काठमाडौं । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो । हाम्रो समाजमा गाईलाई माताका रूपमा पूजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको हो । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा प्राप्त गर्ने भएकाले दूध पोषिलो हुनाका साथै गहुँत र गोबरबाट पनि पनि शक्ति प्राप्त हुने भएकाले गाईको महत्वबारे आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैकारण गाईलाई राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षावन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधिएको हो ।
खोटाङ । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् । आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु बजारमा पाइने प्लास्टिकको कृत्रिम फूलको माला खरिद गर्न बाध्य बनेका छन् । कतिपयले त्यही कोपिला बन्दै गरेका फूललाई गुच्छा बनाएर आफ्ना माइती पुज्ने तयारी गरेका छन् । विगत वर्षहरुभन्दा यस वर्ष बढी फूलका बिरुवा रोपिए पनि उक्त फूलहरु नफुल्दा समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी स्थानीय बासिन्दा आस्था मगरले बताउनुभयो । “आमा र मलाई गरी झन्डै एक सय ५० फूलका माला चाहिन्छ । रोपिएका फूलहरु भर्खर कोपिला लाग्दै छन्”, उहाँले भन्नुभयो, “जसरी भएपछनि माइती त पुज्नै पर्यो ? विकल्प नभएपछि चुरी (जङ्गलमा पाइने फूलका रुपमा प्रयोग गरिने एक प्रकारको वनस्पति)को माला बनाइरहेकी छु ।” विगत वर्षहरुभन्दा यस वर्षको तिहार छिटो भएकाले पनि फूलको अभाव भएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी भूमिका न्यौपानेले बताउनुभयो । “हाम्रो क्षेत्र पर्याप्त फूल पाउने क्षेत्र हो । तर यस वर्षको तिहार विगतको भन्दा अगाडि छ”, उहाँले भन्नुभयो, “गाउँभरि कसैकामा पनि फूल फुलेका छैनन् । फूल नफुलेपछि अधिकांशले बजारमा पाइने कृत्रिम फूल खरिद गरेर माइती पुज्ने तयारी गरेका छन् ।” दस स्थानीय तह रहेको जिल्लामा लेकबेँसी कुनै पनि क्षेत्रमा यस वर्ष पर्याप्त मात्रा फूल नरहेको पाइएको छ । तिहारकै लागि भनेर व्यावसायिकरुपमा फूल खेती गर्दै आएका कृषकहरुसमेत आफूले रोपेका फूल नफुल्दा चिन्तित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले फूलमा आत्मनिर्भर बनाउन विभिन्न ठाउँमा गठन भएका स्थानीय आमा समूहलाई पुष्प व्यवसाय सञ्चालन गर्नका लागि गत वर्षबाटै अनुदान दिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा आमा समूहले सञ्चालन गरेका बगैँचामा समेत पर्याप्त मात्रामा फूल नफुलेको स्थानीय बासिन्दाले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले व्यावसायिकरुपमा लगाएका फूलसमेत पर्याप्त फुलेका छैनन् । जिल्लाका अन्य क्षेत्रमा लगाइएका फूल नफुलेपछि शुभम् फाउन्डेसनका विद्यार्थीले लगाएका बगैँचामा छिट्फुट फुल्दै गरेका फूल माग्नेको सङ्ख्या दैनिक सयजना भन्दा बढी रहेको फाउन्डेसनका निर्देशक सूर्यबहादुर राईले बताउनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा औपचारिक कार्यक्रमबाहेक व्यवसाय सञ्चालनका लागि अहिलेसम्म प्राकृतिक फूल खासै आयात हुने गरेको छैन । बाहिरबाट प्राकृतिक फूल आयात गरेर बिक्री गर्नका लागि जिल्लामा आवश्यक चिस्यान केन्द्र नभएका कारण नल्याइएको व्यवसायीहरु बताउँछन् । जिल्लामा प्राकृतिकरुपमा रोपिएका फूल नफुलेपछि स्वास्थ्यका लागि हानिकारक मानिएको प्लास्टिकको कृत्रिम फूलको मालाले यस वर्ष खोटाङमा राम्रो मूल्य पाएको व्यापारीहरुले बताएका छन् । यकिन तथ्याङ्क नभए पनि यस वर्ष जिल्लामा लाखौँको कृत्रिम फूल बिक्री भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । जिल्लाको मुख्य व्यापारिक केन्द्र दिक्तेल बजार, ऐँसेलुखर्क, बाक्सिला, पञ्चमी, खोटाङबजार, सिम्पानी लगायतका ठाउँमा कृत्रिम फूलले राम्रो बजार पाएको व्यापारीहरुले बताएका छन् । प्राकृतिक फूल अभावले जिल्लामा माइती पुज्नदेखि घर तथा कोठा सजाउनसमेत भारतबाट ल्याइएको प्लास्टिकको कृत्रिम फूलको माला नै खरिद गरेको पाइएको वाणिज्य सङ्घका अध्यक्ष राईले जानकारी दिनुभयो । पुष्प व्यवसाय सञ्चालन गर्नका लागि जिल्लाका सबै भूगोल उपयुक्त रहेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा उत्पादन गरिने फूल राजधानी काठमाडौँलगायत अन्य विभिन्न जिल्लाहरुमा निर्यात गरेर जिल्लाको आम्दानीको स्रोतसमेत बढाउन सकिने कृषिविज्ञले बताउँदै आएका छन् ।
पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेले आगामी मंसिर ४ गते हुने चुनाव केन्द्रित रहेर प्रचारप्रसारलाई तिव्र पारेको छ । सो क्षेत्रबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) र प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दकला नेपालीसहित एमाले नेता, कार्यकर्ता तथा एमाले निकट स्थानिय नागरिक स्वस्फूर्त रुपमा सहभागी भई नेकपा एमालेलाई जिताउनको लागि प्रचारप्रसारको कामलाईृ तिव्रता दिएका हुन् । सोमवार पोखरा १२ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवारद्धयले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको स्मरण गराउँदै प्रदेश तथा वडामा भएका विकासका कामहरु एमालकोे नेतृत्वमा भएको बताए । साथै, एमालेको सरकार रहदा प्रकृयामा रहेका कामहरु पूरा गरेर गठबन्धन सरकारले आफूले जस लिन खोजेको उनीहरुको आरोप छ । वडा नम्वर १२ का स्थानियले दीपावलीको खुसीयाली जस्तै एमाले पार्टीलाई बुहुमतले जिताएर पाँच वर्षसम्म नै खुसीयाली मनाउने विश्वास व्यक्त गरे ।
दाङ : घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको दमकलले आगो नियन्त्रण ल्याएको जानकारी दिनुभयो । महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिनुभयो । घटना विवरणसहित क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उहाँले बताउनुभयो । आगलागीबाट प्रारम्भिक रुपमा करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ । लक्ष्मी पूजा सकिएपछि सबै सुतेको समयमा एक्कासि आगो लागेको देखियो, कोठाभरि समान थिए बाहिर निकाल्न नपाउँदै सबै आगोले खरानी भयो । कामदारको पारिश्रमिक र छोराको फी तिर्न आफूसँग कोठामा राखेको नगद ७५ लाख र गल्ला बक्समा रहेको नगद पाँच लाखसहित सबै फर्निचर जलेको फर्निचर सञ्चालक रुपनारायण शर्माले बताउनुभयो ।
काठमाडौं : कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उहाँले सुनाउनुभयो । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नुहुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ । निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।। अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।। अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ । ग्रहण ‘स्वाती नक्षत्र र तुला राशिलाई अति कष्ट’ आजको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ । यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ । कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ । दिउँसो ४ स् ५२ बजेदेखि ग्रहणले स्पर्श गर्नेछ । ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब पौने ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । यही महिनाको २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
काठमाडौं : कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ । गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
ढोरपाटन । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र ¥याप गीत बज्न थालेका छन् । साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ । यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोकचोकमा देउसी, भैलो खेल्नेको भिड छ । तर उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न । बागलुङ बजारका ७८ वर्षे देवबहादुर श्रेष्ठ परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उहाँले भन्नुभयो, “अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैजडी बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु रु” आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उहाँको बुझाइ छ । “हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरुको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरु लोप भइरहेका छन्” उहाँले भन्नुभयो । स्थानीय ६५ वर्षीय भूदर्शप्रसाद श्रेष्ठले आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले रेकर्ड गरिएका गीतले मौलिक सोरठी, मारुनी, थाली, कौरा, सिरफुले, सालैजो जस्ता गीत र नृत्य ओझेलमा परेको बताउनुभयो । श्रेष्ठले विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने बताउनुहुन्छ । तर पछिल्ला वर्षमा पैसा सङ्कलन गर्नका लागि विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । “प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भवना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन”, श्रेष्ठले भन्नुभयो, “नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।” स्थानीय ३० वर्षीय लक्षु पुनमगरले मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने बताउनुभयो । उहाँले बुढापाका मौलिकताको खानी भएको भन्दै उनीहरुबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने बताउनुहुन्छ । पुनमगर भन्नुहुन्छ, “अग्रजलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरुमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकिरहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिका बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।” पुनले अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्नुहुन्छ । बढ्दो प्रविधिको विकासले गर्दा नयाँपुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउनुहुन्छ ।
पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचित भएपछि मुल्यवृद्वि नियन्त्रण आफ्नो मख्य प्राथमिकता रहेको एमाले उम्मद्वार मनवहादुर गुरुङले उद्घोष गरेका छन् । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रत्यासी उम्मेदवार गुरूङले पछिल्लो समय बढ्दै गएको वेरोजगारी समस्या र मुल्यवृद्विले जनता मारमा परेको बताउँदै यसलाई नियन्त्रण गर्ने आफ्नो मुख्य एजेण्डा भएको उल्लेख गरे । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा पोखरा २७ का मतदातासँग उनले भुमिहिन,गुठि लगायत स्थानियका समस्या समाधान गर्ने बताए । घरदैलो कार्यक्रममा कास्की क्षेत्र नम्वर १(क)का नेकपा एमालेको तर्फबाट प्रत्यासी उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई भोट हाल्न मतदाता आतुर भएको भन्दै नेकपा एमालेलाईलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गरे ।
चितवन । चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी सङ्घ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिनुभयो । मत्स्य व्यवसायी सङ्घको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतका सरोकारवालाको बसेको बैठकले माछाको आयात नगर्ने निर्णय गरेको हो । “हामीले चितवनलाई पुग्ने माछा उत्पादन गरिरहेका छौँ, भारतबाट आयात गर्नुपर्ने अवस्था छैन”, सुवेदीले भन्नुभयो, “भारतीय माछा बिक्री वितरणमा रोक लगाउन यहाँका सरोकारवाला पक्ष पनि सकारात्मक हुनुहुन्छ ।” चितवनमा वार्षिक सात हजार मेट्रिकटन माछा उत्पादन भइरहेको तर माग भने वार्षिक चार हजार मेट्रिकटन मात्रै रहेको उहाँको भनाइ छ । चितवनमा उत्पादन भएको माछा काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, बागलुङलगायतका सहरसम्म जान्छ । माछा व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले चितवन २ वर्षयता माछामा आत्मनिर्भर भएकाले भारतीय माछा बिक्रीमा रोक लगाइएको बताउनुभयो । चितवनका माछा किसान गत भदौ १ गतेदेखि भारतबाट भन्सार छली ल्याइएका माछालाई रोक लगाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए । माछा व्यापारीहरुले यसका लागि अर्थमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बु्झाएका थिए । हाल चितवनमा एक हजार पाँच सयभन्दा बढी किसानले सात हजार हेक्टर जलाशयमा माछा पालन गरिरहेका छन् । पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र माडी क्षेत्रमा बढी माछापालन हुने गरेको छ । चितवनबाट सुरु भएको भारतीय माछा प्रतिबन्धलाई बिस्तारै अन्य जिल्लामा पनि बिस्तार गरिने किसानहरुको भनाइ छ ।