तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं १ का विकास सिग्देलले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सुधार गर्ने बताएका छन् । बन्दिपुर गाउँपालिका ६ मा उनले प्रचार प्रसारको क्रममा उनले आफ्नो जित पछी स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय सुधारका काम गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणपत्र अनुसार प्रत्येक स्वास्थ्य चौकीमा डाक्टरको व्यवस्था गर्ने, एक्सले, ल्याप जस्ता समान्य काम स्वास्थ्य चौकिबाट नै लिने व्यवस्था लिने व्यवस्था सुनाए । ६० वर्ष पुगेको बृद्धलाई मोबाइल एम्बुलेन्स एपको मार्फत सेवा प्रदान गर्ने बताए । मुटुका र क्यानसरको बिरामीको लागि प्रदेश स्तरिय ठुला अस्पताल संचालन गर्ने बताए । युवालाई रोजगारीको योजना सुनाउदै उनले मत परिर्वतन गरे आफुले देश परिर्वतन गर्ने बताए । प्रचार प्रसारको लागि विभिन्न ठाउँमा पुग्दा ठुला पार्टीले काम नगरेको गुनासो गर्दै जनताले नयाँ पार्टीलाई मत दिने धारणा राखेका थिए । जनतासंग आफुले ढाट्न छल्न नभइ काम गर्नको लागि आएको बताएका छन् । यस अघि तनहुँ व्यास १ को भादगाउँ लगायतका विभिन्न ठाउँमा प्रचार प्रसार गरेका छन् । घरदैलो अभियानमा स्थानीयले रास्वपालाई नै मत दिने बताएका छन् । चुनावी प्रचारलाई तिव्रता दिने क्रममा स्थानीयले खुसी हुँदै विकासलाई जिताउने बताएका हुन् । सिग्देलले स्थानियको समस्या आफुले पुरा गर्ने वाचा गरेका छन् । साथै प्रचार प्रसार अभियानलाई तिव्रता दिदै लगातर अन्य वडामा पनि जाने सिग्देलले जानकारी दिए ।
पोखरा । पोखरामा संचालनमा रहेको ऋक्रियसनको पहिलो बार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १३ का दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा १३ आर्वामा रहेका अमरज्योति आधारभूत विद्यालय र सिमला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । सिमला आधारभूत विद्यालयका ३५ जना र अमरज्योति आधारभूत विद्यालयका ४१ जना विद्यार्थीलाई टिर्सट, कपि, पेन्सि, इरेजर लगाएतका शैक्षिक सामग्री वितरण गरेको ऋक्रियसनका सञ्चालक रितेश पौडेलले जानकारी दिए । विद्यार्थीलाई पोखरा महागनरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल, सञ्चालक रितेश पौडेल, नारायण पौडेले लगाएतले शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष बरालले सरकारी विद्यालयमा अध्यन गर्ने बालबालिकाको शैक्षिक स्तर सुधार गर्न शैक्षिक सामग्री फलदाई हुने बताए । उनले ग्रामिण क्षेत्रमा रहेका विद्यालयलाई सबैको आर्थिक तथा शैक्षिक सामग्री सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा सिमला आधारभूत विद्यालय प्रधानध्यापक हरिमाया बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानध्यापक विमलबहादुर बरालले सहयोगले विद्यार्थीको शैक्षिक उन्नतीका लागि सहयोगी हुने बताए । ऋक्रियसनले विभिन्न काम गर्दै आएको छ भने ऋस्टोस मार्फत टिर्सटहरु बनाएर विक्रि गर्दै आएको छ ।
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले आफू इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताएका छन् । बिहीबार पोखरा ३३ को तल्लो पुँडिटारमा घरदैलो कार्यक्रम अगाडि आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस अगाडि पटक–पटक एमाले उम्मेदवार जिताउनका लागि आफै नेतृत्व गरेर जनतासंग मत मागेको तर मत पाएकाहरुले जनअपेक्षा अनुरुप काम नगरेको उनले बताए । त्यहि भएरएमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाउनु परेको उनले तर्क गरे । ‘म ५ दलको सझा उम्मेदवार त हुँदै हुँ, विगतमा मेरै नेतृत्वमा एमाले उम्मेदवारका लागि पटक पटक मत मागेको छु । निर्वाचित गराउन भुमिका खेलेको छु । तर, उहाँहरुले यहाँहरुको अपेक्षा अनुरुप काम गर्न सक्नुभएन । जनताको जीवनस्तर माथि उकास्न सक्नुभएन ।’ उनले भने, ‘त्यसैले अहिले एमालेबाट विद्रोह गरेर ५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट साझा उम्मेदवारको रुपमा खडा भएको छु । म इमान्दार एमालेका नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ । जनताको अपेक्षा अनुरुप काम गर्नेछु ।’ उम्मेदवार बरालले पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सहिढंगले व्यवस्थापन गर्ने, खानेपानी र मोटरबाटोको स्तरोन्नति र विस्तारमा आफूले जोड दिने बताए । उनले ‘निर्वाचित भएपछि फेरी अर्को निर्वाचनमा गफ दिएर होइन जनतासंग बसेर जनताको सुखदुखमा साथ दिएर, उनीहरुको जीवनस्तर उकास्ने अनि संसदमा जनताकै मुद्धा उठाएर उनीहरुको पक्षमा ऐन कानुन निर्माण गर्ने काम मैले गर्नेछु’ भनेका छन् । उम्मेदवार बरालले महानगर, प्रदेश र केन्द्र सरकारका बीचमा सन्तुलन कायम गर्दै जनताको आवश्यकता र प्रथमिकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए । ‘यहाँको महानगरपालिकाले घोषणा गरेको कामको प्रतिवता पुरा गर्न, प्रदेश सरकारले ल्याएका योजना पूर्वाधारका योजना पूर्ति गर्ने र यहाँको आवश्यकता अनूरुपको पूर्वाधार विकासमा मैले केन्द्रमा सिधै पहुँच पुर्याउने छु ।’ उनले भने, ‘केन्द्रीय राजनीति र स्रोतसाधनमा कास्की र पोखरावासीको पहुचलाई विकास र समृद्धिसंग जोड्ने कुरामा मेरो ध्यान केन्द्रित हुनेछ ।’ आफ्नो निर्वाचन क्षेत्रमा तीन खालको अवस्था रहेको उनले सुनाए । सबै क्षेत्र महानगर भएपनि पूर्वाधारका हिसावले धेरै पछडिएको क्षेत्र अनि कृषि र पर्यटनको हिसावले अत्यन्त सम्भवानायुक्त क्षेत्र रहेको उनले बताए । ति सबै क्षेत्रको समुचित विकासमा आफ्नो जोड रहने उनले जानकारी दिए । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरु प्रतिवद्धता जनाउने तर काम नगर्ने खालको उम्मेदवार नभएको बताए । ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ त्यो पुरा गर्छाैं, विगतमा प्रतिवद्धता जनाउने तर काम नगर्ने अनि गफ मात्र दिने प्रवृत्ति देखियो । अब त्यस्तो प्रवृत्तिलाई यहाँहरुले तोड्नुपर्छ । म प्रतिवद्धता जनाउँछु । जो बोल्छौं । त्यो पुरा गरेरै छाड्ने छौं’ उनले भने । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता देवराज चालिसेले गफ दिनेलाई होइन काम गर्नेलाई जनताले चिन्नुपर्ने बताए । उनले निर्वाचन कुर्चीका लागि मात्र नभएको भन्दै जनताको काम गर्ने भन्दै गफ दिएर निर्वाचित भएपछि औषधी, माक्स र सेनिटाइजरमा समेत भ्रष्टाचार गर्नेहरुसंग सचेत बन्नुपर्ने धारणा राखे । नेकपा एमालेको नेतृत्वको सरकारले ठूलठूला भ्रष्टाचारका काण्ड मच्याएको आरोप लगाए । गठबन्धनबाट जसले टिकट पाएपनि गठबन्धनबाट जितेका उम्मेदवारले विकास र समृद्धिलाई केन्द्रमा राख्ने हुँदा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको तर्क थियो ।
बाँके । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८ वर्षीय मोहम्मद तयदअलि जोलाहाले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल्ला कारागारका प्रमुख अर्जुनजङ्ग शाहले जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगले मागगरे बमोजिम कारागारबाट सात सय २६ बन्दीको नामावली पठाएको र नामावली पठाएकामध्ये १२ जनाको नामावलीमा नाम देखिए पनि अन्तिम नामावलीमा दुई जनाको मात्रै आएको जानकारी दिनुभयो । श्रेष्ठ करिब सात महिनादेखि पूर्पक्षका लागि कारागार चलान भएका थिए । उनको लागुऔषध कारोबारको मुद्दा रहेको छ । उनको मुद्दा अहिलेसम्म अदालतबाट फैसला भएको छैन । मोहम्मद करिब एक वर्षदेखि कारागारमा रहेका छन् । लागुऔषधसम्बन्धी मुद्दामा कारागार चलान भएका उनले कारागारमा १० वर्ष बिताउने जेलर शाहले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले अन्तिम नामावलीमा दुई जना बन्दीको मात्रै नाम भेटिएकाले उनीहरुले अस्थायी मतदाताका रुपमा मताधिकारको प्रयोग गर्न पाउने जानकारी दिनुभयो । उहाँले जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीसहित एक हजार छ सय ३१ जनाले अस्थायी मतदाताका रुपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने बताउनुभयो ।
कञ्चनपुर । आगामी प्रतिनिधि र प्रदेशसभाको चुनाव आउन केही साता बाँकी रहँदा उम्मेदवार घरदैलामा पुगेर मतदाता रिझाउनमा व्यस्त छन् । उम्मेदवार घर–घरमा पुगेर आफ्ना एजेण्डा मतदातालाई सुनाउँदैछन् । मतदाता घरदैलोमा आउने उम्मेदवारसँग गाउँबस्तीका समस्या दर्साउँदैछन् । मतदाताले आगामी पाँच वर्षका लागि कस्ता व्यक्तिलाई जनप्रतिनिधि चुनेर पठाउने भनेर मनस्थिति बनाउँदैछन् । महाकाली पारी दोधारा चाँदनी नगरपालिका–१ स्थित पूर्णागिरी टोलकी हरिना धामीले यसपटक जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्ने उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । “बाँदर, बँदेलको समस्या बढी छ, खेती जोगाउन रातदिन जाग्राम बस्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ, सबैभन्दा बढी समस्याका रुपमा जङ्गली जनावरको आतङ्क छ ।” वर्षौदेखि जङ्गली जनावरको समस्या झेल्दै आएको हरिनाले बताउनुभयो । उहाँको जमिन नेपाल भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टी जङ्गल छ । “हाम्रो यो समस्या जसले सुनेर समाधानका लागि काम गर्छ, उसैलाई मतदान गर्छौंँ”, उहाँले भन्नुभयो । जङ्गलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश बस्तीका किसानले हात्ती, बाँदर, बँदेललगायत जनावरको समस्या भोग्नुपरेको छ । स्थानीयवासीलाई जङ्गली जनावरबाट बाली जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । वर्षाँैदेखि जङ्गली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी–१ कै जग्गु धामीले गुनासो गर्नुभयो । “नेता चुनावका बेला आएर समस्या समाधान गर्ने आश्वासन दिनुहुन्छ”, उहाँले भन्नुभयो, “तर, चुनावपछि फर्किएर पनि हेर्दनन्, अर्को चुनावमा मत माग्न मात्रै आउँछन्, जङ्गली जनावरको समस्या ज्यूँका त्यूँ छ ।” दोधारा चाँदनी–३ की आशा राना क्षेत्री जङ्गलबाट आउने हात्तीले राति सुत्न नपाउने गरेको गुनासो गर्नुहुन्छ । “बालीनाली भएको बेला रातभरी सुत्न पाइँदैन”, उहाँले भन्नुभयो, “जङ्गली हात्तीले बितण्डा मच्चाउँछ, बाली त बचाउन सकिँदैन, भागेर ज्यान जोगाउनुपर्ने हुन्छ ।”
पोखरा । नेकपा (एमाले) केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबि गर्नुभएको छ । सुन्दरबजरका मतदाता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताउनुभयो । उपमहासचिव गुरुङले‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औल्याउनुभयो ।
‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ सहभागिता हुने
पोखरा : ‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सहभागिता हुने भएको छ । छिमेकी राष्ट्र भारत सरकारको वाणिज्य मन्त्रालय अन्तरगत जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सीलका प्रतिनिधिमण्डल ‘भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’को निमन्त्रण दिन बिहीबार काठमाडौं आएको थियो । काउन्सिलका तर्फबाट प्रतिनिधिका रुपमा आएका वरिष्ठ प्रर्दशनी प्रवन्धक अजय पुरोहितले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई निमन्त्रणा गरेका थिए । निमन्त्रणालाई स्वीकार्दै महासंघका अध्यक्ष श्रेष्ठले शोमा सुनचाँदी व्यवसायी सहित सहभागिता जनाउने बताए । उनका अनुसार उक्त शो आगामी २०७९ पुस २१ देखि २५ गते सम्ममा भारतको मुम्बाई सहरमा हुनेछ । सोही अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल - भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते महासंघ र काउन्सिललबीच भएको समझदारीलाई स्मरण गर्दै नेपाल ज्वेलरी उद्योगको प्रवद्र्धनका लागि भएका सहमतिका बिषयमा छलफलसमेत गरेका छन् । ‘भारतमा आयोजना हुने शोमा वर्षेनी सहभागिता जनाउँदै आएका छौं’ उनले भने, ‘अन्तरराष्ट्रिय मेलामार्फत मौलिक गहनाको अन्तरराष्ट्रिय बजारीकरण, बजार पहुँच लगायत व्यवसायिक सम्बन्धलाई सृदृढ बनाउन यो निमन्त्रणा सार्थक रहेको छ ।’ २ हजार ५ सय वटा वुथ हुने शो मा सुन चाँदीका गरगहना, हिरा, रत्न, पत्थर तथा ज्वेलरी, मेसिनरी लगायत छुट्टाछुट्टै प्याविलोन गरि १ हजार ३०० प्रदर्शकहरुले आ–आफ्ना गहना एवं सामानहरुको प्रदर्शनी गर्नेछन् । साथै उक्त शोमा भारतका स्थानिय व्यापारीहरुसंग प्रत्यक्ष व्यवसायीक छलफलसमेत गर्ने अवसर मिल्ने बताइएको छ ।
कुश्मा । सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहनुहुन्छ? त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन् । तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेका छन् । “जैविक विविधताले भरिपूर्ण र अनेकौँ प्रजातिका चराचुरुङ्गी, जनावर, रुखबिरुवा र क्षेत्र पर्या–पर्यटन तथा धार्मिक पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्य हो ।” पर्यावरणीय पर्यटनका लागि गाउँपालिकाले गन्तब्य पहिचानको काम पूरा गरिसकेको छ । कास्कीको विरेठाँटीदेखि म्याग्दीको घोरेपानी, मोहरेडाँडा र पुनहिलसम्म जाने अन्नपूर्ण सर्किटको एक पदमार्ग यही जलजला क्षेत्रमा पर्दछ । त्यस्तै माछामासु नखाने गाउँ, सुन्तलाको बगैँचाले ढाकेको गाउँ, मगर जातिको कला, संस्कृति र उनीहरुले सञ्चालन गर्ने पाहुना घर यस पालिकाका विशेषता हुन् । यहाँको कालञ्जर पहाड, ऐतिहासिक मल्लाज दरबार र दर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिने फलामेडाँडासहितका गन्तब्य पर्यटकको पर्खाइमा छन् । “कुश्माको अर्मादीदेखि सजिलै गाडीमा बनौँसम्म पुग्न सकिन्छ र त्यहाँबाट तीन वटा जिल्ला पर्वत, बागलुङ र म्याग्दीको सदरमुकामलाई टाउको नहल्लाई एकसाथ देख्न सकिन्छ”, बनौँका वडाध्यक्ष गौबहादुर पुनले भन्नुभयो, “यही बाटो हुँदै कालञ्जर पहाड पुगेर एकसाथ १० जिल्लालाई नियाल्न पनि सकिन्छ ।” कालञ्जर पर्वत हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको क्षेत्र हो, ‘कालञ्जर पर्वत’ । अहिले हम्पालको नामले पनि चिन्ने गरिएको छ । समुन्द्री सतहदेखि कालञ्जर पर्वत तीन हजारदेखि ३५ सय मिटरको उचाइमा छ । हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको हम्पाल क्षेत्रको धेरै भूभाग जलजला गाउँपालिकाको लेकफाँट र शालिजामा फैलिएको छ । पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको यस ठाउँबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, पुथा, माछापुच्छे«, मनास्लुलगायत १६ भन्दा बढी हिमाल देख्न सकिन्छ । त्यति मात्र नभएर पर्वत बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङसहित १० जिल्लाको अवलोकन गर्न सकिन्छ । “यस ठाउँमा फराकिलो र ठूलो दह छ, यहाँको पानीलाई एकीकृत गरेर ताल निर्माण गर्न सकियो भने पर्यटनको क्षेत्रमा समग्र जिल्लाले नै फड्को मार्ने देखिन्छ”, जलजला गाउँपालिकाका प्रवक्ता हरिविकास जिसीले भन्नुभयो, “जाडो मौसममा यस ठाउँ पूरै हिउँले ढाकिने हुँदा विदेशमा जस्तो हिउँमा खेलिने स्केटिङलगायतका खेल यहाँ खेल्न सकिन्छ । अन्य मौसममा चाहिँ डुङ्गा सयर गर्दै प्रकृतिको आन्नद उठाउन सकिन्छ ।” फलामे डाँडा पर्यटकको पर्खाइमा बसिरहेको गन्तब्य हो फलामेडाँडा । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको सो ठाउँमा झण्डै १२ हेक्टर समथर जमिन छ । पहाडको टुप्पोमा समथर फाँट रहेको फलामे डाँडाबाट आँखै अगाडि हातैले छोइएला जस्तोे सेता हिमालका लोभलाग्दो दृश्य देख्न सकिन्छ । यहाँबाटसमेत धौलागिरि, अन्नपूर्ण, गुर्जा, निलगिरिलगायतका हिमालहरु र पहाडी भूगोलको मनोरम दृश्यले मनलाई आनन्दित बनाउँछ । गर्मी महिनामा पनि चिसो वातावरण हुने भएको हुँदा छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँदेखि पर्यटकहरु यहाँसम्म पुग्ने गर्छन् । कच्ची सडकका कारण यात्रा केही असहज हुने गरेको पर्यटकहरु सुनाउँछन् । “मिलनचोकदेखि गाडीमा आउँदा जम्मा आधा घण्टाको बाटो हो ।”, स्थानीय सोम पुर्जाले भन्नुभयो, “कच्ची सडकले गर्दा डेढ घण्टा जस्तो लाग्ने गर्छ । बर्खामा चाहिँ गाडी गुड्न धेरै नै समस्या हुन्छ । अप्ठ्यारो बाटो हँदा समेत एक रात बस्ने र बिहान हिमाल हेर्ने गरेर पर्यटक आउने गर्छन् ।” अहिले यहाँ सामुदायिक पाहुनाघर सञ्चालनमा पनि ल्याइएको छ । करबाकेली पदमार्ग समेत रहेको हुँदा पुनहिल, घोडेपानी पुग्ने पाहुनालाई खान र बस्न सहजताका लागि स्थानीय बासिन्दाले सामुदायिक पाहुनाघर बनाएका हुन् । मल्लाज दरबार लामो समयदेखि खण्डहर जस्तै रहेको दरबार मर्मतसम्भार पछि रिसोर्टका रुपमा विकास भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आइपुग्ने गरेका छन् । नेपाली सेनाका तत्कालीन कर्णेल तेजबम मल्लले १९१८ सालमा मल्लाज दरबारको निर्माण गरेका थिए । अहिले उनका पनाति मुकुन्द मल्लले दरबारको पुर्ननिर्माण गरेका हुन् । “मल्लाज गाउँ र मल्लाज दरबारका बारेमा देशभरि थाहा पाउन मद्दत पुग्ने भएकाले दरबारलाई रिसोर्टका रुपमा पनि विकास गरेको हुँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार दरबारको ऐतिहासिक महत्व बचाइराख्न पनि रिसोर्ट सञ्चालनले थप सहयोग पर्याएको छ । राणाकालमा राजा सुरेन्द्रविक्रम शाहले कर्णेल तेजबमलाई उल्लेखनीय कार्य गरेको भन्दै ‘त्यस क्षेत्रको राज्य गर्नु’ भनी करिब ५० रोपनी क्षेत्रफलको जग्गा विर्ताका रुपमा दिनुभएको थियो । कर्णेल तेजबमले सोही समय करिब २२ रोपनी क्षेत्रफलमा यस दरबारको निर्माण गराउनुभएको हो । उहाँको मृत्युपछि पछिल्लो पुस्ता यहाँ बसेनन् । जनयुद्धको समय दरबारमा तोडफोडसमेत गरिएको थियो । त्यतिबेला नै दरबारभित्र रहेका खुँडा, तरबार, बन्दुक, ढाल गोलीगठ्ठालगायतका ऐतिहासिक एवम् पुरातात्विक महत्वका सामग्री चोरी भएको थियो । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक यहाँ आइरहेको भेटिन्छन् । बेनी पुग्ने मुख्य सडकबाट ३० मिनेटको कच्ची सडकको यात्रापछि मल्लाज दरबार पुग्न सकिने भएकाले पनि मुस्ताङ हिँडेका पर्यटक एक रात दरबारमै बसेर बिहानीपख बाटो लाग्ने गरेका छन् । बराहताल जलजला–२ पूर्णगाउँको एकान्त ठाउँमा रहेको बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल रहेको छ । जनैपूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । यहाँ पूजाआजा र भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । सदरमुकाम बेनीदेखि मल्लाज हुँदै करीब डेढ घण्टा उकालो हिँडेपछि बराहताल पुगिन्छ । यस ताल अंगे्रजी अक्षरको सी आकारमा फैलिएको छ । यस तालको पानी कहिल्यै नसुक्ने भएकाले गाउँलेले खानेपानी तथा सिँचाइका लागि प्रयोग गर्दै आएका छन् । “यो ताल मानव निर्मित नभई प्राकृतिक हो । पछि तालको संरक्षण गर्न तारबार लगाउने काम भएको छ”, स्थानीय युवा नवीन जिसीले भन्नुभयो, “तालको बीचमा रहेको रुख र जल बराह देउताको मूर्तिमा पूजाआज हुँदै आएको छ । ताल क्षेत्रमा आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा यसको सौन्दर्य र विशेषता गाउँमै सीमित बनेको छ ।” बाँसर्खकको सुन्तला बाँसखर्कलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । सुन्तलाकै कारण समग्र पर्वतलाई सुन्तलाको जिल्ला समेत भनेर चिन्ने गरिन्छ । यहाँको सुन्तलाको माग देशभरबाट उच्च रहेको छ । ढिलो समयसम्म पनि बोटमा रहने मीठो स्वाद भएका कारण बाँसखर्कको सुन्तलाको माग बजारमा बढी हुने गरेको कृषक बताउँछन् । “अन्य ठाउँको सुन्तला पाकेर सकिने बेला यहाँको सुन्तला पाक्न सुरु गर्छ”, कृषि ज्ञान केन्द्र पर्वतका कृषि प्रसार अधिकृत विश्वास काफ्लेले भन्नुभयो, “१० मेट्रिकटन प्रतिहेक्टरभन्दा माथि सुन्तला उत्पादन हुन्छ ।” यहाँको मुख्य जीविकोपार्जनको आधार नै सुन्तलाखेती हो । वर्षमा झन्डै रु चार करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । बाँसखर्कमा जम्मा दुई सय ६१ घर रहेकामा दुई सय बढी घरहरूले सुन्तलाखेती गर्दै आएको जलजला गाउँपालिकाको भनाइ छ । सुन्तला बेच्ने मात्र नभएर पर्यटनसँग पनि जोडन सकिने कुरा कुश्माका युवा पर्यटन व्यवसायी नरेन्द्र केसीले बताउनुभयो । “सुन्तलाको बोटहरुको जंगल नै छ”, उहाँले भन्नुभयो, “अहिले व्यापारी गाउँमा आउने र सुन्तला खरिद गरेर लैजाने काम मात्र भाको छ । हामीले यहाँको सुन्तलालाई पर्यटनसँग जोड्न सकेका छैनौँ । विदेशमा हुन्थ्यो भने ‘सुन्तला पर्यटन’ भनेर हजारौँ पर्यटक भित्र्याइसकेका हुन्थे ।” माछा, मासु नखाने गाउँ माछा, मासु नखाने उपल्लो नाङलिवाङ गाउँमा धार्मिक तथा सांस्कृतिक पर्यटक भित्र्याउन सकिने सम्भावना देखिन्छ । यहाँका ४५ घरधुरीले माछा, मासु खान मात्र होइन पालेका समेत छैनन् । त्यति मात्र नभएर उनीहरुले लसुन र प्याज खान त परै जाओस् खेतीसमेत गरेका छैनन् । पहिले ऋषिमुनीहरुले तपस्या गर्ने स्थल भएकाले यस गाउँलाई शालिग्रामधाम भनेर पनि चिन्निछ । धार्मिक तथा सांस्कृतिक महत्व जोडिएकाले धेरै वर्षअघिदेखि मासुविनाको सात्विक भोजन गर्दै आएको गाउँलेको भनाइ छ । अन्यत्र ठाउँबाट विवाहबारी गरी यस ठाउँमा आएका बुहारीहरुले माछा, मासुदेखि प्याज लसुन सबै त्याग्नुपर्ने हुन्छ । आधुनिकतासँगै हुर्केका पछिल्लो पुस्ताका युवालेसमेत यस परम्परागत मूल्य र मान्यतालाई आत्मसात् गर्दै आएका छन् । स्थानीय हिन्दू धर्मभित्रको वैष्णव सम्प्रदायसँग नजिक छन् । “हिन्दू धर्म, संस्कृति र परम्परालाई नजिकबाट बुझ्न र अध्यन गर्न चाहनेहरुका लागि यस माछा मासु नखाने गाउँ धार्मिक पर्यटकीय गन्तब्य बन्न सक्ने देखिन्छ”, स्थानीय अग्रज डण्डपाणि उपाध्यायले भन्नुभयो । जलजला गाउँपालिकाले पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई राष्ट्रियरुपमा चिनाउन म्याराथन दौड प्रतियोगिता राख्ने योजना बनाएको छ । “हाम्रोमा पर्यटकीय नयाँ गन्तव्य धेरै छन्, तर त्यसको प्रचार गर्न सकिरहेका छैनौँ”, गाउँपालिकाका अध्यक्ष राजु आचार्यले भन्नुभयो, “पर्यटनलाई सघाउन नेपालभरिका खेलाडीहरु ल्याएर म्याराथन दौड गर्दैछौँ, यसले राष्ट्रिय स्तरमै प्रचारप्रसारमा सहयोग पुग्छ भन्ने विश्वास छ ।”
पोखरा : आन्तरिक पर्यटन पर्वद्धन गर्न नेपाली युवा उद्यमी मञ्च चार दिने मोटर र्यालीसहित पोखरा-मुस्ताङ भ्रमणमा निस्किएको छ । कोभिड १९ पछि सुस्ताएको पर्यटन उकास्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यसहित देशभरबाट १७ वटा गाडीमा ६० जना युवाहरुको टोली आज (बिहिबार) मुस्ताङ भ्रमणमा निस्किएको हो । नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ पोखराको अध्यक्ष सुयश मल्लका अनुसार उक्त टोली उपल्लो मुस्ताङ हुदै कोरला नाकासम्म पुग्नेछ । ‘कोभिड १९ पछि मुस्ताङको भ्रमणमा जानेको संङ्ख्या कमी जस्तै भएको छ, उनले भने, ‘कोरोनापछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, मुस्ताङको कोरला नाका,लोमान्थाङ, मार्फा र जोमसोम लगायतको ठाउँहरुको प्रवद्र्धन गर्ने गरी चार दिनको भ्रमणमा निस्किएका छौं ।’ उनले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, कोरला नाकाबाट गर्न सकिने व्यापार व्यवसायका सम्भावनाको अध्ययन गर्ने, शाहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस) को प्रवद्र्धन गर्ने उदेश्यसहित कार्यक्रम आयोजना गरेको बताए । ‘स्थानीय पर्यटनको लागि सँगै’ भन्ने उदेश्य राखेर एनवाईईएफ पोखराको समन्वयमा देशभरका ६० युवाहरुको समूहमा १७ गाडीमा पोखरा– लोमान्थाङ मोटर र्यालीमा निस्किएका छौं, मल्लले भने, ‘२००३ सालमा स्थापित एनवाईईएफले युवा उद्यमी उत्पादन गर्ने, युवाहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने संस्थाको उदेश्य लिदैं आएका छौं ।’ एनवाईईएफले यसभन्दा अघि बर्दियामा मोटर र्यालीको आयोजना गरिसकेको छ ।