कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसँग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसँग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेका छन् । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ’ लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँले नै हो’उनीहरुको भने । आमा समुहका भवन, विद्यालय निर्माण लगायतमा सहयोग गर्न पनि उनीहरुले उम्मेदवार समक्ष माग राखे । घरदैलोमा एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले एमालेको पक्षमा मत माग्दै देशको समृद्धीका लागि एमालेलाई जिताउन आग्रह गरे । चुनावी भेटघाट कार्यक्रमको संयोजन नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष विवेक देवकोटाले गरेका थिए । घरदैलो कार्यक्रममा समानुपातिक उम्मदेवार क्याप्टेन लालकाजी गुरुङ्ग, प्रदेश समानुपातिक उम्मेदवार देवका पहारी, पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य देवी सुवेदी, गण्डकी प्रदेश समिति सदस्य गौरी सुवेदी, निर्वाचन परिचालन संयोजक कर्ण गुरुङ्ग लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
ताप्लेजुङ । ग्रामीण क्षेत्रमा तीनदशक अघि घर छेउकै मकैको थाङ्ग्रोको आकारबाट व्यक्तिको आर्थिक हैसियत मापन हुन्थ्यो । गाउँ घरमा कमै मात्र देखिए पनि मकैको थाङ्ग्रोले आर्थिक हैसियत मापन गरेको पाइँदैन । पछिल्लो समय मकैको थाङ्ग्रो राख्ने परम्परा लोप हुँदै गएको छ । मुख्य गरी विवाहको लागि केटी माग्न जाँदा होस् वा छोरी दिँदा, केटाको पक्षको आर्थिक हैसियत मकैको थाङ्ग्रोबाट मापन गरिन्थ्यो तर अहिले त्यसको ठीक उल्टो भएको छ । आर्थिक हैसियत मापन गर्ने विधि नयाँ आएको छ । यसको ठूलो मकैको थाङ्ग्रो त्यस घर धनी मानिन्थ्यो । अनि विवाहको तयारी सुरु हुन्थ्यो । अहिले विवाहको लागि केटी माग्न जाँदा केटाको पढाइ र पेसाको बारेमा सोधिन्छ र अनि मात्र विवाहको फैसाल गर्न थालिएको फुङ्लिङ नगरपालिका–३ केनेम गाउँका ८१ वर्षीय भगिरथ भट्टराईले बताउनुभयो । “हामीले छोराछोरीको विवाह गर्दा पनि मकैको थाङ्ग्रो हेरेर विवाह गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिले नाती नातिनाको बिहे गर्दा पेसा, पढाइ सोध्न थालिएको छ । जसले पढेको छैन । विदेश गएको छैन । उसको बिहे नै नहुने जस्तो भएको छ ।” विगतमा मकैको थाङ्ग्रो भनेको जो कुनै घर परिवारको आर्थिक हैसियत पत्ता लगाउने माध्यम भएकाले जसको ठूलो थाङ्ग्रो छ । उसको धेरै जग्गा जमिन भएको धनी व्यक्ति मान्ने परम्परा रहेको भट्टराईले बताउनुभयो । अहिले समय परिवर्तन भएको छ । पहाडी क्षेत्रमा अझै पनि मकै भण्डारण गर्न आगनमा थाङ्ग्रो राख्न परम्परा लोप हुँदै गएको छ । प्रमुख खाद्यन्न बाली मानिने मकै ताप्लेजुङको पहाडी क्षेत्रमा सिँचाइ सुविधा नभएको धेरै जसो ठाउँमा मकै खेती गरिन्छ । विगतका वर्षहरुमा पहाडी क्षेत्रका प्रायः प्रत्येक किसानका घर आँगनमा अग्लो थाङ्ग्रो देखिन्थ्यो । विगतमा कति कोठाको मकैको थाङ्ग्रो लगाएको छ त्यो देख्न बित्तिकै परिवारको मेहनती, आर्थिक तथा सामाजिकरुपमा अवल परिवार मान्ने परम्परा रहेको पाथीभरा याङवरक गाउँपालिका–१ खेमराज गुरुङले बताउनुभयो । आँगनमा बाँस अथवा काठको माच बनाएर खोसेलासहितको मकैका घोगालाई मिलाएर राखेको थाङ्ग्रो भनिन्छ । फक्ताङलुङ गाउँपालिका–६ सन्तकुमार लिम्बूले भन्नुभयो, “पहिला पहिला बाबुबाजेले मकैकै थाङ्ग्रा देखाएर विवाह गर्नुभयो रे अहिले मकैको थाङ्ग्रो देखाएर छोरा नातिको बिहे हुँदैन । अहिले मकै खेती गर्न छोडदै गएको लिम्बूले बताउनुभयो । खासमा मकैलाई थाङ्ग्रो बनाएर राख्दा घामले चाँडै सुक्ने, धुनपुतली, मुसा नलाग्ने बैज्ञानिक कारण भएकाले थाङ्ग्रो लगाउने परम्परा रहेको छ । गाउँभरि देखिने मकैको थाङ्ग्रोले सुन्दरता दिएको हुन्छ । वर्षभरिका लागि अन्नको जोहो गरेको सङ्केत पनि प्रष्ट पाइन्छ । कसैका थाङ्ग्रो ठूला छन् त कसैका साना । कुनै समय थाङ्ग्रोको आकारले समाजमा आर्थिक हैसियत निर्धारण गर्दथ्यो । बिहावारीको फैसाला गर्ने एउटा माध्यम मकैको थाङ्ग्रो पनि एक भएको स्थानीयको भनाइ रहेको छ । थाङ्ग्रो बनाएर मकै भण्डारण गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने यकिन जानकारी नभए पनि पूर्वी पहाडी जिल्लामा धेरै वर्षअघिबाट मकै खेती सुरु भएको इतिहास पाइन्छ । थाङ्ग्रो बनाएर राखेको मकै सुकेपछि जातोमा पिसेर च्याख्ला बनाई खाने र भुटेर खाजा खाने चलन छ । त्यही भएकाले सुरक्षित राख्न र बीउको संरक्षण गर्न थाङ्ग्रो बनाउने प्रचलन कायम छ तर त्यही थाङ्ग्रो आर्थिक हैसियत मापन गर्नेमध्ये अहिले पाइँदैन । जिल्लामा मकै बालीतर्फ चालु आवमा ५७ हजार नौ सय ८८ मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो । मकै १६ हजार एक सय ९८ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । गत वर्ष सोही क्षेत्रफल बराबरको खेतीबाट ५८ हजार तीन सय १२ मेट्रिक टन मकै उत्पादन भएको थियो ।
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधासम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरु खुसी भएको यात्रुहरुको भनाइ छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालनमा ल्याएको उक्त बससेवा शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले यसबाट जिल्लादेखि दिल्लीसम्म पुग्ने यात्रुहरूका लागि सहज भएको बताउनुभयो । सन्धिखर्कदेखि गोरुसिङ्गे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्लीसम्म बस पुग्नेछ । सन्धिखर्कबाट झन्डै नौ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ । बसमा ३६ सिट, दुई चालक, दुई परिचालक रहने र बसको भाडादर रु तीन हजार दुई सय पर्छ । तत्कालका लागि हप्ताको तीन दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने उक्त प्रालिका अर्घाखाँची शाखाप्रमुख कमलप्रसाद भट्टराईले बताउनुभयो । सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि बस छुट्नेछ । काठमाडौँमा एसी बस सञ्चालन गर्दै आएका यातायात व्यवसायीले मोटरबाटोको सहजतासँगै यातायात सेवा विस्तार गरेको प्रालिका रुट सल्लाहकार भानुभक्त भुसालले बताउनुभयो । उक्त कार्यक्रममा उपभोक्ता हिस संरक्षण मञ्चका अध्यक्ष सहयोगी विसी, पत्रकार महासङ्घका प्रदेश सदस्य प्रेमनारायण आचार्य,, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठ, उक्त प्रालिका सञ्चालक सुरेन्द्र श्रेष्ठलगायतले बस सेवा सञ्चालनले यात्रुहरुलाई सुविधा पुगेको जानकारी दिनुभयो ।
नवलपुर : नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने तयारीमा हुनुहुन्छ । मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न देख्नुभएका उहाँलाई युवा विदेश पलायन रोक्ने योजना भइदिए हुन्थ्यो भन्ने लागेको छ । दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् युवालाई स्वदेशमै राख्ने खालको वातावरण बनिदिए हुने थियो उहाँले भन्नुभयो । “मजस्तै धेरै युवा विदेश पलाएन भइरहेका छन्, स्वदेशमा रोजगारीको अवसर भए सायद विदेश जाने थिएनन् होला, राजनीतिक दलले युवालाई देशमै राख्ने वातावरण बनाए हुने थियो”, उहाँले भन्नुभयो, “पहिलोपटक भोट दिने तयारीमा छु, आशा छ जित्नेले युवाका विषयमा केही सोचून्, भोट दिएपछि कामका लागि विदेश जान नपरोस् ।” राजनीतिक दलहरूले विकासका योजनाअघि सारे रोजगारीका अवसरसमेत सँगै आउने हुँदा यसतर्फ ध्यान दिनुपर्ने पहिलोपटक मत दिन तयार हुप्सेकोट–४, शङ्खदेवका युवा दिलीप चापागाईंको भनाइ छ । “रोजगारमूलक योजनाअघि सारी युवालाई उत्पादनमा प्रयोग गर्नसके देशको विकास पनि हुने थियो, युवा रोजगारमा जोडिने थिए”, उहाँले भन्नुभयो, “बजेटको उचित सदुपयोग हुने खालका काम भइदिए हुन्थ्यो भन्ने लाग्छ ।” “मेरो भोटले युवालाई उद्यमशीलतासँग जोड्ने सुनिश्चिता गरोस्, विदेशका खाडीमा पसिना बगाएका स्वदेशमै फर्किएर श्रम गर्ने वातावरण तयार होस् भन्ने लागेको छ”, पहिलोपटक मत दिन तयार कावासोती–६, कि मनिषा पौडेलले भन्नुभयो, “स्वदेशमै अवसर छन्, देश विकासको गतिमा छ, सुशासन कायम छ भन्ने बनोस् ।” राजनीतिक दलले युवाका लागि विस्तृत योजना ल्याउन भने नसकेको उहाँको धारणा छ । “रोजगार सिर्जना गर्ने, युवालाई उत्पादनमा जोड्ने भन्ने प्रतिबद्धता त देखिन्छ तर त्यसको लागि के गर्ने, कस्ता कार्यक्रमले युवालाई जोड्ने भन्ने कमै हुन्छन्, स्पष्ट योजना आवश्यक छ”, उहाँले भन्नुभयो । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिकसमेत गरिरहेका छन् । उम्मेदवारले जिल्लामा औद्योगिक क्षेत्रको स्थापना जोड दिँदै युवालाई रोजगारसँग जोड्ने बताउँदै आएका छन् । कृषि उत्पादनमा युवालाई जोड्ने कतिपय उम्मेदवारले बताइरहँदा स्पष्ट खाका नहुँदा चुनावी नारा मात्रै हो कि भन्ने आशङ्का लागेको स्थानीय युवा राम भुसालले बताउनुभयो । आठ पालिका र ९२ वडा रहेको नवलपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । कूल मतदातामध्ये पुरुष एक लाख २४ हजार तीन सय ३६, महिला एक लाख ३६ हजार एक सय २१ र अन्य चार जना रहेका छन् । निर्वाचन क्षेत्रअनुसार प्रतिनिधिसभा–१, मा एक लाख ३१ हजार एक सय ८१ र दुईतर्फ एक लाख २९ हजार दुई सय ८० मतदाता रहेका छन् । वैशाखमा सम्पन्न निर्वाचनपछि नवलपुरमा पाँच हजार आठ सय ४६ नयाँ मतदाता थपिएका छन् । यसमा केही बसाइँसराइपछि आएका छन् । कतिपय नयाँ मतदाताका रुपमा युवा थपिएका छन् । युवाको चाहना युवालाई रोजगारसँग जोड्नुपर्ने रहेका छन् ।
काठमाडौं । क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पार्नुभएको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ । मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बनाइएको सो वृत्तचित्रले यसअघि पनि विभिन्न फिल्म फेस्टिबलमा अवार्ड पाएको थियो । क्यानाडाको अल्बेटामा जारी फिल्म फेस्टिबलमा महत्वपूर्ण अवार्ड जित्न सफल भएको सञ्चारकर्मी एवं छायाँकार कल्पितले जानकारी दिनुभयो । उक्त फेस्टिबल अक्टोबर २९ देखि आजसम्म जारी छ । यसअघि सो वृत्तचित्रले सिपोन्टम आर्टहाउस इन्टरनेसनल फिल्म फेस्टिबलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिबलमा छनोटमा परेको यो डकुमेन्ट्रीले काठमाडौँ माउण्टेन फिल्म फेस्टिबल (किम्फ)मा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो । यस्तै, इसीमोड माउन्टेन फिल्ममा उत्कृष्ट वृत्तचित्रको उपाधि प्राप्त गरेको थियो । इण्डियन फिल्म फेस्टिबल अफ मेलबर्नको छनोटमा परेको सो वृत्तचित्रले द भिजन फिस्ट फिल्म फेस्टिबलमा समेत त्यसले महत्वपूर्ण स्थान हासिल गरेको थियो । कूल १४ मिनेट लामो यो डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल एनिमल फ्याबुला, वनअर्थ अवार्ड, कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिबलमा छनोटमा परेको थियो । निर्देशक कल्पितका अनुसार २०७७ असारमा मेलम्चीमा रिपोर्टिङमा जाने क्रममा जाँदा यो वृत्तचित्र खिच्नुभएको थियो । “बाढीबाट आहत भएका स्थानीयवासीको समाचार सङ्कलन गर्न मेलम्ची पुग्दा त्यहाँ स्थानीयवासीले प्रेसको गाडीलाई रोकेका थिए । बुझ्दा खेरी बाढीमा बगाएर आएको भैँसीलाई बचाउनेले रु एक लाख मागेको देखेँ”, उहाँले भन्नुभयो, “त्यही भैँसीको मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै हुनुहुन्थ्यो । त्यो देखेर मैले त्यसै भिडियो खिच्न थालेँ । त्यतिबेला डकुमेन्ट्री बनाउने पनि सोचेको थिइनँ ।” वृत्तचित्र नै बनाउने नसोचेको भए पनि हाल देश विदेशमा उक्त वृत्तचित्रले राम्रै चर्चा परिचर्चा पाएको र नेपालको नाम समेत राखेको कल्पितको भनाइ छ । भैँसी जोगाउनका लागि स्थानीयवासी भीमसेन माझीले रु एक लाख मागिरहेका थिए । होमानसिंहसँग त्यत्रो पैसा थिएन । यही विषयलाई वृत्तचित्रमा समावेश गरिएको छ । छयालिस वर्षदेखि विभिन्न फिल्म फेस्टिबल आयोजना गर्दै आएको बान्फ फिल्म फेस्टिबलमा उक्त वृत्तचित्र चयन हुनु नै नेपाल र नेपाली चलचित्र उद्योगका लागि खुसीको कुरा भएको कल्पितको भनाइ छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि यसले महत्वपूर्ण योगदान दिने उहाँको भनाइ छ ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४३ दशमलव २० अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ३६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव शून्य नौ अङ्कले उकालो लागेर तीन सय ८७ दशमलव ५२ मा पुगेको छ । कूल दुई सय २८ कम्पनीको ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर रु एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज सामूहिक लगानी कोषबाहेक १२ वटा उपसमूहको शेयर मूल्य उकालो लागेको छ । लघुवित्त, उत्पादन, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयर मूल्यमा अत्यधिक वृद्धि भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २६ अर्ब ९३ करोड ७८ लाख ५८ हजार आठ सय १० बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेष्डो समृद्धि लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १४ लाख ९६ हजार छ सय ८६ बराबरको कारोबार भयो । यस्तै, एभरेष्ट बैंक रु सात करोड नौ लाख एक हजार एक सय ७५, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ७५ लाख ४८ हजार एक सय ८६, जाल्पा सामुदायिक लघुवित्त रु पाँच करोड ६६ लाख २५ हजार नौ सय १९ र हिमालयन डिस्टिलरी रु चार करोड ४७ लाख २५ हजार नौ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीहरूमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्धि लघुवित्त र उपकार लघुवित्त छन् । त्यस्तै, उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले नौ दशमलव ९१ प्रतिशतले कमाएका छन् । त्यस्तै, नबिल इक्विटी फण्ड दुई दशमलव ४८, आरबीबी म्युचुअल फण्ड पहिलो दुई दशमलव ४०, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र एक दशमलव ९९, एभरेष्ट बैंक एक दशमलव ९६ र नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ । आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गर्नुभयो । “अहिलेको सरकार गठबन्धनको सरकार हो”, उहाँले भन्नुुभयो, “गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।” वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उहाँको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो । “संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले”, देउवाले भन्नुभयो, “संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ ।” डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफूू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्रिमधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने जानकारी दिनुभयो । “पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ”, उहाँले भन्नुभयो, “त्यहाँ सम्भाव्यता अध्ययन गर्छौैं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भएपनि बनाउनेछु ।” उहाँले माओवादी नेता भट्ट यहाँबाट निर्वाचन जिते यही गठबन्धन कायम रहे सुदूरपश्चिमको मुख्यमन्त्री बन्नसक्ने धारणा राख्नुभयो । त्यसैगरी कार्यक्रममा प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले मुलुुकका हरेक काममा महिलाको प्रतिनिधित्व बढिरहेको बताउनुभयो । “संविधान रक्षाका लागि हामी अहिले चुनावी मैदानमा छौँ”, उहाँले भन्नुभयो, “संविधान बने पनि धेरै काम गर्न बाँकी छ, यो गठबन्धनले जित्न आवश्यक छ ।” कार्यक्रममा गठबन्धनका डडेल्धुरा प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी नेता खगराज भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य निरा जैरु लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
पोखरा । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा नं–६ बैदामले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि टोल तहसम्म प्रचार प्रसारका लागि २० वटा उपसमिति गठन गरेको छ । पार्टीको प्रचार प्रसार समितिको शनिबार बसेको पहिलो बैठकले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सो समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी गराउन आयोजना गरिएको भेटघाट कार्यक्रममा उपलब्ध गराइएको विवरणमा इकाई सभापति सन्तोष पौडेलको संयोजकत्वमा ५ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन वडामा रहेका सम्पूर्ण भातृ तथा सुभेच्छुक संस्थाले पनि आफ्ना सबै तहका संरचनामा प्रचार प्रसार समिति गठन गर्ने निर्णय समेत गरेको सभापति पौडेलले जानकारी दिनुभयो। त्यसैगरी उपसमितिको संयोजकत्वहरुमा बलराम गिरी निर्वाचन समन्वय एवं परिचालन समिति,तेज नारायण पराजुली अनुशासन समन्वय एवं परिचालन समिति, लक्ष्मण पहारी अनुगमन तथा सुपरिवेक्षक समन्वय एवं परिचालन समिति, तारानाथ पहारी पर्यटन समन्वय एवं परिचालन समिति, गणेश पहारी मिडिया समन्वय एवं परिचालन समिति, मन्धरा ढकाल महिला समन्वय एवं परिचालन समिति, सविना तिमिल्सीना सामाजिक सञ्जाल प्रचार प्रसार समन्वय एवं परिचालन समिति संयोजक रहनुभएको छ । यसैगरी अनिल पहारी युवा समन्वय एवं परिचालन समिति ,हरिश्चन्द्र पहारी, आर्थिक समन्वय एवं परिचालन समिति, निराजन श्रेष्ठ जनजाति समन्वय एवं परिचालन समिति, बिर बहादुर सुनार दलित समन्वय एवं परिचालन समिति, नेत्रपाणी न्यौपाने जेष्ठ नागरिक समन्वय एवं परिचालन समिति, राम बहादुर लामिछाने खेलकुद तथा खेलाडी समन्वय एवं परिचालन समिति, ई. सन्तोष जि.सी संघ संस्था एव डा.ई. समन्वय एवं परिचालन समितिमा हुनुहुन्छ । बैठकले रेनु थापा मगर महिला पर्यटन समन्वय एवं परिचालन समिति, प्रभा सुवेदी उद्योग वाणिज्य संघ समन्वय एवं परिचालन समिति, विष्णु पहारी नेपाल विद्यार्थी संघ समन्वय एवं परिचालन समिति, महेन्द्र पहारी नेपाल तरुण दल समन्वय एवं परिचालन समिति, प्रकाश न्यौपाने संगठन तथा सचिवालय समन्वय एवं परिचालन समिति, चेत नारायण पाण्डे स्वास्थ्य तथा आकस्मिक सेवा समन्वय एवं परिचालन समिति र रविन्द्र कुँवर घरदैलो तथा कोण सभा समन्वय तथा परिचालन समितिमा रहनुभयो । पार्टीको निर्देशन अन्तरगत निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको इकाई सचिब प्रकास न्यौपाने जानकारी दिनुभयो ।
पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा स्थानीय आवश्यकता अनुसारका समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन क्षेत्र अन्तरगत पोखरा २१ दम्सादीमा आयोजित कोणसभामा बोल्दै लामिछानेले आफुले विगतमा गरेका कामले नै आफ्नो परिचय दिएको बताउँदै आफुले गरेका प्रतिवद्धता पुरा गर्ने विश्वास दिलाए । नेपालको संविधानले सम्बृद्धिको परिकल्पना गरेको स्मरण गराउँदै लामिछानेले आफु संविधानमा लेखेको हक पूरा गर्न आएको बताए । ‘हिजो संविधान कार्यान्वयन हुन नदिने भएर गठबन्धन भएको हो । विगतमा यहाँबाट नेतृत्व गर्नेले चासो नदिएको कारण राम्रो बिकास हुन नसकेको म बिकास निर्माणका योजना लिएर आएको हुँ ।’ उनले भने । गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बने मात्र जनताको समस्या बुझेर बिकासको काम हुने उनले बताए । ३ तहमा नै गठबन्धन सरकार भए काम गर्न सजिलो हुने लामिछानेको भनाई थियो । ‘चक्रपथ बनाउने मेरो पहिलो योजना हो । दम्सादी झोलुङ्गे पुल संरक्षण गर्न पहल गर्नेछु । यो पुल सबैको हो म निर्वाचित भए पनि नभए पनि बनाउन पहल गर्ने छु । किसानलाई सिचाइको व्यवस्था खानेपानीको व्यवस्था गर्ने छु । जनताको मालिक हैन सेवक हुँ । मलाई सेवक बनाउन तपाईंहरुको हात छ ।’ उनले भने कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्की जिल्ला उपाध्यक्ष झपेन्द्रराज रेग्मीले एमालेमा निति विचार सिद्धान्त केही पनि नभएको कारण गठबन्धन भएको बताए । उनले विश्वप्रकाशले ईतिहासमा पनि धेरै काम गरेको भन्दै यस क्षेत्रको विकासको लागि विश्वको विकल्पन नभएको दावी गरे । नेपाली काँग्रेस प्रदेश महादिवेशन प्रतिनिधि रघु पराजुलीले यस क्षेत्रमा सिंचाइ र खानेपानीको समस्या रहेको स्मरण गराउँदै जनताका आधारभुत आवश्यकता पुरा गर्ने नेतालाई निर्वाचित गर्न आव्हान गरे । विकास निर्माणका सन्दर्भमा जनता एकजुट हुनुपर्ने भन्दै पराजुलीले दम्सादी क्षेत्र पोखराको कर्णाली जस्तो भएको बताए । उनले अहिले प्रतिगमनको बिरुद्ध गठबन्धन भएको बताए । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रचारप्रसार संयोक केशर निर्देशी स्थानीय युवराज आचार्य लगायतले यो क्षेत्र महानगरपालिका भित्रै रहे पनि अति बिकट रहेकोले यस क्षेत्रको विकासमा प्राथमिकता दिन उम्मेदवार र निर्वाचन अभियान टोलीलाई आग्रह गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस पोखरा २१ का सभापछि केवल गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।