बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्नुहुन्छ । गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उहाँलाई एक दुई जना दानी मानिस (दाता)को आशा नलाग्ने कुरै भएन । उहाँ दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै पाउनुहुन्न । हुन पनि एक वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा तीन दर्जन बढी मानिसले सुनाइसके । कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने । तर महिना बित्यो, वर्ष बित्यो राहत आएन । “बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो । हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौँ”, उहाँले भन्नुभयो, “आश्वासन दिने ३०–३५ जना आइसके, तर कसैले पनि सम्झिएनन् । ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन ।” गत वर्ष कात्तिक २ गते आएको बाढीले खातीगाउँवासीले सर्वश्व गुमाए । दुई परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए । अर्काका छानोमा बसेका दुई परिवारलाई तीन–चार जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे । “सहयोगप्राप्त गरेको रकम तथा अन्नले दुई महिनालाई खान पुग्यो”, बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको उहाँले बताउनुभयो । गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले पाँच हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गर्नुभएको थियो । ज्ञानदेवी खातीले भन्नुभयो, “बाढी आएको साढे १३ महिना हुन लागिसक्यो । सर्वश्व गुमाएका हामीहरू अझै भोक मेटाइको पर्खाइमै छौँ । तिहार–सिहार त हाम्रो लागि परको कुरा ।” उहाँले भोको पेटले आश्वासन थेग्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ । धेरै निकायले दिगो व्यवस्था गर्छौँ भनेर आश्वासन बाँडे । तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ । जाने कतै ठाउँ छैन न त खाने गास नै ।” ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उहाँले बताउनुभयो । “गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन । सहर पस्नलाई सहरबारे जानकारी नै छैन”, उहाँले भन्नुभयो । अहिले प्रेमबहादुर बसेको छानोमा दाताले दिएको चामलको आधा बोरा जति छ । प्रेमबहादुरले भन्नुभयो, “एक जनाले चामल दिनुभएको थियो । जोगाएर खाँदा पनि सकिनै लाग्यो । त्यसपछि कसलाई माग्ने ? के गर्ने ? कसरी छाक टार्ने होला भनेर चिन्ता लागिरहेको छ ।” खोलाले बगाउन बचेको जमिनमा दुई केजी जति कोदो फलेको देखाउँदै उहाँले भन्नुभयो, “घरमा छ जना छौँ । आफू बूढो भइसकेँ, छोराको त्यस्तो हालत छ (प्यारालाइसिसको बिरामी) । नाति–नातिना सानै छन् । भएको सम्पत्ति सबै बाढी निल्यो”, उहाँ टोलाउनुहुन्छ । खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुर र ज्ञानदेवीको परिवार हुन् । अन्य परिवारको पनि घरबाहेक केही छैन । “अहिलेसम्म घरको सास त जोगिएकै छ”, धन्धुरी खातीले भन्नुभयो, “अहिले बस्नलाई घर त छ । तर खानलाई केही छैन । गत वर्ष बचेको खायौँ, यसपटक सबै घर अन्नविहीन छन् ।” बाढी आएको साढे १३ महिनासम्म खातीगाउँवासीले स्थानीय सरकार भएको महसुससमेत गरेका छैनन् । “राहतका लागि गाउँपालिका गयौँ । पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो”, धन्धरीले भन्नुभयो, “राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठाउनुभयो ।” केही दाताले सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत नदिएको उहाँले बताउनुभयो । “अहिलेका अध्यक्षले आश्वासन दिएको पनि सात महिना भइसक्यो । सहयोगको नाममा शून्य छ । चुनावको बेलामा कापीमा टिप्नुभएको त थियो । खै कता बिर्सनुभयो ?” उहाँले भन्नुभयो । अहिले खातिगाउँबासी राहतभन्दा पनि झरी पर्ने बित्तिकै आत्तिन्छन् । धन्दरीले भन्नुभयो, “झरी परे निकै डर लाग्छ । फेरि कात्तिकको महिना । गत वर्ष कात्तिकमै आएको बाढीले नमिटिने छाप बसाएको छ । दिउँसो भए त दौडधुप गर्न सकिन्छ । राति पानी परे त जाग्राम बस्नु नियमितजस्तै भइसक्यो ।” बाढीले पु¥याएको क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा छ । गडरायदेखि तमैल बजारको भू–भागसम्म बाढीले करोडौँ मूल्य बराबरको क्षति पुर्याएको छ । खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन् । गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो । स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन् । वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन् । बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन् । वडा नं १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताउनुभयो । “बाढीपीडितलाई निकै समस्या छ । तर हामीसँग सहयोग गर्नलाई बजेट पनि छैन । यस वर्षका लागि बजेट त छुट्याएका छौँ । तर पीडित धेरै भएको हुँदा पर्याप्त भने मुस्किल नै छ”, उहाँले भन्नुभयो । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया पनि बजेटको अभाव नै देखाउनुहुन्छ । “खातीगाउँवासीको मात्रै होइन, छान्नामा धेरै नै बाढीपीडित छन् । उहाँहरूका लागि हामीले सोचेका छौँ । बजेटको अभावले समस्या भएको हो । यसपटक समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । रोकायाले अघिल्लो सरकारले बजेटबिना नै रकम छुट्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो सरकारले बजेटबिना नै छुट्याएको थियो, त्यसैले दिन सकेन । अहिले बाढीपीडितका लागि रकम छुट्याएका छौँ, कार्यान्वयनमा गइसकेको छ ।” आफूसँग पर्याप्त बजेट नभएको भन्दै उहाँले भन्नुभयो, “हामीसँग ठूलो बजेट पनि छैन, संघीय सरकारसँग पटक–पटक आग्रह गर्दा पनि चासो देखाएन । गृहमन्त्री नै अवलोकनका लागि आएको बेला सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि माग गयौँ, तर कतैबाट सुनुवाइ भएन ।”
चितवन । जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो । उहाँले भन्नुभयो, “महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ ।” केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्र सेनाले गस्ती बढाएको उहाँले जानकारी दिनुभयो । नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै उहाँले सेनाले आफ्नो नीतिअनुसार काम गरेको बताउनुभयो । निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइरहेको उहाँको भनाइ छ । मङ्सिर १० गतेसम्म संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिने उहाँले बताउनुभयो ।
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा तीन हजार एक सय १२ कर्मचारी खटाइने भएको छ । यसका लागि कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीलाई सूचीकृत गर्दै जिम्मेवारी बाँडफाँटको गृहकार्य भइरहेको जनाइएको छ । यस्तै निर्वाचनमा एक हजार पाँच सय ५६ स्वयंसेवक परिचालन गरिनेछ । एक मतदान केन्द्रमा आठ कर्मचारी र चार स्वयंवेवक परिचालन हुने जिल्ला निवार्चन अधिकारी उमेश राईले जानकारी दिनुभयो । यसपटक एकैचरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदा धेरै कर्मचारी खटाउनुपर्ने भएकाले निजामती कर्मचारीको अलावा माध्यमिक तहमा कार्यरत शिक्षक कर्मचारीलाईसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइने गरी तयारी भइरहेको प्रजिअ हुमकला पाण्डेले बताउनुभयो । मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एक रहने जनाइएको छ । यसपटक कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले समेत समानुपातिकतर्फ प्रदेशअन्तर्गत र प्रतिनिधिसभातर्फ मतदातामा सूचीकृत भएकाले मतदान गर्न पाउने भएपछि जिल्लामा चार अस्थायी मतदान केन्द्र ब्यवस्थापन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका छन् । तीमध्ये एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला तथा अन्य दुई मतदाता हुन् । जिल्लामा तीन सय ८९ मतदान केन्द्र ब्यवस्थापन हुने जनाइएको छ । काभ्रेमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल जिल्लामा ३१ दल क्रियाशील छन् ।
सिन्धुपाल्चोक । आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो । कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । “विद्यार्थी झुम्म भएर एकोहोरो हुने गर्दथे”, कार्यक्रमअन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भन्नुभयो, “उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीले मदिरा सेवन गर्ने गरेको भेटियो ।” समस्या समाधानका लागि विद्यालय नर्स गिरीले विद्यार्थीको मनोभावना बुझ्नुभयो । अनि आफूलाई के–के हुन्छ भनेर पनि सोध्नुभयो । विद्यार्थीको जवाफअनुसार मदिरा सेवन गर्ने गरेको पाइएपछि त्यसको रोकथामका लागि परामर्श दिएको उहाँको भनाइ छ । “यहाँको संस्कृति नै यस्तै रहेछ, बाबुआमाले नै मदिरा खुवाउने गरेको पाइयो”, उहाँले भन्नुभयो, “समस्या सुल्झाउनका लागि कक्षा–कक्षाका मदिरा सेवन गर्दा हुने बेफाइदाबारे चेतना प्रवाह गर्दै स्वास्थ्य शिक्षा प्रदान गरेपछि अहिले यो समस्या रोकिएको छ ।” स्वास्थ्य शिक्षापछि विद्यार्थी अहिले ढाँट्दैनन् । उहाँले अहिले विद्यार्थीमा यस्तो नदेखिएको दाबी गर्नुभयो । विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ । “आठ–नौ कक्षा पढ्दै गर्दा यहाँका बालबालिका विवाहबन्धनमा बाँधिने गरेका थिए”, प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “विद्यालय नर्सले सानै उमेरमा विवाह र बच्चा पाएपछिको समस्याबारे परामर्श दिएपछि अहिले रोकिएको छ ।” पछिल्लो वर्ष दिनमा यहाँका कुनै पनि बालबालिकाले विवाह नगरेको उहाँले बताउनुभयो । यहाँका बालबालिका विशेषगरी अनुत्तीर्ण भएपछि सिधै विवाह गर्ने गरेका थिए । उनुत्तीर्ण भएपछि साथीले हेप्ने, आफूलाई लाज हुने हुँदा विवाह गरेर जाने गरेका हुन् । विद्यालयमा नर्स कार्यक्रमपछि प्रजनन स्वास्थ्य, सरसफाइबारे चेतना जगाएपछि बालबालिकाले सानै उमेरमा विवाह गर्ने सोच बिर्सँदै गएको उहाँको भनाइ थियो । गाउँमा वर्ष दिनमा आठ–दश बालिकाले उमेर नपुगी विवाह गर्ने गर्दथे । पछिल्लो वर्ष सानै उमेरमा विवाह गरेको भन्ने नसुनिएको र सबै बालिका विद्यालयमा नियमित भएको उहाँले जानकारी दिनुभयो । भीमेश्वरीमा मासिक हरेक कक्षामा स्वास्थ्य शिक्षा दिइन्छ । विद्यालयमा नर्सको व्यवस्थाभएपछि स्वास्थ्यबारे बालबालिका सचेतसमेत भएका छन् । “अहिले विद्यालयको चौरलगायत कक्षाकोठा हामी नियमित सरसफाइ गर्छौँ”, कक्षा १० मा अध्ययनरत अञ्जना दनुवारले भन्नभयो, “पहिला स्वास्थ्यलाई हामीले हेलचेक्रयाइँ गरेका रहेछौँ, बल्ल स्वास्थ्यप्रति सचेत भएका छौँ ।” उहाँले विद्यालयमा नर्स आएपछि आफूले उपचार पाएको बताउनुभयो । “कक्षामा पढ्दापढ्दै खुट्टा दुख्ने, पेट दुख्ने हुन थाल्यो”, उहाँले भन्नुभयो, “स्वास्थ्य कक्षमा गएर उपचार गराएपछि फेरि कक्षामा फर्कन सकेँ ।” नर्स गिरीका अनुसार अञ्जनालाई सामान्य उपचारका साथै हटवाटर ब्यागले पेटमा सेकाएपछि केही समय आराम गरेर कक्षाकोठामा फर्कन सक्ने बनाइएको हो । यसअघि यस्ता समस्या हुँदा बीचमै पढाइ छाडेर घर जाने गरेको अञ्जना बताउनुहुन्छ । यो साता कक्षा ५ मा अध्ययनरत अनिशा दनुवारलाई कक्षा ३ मा अध्ययनरत एक विद्यार्थीले रडले हानेर टाउकामा दुई ठाउँ घाउसमेत बनाइदिए । कक्षाकोठामा रगत बग्यो । तत्काल नर्स पुगेर रगत थमाइएपछि स्वास्थ्य कक्षमा ल्याइ उपचार गरिएको थियो । “रगत धेरै बगेको थियो, रोक्न निकै गाह्रो भयो”, नर्स गिरीले भन्नुभयो “पछि सफा गरेर ड्रेसिङ गराएँ, अनि केही समय आराम गराएर पुनः कक्षाकोठामा फर्काइयो ।” विद्यालयमा नर्स कार्यक्रम नभएको भए उहाँलाई अस्पताल , स्वास्थ्यचौकी लैजानुपर्ने शोभा बताउनुहुन्छ । भीमेश्वरीको स्वास्थ्य कक्षमा बिरामीका लागि दुईवटा शय्या छ । प्रदेश सरकारले उपलब्ध गराएको औषधि केही सकिएपछि नजिक रहेको स्वास्थ्यचौकीबाट पनि ल्याइने जनाइएको छ । औषधिको भण्डारण सुरक्षित दराजमा गरिएकाले बिग्रन सक्ने अवस्था छैन । गर्मी ठाउँ भएकाले दैनिक २० सम्म बालबालिकालाई उपचार गराइएको नर्सको भनाइ छ । कार्यक्रम लागू भएयता हालसम्म नौ सय ४७ ले उपचार गराइसकेका छन् । “गर्मीमा अलि बढी समस्या हुन्छ”, विद्यालय नर्स गिरीले भन्नुभयो “पखाला लाग्ने, टाउको दुख्ने, उच्च रक्तचापका समस्या आउने गर्दछ ।” उहाँका अनुसार छात्राहरू महिनावारी हुने बेलाको समस्या प्रमुख छ । पहिले छात्रा महिनावारी भएको बेला विद्यालय आउने गर्दैनथे, अरुले गिज्याउने र आफैँलाई पनि लाज हुने हुँदा छात्रा हप्ता दिनसम्म विद्यालय अनुपस्थित हुन्थे । अहिले महिनावारी भएको खण्डमा सेनिटरी प्याडको विद्यालयमै व्यवस्था भएपछि यो समस्या हटेको प्रधानाध्यापक कृष्णप्रसाद बताउँनुहुन्छ । “चेञ्ज गर्नका लागि शौचालयमा आवश्यक सामग्रीसहितको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “पहिला यस्तो व्यवस्था नभएकै कारण छात्रामा विद्यालय छाड्ने क्रमसमेत रहेको थियो ।” अहिले छात्रामा शतप्रतिशत ड्रपआउट समस्या रोकिएको उहाँले दाबी गर्नुभयो । विद्यालयमा नर्स कार्यक्रमपछि जङ्कफुड रोकिएको छ । व्यक्तिगत र विद्यालयमा भएको सरसफाइले फड्को मारेको छ । पाँच सय ५० विद्यार्थी रहेका यो विद्यालयमा पहिला सामान्य पेट दुख्दासमेत विद्यार्थी घर जानुपर्ने अवस्था थियो । गत मङ्सिरबाट कार्यक्रम लागू भएपछि विद्यालयमै उपचार उपलब्ध भएपछि यो समस्या हल भएको छ । छात्रामा खुलेर भन्न सक्ने बानीको समेत विकास भएको प्रधानाध्यापक श्रेष्ठ बताउनुभयो । “नर्स भएपछि बालबालिकाले अभिभावक पाएको अनुभूति गरेका छन्”, उहाँले भन्नुभयो ।
नवलपुर : पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो । डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा कौडा ( जुवा ) खेलिरहेका २३ जनालाई प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ३० शिसुवास्थित यमुना पराजुलीको घरमा कौडा ( जुवा ) खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले २३ जनालाई नगद ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ३० शिसुवा बस्ने २३ वर्षीय बिनित सुवेदी, ३० वर्षीय भिष्म लामिछाने, ६५ वर्षीय गोकर्ण कुमार श्रेष्ठ, ५३ वर्षीय मणि खनाल, ३६ वर्षीय निभान देवान, ४३ वर्षीय राजेन्द्र अर्याल, ३० वर्षीय विवश बास्तोला रहेको कास्की प्रहरीले जनाएको छ । त्यस्तै ३८ वर्षीय राजेन्द्र अधिकारी, ५० वर्षीय धुर्व तिवारी, ५० वर्षीय जनक थापा, ४८ वर्षीय नवराज भट्ट, ५३ वर्षीय शेखर पौडेल, ३६वर्षीय तिर्थ पौडेल, ३१ वर्षीय अमित गौतम, ३५ वर्षीय रेमश गुरुङ, ५० वर्षीय भुवन शर्मा, ३० वर्षीय प्रदिप चापागाई, २६वर्षीय अमृत श्रेष्ठ, ४९ वर्षी सुरज भट्राई, ४३ वर्षीय नारायण तिवारी, ४३ वर्षीय पुर्णबहादुर घले, पोखरा महानगर ३१ बस्ने ३५ वर्षीय विश्वज्योति सुवेदी र पोखरा महानगर ३२ बस्ने ४० वर्षीय सागर श्रेष्ठ रहेका छन् । प्रकाउ परेका २३ जुवाडेलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको असुर अन्र्तगत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्धा शिर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं : नेकपा(एकीकृत समाजवादी) ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीले आज सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ । समाजवादीको घोषणापत्रमा भनिएको छ, “अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसैपटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ र हाम्रा उम्मेदवारले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछन् ।” राजतन्त्रलाई परास्त गरी स्थापना गरिएको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक प्रणाली समाजको आर्थिक–सामाजिक रूपान्तरणका आधारका रूपमा रहेको उल्लेख गर्दै समाजवादीले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि पहल गर्ने भएको छ । एकीकृत समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि उत्तिकै जोड दिएको छ । उसले पुँजीगत खर्च नहुँनु, महँगीको अचाक्ली वृद्धि तथा कालोबजारीलगायतका विकृतिलाई अन्त्य गर्न पहल गर्ने जनाएको छ । अर्थतन्त्रका बारेमा सो पार्टीको घोषणापत्रमा भनिएको छ, “नेपालको पछौटेपन, आयात आधारित राजस्वको मूल स्रोत, डरलाग्दोरूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्तिको पलायन, युवाको विदेश पलायन, ऋणको मात्रामा निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोतसाधनमा दलाल पुँजीपतिको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृती, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन् ।” आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसक्दा यस क्षेत्रमा देखिएका समस्याबाट मुक्त हुन नसकिने र परनिर्भरता कायमै रहने ठहर गर्दै एकीकृत समाजवादीले कृषि, उद्योग, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि र पर्यटन, व्यवस्थापन एवं सूचना प्रविधिजस्ता सेवा क्षेत्रको विकास र विस्तार गर्ने विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश गरिएको छ । “परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो”, घोषणपत्रमा भनिएको छ, “यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ । यसमा हामीलाई जनताको साथ चाहिएको छ ।” ‘आर्थिक–सामाजिक रूपान्तरण : समाजवादका आधार निर्माण’ भन्ने नारा अगाडि सारेको एकीकृत समाजवादीले आफ्नो लक्ष्य वैज्ञानिक समाजवाद भएको स्पष्ट पारेको छ । “वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नाना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पादनका साधनमाथि समान हक भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो”, घोषणापत्रमा भनिएको छ । नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका लागि व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिँदैन । साथै आर्थिक–सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । समाजवादीले राष्ट्रबीचको समानता, पारस्परिक लाभ, अहस्तक्षेप र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा छिमेकीलगायत सबै देशसँग सुमधुर सम्बन्ध राख्ने र उनीहरुले पनि नेपालसँग तदनुरूपकै सम्बन्ध राखुन् भन्ने अपेक्षा गरेको छ ।
झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताउनुभएको छ । “देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका- ३ क्याम्पामा आयोजित चुनावी भेलालाई संवोधन गर्दै सो धारणा व्यक्त गर्नुभयो । उहाँले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो । अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी ९ जसपा० को सरकार बन्ने उहाँको दावी थियो । उहाँले आज नै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने आजसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छपाइभइसकेका मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेशसभा र एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाका लागि रहेका छन् । आयोगले छपाइसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ । ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालीकोट, दैलेख र सुर्खेत छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ । आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित मतपत्र प्रयोग गर्ने भएकाले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक–फरक मतपत्र प्रयोग हुने छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैँभर एउटै मतपत्र प्रयोग हुने छ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको सङ्ख्या अनुसार फरक फरक मतपत्र प्रयोग हुने छ ।((