थाहा हुँदैन, हामी आफँै पीडामा छौँ, त्यहीमाथि चुनावका बेला आएर आश्वासन दिन्छन्, आश लाग्ने केही गर्छन् कि भन्ने तर केही नगर्दा हामी निकै निराश छौँ, यिनीहरूलाई भोट दिएर काम छैन, हाम्रो अवस्था कहिल्यै फेरिएन, उनीहरूलाई किन भोट दिने रु”   अमलाचौर गाउँमा मात्रै करिब १५ भन्दा बढी घरपरिवार सुकुम्बासी छन् । आफूहरूलाई स्वास्थ्य, शिक्षा, खानेपानी निकै समस्या रहेको उनीहरू बताउँछन् । यो चुनावमा आफूहरू एकजुट भएर आफ्ना समस्या समाधान गरीदिने नेतालाई मात्रै भोट दिने योजना बनाएको उनीहरूको भनाइ छ ।

तनहुँ:  तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा हुनुहुन्छ । निर्वाचनमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिलाई समस्या हुँदै आएको छ ।  “मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ, मतदान केन्द्र अपाङ्गतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौँ”, उहाँले भन्नुभयो, “चौर भएको ठाउँमा ह्वीलचियर गुडाउन गाह्रो हुन्छ, मेरो ह्वीलचियर त बरु त्यस्तो ठाउँमा पनि गुड्न सक्ने भएकाले म आफैँ एक्लै मतदान केन्द्रसम्म पुग्न सकेँ ।” मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा मत खसाल्ने बेला अप्ठ्यारो हुने गरेको उहाँको अनुभव छ । “छाप लगाउने ठाउँमा टेबल अग्लो भइदिँदा हामीजस्ता ह्वीलचियर प्रयोगकर्तालाई छाप लगाउन गाह्रो हुने गरेको छ, मतपेटिका पनि अग्लो स्थानमा राखिदिँदा मत खसाल्न गाह्रो हुन्छ”, उहाँले भन्नुभयो । मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन पटक–पटक माग गर्दै आए पनि आफूहरूको मागको सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँका सचिव रहनुभएकी उहाँले भन्नुभयो, “हामीहरूले यस विषयमा आवाज उठाउँदै आएका छौँ, तर पनि सुनुवाइ हुँदैन ।” अधिकांश मतदान केन्द्रमा ह्वीलचियर लैजान नै नसकिने उहाँको अनुभव छ । मतदान केन्द्र विद्यालयमा हुने र त्यहाँ प्रवेशद्वार हुने भएकाले ह्वीलचियर लैजान समस्या हुँदै आएको छ । “प्रवेशद्वार अपाङ्गतामैत्री हुँदैन, सिँढी हुन्छ, कतिपय प्रवेशद्वार खोलिदैन”, आफ्नै अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ह्वीलचियर लैजान नमिलेपछि मलाई उचालेर भित्र लगिएको थियो ।”  स्थानीय तह निर्वाचनमा आफूसँग गएको सहयोगीले तपाईँ गेटमै बस्नुस्, म भोट हाल्दिहाल्छु नि भनेको सम्झिँदै उहाँले आफूहरू त्यस्तो नचाहने बताउनुभयो । “हाम्रो भोट अरुले हालिदिओस् भन्ने हामी चाहँदैनौँ, म अपाङ्गता हो, मेरो आधा शरीरले काम नगर्ला, मेरो एउटा अङ्गले काम नगर्ला”, उहाँले भन्नुभयो, “मतदान गर्ने मेरो अधिकार म आफैँ प्रयोग गर्छु ।” मतदान केन्द्रमा जानका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने गरिए तापनि केन्द्र नै अपाङ्गतामैत्री नहुँदा समस्या हुँदै आएको रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोलाले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहजरूपमा वातावरण मिलाउन माग गरिए पनि मागको सुनुवाइ हुन नसकेको सहृदयी मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिनुभयो ।  निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताउनुभयो । “मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरूमा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौँ”, ढकालले भन्नुभयो ।  जिल्लामा तीन सय पाँच मतदान केन्द्र छन् । सबै मतदान केन्द्र विद्यालय र गाविस भवनमा निर्धारण गरिएको छ । विद्यालय र गाविस भवनका मतदान केन्द्र अपाङ्गतामैत्री छैनन् ।

  बर्दिया: बर्दियाको मधुवन नगरपालिका ८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

  नवलपरासी: नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्यापर समेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आउनुभएको थियो । उहाँको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते हुनुभएको हो ।  घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताउनुभयो ।

  तनहुँ​: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताउनुभएको छ ।  तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा आज आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गर्नुभयो ।  संविधान र लोकतन्त्रको विरुद्ध षड्यन्त्र भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ, यसले सबै वर्गलाई अधिकार दिएको छ, यो अधिकार गुम्न दिन्नौँ ।” पौडेलले संविधान रक्षाकै लागि अहिलेकोे गठबन्धनको गठन भएको भन्दै यसलाई पछिसम्म लैजाने बताउनुभयो ।  पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको उल्लेख गर्नुभयो । विसं २०७४ को निर्वाचनमा आफूले चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउँदै पौडेलले भन्नुभयो, “गठबन्धन सरकार बनेपछि तनहुँमा विकासको योजनाले पुनः गति लिन थालेको छ । बुद्धसिंमार्ग, मादी मस्र्याङ्दी सडक, शालिग्राम मार्गका लागि बजेट विनियोजन भएको छ ।” “मसँग सपना छन्, योजना छन् र त्यसलाई पूरा गर्ने सङ्कल्प छ”, पौडेलले भन्नुभयो । देश विकास र सुशासनका गठबन्धन प्रतिबद्ध रहेको बताउँदै पौडेलले देशमा परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउनुभयो । जनतामा व्याप्त निराशा हटाउन सुशासनको खाँचो रहेको औँल्याउँदै पौडेलले भन्नुभयो, “बहुदल आएपछिका दिनमा गाउँ–गाउँमा आधुनिक सुविधाका पूर्वाधार पुगेको छ ।”

  काठमाडौँ:  आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले यसपटक पनि  मतदाता समक्ष मत माग्ने क्रममा कानुन बनाउने मूल जिम्मेवारीभन्दा विकास निर्माणकै एजेण्डा प्रस्तुत गरेको पाइएको छ ।  प्रतिनिधिसभा होस् वा प्रदेशसभा सदस्यमा चुनिने जनप्रतिनिधिको मुख्य कार्यभार कानून बनाउने रहेता पनि मतदाता समक्ष राजनीतिक दल र उम्मेदवारले विगतकै शैलीमा पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाका एजेण्डा देखाएर भोट मागिरहेका छन् । संविधानसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री, मुख्यमन्त्री, पालिका प्रमुखमा चुनाव लड्नेले यस्तो विकास निर्माण गर्छु भन्ने बाहेक अरु बाँकी जति सबैले विकास निर्माण गर्छु भनेर कुरा गर्नु भनेको मतदातालाई शुरुमै अलमल्याउने भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मतदान गर्दा उम्मेदवारहरुले उठाउने विषयमा मतदाता सचेत हुनुपर्छ, विधायकको निर्वाचन भएकाले कृषि, उद्योग, श्रम, वातावरण र वनलगायतका विषयमा कानुन कस्तो बनाउने भनेर जनता समक्ष प्रतिबद्धता व्यक्त गर्नुपर्ने थियो ।” राजनीतिक दल र उम्मेदवारले संविधानका केही प्रावधानबारेमा उठेका प्रश्नलाई सम्बोधन गर्न ती प्रावधान सशोधन गर्न पहल र प्रयास गर्छु भन्नुपर्नेमा सोझा जनतालाई विकास निर्माण गर्ने आश्वासनका पुलिन्दा बाड्नुलाई विज्ञहरुले सही कर्म नभएको भनी आलोचना गर्नुभएको छ । राजनीतिक दलले आफ्नो पक्षमा मतदातालाई आकर्षण गराउन राजनीतिक स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थाका मुद्दालाई पनि दोहर्याइरहेको पाइएको छ । मुलुकमा भएको अघिल्लो चुनावमा प्राप्त मतका आधारमा ठूला मानिएका राजनीतिक दल मात्र नभएर भरखर पहिलो पटक निर्वाचनमा भाग लिएका नवप्रवेशी दलबाट पनि यस्ता आश्वासन दिएको देखिएको छ । चुनाव चिह्न ‘चुरा भएको हातको नमस्कार’ र भानुराम डगौरा थारु अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक पार्टीले यस निर्वाचनमा सङ्घ र प्रदेशमा ३५ उम्मेदवार उठाएको छ । पहिचानसहितको सङ्घियता, १० प्रदेश, जिल्लागत संरचनाको खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्राणाली, निःशुल्क स्वास्थ्य र शिक्षाको सुनिश्चिताको एजेण्डा प्रस्तुत गरेर मतदाता समक्ष सो पार्टी गएको छ । उक्त दलले मुलुकको महत्वपूर्ण सम्पत्ति हिमाल अरोहणका लागि खुला नगरी दृश्य अवलोकन मात्र गर्नुपर्छ भन्ने मान्यता राखेको छ ।  चुनाव चिह्न गैँती र पार्टी अध्यक्ष मानध्वज गुरुङ रहेको नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले क्रान्तिकारी भूमिसुधार, आम विद्युतीकरण र राष्ट्रिय औद्योगिकरणकमार्फत नयाँ जनवादी व्यवस्थाको मुद्दा लिएर यसपटक नौ उम्मेदवार मत माग्न जनताको घरदैलोमा पठाएको छ । पूर्ण समानुपातिक निर्वाचन, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुलुकमा व्याप्त भ्रष्टाचार रोक्ने एजेण्डासहित जनतासँग भोट मागिरहेको छ ।  चुनाव चिह्न त्रिशुल र अध्यक्ष देवप्रकाश त्रिपाठी रहनुभएको एकीकृत शक्ति नेपालले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ ३४ सिटमा उम्मेदवारी उठाएर राष्ट्रिय एकता बलियो तुल्याउन तथा आर्थिक बोझ घटाउन  दुई तहको सरकारको पक्षमा मतदान गर्न मतदातालाई आह्वान गरेको छ । जातीयवाद अवधारणाको अन्त्य, नेपालको विशिष्ट पहिचानका रुपमा रहेको तराई–पहाड जोड्न वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएको उक्त पार्टीले अभिभावकीय राज्यप्रणाली एवं हरेक नागरिकले आफनो संरक्षकत्वको अनुभूति गरेको महसुस गर्ने स्थायी संस्था आवश्यक रहेको जनाउँदै आएको छ । नेपाल दलित पार्टीले सबै खाले विभेद अन्त्य गर्न तथा नेपाल र नेपालीको स्वाभिमानलाई कायम राख्न मतदाता समक्ष आह्वान गर्दै प्रतिनिधिसभा सदस्यतर्फ ४७ सिटमा उम्मेदवारी दिएको छ । मेघबहादुर कामी अध्यक्ष रहेको उक्त पार्टीको चुनाव चिह्न गितार रहेको छ ।    अध्यक्ष सुशिलमान शेरचन र चुनाव चिह्न करुवा रहेको नेपाली कांग्रेस बिपीले संवैधानिक राजतन्त्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद कायम गर्न तथा अहिलेको मिश्रित निर्वाचन प्रणाली खारेजी र चुनावी स्वतन्त्र सरकार गठन हुनुपर्छ भन्ने मुद्दा लिएर निर्वाचनमा होमिएको छ । उक्त पार्टीले मुलुकका ३५ जिल्लाका दुवै निर्वाचन र दुवै तहमा गरी दुई सय ६८ जना उम्मेदवार बनाएको छ । डा इन्द्रबहादुर थापा मगर अध्यक्ष तथा चुनाव चिह्न लाटोकोशेरो रहेको नेश्नलिष्ट पिपल्स पार्टीले ३७ जिल्लामा एक सय सात उम्मेदवार खडा गरेको छ । नवपरिवर्तनीय प्रत्यक्ष जनतान्त्रिक शासन व्यवस्थाको वकालत गर्दै आएको उक्त पार्टी  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आलङ्कारिक राष्ट्रपति तथा दुरगामी असर पर्ने खालका प्रत्येक निर्णय जनमत सङ्ग्रहद्वारा टुङ्ग्याउनुपर्छ भन्ने मान्यतामा अडिग रहेको छ । चुनाव चिह्न गाग्रो तथा अध्यक्ष  रुक्मिणि चौधरी रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)ले विभेदपूर्ण संविधानका धारा र कानुन संशोधन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जातीय जनसङ्ख्याको आधारमा अधिकारको बाँडफाँडका मुद्दा लिएर निर्वाचनमा होमिएको छ । नेपाल सुशासन पार्टीले वर्तमान संविधान र निर्वाचन प्रणालीमा सुधार गर्दै राष्ट्र र जनहितका लागि इमान्दार भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । अध्यक्ष रमेश खरेल रहेको उक्त पार्टीले प्रतिनिधिसभामा ५५ र प्रदेशसभा सदस्यमा १३ उम्मेदवार खडा गरेको छ । पिछडा वर्गदेखि मसिहा पार्टीसम्मको चुनावी तयारी आगामी निर्वाचनमा तराई–मधेस लोकतान्त्रिक पार्टी नेपाल, नेपाल जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, पिछडा वर्ग निषद दलित जनजाति पार्टी, राष्ट्रिय सद्भावना पार्टी,  नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी, बहुजनशक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल र  इतिहासिक प्रजातन्त्र जनता पार्टी नेपालले पनि चुनावी घोषणापत्रका साथ मतदातासँग आफ्नो पक्षमा भोट मागिरहेका छन् ।  नेपाली जनता दलले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सामाजिक न्याय, सबैमा समान हकअधिकार कायम हुनुपर्छ भन्ने मुद्दा लिएर जनताको घरदैलोमा पुगेको छ । हरिचरण साह पार्टी अध्यक्ष रहेको उक्त दलले आफ्नो पार्टी विजयी भएमा रोजगारीका लागि लाखौँको सङ्ख्यामा विदेशीएका युवालाई स्वदेशमै रोजगारी दिलाउन प्रयत्न गर्ने जनाएको छ । उक्त दलले समानुपातिकतर्फ सात र प्रत्यक्षतर्फ सात उम्मेदवार उठाएको छ । देशभक्त लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, विवेकशील साझा पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), जनजागरण पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, सामाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी(समाजवादी) र  त्रिशुल पार्टीले पनि जनतालाई आफ्नो पक्षमा मत दिलाउन घरदैलो कार्यक्रम गरिरहेका छन् ।  आगामी निर्वाचनको तयारीका सिलसिलामा राष्ट्रवादी एकता पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल आमा पार्टी,  नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी, नेपाल सुशासन पार्टी र बहुजन समाजवादी पार्टी नेपालका उम्मेदवार पनि मतदातालाई आफ्नो चुनावी एजेण्डा बुझाउने अन्तिम तयारीमा जुटिरहेको पाइएको छ ।

  कैलालीः कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । शुक्रबार उहाँले विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत हुनुभयो । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का विद्यार्थीलाई नमूना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको हो ।    “हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ”, लक्ष्मणले भन्नुभयो, “निर्वाचनको मुखैमा भएको नमूना मतदानले हामीलाई निकै फाइदा गर्नेछ । कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत पारस शाही नमूना मतदानले घरमा अभिभावकलाई मतदानसम्बन्धी शिक्षा दिन सहयोग मिल्ने बताउनुहुन्छ । आउँदो निर्वाचनसम्म हामी पनि मतदान गर्ने उमेरको हुन्छौँ । अहिले सिकेको सीप भोलि काम लाग्छ । पारसले भन्नुभयो, “घरमा अभिभावकलाई पनि मतदान गर्न सिकाउने अवसर नमूना मतदानले दिएको छ ।” मेरिका ढुङ्गानाले मनोनयन दर्तादेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमूना मतदानले समुदायमा मतदान शिक्षा नपाएका नागरिकलाई सिकाउन सक्ने क्षमताको विकास भएको बताउनुहुन्छ । “अहिले निर्वाचनको समय छ । हामीले सिकेको ज्ञान आफ्ना लागिभन्दा अभिभावक र समुदायका लागि काम लाग्ने छ”, मेरिकाले भन्नुभयो, “सिकेको शिक्षा अभिभावकलाई र समुदायलाई भन्छौँ । जसका कारण अहिलेको निर्वाचनमा मत बदर घटाउन सहयोग पुग्छ ।”  कक्षा १० का विनोद जोशी नमूना मतदानमा मतदान अधिकृतको भूमिकामा रहनुभयो । मतदान अधिकृतले खेल्ने भूमिकाले आफूलाई निर्वाचनको महत्वका बारेमा सक्षम बनाएको उहाँको भनाइ छ । “पढेर सिकेको कुराभन्दा गरेर सिकेको कुरा सहज हुने रहेछ”, जोशीले भन्नुभयो, “हामीमा आमनिर्वाचनमा मतदातालाई शिक्षा दिन सक्ने क्षमताको विकास नमूना मतदानले भएको छ । आवश्यक परे समुदायका नागरिकलाई मतदान शिक्षा दिन सक्छौँ ।”   सो विद्यालयमा  कक्षा १० को  सामाजिक विषयमा भएको पाठ्यक्रमअनुसार नमूना मतदान प्रक्रिया सुरु गरिएको हो । निर्वाचनमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमूना मतदान पूरा गरेको विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो ।   “हप्ताको शुक्रबार हुने अतिरिक्त क्रियाकलापअन्तर्गत नमूना मतदान गरेका हौँ । यसले विद्यार्थीलाई निर्वाचन गर्दा पर्ने प्रक्रियाको बारेमा शिक्षा प्रदान गर्नेछ । घरमा निर्वाचनको समय भएको हुँदा अभिभावकलाई मतदान गर्न सिकाउने माध्यम पनि बन्न सक्छ”, प्रधानाध्यापक शर्मा भन्नुहुन्छ, “विद्यार्थीले पनि नमूना मतदानमा निकै उत्सुकता देखाएका छन् । विद्यार्थीलाई ज्ञानभन्दा घरमा अभिभावकलाई सिकाउने प्रतिक्रिया विद्यार्थीबाट पाएका छौँ ।”  उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानमा जोड दिइएको बताउनुभयो । “सैद्धान्तिक ज्ञानले भन्दा व्यावहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुनेभएकाले त्यसतर्फ बढी जोड दिएका छौँ”, प्रधानाध्यापक शर्माले भन्नुभयो, “त्यसैको एक उदाहरण हो नमूना मतदान पनि ।”

गलेश्वरः   उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ । पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताउनुभयो ।   व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ मा किनेका हुन् । दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको बताउनुभयो । यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिव रु दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिनुभयो ।   पाइजाले भन्नुभयो, “यस वर्ष नयाँ विरुवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमले उत्पादन बढेकोले गतवर्षको भन्दा बढी आम्दानी हुने आशा गरेका छौं ।” एक किसानले रु।५० हजारदेखि रु दुई लाख ३० हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तलाबजार पठाउन समूहले समन्वय गरेको थियो । कूल ५७ घरधुरीको यहाँ १५ हजार मध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ ।   परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान मिलन गर्बुजाले बताउनुभयो । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट दुई लाख भन्दा बढी आम्दानी भएको उहाँले बताउनुभयो ।सडक यातायातको सुविधा भएपछि बाँझो पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइको छ ।    दश वर्षअघि मिलन गर्बुजाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।   बेमौसममा सुन्तला बिक्री गर्न दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवन बनाइएको थियो । वैदेशिक रोजगार र खेती किसानीबाट धानिएको यहाँका बासिन्दाको जीवनस्तर पछिल्लो समय व्यावसायिक सुन्तला खेतीबाट सुध्रदै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।