काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
पोखरा: टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो । सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो । यस अघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।
तनहुँ । जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा काँस्य पदक हात पारेको हो । प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो । यसै गरी गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०–४, १२–७ र ८–४ को अन्तर बनाउँदै जित हासिल गरेको हो । गण्डकी प्रदेशलाई काँस्य पदक दिलाउन गण्डकीकी सीमा गर्बुजाले १९ अंक जोडेकी थिइन् । मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग पराजित भएको थियो । प्रतियोगिता अन्र्तगत यसअघि महिला पुरुष सिंगल्सतर्फका खेल सम्पन्न भइसकेका छन् ।
पोखरा । एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्र्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् । पुरुषतर्फ निर्धारित दुरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते । पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले काँस्य पदक जिते । निर्धारित दुरी कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरे ।
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।
स्याङ्जा । स्याङ्जा साहित्य प्रतिस्ठान र स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानको संयुक्त आयोजनामा लोकसाहित्य सङ्गोष्ठी एबम स्रष्टा सम्मान कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ । कार्यक्रममा प्रजातन्त्रिक सेनानि पुरस्कारबाट देब बहादुर सिह ठकुरिलाई कदर पत्र, रु २०१०५ र दोशला सहित सम्मान गरिएको थियो । सम्मानित सिह २००१ असार १४ गते स्याङ्गजा जिल्लाको बहाकोटमा जन्मनु भएको ७ निरन्तर प्रजातान्त्रिक आन्दोलनमा अग्रसर रहदै आउनुभएको थियो । २०४२ को आन्दोलनमा ७ दिन नजरबन्द , २०६२÷६३को आन्दोलनमा पटक पटक चेल चलान हुनुभएको सिह २०१४ सालबाट निरन्तर प्रजातन्त्र प्राप्ती र प्रजातन्त्रको पहरेदार रहेकोले सम्मान गरिएको स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानका सस्थांपक अध्यक्ष सुबोधकुमार अधिकारीले बताउनु भयो ।
पोखरा । नेपाली कांगे्रस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नाई पेशाकर्मीको व्यवसायलाई कांग्रेस पार्टीले नजिकबाट नियाली रहेको बताएका छन् । नाईहरुको सीपको कदर गर्दै पर्यटकीय सहर पोखरालाई थप सभ्य र मानिसको सुन्दरलाई वाहिर ल्याउने काम गर्ने कालिगढको संज्ञासमेत दिए । नेपाल नाई संघको ८ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका नेता शर्माले कांग्रेस पार्टीबाट मात्र नाईहरुको हक र हित सुरक्षित हुने बताए । सभापति शर्माले हरेक क्षेत्र र वर्गबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा कांगे्रस र कांग्रेससँग भएको गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिँदै प्रजातन्त्र, स्वतन्त्रता र पेशागत हकहितको रक्षा गर्ने जिम्मा नेपाली कांग्रेसको भएको समेत ठोकुवा गरे । नेपाल नाई संघ कास्कीका अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको सभामा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले नयाँ नेतृत्व लिदा समयको ख्याल गर्न सक्नु पर्नेमा जोड दिए । नाई संघलाई पर्ने अफ्ठ्यारोमा ट्रेड युनियन कांग्रेसले हरकिसिमको सहयोग गर्न तयार रहेको बताए । संघका सचिव दिपक ठाकुरको सञ्चालन र उपाध्यक्ष रामनाथ ठाकुर (आनन्द)ले स्वागत गरेको सभामा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सदस्य जीतबहादुर गुरुङले सवै नाईहरुको एकतामा जोड दिँदै नयाँ आउने नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल नाई संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले देश भरका नाईलाई आफूले हरेक सहयोग गरिरहेको बताए । उनले आगामी दिनमा नाई पेशालाई राज्यले उच्च सम्मान दिने व्यवस्था बनाउन संघका आफू थप क्रियाशील भएर लागेको उल्लेख गरेका थिए । संघको अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि नेतृ कुलदेवी बरालले पेशालाई मर्यादित र व्यवहारिक बनाउन नाई संघले भूमिका खेल्न सक्नु पर्नेमा जोड दिइन । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारी, नेपाल कृषि श्रमिक संघका केन्द्रीय उपाध्यक्ष शिवराज अधिकारी, नाई संघका केन्द्रीय सदस्य विरेन्द्र ठाकुर, एटियुसी कास्कीका उपाध्यक्ष कमलबहादुर सापकोटा, सचिव रुद्र तिमिल्सिना, नेपाल नाई संघका गण्डकी प्रदेश अध्यक्ष आदेशप्रसाद ठाकुर, नन्दन ठाकुर, भैरवलाल ठाकुर, सिकन्दर ठाकुर, सत्रुधन ठाकुर लगायतले नाई हरुको एकताले मात्र पेशालाई व्यवस्थित बनाउन सकिने धारणा राखेका थिए । नाई संघ कास्की जिल्लाले अधिवेशनको अवसरमा विशेष सहयोग गर्ने भन्दै नेपाल ट्रेड युनियन कांग्रेस कास्की, वरिष्ठ पत्रकार गंगाधर पराजुली, कोभिड कालमा विशेष भुमिका खेलेका संघका उपाध्यक्ष रामनाथ ठाकुर(आनन्द) लगायतलाई सम्मान गरेको थियो । संघले नयाँ नेतृत्व चयन गर्न मुरारी शर्मालाई निर्वाचन अधिकृतको जिम्मेवारी समेत दिएको छ ।
सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ ।दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेका राउटे नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा डुलिरहने जाति हो । दुई÷तीन दशक पहिलेसम्म घना जङ्गलले भरिभराउ यो क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो । तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले अवस्था फेरिएको छ । विसं २०७८ को जनगणना अनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन् भने जम्मा राउटेहरूको सङ्ख्या एक सय ४३ छ । बाँदरको सिकार तथा जङ्गली फलफूल सङ्कलन गर्दै जीवननिर्वाह गर्न कठिनाइ भएपछि राउटेहरूले काठका भाँडाकुँडा बनाएर स्थानीय मानिससँग अन्नसँग साट्न थालेको झण्डै एक शताब्दी भएको अनुमान छ ।कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सागम्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरु आजभोलि चाहीँ तस्वीर खिचेकोसमेत पैसा माग्न थालेका छन् । बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घ संस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले राउटे विस्तारै परर्निभर बन्दै गएका छन् । सरकारले प्रदान गर्ने भत्ताको आस र अन्य व्यक्ति तथा संस्थाको सहयोगको अपेक्षा गर्ने परम्पराका रूपमा स्थापित हुँदै गएको छ । आफ्नो खुट्टाको साइज र जुत्ताचप्पलको साइजमा खासै सचेत भएको पाइँदैन । तथापि पछिल्लो पुस्ताले जुत्ता चप्पल लगाउन थालेको छ । औपचारिक शिक्षा लिएपछि राउटेलाई आफ्नो संस्कृति मासिने डर छ । विभिन्न गैरसरकारी संस्थाको बढ्दो प्रभावले राउटेहरूलाई स्थायी हुन बाध्य बनाइरहेको छ तर भ्रमणशील राउटे स्थायी रुपमा बस्न खोजिरहेका छैनन् ।‘किताब छोए ईश्वर रिसाउँछ’ भन्ने धारणामा विस्तारै परिर्वतन आइरहेको छ । अहिले राउटेले मोबाइल फोन प्रयोग गर्न थालेका छन् । खैनी र चुरोटका अम्मली राउटे समुदाय अचेल मदिरामोहमा फसेको छ । पाँच वर्षदेखि ८० वर्षसम्मका सबै राउटेले रक्सी पिउने गर्छन् । कमाएको तथा अरुबाट पाएको सहयोगलाई राउटेले मदिरा पिउनमा खर्च गरेको पाइन्छ । अत्यधिक रक्सी सेवनले राउटेको दिनचर्या नै सङ्कटमा फसेको देखिन्छ । बिरलै सरसफाइ गर्ने राउटेले खरानीपानीले लुगा धुने गर्थे । ढुङ्गाले शरीरको मैलो घोटेर फाल्थे । विगत भत्कियो, राउटेहरू आजभोलि साबुनको प्रयोग गर्न रुचाउँछन् । बसुलोले दारी काट्ने राउटे हिजोआज ब्लेडले काट्छन् । फुटेकै भए पनि ऐना हेर्ने बानीको विकास भएको देखिन्छ । विगतमा काठका भाँडाकुँडा अन्नसँग साटेर जीविका धान्न रुचाउने राउटेहरू अहिले पैसामै ती सामग्री साटफेर गर्न रुचाउँछन् । पैसालाई बोक्न सजिलो, आफूलाई चाहिने चीज किन्न सजिलो हुनाले राउटे अन्नभन्दा पैसालाई सजिलो माध्यम ठान्छन् । अरुको त्यसै मागेर नखाने जाति भनेर चिनिने राउटे आजभोलि सबैभन्दा धेरै माग्न आउँछ । झारफुक तथा जडीबुटीमा विश्वास गर्ने राउटे आजभोलि डाक्टरको विश्वास गर्छन् । केही वर्षअघिसम्म मोटरगाडीदेखि डराउने राउटे काम विशेष कतै जानुप¥यो भने गाडी चढ्न रुचाउँछन् । आफ्नै श्रममा बाँच्ने राउटेलाई आजभोलि कहिल्यै नपुग्ने चीज भत्ता भएको छ । सरकारले प्रत्येक वर्ष राउटेलाई सामाजिक सुरक्षा भत्ता दिन्छ तर भत्ता कम भएको गुनासो राउटेहरू पोखिरहन्छन् । लोपोन्मुख राउटे समुदायको महाशत्रु हुन्, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफूलाई वनको राजा भन्न रुचाउने र जङ्गलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौँ भनेर गौरव गर्छ । राउटे बस्ती पुग्ने जोकोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन् । घरायसी प्रयोगका सामग्री कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेसा गर्दै आएका राउटे समुदाय परम्परागत पेसालाई सर्वोपरी ठान्ने राउटे समुदायको ‘संस्कृति र जीवनशैली’ फेरिँदै गएको छ । कल्याल, रास्कोटी र राजवंशी ठकुरी राउटे समुदाय आफ्नो परम्परागत पेसा र जीवनशैलीबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेको छ । आफ्नो परम्परामा कडा देखिए पनि आधुनिकतासँगै राउटे समुदाय पनि आधुनिकतामा रमाउन थालेको छ । राउटेको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदाय वनजङ्गल विनाशका कारण गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा बाख्रा र कुखुरा पाल्ने थालेका छन् । राउटे पहिलेको तुलनामा रुपैयाँ, पैसा र आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेका छन् । “हाम्रो मुख्य सिकार बाँदर र गुना जङ्गलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ, त्यसैले बाख्रा र कुखुरा किनेर पाल्ने गर्छौ,” राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो । स्थायी रुपमा बस्न नचाहने, वनजङ्गलमा घुमन्ते जीवन बिताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको छ । राउटे समुदायको युवापुस्ता पनि आधुनिक संस्कृतिबाट प्रभावित हुन थालेको छ ।पहिले नयाँ व्यक्ति देख्दा डराउने र बोल्न नचाहने, तस्बीर खिच्न नदिने राउटे जाति महिलालाईसँगै नहिंँडाउने र मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तर पछिल्लो समय धेरै परिवर्तन भएको छ । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छन्, महिलालाई सँगसँगै हिँडाउँछन् । केही समय अगाडि राउटे समुदायमा फोनमा कुरा गर्नु राम्रो मानिँदैनथ्यो, तर पछिल्लो समय यस समुदायका पाका उमेरका व्यक्तिले हातहातमा मोबाइल बोकेको देखिन्छ । राउटे समुदायका व्यक्तिलाई नागरिक बनाउन गुराँस गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रअनुसार २०७५ असार ३० गतेदेखि स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गर्दै आएको छ । राउटेका पूर्वमुखिया महिनबहादुर शाहीका अनुसार कसैलाई फोटो खिच्न नदिने, सित्तैँमा अरूले दिएको खाने कुरा नखाने, बस्तीमा नचिनेको मान्छेलाई प्रवेश गर्नमा रोक लगाउने संस्कृति राउटे समुदायबाट हराइसकेको छ । उनीहरु आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृतिअनुसार परिवर्तन गरिरहेका छन् । राउटे समुदायलाई सहयोग गर्न भित्रिएका गैरसकारी संस्थाले नै परनिर्भरतातिर धकेलेको स्थानीयवासीको आरोप छ । गैरसरकारी संस्थाका प्रतिनिधिले राउटेसँग हेलमेल बढाउन मद्यपान र धूमपानको लतमा पु¥याएको आरोप लाग्ने गरेको छ । आजभोलि रक्सी नभइ नहुने अवस्थामा पुग्न लागेको राउटे समुदायका युवा वीरबहादुर शाहीले बताउनुभयो । शाहीले भन्नुभयो, “खसी र चामल पाएमा हुरुक्क हुने र अरूले दिएको खानेकुरालाई उपहार ठान्ने यो समुदाय पछिल्लो पटक मद्यपान, धूमपानको कुलतमा फस्न थालेको छ । सुरुमा रमाइलो लागेर गाउँलेले दिएको रक्सी पियौँ । रक्सी त रमाइलो गर्न खाने हो । नयाँ मान्छे आउँछन्, रक्सी खुवाइ दिन्छन्, आजभोलि पिउने बानी नै परिसकेको छ ।” अहिले मद्यपान र धूमपानका कारण राउटेको परम्परा ओझेलमा पर्दै गएको महिनबहादुर शाहीको दुःखेसो छ । ‘हामी गाउँका अन्य मानिसजस्तो रक्सी खाएर झगडा गर्दैनौँ, रक्सी पनि बनाउँदैनौँ । बरु कसैले ल्याइदिएको र गाउँबाट नै किनेर खान्छौँ,’ महिनबहादुरले भन्नुभयो, “रक्सी सेवन गरी झगडा गर्ने व्यक्तिलाई राउटे समुदायका अन्य युवा मिली हातखुट्टा डोरीले बाँधेर लडाइदिने चलन छ ।” उहाँका अनुसार जङ्गलमा बाँदर सिकार गर्ने राउटे समुदायले अन्नको जाँड बनाउने गर्दछन् । उनीहरूमा रक्सी पार्ने सीप छैन । रक्सी पार्ने काम गरेमा देवीदेवता रिसाएर सिकार बिग्रिने, मानिस बिरामी पर्नेजस्ता विश्वास राख्ने उनीहरूमा छ । यद्यपि उनीहरूका यस्ता मान्यता विस्तारै भत्कँदै छन् । विस्तारै उनीहरूमा खुला समाजको प्रभाव पर्दै गएको छ । बजार नजिकै बसेर बजारको संस्कृति र प्रभावमा रमाउन थालेका छन् । यद्यपि उनीहरू पहिला पहिला मानव बस्तीभन्दा टाढा जङ्गल या नदी किनारमा बस्ने गर्दथे । मुखिया सूर्यनारायण शाहीका अनुसार नेपाल सरकारले लोपोन्मुख जातिलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता पाउनासाथ राउटेले मदिरा पिउन थालेका हुन् । आजकालका तन्नेरी जति भने पनि मान्दैनन् । पैसा पाउनासाथ रक्सी खोजी गर्छन् । पिउन गइहाल्छन् । लोपुन्मुख जाति र कर्णाली प्रदेशको गहनाका रूपमा चिनिने यो समुदायका महिला पनि आधुनिकतासँगै सहरका होटलमा खाना खान रुचाउँछन् । राउटेले बोल्ने खाम्ची भाषा, संस्कृति, जीविकोपार्जन गर्न सीप हराउँदै जानु, बर्सेनि जनसङ््ख्या घट्दो क्रममा रहनु, मृत्युदर उच्च तथा कुपोषणको समस्या राउटे समुदायमा अधिक रहेको पाइन्छ । बाह्य समुदायबाट हिंसा तथा यौन हिंसाको चपेटामा पर्नु, सामाजिक सुरक्षा भत्ताको दुरुपयोग बढ्नु, दाताले मनलाग्दी आफूखुसी राहत सामग्री वितरण गर्नुजस्ता कारण राउटे समुदायको सुरक्षामा चुनौती थपिएको सम्पद्धहरुको बुझाइ रहेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा राउटेलगायत लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जन कार्यक्रम ९राहत तथा पुनःस्थापना, क्षतिपूर्ति०का लागि चार करोड रुपैयाँ विनियोजन गरेको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार राउटे नीतिमाथि विज्ञको राय सङ्कलनको कार्य भइरहेको छ । फिरन्ते जाति राउटे समुदायको उत्थानका लागि सरकारले हदैसम्म प्रयास गरिरहेको छ । दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई मासिक दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । दक्षिण एसियाका अन्तिम घुमन्ते जाति राउटे नेपाल र नेपालीका लागि खजाना भए पनि बढ्दो आधुनिकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता डुब्नै लागेको घामजस्तै भइसकेको छ । औषधोपचारमा विश्वास बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउ भएमा जडीबुटीको प्रयोग गर्ने राउटे अहिले स्वास्थ्यकर्मीबाट उपचार गर्न थालेका छन् । राउटेहरु चोट लागे खोटो टाँस्ने गर्थे, टाउको दुखे झारपात खान्थे, घस्नुपर्दा खरानी घस्थे । झारफुक गर्थे । बिरामी परेमा स्वास्थ्योपचार भन्दा पनि उनीहरु थामी, झाँक्री बसालेर ग्रह काट्ने, भूतको भाग फाल्ने गर्छन् । राउटे समुदाय स्वास्थ्य संस्थासम्म नपुगे पनि अहिले औषधोपचारमा विश्वास गर्न थालेका छन् । उनीहरुले सानातिना घाउ–चोटपटक लाग्दा पनि औषधोपचार गर्ने र मल्हमपट्टी लगाउने र त्यसका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको छन् । राउटे जाति अहिले खुट्टाको सुरक्षाका लागि जुत्ता चप्पल लगाउन थालेको छ । सरसफाइमा पनि उत्तिकै ध्यान दिन थालेका छन् । उनीहरु पछिल्लो समय साबुनको प्रयोग गरेर नुहाउने, दाह्रीजुँगा काट्ने र आफू बसेका स्थानमा बनाइएका छाप्रो वरिपरि सरसफाइ गर्छन् । आफैँले उत्पादन गर्ने कपडाको मात्रै प्रयोग गर्ने राउटेहरु आजभोलि बजारमा पाइने आधुनिक कपडाको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । राउटे युवा प्रकाश शाहीले भन्नुभयो, “हामीले कोट पनि राखेका छौँ, अब विस्तारै कोट पनि लगाउँछौंँ ।” राउटे युवतीहरुले पनि पछिल्लो समय चुरापोतेलगायत शृङ्गार सामग्री प्रयोग गर्न थालेका छन् । राउटेले बनाएका कोसी, मधुश, आरी र खाटजस्ता सामग्री बिक्री हुन छाडेपछि राउटेलाई गाउँ–गाउँ डुल्नुपर्ने बाध्यता पनि छैन । एकै ठाउँमा बस्दैनन् राउटे फिरन्ते जीवन बिताउने राउटेहरु एक ठाउँ धेरै नबस्नुमा बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन छ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्ने संस्कारले गर्दा एकै ठाउँमा नबस्ने राउटेका मुखिया सूर्यनारायण शाहीले बताउनुभयो । उहाँले भने, “हाम्रो समुदायको व्यक्ति मरेको स्थान हाम्रा लागि सधैंँ अशुभ हुन्छ, तयो ठाउँमा हामी कहिल्यै फर्किँदैनौँ ।”राउटे समुदायमा कसैको मृत्यु हुनेबित्तिकै त्यस ठाउँलाई सधैँका लागि अशुभ ठानेर नयाँ ठाउँको खोजीमा हिँड्ने गरेको उहाँको भनाइ छ । “नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छौँ,” सूर्यनारायण भन्नुहुन्छ, “हामी बसाई सर्दा उपयुक्त ठाउँको छनोट गर्दैनौं । हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठानेर त्यही बस्छौं ।” राउटे मुखियाको पुस्ता रहँदासम्म राउटे स्थायी बसोबास गर्ने स्थिति देखिँदैन ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बतानुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको बताउनुभयो । “स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ”, उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो ।” समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी रहेको जनाउँदै उहाँले प्राप्त उपलब्धिको संरक्षणका लागि निरन्तर संयुक्त सङ्घर्ष जारी तथा समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । “सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ, नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ”, उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिको रक्षा र सवलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनुपर्नेछ ।” ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका मन्त्री भुसालले ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार रहेको बताउनुभयो । उहाँले कला, सम्पदा, संस्कृति र परम्परालाई यहाँका हरेक घरपरिवारको आर्थिक उपार्जनसँग जोडनुपर्ने बताउनुभयो । “व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ ।” ललितपुर क्षेत्र नं १ का उम्मेदवार एवं पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले वाम–लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता एकताबद्ध भएर गएमात्र ललितपुरका तीन वटै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुने बताउनुभयो । उहाँले गठबन्धनमा सहभागी दलका उम्मेदवारको पक्षमा कुनै कञ्जुस्याई नगरी मत माग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ललितपुर क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले संविधानको रक्षा र मुलुकलाई स्थिरता दिन गठबन्धन बनेको उल्लेख गर्दै वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।