लेखनाथ: पोखरा महानगरपालिका वडा नं. २६ स्थित प्रगतीटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारम्भ गरेका छन् । सडक निर्माणको शुभारंभ कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले सडक तथा नाला निर्माणको गुणस्तरमा ध्यान दिन उपभोक्ता समितिलाई आग्रह गरे । अध्यक्ष थापाले वडा नंं २६ ले पिछडिएको क्षेत्रबाट विकास निर्माणको काम थालनी गरेको बताउँदै, सडक महानगरकै नमूना सडक हुने विश्वास व्यक्त गरे । वडाध्यक्ष थापाले सडक तथा नाला निर्माण सँगै हरियाली प्रवद्र्धनमा पनि बिशेष ध्यान दिन आग्रह गरे । सडक वडाले विनियोजन गरेको महानगरस्तरिय योजना मध्येको ठुलो योजना भएको उल्लेख गर्दै, निर्माणको गुणस्तर कायम गर्न वडाका प्राविधिकको सहयोग र जनप्रतिनिधिको निगरानी रहने बताए । कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाटले आर्थिक संकटको समयमा पनि उपभोक्ताले ठुलो हिस्सा रकम उठाएर योजना निर्माणमा चासो दिएको उल्लेख गरे । सडकका लागि वडा नं. २६ ले महानगरस्तरिय योजना अन्र्तगत ६५ लाख रुपैया विनियोजन गरेको छ । भने उपभोक्ताको तर्फबाट २७ लाख ८६ हजार रुपैया रुपैया गरी कुल ९२ लाख ८६ हजार रुपैयाको लागतमा सडक निर्माण हुन लागेको हो । ७ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माणका लागि प्रसाद गुरुङ्गको अध्यक्षतामा उपभोक्ता समितिको गठन भएको छ । कार्यक्रममा निर्माण समितिका अध्यक्ष गुरुङ्गले वडाले स्थानीयको योजनालाई सम्वोधन गरेको उल्लेख गर्दै वडा सरकारको अनुभूति गर्न पाएको उल्लेख गरे । सडक निर्माण पछि त्यस क्षेत्रका झण्डै पाँचसय घरपरिवार सहितका उपभोक्ताहरु लाभान्वित हुनेछन् । पोखरा महानगरपालिका वडा नं. २६ मा चालु आर्थिक बर्षमा संचालन हुने योजनाहरु उपभोक्ता समिति गठन भै धमाधम शुरु भएका छन् ।
पोखराः स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३२ औंं पूण्य तिथीको अवसरमा सोमबार पोखरामा नारायणगोपाल स्मृति साँझ–२०७९ भव्य रुपमा सम्पन्न भएको छ । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा आयोजित स्मृति साँझमा गायक/गायिकाहरु रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काफ्ले, रजनी राई र उषा गुरुङले स्वर्गीय स्वरसम्राट नारायणगोपालद्धारा संगीत तथा स्वरवद्ध गीतहरु प्रस्तुत गरे । उनीहरुले मलाई नसोध कहाँ दुख्छ घाउ, गल्ती हजार हुन्छन्, केहि मिठो बात गर, तिमिलाई म के भनुँ, मैले पुण्य मन पराएँ, तिम्रो जस्तो मुटु मेरोपनि, मेरो कथा खाली खाली, हिमाल सरी म अग्ली रहेछु, तिम्रो मनमा लुकेको कुरा, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, एउटा मान्छेको मायाले कति, पर्खि बसे आउँला भनि गरी एक दर्जन गीत प्रस्तुत गरे । उनिहरुलाई तबलामा राजा मुखिया, किबोर्डमा महिपाल लामा, बेस गीटारमा तेज के.सी. अक्टाप्याडमा विजय क्षेत्री र रिदम गीटारमा सुमन तामाङले साथ दिए । कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भौतिक रुपमा नरहनेपनि नारायणगोपाल सबैको मन मनमा बस्न सफल भएको बताए । रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखेले नारायणगोपाल र आफ्नो परिवारबिच राम्रो सम्बन्ध रहेको स्मरण गरिन् । उनिले सहयोगी सबै संस्थाप्रति धन्यबाद दिँदै कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखराले के गर्छ भनेर सिंगो देशले नै नियाल्ने गरेको भन्दै नारायणगोपाललाई सम्झने उद्देश्यले कार्यक्रम गरिएको बताए । वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते ५१ बर्षको उमेरमा निधन भएको थियो । डिस्क र टेपमा गरी उनका १ सय ३६ वटा गीतहरु रेकर्ड छन् ।
काठमाडौं: आजको खेलमा ब्राजिलले एसियाली ‘बाघ’ दक्षिण कोरियासँग खेल्दैछ । यो खेल राति १२:४५ बजेपछि हुनेछ । दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा पुग्न चाहान्छ । सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले लगातार अन्य तीन खेलाडी र खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको छ । छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई आफ्नो खेलाडीको चोट महँगो पर्न सक्नेछ । तर, यस खेलका लागि नेयमार फर्कने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले जनाएका छन् । यता, दक्षिण कोरिया पनि अर्को स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चहान्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । यसैगरी यो भन्दा अगाडी जापान र क्रोएसिया भिड्दैँछन् । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजेपछि हुनेछ ।
काठमाडौं: सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २४.४६ अंक (१.२५ प्रतिशत) ले गिरावट भएर १९३८.७६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.७१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि बजारमा कारोबार रकम भने डेढ अर्ब भन्दा माथि रहेको छ । सोमबार बजारमा ४१ लाख २७ हजार २८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको ३० करोड ८३ लाख ५७ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको २० करोड २३ लाख ४७ हजार र नबिल बैंकको ८ करोड ४७ लाख ८९ हजारको कारोबार भएको छ । सोमबार बजारमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै १४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.१२ प्रतिशतले वृद्धि हुँदा एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाइमूल्य २.५६ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य २.२१ प्रतिशतले वृद्धि भएको छ । यता अजोड इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.७७ प्रतिशत र ओरियन्टल होटेलको सेयर मूल्य ५.५३ प्रतिशतले गिरावट भएको छ ।
कुश्मा: वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय २०४० सालमा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छिन्। विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो । त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हुन् । ‘गत वर्षसम्म १०–१५ विद्यार्थी नियमित पढ्न आउँथे’, उनले भनिन्, ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’ विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाइन् । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको उनले सुनाइन्। विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरु एक घण्टा टाढाको विद्यालयमा पुग्छन् । विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । ‘गाउँको ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो’, स्थानीयवासी शेरबहादुर केसीले भने, ‘विद्यालय आउने खोलामा पुल, सहज बाटो निर्माण र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न पालिकामा छलफल भइरहेको छ ।’ गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ ।’एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन’, गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।’
बाजुरा: गत वर्षामा भत्किएका बाजुराका झण्डै नौ वटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत नहुँदा सो पुलबाट स्थानीयलाई आउजाउमा निकै सास्ती छ । २०७८ र०७९ को साउनमा आएको बाढीपहिरोका कारण बाजुराका झण्डै १२५ झोलुङ्गे पुल मध्ये नौ वटा पूर्ण रूपमा क्षति भएपछि अहिले स्थानीयलाई समस्या परेको हो । खप्तड छेडेदह गाउँपालिका वडा नं –३ गुदुका स्थानीय पार्वती रावतले, गत बर्खाको बाढीपहिरोले गुदुखोलाको झोलुङ्गे पुल भत्काएपछि अहिले आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको बताउनुभयो । गत बर्खाको बाढीपहिरोले गौमुल गाउँपालिका को घटमुना, सिममाडी, माडी,बडिमालिका नगरपालिकाको भत्तेबगर, जडाङ्गा स्वामिकार्तिक र जगनाथ खप्तड छेडेदह गाउँपालिका गुदुगाड लगायतका स्थानमा रहेको झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गौमुल गाउँपालिकाको अजयकोट, सिममाडी, अदरा, ओडार, जडाङ्गा त्रिवेणी नगरपालिकाको फल्ने तोला स्वामिकार्तिक र जगनाथको बालुवामा रहेको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ । बाजुरामा रहेका झण्डै १२५ झोलुङ्गे पुलहरू मध्ये नौ वटा पुलमा निकै क्षति भएपछि स्थानीय सरकारको पहलमा अहिले ती पुल मर्मत गर्ने तयारी भइरहेको पीसविन बाजुराका झोलुङ्गे पुलह रु टेक्निल अफिसर खडक जोशीले बताउनुभयो ।
काठमाडौं: प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन् । कार्कीले आइतबार काउन्सिल पुगेर राजीनामा पत्र बुझाएकी हुन् । काउन्सिलका रजिष्ट्रार डा। कृष्ण अधिकारीले डा।कार्कीको राजीनामा प्राप्त भएको पुष्टि गरे । अधिकारीले अन्नपूर्णसँग भने, ‘हामीकहाँ राजीनामा पत्र प्राप्त भएको छ । उहाँले दिनुभएको राजीनामा बारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँछौं । कार्की ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी थिइन् ।
काठमाडौं: रूपन्देही, सैनामैना नगरपालिका २ रिङरोडस्थित सडकमा लु २ त ६१८५ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सोही नगरपालिका–४ झारबैरा बस्ने ६० वर्षीय ठगे थारुको आइतबार दिउँसो मृत्यु भएको छ । ट्रलीबाट लडेर ट्याक्टरको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका उनको तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, रूपन्देही, सिद्धार्थनगर नगरपालिका –३ दरखसवा सिता नर्सरीस्थित सडकमा बेलहियाबाट भैरहवातर्फ जाँदै गरेको लु ८९ प २९८६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, रामेछाप, खाँडादेवी गाउँपालिका ३ भिरपानी हुन्दुरखोलास्थित सडकमा पकरबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.१ ह ५०६९ नम्बरको अटो आफैँ अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सिन्धुली कमलामाई नगरपालिका (६ बस्ने ७० वर्षीय पदम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका अटो चालक सहित ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता, सिरहा, मिर्चैया नगरपालिका १ महादेवस्थित सडकमा प्र ३ ०२०१३ प ८३६४ नम्बरको मोटरसाइकललाई को १ ख ६९८२ नम्बरको ट्याङ्करले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी रुपनी गाउँपालिका ३ कटैया बस्ने १४ वर्षीय उज्ज्वल कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलम अस्पताल मिर्चैया हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, जाजरकोट, बारेकोट गाउँपालिका १ काउलीस्थित सडकमा क.प्र.०२००१ त ०२४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका २ ध्यारगाउँ बस्ने १८ वर्षीय राजेश गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ: सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस मापन भयो । यो देशकै सबैभन्दा बढी चिसो रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क हो । यता न्यूनतम तापक्रम क्रमिक रूपमा सुधार हुँदा चिसो ह्वात्तै बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौँ उपत्यकामा समेत तापक्रम घट्ने क्रममा छ सोमबार मात्र उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको छ । यो यस वर्षको सबैभन्दा चिसो हो । अधिकतम तापक्रम भने २०.६ डिग्री सेल्सियस पुगेको छ । विभागले आगामी २४ घण्टामा तराई भू–भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सूचना प्रकाशन गरी आग्रह गरेको छ । हाल प्रदेश १ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा जनाएको छ । सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा जनाएको छ ।

