ललितपुर:  प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को...

   पोखरा । कास्की क्षेत्र नम्वर २ (१)का मतदाताले नेकपा (एमाले)को तर्फबाट सो क्षेत्रमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भूगोल बुझेको उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।    आफ्नो क्षेत्रमा रहेका पोखरा महानगरपालिकाका पाँच वटा वडामा मतदाताहरुसँग भेटघाट गर्ने क्रममा उम्मेदवार कार्कीलाई आफ्नै क्षेत्रको धर्तीपुत्रलाई उम्मेदवार बनाएको भन्दै एमालेलाई धन्यवाद दिएका छन् ।  भुगोल बुझेको उम्मेदवारले मात्रै विकासको प्रक्रिया बुझ्ने र भुगोल बाहिरको उम्मेदवार आफुहरूको रोजाइमा नपर्ने मतदाताको भनाई छ । अन्य दलहरूले भुगोल बाहिरबाट निमन्त्रणा गरेर उम्मेदवार पठाएको हुँदा आफूहरू कुनै अलमलमा नपरी सबैलाई कार्कीको विजय अभियानमा लागि पर्न आग्रह गर्ने पोखरा महानगर वडा न १७ निवासी समीर श्रेष्ठले बताए । त्यसैगरी वडा नम्वर ३३  बाघमारा निवासी  स्थानिय  टंकराज आचार्यले विकासका पक्षधर, सरल इमानदार र निष्ठावान निरन्तर संघर्षले खारिएका आफ्नै क्षेत्रका नेता उम्मेदवार पाँउदा विकासको आशा रहेको भन्दै यसपटककोे आफुहरूको छनोट कार्की नै हुने बताए । पोखरा २१ निवासी २२ वर्षीय जीवन लामिछानलेले एमालेको घोषणापत्रले युवा क्षेत्रलाई विशेष चासो दिएर घोषणापत्रमा समेत एमालेले प्राथमिकता दिएको हुँदा सो कार्यान्वयनमा आफ्नै क्षेत्रको उम्मेदवार  पहिलो रोजाइमा रहने उल्लेख गरे ।  नेकपा (एमाले) ले कास्कीको सबै निर्वाचन क्षेत्रमा सम्बन्धित क्षेत्रमै  मतदाता भएका व्यक्तिहरूलाई उम्मेदवार बनाउदा कास्की क्षेत्र नम्वर २ मा गठबन्धनमा आबद्ध दलहरूले आमन्त्रित व्यक्तिहरू उम्मेदवार बनाउदा आफुहरूले अपमानित महसुस गरेको पोखरा १५ निवासी परशुराम पौडेलको भनाई छ ।  

  पोखरा । नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् ।  भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको क्षेत्र भएकाले अब स्थानीय स्तरमै व्यसाय गर्ने गरी गाउँमा ल्याउने योजना अघि बढाउनुपर्नेमा जोड दिए । ‘भलाम कृषि, पर्यटनमा सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि सम्भावना छ । यहाँको खेतबारी बाझो भएका छन् घरहरु खाली भए । युवालाई स्वदेशमै राख्नका लागि योजनाहरु ल्याउन आवश्यक छ’ उनले ने,‘विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ जसले शिक्षा,स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रि भएको अवस्थामा गाउँफर्क अभियान सुरु गर्नुभर्ने आवश्यकता अहिले छ ।’पाँच वर्षको बीचमा प्रदेशको संरचना बनाउने, आवश्यक पर्ने ऐन तथा निर्देशनलाय बनाउने काम गरेको र अबको पाँच वर्ष विकासको युग भएको सुनाए ।  उनले गौरवको सडक आफुले वडा २० मा मणिपाल अस्पताल हुँदै अर्मलाकोटसम्म पुग्ने १७ किलोमिटर सडक २७ करोड २७ लाख ठेक्कामा परी अहिले पिच बन्ने काम भइराखेको सुनाए । सडक निमार्ण डिपिआर तयार गर्न निकै बाधा आएको उनको भनाइ छ । ‘काँहुखोला,आर्वा, लामडाँडा मौजाहुँदै आँटिघरसम्म जोड्ने १६ किमि सडक डिपिआर गर्ने क्रममा र त्यसलाई बजेट राख्ने क्रममा धेरै ठाउँमा संघर्ष र लडाइ गर्न प¥यो । डिपिआर गर्नपनि नमानेर यो सडकलाई धेरै अवरोध खडा गरियो’ उनले भने,‘मुख्यमन्त्री सहितको टिम आउनुभयो र मुख्यमन्त्रीकै ठाडो आदेशमा पूर्वाधार मन्त्रालयबाट प्राविधिकहरु आएर डिपिआर भएर ३३ करोड रकम छुट्टियो ।’ विजयपुर खोलामा पक्कि पुलको आवश्यक परेको र उक्त पुल बनेमा लामाखेत क्षेत्रकै लाइफललाइनको रुपमा रहनेमा आफु आशावादी समेत रहेको उनको भनाइ छ ।   

  पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा ५ दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विदेश र स्वदेशकै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरुलाई गाउँमै फर्केर केहीगर्ने वातावरण बनाउने बताएका छन् ।  पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । आफूहरु विकासका लागि प्रतिवद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको मुख्य खानेपानीको समस्या हल गरेरै छाड्ने प्रतिवद्धता जनाए । वडा नम्बर २०को लामडाँडा र अन्य क्षेत्र पशुपालन, कफि र कृषि भूमि रहेकाले सबैक्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरुलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । विगतमा आफूले मत मागेर जिताएका प्रतिनिधिले काम गर्न नसक्दा विकास निर्माण र अन्य धेरैहिसावले वडा नम्बर २० अगाडि बढ्न नसकेको उनले बताए । २० मात्र नभई समग्र २ नम्बर क्षेत्रका विशेष गरेर ग्रामिण क्षेत्र विकास र पूर्वाधारका दृष्टिकोणले पछाडि परेको उनको भनाई छ ।  ‘कम्युनिष्ट र कांग्रेस महत्वपूर्ण घडीमा मिलेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र पनि कांग्रेस र कम्युनिष्ट मिलेर ल्याएका हौं’ उनले भने,‘संविधानले धेरै व्यवस्था तथा अधिकारहरु ल्याएको भएपनि उचित ऐन नहुँदा समस्या आइरहेको छ । त्यसतै भू–उपयोग नीति सम्बन्धि ऐन बनाउन मेरो जोड हुनेछ र सम्रग देशमा स्वास्थ्य र शिक्षाका लागि उचित ऐन ल्याउन मेरो पहल हुनेछ ।’  

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताउनुभएको छ ।     प्रवक्ता डा महतले भन्नुभयो, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ ।”      आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो । प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन् । अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरका आवश्यक हो ।”      प्रवक्ता डा महतले यो निर्वाचन सबैका लागि कोसेढुङ्गा सावित हुने पनि बताउनुभयो । उहाँले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताउनुभयो । “यो निर्वाचनमा स्पष्ट बहुमत कांग्रेसको पक्षमा आउँछ र कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ ।”      उहाँले भन्नुभयो, “हिजो संसद्मा नेपाली कांग्रेस थोरै सिटका साथ उपस्थित थियो र पनि नेपाली जनता तथा कांग्रेसबाहेकका अन्य पार्टीले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे भने अबको चुनावपछि त कांग्रेस पहिलो पार्टी नै बन्ने निश्चित छ ।” प्रवक्ता महतले नेपाली कांग्रेसले आगामी चुनावमा समानुपातिकमा मत प्रतिशत पहिलेको तुलनामा धेरै बढाउने बताउनुभयो ।          गठबन्धनका दलको उदेश्य एउटै भएकाले गठबन्धन गरिएको हो भन्दै चुनावपछि यही गठबन्धन मिलेर सरकार बनाउने र देशमा विकासको लहर ल्याउने उहाँको दाबी थियो । 

  काठमाडौँ:  श्रीलंकन क्रिकेटर दनुश्का गुनतिलकलाई अष्ट्रेलियाको पूर्वी क्षेत्रस्थित यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ । २९ वर्षीया युवतीले यसै साता यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले उनलाई आइतबार बिहानै एक होटलबाट पक्राउ गरेको हो । अष्ट्रेलियाको न्यु साउथ वेल्सस्थित प्रहरीका अनुसार ती युवतीले ब्याट्सम्यान गुनतिलकलाई केही दिनअघि अनलाइन डेटिङ एप्समार्फत् सम्पर्क गरी भेट गरेकी थिइन् । त्यसपछि नोभेम्बर २ बुधबार साँझ ती युवतीले आफूलाई गुनतिलकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । जस अन्तर्गत शनिबार प्रहरीले क्रिकेटर टोली रहेको स्थान रोज बे मा पुगेर घटनास्थलको अनुसन्धान गरेको थियो । ३१ वर्षीय गुनतिलकलाई प्रहरीले आइतबार बिहान १ बजे नै सिड्नीको एक होटलबाट पक्राउ गरेको बताइएको छ । पक्राउ गरी उनलाई सिड्नी सिटी प्रहरी स्टेसनमा लगिएको छ । प्रहरीकहाँ युवतीले सहमतिबिना नै जबर्जस्ती यौनसम्बन्ध राखेको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको आरोपमा दनुश्का पक्राउ परेको खबर श्रीलंका क्रिकेट टोलीले पनि पुष्टि गरेको छ । साथै उनी नोभेम्बर ७ मा अदालतमा उपस्थित हुने बताइएको छ । गुनाथिलक चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिए पनि अष्ट्रेलियाको खेलका लागि उनी टोलीमा समावेश छन् । उनले २०१५ को नोभेम्बरदेखि श्रीलंकाका लागि ८ वटा टेस्ट गेम, ४७ वटा वान डे र ४६ वटा टी.२० खेलिसकेका छन् । आइतबार समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग पराजित भएपछि श्रीलंका यसपटकको विश्वकप प्रतियोगिताबाट बाहिरिएको छ ।

  पोखरा । कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् ।   साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आएका मतदातासँंग शनिवार भएको उम्मेदवार परिचय एवम् अन्तकृया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।  निर्माण व्यवसायीको ढिलासुस्तीको कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले सो सडक संघ सरकारवाट प्रदेशलाई हस्तान्तरण भईसकेको जानकारी गराईन् ।  उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसंग जोड्न विबभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै उनले सडक सुविधाले बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बन्दा उक्त क्षेत्रका मतदाताले पु¥याएको योगदानको उच्च कदर गर्दै नेत्री भट्टराईले नीति निर्माण तथा विकास निर्माणका साथै महिला अधिकारका सम्वन्धमा भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारिन् । निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले राष्ट्र र समाजप्रति समर्पित हुँदै जनभावना अनुसार प्रतिवद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे । पार्टीको घोषणापत्र, गण्डकी प्रदेशको प्रतिवद्धतापत्रका अनुसार समृद्धिको अभियानमा जुटनेमा उनको जोड थियो । मित्रमिलन टोल विकास संस्थाका अध्यक्ष चित्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २१ का वडाअध्यक्ष दिपकप्रसाद सुवेदी, भिरस्वारा टोल विकास संस्थाका अध्यक्ष्ाँ राजेन्द्र पौडेल,मट्टीखान टोल विकास संस्थाका निर्वतमान अध्यक्ष जुद्धवहादुर क्षेत्री,ध्वाँकोट टोल विकास संस्थाका राजकुमार थापा, विजय पौडेल लगायतले सो क्षेत्रको विकास निर्माणसंगै समस्या र समाधानका बारेमा उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।   

  ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो । तर शनिबारदेखि गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामीले बुवाआमालाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउने प्रतिबद्धता गरेका थियौँ, कोसिस गर्दागर्दै विविध समस्याका चाङ लाग्यो, केही ढिला भए पनि अहिले बुवाआमाको दुःख अन्त्य भएको छ ।” गाउँपालिकाका जनप्रतिनिधि, वडासचिव र बैंकका कर्मचारी घरआँगनमा पुगेर भत्ता वितरणको थालिएको फक्ताङलुङ पञ्जिकरण शाखाले जनाएको छ ।  फक्ताङलुङ –२ खेजेनिमका ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता भुपेन्द्र चौलागाईँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान हुने छ ।

  काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो ।   रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांश (४) प्रतिकूल हुनेगरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।

  बागलुङ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च अदालतले विसं २०६८ वैशाख १४ मा गरेको फैसलाअनुसार पिमबहादुर दोषी ठहरिएका थिए ।  सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त ६० वर्षीय पिमबहादुरलाई कैद भुक्तान प्रक्रियाका लागि जिल्ला अदालतमा पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले बैंकिङ कसुरको मुद्दामा फरार बागलुङ नगरपालिका–१३ का ५२ वर्षीय विष्णु गिरीलाई पनि पक्राउ गरेको छ । काठमाडौँको नागर्जुन नगरपालिका–९ का तार्कबहादुर कुँवरको जाहेरीपछि चेक बाउन्समा गिरी दोषी ठहरिएका थिए ।  उच्च अदालत पाटनले विसं २०७६ कात्तिक १ गतेको फैसलाबाट गिरीलाई २० दिन कैद र रु सात लाख ९६ हजार जरिवाना तोकेको थियो । गिरीलाई पनि घरमै लुकिछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  कानुनबमोजिम फक्राउ परेका दुवै फरार अभियुक्तलाई लगत कट्टाका लागि जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तको खोजीमा प्रहरी सक्रिय छ ।