काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश ल...

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलब ४९ मा उक्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८८ अङ्कले बढेर तीन सय ६५ दशमलब ९३ मा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर रु ५१ करोड ६८ लाख तीन हजार चार सय ८४ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । यस्तै, ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । निर्जीवन बीमा उपसमूहको शेयर मूल्यमा राम्रै वृद्धि भएको छ । कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड १६ लाख ३२ हजार नौ सय ९७ बराबरको कारोबार भयो ।  त्यस्तै, नवील बैंक रु तीन करोड ३८ लाख ८० हजार एक सय एक, नेपाल बैंक रु तीन करोड २० लाख १८ हजार सात सय ७०, एनआइसी एशिया बैंकको संस्थापक शेयर रु दुई करोड २९ लाख ५० हजार आठ सय सात र गरिमा विकास बैंकको रु एक करोड ५१ लाख ११ हजार सात सय ३७ बराबरको कारोबार भयो । नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जनउत्थान सामुदायिक लघुवित्त चार दशमलब १५ र किसान लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य चार प्रतिशतले कमाएका छन् । त्यस्तै, सिटिजन म्युचुअल फण्ड दोस्रो नौ दशमलब ५५, अभियान लघुवित्त सात दशमलब ६०, माहुली लघुवित्त चार दशमलब शून्य तीन, वेस्ट फाइनान्स तीन दशमलब १८ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलब शून्य तीन प्रतिशतले गुमाएका छन् ।

  बागलुङ । बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।      अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ । ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो ।     यो सडकको २०६३ सालमा ट्र्याक खुलेको थियो । सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो । सडक स्तरोन्नतिका लागि जागृति निर्माण सेवाले रु एक करोड ६३ लाखमा जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङको सवइञ्जिनीयर विजय शर्माले जानकारी दिनुभयो ।      निर्माण कम्पनीले सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेरे काम थालेको उहाँको भनाइ छ । अहिलेदेखि नै काम सुरु भएको भन्दै इञ्जिनीयर शर्माले माघ महिनासम्म स्तरोन्नतिको कार्य सम्पन्न हुने बताउनुहुन्छ ।          “सडक स्तरोन्नतिका लागि सम्झौता भएर काम सुरु भएको छ, निर्माण कम्पनीले तीव्ररुपमा काम गरेको छ, माघ महिनासम्म सक्नेगरी सम्झौता भएको छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “ग्रामीण सडक हो, अलिकति अप्ठ्यारो पनि रहेछ, निर्माण कम्पनीले रु एक करोड ६३ लाखमा सम्झौता गरेको छ, माघमै काम सक्छौँ भनेको छ ।”     उहाँले यसपटक सडकलाई नौ मिटर चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गरिने बताउनुभयो । सडकको केही खण्डमा निकै अप्ठ्यारो रहेको भन्दै पुरानो रुट परिवर्तन गरी नयाँ खोल्नुपर्ने भएको उहाँको भनाइ छ । अहिले तीन किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी रहेको बताउनुभयो ।     “सडक निकै साँघुरो छ, यसलाई नौ मिटर चौडा गर्नु पर्नेछ, सडक तलदेखि वाल उठाउने र नाली निर्माण पनि हुने, केही ठाउँ निकै अप्ठ्यारो भएको हुँदा ५०० मिटरजति सडकको रुट नै परिवर्तन गरेर नयाँ खोल्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो ।     यो सडक स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–७ मल्मकी स्थानीय ललिता थापाले बताउनुभयो । सडक निकै साँघुरो र खाल्डाखुल्डी रहेको हुँदा दुर्घटनाको जोखिमसमेत बढेको उहाँको भनाइ छ । स्तरोन्नति यात्रा र सामान ढुवानी गर्न सहज हुने बताउनुहुन्छ ।     “यो सडक खुलेको धेरै वर्ष भयो अहिलेसम्म साँघुरो छ, स्तरोन्नति हुन सकेको थिएन, अब हुन्छभन्दा निकै खुसी लागेको छ, सडक भरी खाल्डाखुल्डी छन्, साँघुरोसमेत रहेको हुँदा दुर्घटनाको जोखिम निकै थियो”, थापाले भन्नुभयो, “अब यात्रा गर्न सजिलो हुने भयो, सडक देख्दा गाडीमा यात्रा गर्न पनि डर हुन्थ्यो, अब सरर हुने भयो ।”     थापाले असारदेखि असोजसम्म सडक अवरुद्ध हुने गरेको भन्दै अब बाह्रै महिना सञ्चालन हुने अपेक्षा गर्नुभयो । बर्खामा गाडी नचल्दा गाउँलेले सामान बोकेर उपभोग गर्नुपरेको बताउनुभयो । अब यो समस्याको समाधान हुने थापाको भनाइ छ । “यो वर्ष पनि असारदेखि बन्द भएको सडक दसैँ अगाडि मात्रै खुलेको हो, यो सडक खुलेदेखि अहिलेसम्म बाह्रै महिना गाडी चलेको छैन”, थापाले भन्नुभयो ।

  नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका– ९ की पुतली कुमाल ७५ वर्ष पुग्नुभयो । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उहाँ पीडित हुनुहुन्छ ।  स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि पुतली कुमाल खुसी हुनुभएको छ । स्वास्थ्यकर्मीले घरमै आएर रक्तचाप, मधुमेह, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । मध्यविन्दु नगरपालिका–९ कै ७८ वर्षीय रोशन सिंहलाई पनि रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उहाँलाई समस्या थियो । गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उहाँ पनि खुसी हुनुभएको छ ।  मध्यविन्दु नगरपालिकाले चालू आर्थिक वर्षको नीतिकार्यक्रममा समावेश गरेको को ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत नगरभित्रका १५ वटै वडामा गत साउनदेखि सञ्चालन गरेको छ ।  मध्यविन्दु नगरपालिकामा चालू आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनाको २० गतेदेखि २४ गते सम्म स्वास्थ्यकर्मी घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।  स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकको मासिक स्वास्थ्यअवस्थाको अभिलेख राखिने गरिएको छ भने आवश्यक परामर्श प्रदान गर्ने गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताउनुभयो । “घर–घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीनसय ज्येष्ठ नागरिकले लाभ लिनुभएको छ”, स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले भन्नुभयो, “अशक्त, अपाङ्गता, दीर्घ रोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरीकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ । ” भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।  जनताकाबीचमा गरिएको प्रतिबद्धता अनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्यपरीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले पहिलो चरणमा उहाँहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्यचौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँं ।” पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्यअवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायतका आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको थियो । सबै लाभग्राहीको छुट्टछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ ।    प्रत्यैक ६÷६ महिनामा विशेषज्ञ चिकित्सकसहित घर–घरमा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । घर घरमा ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षणमा खटिने स्वास्थ्यकर्मिलाई विशेष प्रोत्साहान भत्तासमेत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताउनुभयो । 

  पाल्पा । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् ।  रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गर्नुभएका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गर्नुभएको छ । “तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्री गर्न भ्याइनभ्याई छ”, उहाँले भन्नुभयो । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । यसपटक तिहारमा मात्रै करिब रु दुई लाख ५० हजार बराबरको फूल बिक्री गर्ने उहाँको अनुमान छ ।  प्रतिमाला रु एक सय, प्रतिकिलो फूल रु पाँच सयमा धमाधम घरबाटै बिक्री भइरहेको छ । पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यालयमा दीपावलीको शुभकामना आदान–प्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनुअघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् ।  गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मात्रै करिब रु एक लाख ५० हजार बराबरको फूल बिक्री गर्नुभयो भने सङ्घ र प्रदेश तहको निर्वाचनको उम्मेदवारी दर्ता, प्रचार–प्रसार तथा स्थानीयस्तरमा हुने विभिन्न कार्यक्रममा गरी दसैँयता मात्रै करिब रु ५० हजार बराबरको फूलमाला बिक्री गरेको उहाँ बताउनुहुन्छ ।  “फूलखेती सुरु गरेपछि मेरो पहिचान नै फेरिएको छ, पहिला घरपरिवार, आफन्तबाहेक कसैले चिन्दैनथे”, उहाँले भन्नुभयो, “करिब एक दशक विदेश बसेर गाउँ फर्केरलगत्तै फूलखेती गरेपछि सबैले राम्रोसँग चिन्नुहुन्छ, समाजमा नाम र दाम दुवै पाएपछि धेरै सन्तुष्टि छु ।” फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । दिलबहादुरलाई यस व्यवसायमा श्रीमती सुकमाया थापाले सघाउँदै आउनुभएको छ । घर अगाडिको खेतभरि पहेँलै फुलेका फूलको दृश्यले घरको वातावरणमा सौन्दर्यता थपेको बताउनुहुन्छ, सुकमाया थापा । गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ । हाइब्रिड जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फुल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री खेतीका अलवा लोपोन्मुख मखमली फूलको खेती गर्ने दिलबहादुरले योजना बनाउनुभएको छ । यसै वर्ष मखमली लगाउने सोच बनाए पनि बीउ समयमा उपलब्ध नहुँदा सयपत्रीमात्रै लगाउनुभएको छ ।  यहाँ ढकमक्क फुलेका फूलले सबैको मन लोभ्याएको छ । टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिकादेखि युवायुवती, वयस्क उमेरसम्मका पुग्ने गर्दछन् । गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिनुभएको छ । सो तालिमले व्यवसायमा धेरै सहज भएको उहाँले बताउनुभयो ।  फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान, सीप पाएपछि नयाँ ढङ्गबाट खेती गर्नुभएको छ । करिब पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ ।

  नुवाकोट । नुवाकोट र रसुवाका पशुचौपाय तथा पंक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो । त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख (पशु विकास अधिकृत) भरत पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार तथ्याङ्क सङ्कलनका लागि आवश्यक तालिम र सामग्री दिएर तोकिएको मापदण्डअनुसार विवरण लिन गाउँ तथा नगरपालिका तोकेर पशु सेवा प्राविधिकलाई खटाइएको छ । “राज्य पुनःसंरचनापछि प्रदेश सरकार स्थापना भएसँगै रुपान्तरित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग जिल्लामा रहेका पशुचौपायको विवरण नभएकाले लगत सङ्कलन गर्न लागिएको हो ।” उहाँले भन्नुभयो, “अभियानमार्फत दुई जिल्लाको पालिकागतरूपमा घरपालुवा पशुचौपाय र पक्षीको सङ्ख्या, जात, उमेर, लगानीसहितको विवरण खोज्न लागिएको छ ।” साविक जिल्ला पशु सेवा कार्यालयले हरेक आर्थिक वर्षमा पशुचौपाय तथा पक्षीको लगत सङ्कलन र अद्यावधिक गर्ने गरेको थियो । प्रदेश सरकारको स्थापनापछि पहिलोपटक तथ्याङ्क सङ्कलन गर्न लागिएकाले यथार्थ विवरण सङ्कलन गर्न खटिएका सङ्कलकलाई केन्द्र प्रमुख पाण्डेले निर्देशन दिनुभयो । उहाँका अनुसार सङ्कलन गर्न लागेको विवरणबाट नुवाकोट र रसुवामा पालन गरिएका पशुचौपाय तथा पक्षीसँग सम्बन्धित योजना तर्जुमा गर्न, रोग फैलिएमा नियन्त्रण गर्न, पकेट क्षेत्र घोषणा गर्न, व्यावसायिक पशुपालनको वस्तुस्थितिसहित त्यसमा किसानको लगानी के– कति रहेको छ त्यो समेत थाहा पाउन सकिने प्रश्नावली र अनुसूची समावेश गरिएको छ । आजदेखि कार्यक्षेत्रमा पठाइएका तथ्याङ्क सङ्कलक पशु सेवा प्राविधिकलाई आगामी मङ्सिर १५ भित्र लगतको विवरण विज्ञ केन्द्रमा बुझाउन समयसीमा तोकिएको छ ।

  कैलाली । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उहाँको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् । उहाँहरू पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । “हामी हरेक वर्ष तिहारमा रोटी पकाउँछौँ, सबै जना मिलेर पालैपालो पकाउँछौँ, यसरी पकाउँदा सजिलो र रमाइलो हुन्छ”, जैसीले भन्नुभयो, “तिहारमा देउसीभैलो खेल्नेलाई खानेकुरा दिन, भाइलाई कोसेली दिन र छिमेकीलाई बाँड्नका लागि पनि धेरै रोटी पकाउनुपर्छ”, उहाँले भन्नुभयो, “एउटै घरमा पाँच किलोदेखि १० किलोसम्म पिठोको प्रयोग हुन्छ । अन्य मीठाइका परिकार पनि बन्छन् ।” तिहारमा धेरैजसो नेपालीका घरमा सेल रोटी, फिनी रोटी, अनरसा अनिवार्य नै पाक्छ । यसबाहेकका अन्य मीठाइ र रोटीका परिकार पनि तिहारमा पकाउने गरिन्छ ।  लम्कीचुहाकी झरना विक र उहाँका छिमेकी पनि तिहारको रोटी पकाउन जुटेका छन् । उनीहरूले पनि पालैपाले पकाउन थालेका छन् । “तीन घरमा पकाएर सक्यौँ, अब तीन जनाको घरमा पकाउन बाँकी छ”, उहाँले भन्नुभयो, “मैले पनि पाँच किलो मैदा किनेकी छु । विभिन्न किसिमका गुलिया र चिल्ला रोटी बनाउने गरिन्छ । तिहारलाई रोटीको पर्व भनेर चिन्छौँ ।” यसरी हुनेखानेले तिहार तथा पर्वमा खर्च गर्दा नहुनेलाई भने पीडा हुन्छ । टीकापुरको एकतानगर शिविरकी रुपा विकलाई भने सबैले तिहारमा चहलपहल गर्दा पीडा हुन्छ । “छिमेकीहरू रोटी पकाउन थाले, किनमेल गर्छन्, मानिसको आउजाउ बढेको छ”, उहाँले भन्नुभयो, “हामीलाई छाक टार्नै मुस्किल छ । कसरी थरिथरिका रोटी पकाउने होला ? छोराछोरीले सताएका छन् ।” रुपा आर्थिक अवस्था कमजोर हुुनेका लागि चाडपर्वले निकै पीडा दिने बताउनुभयो । “छिमेकीजस्तै गर्न नसक्दा पीडा हुन्छ, बालबालिका पनि मान्दैनन्”, उहाँले भन्नुभयो, “तिहारको दिन सेलरोटी पकाएर केटाकेटीको तिहार मनाइदिने योजना छ । थरिथरिका रोटी पकाउन त रकम छैन ।” जोशीपुरकी झुमा शर्मा पनि तिहार नजिकिएपछि व्यस्त हुनुहुन्छ । हरेक वर्ष तिहारमा भाइलाई टीका लगाउन माइत जाने तयारीमा रहेकी झुमा किनमेल र विभिन्न थरिका रोटी पकाउन व्यस्त हुनुहुन्छ । “चार दाजुभाइ छन्, सधैँ माइतीमै टीका लगाउने गर्छौँ, चार भाइका लागि चार पोका कोसेली तयार गर्दैछु”, उहाँले भन्नुभयो, “चिल्ला रोटी नपकाए कोसेली के लैजाने भन्ने समस्या हुन्छ । रोटी त पकाउनैपर्छ ।” तिहारमा खाइने रोटीमा गुलियो र चिल्लोको मात्रा बढी हुन्छ । तर कतिपयले तिहारलाई सरल तरिकाले समेत मनाउन थालेका छन् । टीकापुरकै सरिता साउद भने सामान्य तवरले तिहार मनाउनुहुन्छ । “तिहारमा अनावश्यक चिल्ला रोटी पकाउँदैनौँ, तिहारमा आवश्यक मसला भाइलाई कोसेलीका रूपमा दिन्छौँ, कोसेलीमा काजु, बदाम, नरिवल, फलफूल दिइन्छ”, उहाँले भन्नुभयो, “देउसीभैलो खेल्नेलाई पनि फलफूल प्रसादका रूपमा दिने गर्दछौँ, पाके पनि सेलरोटीसम्म पाक्छ । नभए चिल्ला र गुलिया रोटी प्रयोग घटाएका छौँ ।” यसरी चिल्ला र गुलिया खानेकुराले मधुमेह, उच्च रक्तचापलगायतका समस्या भएकाले गुलियो र चिल्लो खानेकुरा नखाएकै राम्रो हुने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा सम्वाद खरेल गुलियोले शरीरमा ग्लुकोजको मात्रा बढाउने, चिल्लोले ग्याष्ट्रिकको समस्या निम्त्याउने भएकाले यस्ता खानेकुरा कम प्रयोग गर्न सल्लाह दिनुहुन्छ । “हरेक चाडपर्वमा बढी खानेकुरा खाइन्छ, यसले मानिसको स्वास्थ्यमा असर पार्छ”, उहाँले भन्नुभयो, “खानपानमा ध्यान दिनुपर्छ । चाडपर्वमा धेरै चिल्ला र गुलिया खानेकुरा कम बनाउने, कम खाने, खाइहालेमा पनि फलफूल र सागपात पनि खाने गर्नुपर्छ ।”

  सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदी प्रवाही प्रकृतिको हो । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको ‘हब’ का रुपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्रणालीमा बिजुलीसमेत जोडिसकेका छन् ।  आयोजनाले सुख्खायाममा दुई सय ९५ र वर्षायाममा छ सय ८८ गिगावाट घण्टा गरी वार्षिक रुपमा कूल नौ सय ८४ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । दूधकोसी नदी किनारै किनार भएर आयोजना स्थलको पहुँचमार्ग निर्माण हुनेछ । मुख्य संरचना ‘डाइभर्सन वेयर’, ‘अन्डरस्लुइस’, ‘ग्राभेल ट्र्याप’, ‘सेटलिङ’, ‘बेसिन’, ‘हेडरेस पाइप’, ‘हेडरेस टनेल’, ‘सर्ज ट्याङ्क’ र ‘अडिट टनेल’ जस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।  सोलुखुम्बुको पासाङल्हमु गाँउपालिका ३ मा निर्माण हुने सो आयोजनाको ‘नेट हेड’ तीन सय ६७ मिटर रहेको छ । आयोजनाको विद्युत् गृह भूमिगत रहनेछ । तीन वटा ‘फ्रान्सिस टर्बाइन’ रहने आयोजनाबाट उत्पादित बिजुली दुई सय २० केभी क्षमताको ६३ किलोमिटर लामो प्रसारणलाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सवस्टेशनमा जोडिनेछ ।  आयोजनाको कूल लागत रु ३० अर्ब ८० करोड बराबर रहनेछ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको उक्त प्रतिवेदन सार्वजनिक गर्दै सम्बन्धित निकाय वा प्रभावित क्षेत्रका बासिन्दालाई राय सुझाव दिन आग्रह गरेको छ । आयोजनाले कूल आठ दशमबल तीन हेक्टर जग्गा प्राप्त गर्नुपर्नेछ । आयोजनाको निर्माण अवधिमा पाँच सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । जैविक वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाले रु १३ करोड ७५ लाख २९ हजार बराबरको रकम छुट्याएको छ । 

  पोखरा । कास्की क्षेत्र नम्वर २ (२ ) बाट  नेकपा एमालेका प्रदेश सभा उम्मेदवार मिना गुरुङले देशमा विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक भएको बताएकी छन् । उनले समाज तथा राष्ट्र निर्माणको निम्ति एमाले पाटीको विकल्प  नभएको उल्लेख गर्दै मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई पहिलो पाटी बनाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरिन् । पोखरा ११ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटि कार्यालय उद्घाटन कार्यक्रममा गुरूङले राजनीतिमा महिला शसक्तिकरण, योजनाबद्ध कार्यक्रम, व्यवसाय, सीप विकास, रोजगार तथा स्वरोजगार प्रवद्र्धनका लागि आफूले उम्मेदवारी दिएको बताईन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषदका सदस्य सोमनाथ अधिकारीले यस क्षेत्रमा आफ्नो पाटीको सरकारले संचालन गरिरहेका अधिकांश विकासका योजनाको बजेट कटौती र  रकमान्तरण  गर्ने काम वर्तमान सरकारले गरेकोतर्फ जानकार हुन जनतालाई आग्रह गर्दै कास्कीमा एमालेले मात्र महिलाहरूको हकहित हुने गरि काम गरेको स्मरण गरे ।  एमाले गण्डकी प्रदेश कमिटिका उपसचिव रश्मी आचार्यले एमाले सरकारको जनमुखी विकासदेखि अत्तालिएर सत्ताबाट हटाइएको भन्दै जनताको मनको साथले अब बहुमतको सरकार निर्माण हुने उल्लेख गरे । कार्यक्रममा पाटी जिल्ला कमिटिका सदस्य तथा कास्की  क्षेत्र नम्वर २ का प्रचारप्रसार संयोजक झटपबहादुर रानाभाटले कास्कीमा एक मात्रै विकासको नायक एमाले भएको जिकिर गरे ।  

   स्याङ्जा  । कमेडी च्याम्पियन सिजन २ का टप ५ मा पर्न सफल स्याङ्जाली कमेडियन विकास अर्याल अहिले चुनावी अभियानमा लागेका छन् ।  उनी राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार बोधराज रेग्मीको चुनावी प्रचारप्रसारमा देखिए ।  आगामी नेतृत्व युवाको हुनुपर्ने र युवाको सहभागीताले देश समृद्धिको बाटोमा जाने विकास  बताउँछन् । उनले भने, ‘पुराना दलहरू र नेताहरूप्रतिको वितृष्णाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र बोधराजलाई रोजेको हुँ , स्याङ्जामा पुराना दललाई हेरियो अब युवालाई जिताउनुपर्छ र देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी बैकल्पिक राजनीतिक शक्तिको रुपमा २०७९ असार १७ गते रबि लामिछानेको नेतृत्वमा दर्ता भएको पार्टी हो । अहिले आक्रामक शैलीमा देशैभर चुनावी अभियानमा होमिएको छ ।