कञ्चनपुर : धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताउनुभयो । “चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ ।” उहाँले भन्नुभयो,“गतवर्ष जस्तै यसवर्ष पनि धान उत्पादन घट्ने चिन्ता लागेको छ ।” भीमदत्त नगरपालिका–९ का ललितमोहन अवस्थीले पनि गत वर्षजस्तै यसवर्ष पनि धानमा क्षति पुगेको बताउनुभयो । “सुरुमा धानमा रोग देखिएर क्षति भयो र अहिले भित्र्याउने बेला वर्षाले क्षति पुगेको छ ।” उहाँले भन्नुभयो,“धानका बोट ढलेर खेतमा कुहिन लागेका छन् ।” कञ्चनपुर कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएको र यसवर्ष पनि तीन दिनदेखिको लगातारको वर्षाले धानको उत्पादनमा कमी आउनेसक्ने जानकारी दिनुुभयो । “गतवर्ष कात्तिकमा आएको वर्षाले कञ्चनपुरमा १७ हजार हेक्टरको धानमा क्षति पु¥याएको थियो ।” उहाँले भन्नुभयो, “यस वर्ष पनि बेमौसमी वर्षा चलिरहेको छ धान उत्पादन घट्ने वा बढ्ने केही दिनपछि मात्रै थाहा हुन्छ ।” जिल्लामा ४८ हजार आठ सय ९६ हेक्टर जमिनमा धान खेती गरिँदै आएको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौं : निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय १८ उडानमार्फत कूल एक करोड ८० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कम्पनीले असोज २५ (अक्टोबर ११ तारिख) मा वार्षिकोत्सव मनाउँदै आएको छ । सुरुआती चरणमा एउटा बीचक्र्याफ्ट १९०० डि मार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटिआर जहाजसहित १६ वटा जहाजबाट सेवा दिइरहेको छ । देशका विभिन्न ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले २५ वर्षे व्यावसायिक यात्राको दायरा फराकिलो बनाउँदै रजत जयन्तीबाट ५०औँ स्वर्ण जयन्तीसम्मको गन्तव्यका लागि नयाँ योजनाका साथ अघि बढ्ने बताउनुभयो । उहाँले यात्रुको सरल र सहज यात्रा तथा हवाई उडान सुरक्षामा कम्पनीले कुनै पनि सम्झौता नगर्ने भन्दै जहाजसँगै उडान गन्तव्य पनि क्रमशः विस्तार गर्दै लगिने बताउनुभयो । “म व्यक्तिले बुद्ध एयरलाई २५ वर्ष डोर्याएर यो सफलतामा पु¥याएको छु, अब कम्पनीलाई संस्थागत गरिनुपर्छ नयाँ धरातलमा जानुपर्छ, त्यसैले २५ वर्षे रजतजयन्ती मनायौँ, अबको २५ वर्षभित्र अर्को सफलताका लागि यात्रा तय गर्नुछ, त्यसैले केही न केही परिवर्तन गरेर जानैपर्छ”, प्रबन्धन निर्देशक बस्नेतले भन्नुभयो । उहाँले आवश्यकताअनुरुप कम्पनी सञ्चालन ढाँचा परिवर्तन गरेर कम्पनी मोडलमा पनि जान सकिने धारणा राख्नुभयो । कम्पनीसँग एक हजार ५०० हाराहारी कर्मचारी छन् । भारतको बनारसमा अन्तर्राष्ट्रिय उडान गरिरहेको बुद्ध एयरले उडान अनुमति पाएको खण्डमा पोखरा र नेपालगञ्जबाट नयाँदिल्ली उडान सञ्चालन गर्ने योजना बनाएको छ । कम्पनीले यसअघि भारतको कोलकात्ता केही समय उडान गरेको भए पनि व्यावसायिक ढङ्गले सञ्चालन हुन नसकेपछि उक्त गन्तव्यको उडान स्थगित गरेको थियो । प्रबन्धन दिर्नेशक बस्नेतले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडान सोचेजस्तो सहज रहेनछ हरेक प्रक्रियालाई पूरा गर्दा कठिन हुने रहेछ, त्यसैले हाम्रो फोकस डोमेस्टिकलाई अझ प्रभावकारी बनाउने छ । सम्भव भएसम्म अन्तर्राष्ट्रिय उडान पनि गर्न सक्छौँ ।” बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि दैनिक दुई उडान तथा नेपालगञ्जबाट पनि सोही सङ्ख्याको उडान अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणसँग मागेको थियो । अन्तर्राष्ट्रिय उडान एटिर ७२ जहाजबाटै गर्ने कम्पनीले जनाएको छ । मागेकोजति उडान नपाएकाले तत्काललाई कुनै निर्णय नभए पनि भविष्यमा यी गन्तव्यमा उडान गर्ने योजना रहेको प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो । बुद्ध एयरका निर्देशक आस्था बस्नेत थापाले कम्पनीको व्यावसायिक योजनाबारे जानकारी दिँदै हवाई सुरक्षा र सेवा गुणस्तरमा कुनै सम्झौता नगरिने स्पष्ट पार्नुभयो । उहाँले अथ तीन वटा एटिआर जहाज भित्र्याएर कम्पनीको गन्तव्य विस्तार गर्ने योजना सुनाउनुभयो । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार अहिले कम्पनीले दैनिक एक सय ५० बढी उडानमार्फत आठ हजार हाराहारी यात्रुलाई सेवा दिइरहेको छ । नेपालमा आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।
काठमाडौं : “दुई वर्षअघि हाइड्रोजनबाट ऊर्जा उतपादन हुन्छ र त्यसमा नेपालले पहल गर्नुपर्छ भन्ने धारणा राख्दा धेरैले उडाएका थिए । नचाहिँदो कुरा भन्दै यसलाई अस्वीकार गर्नेहरु धेरै थिए । तर, आज ऊर्जाको वैकल्पिक स्रोतका रुपमा संसारभर नै हाइड्रोजनलाई उपयोग गर्ने योजना बनेको छ । नेपालले पनि यसलाई क्रमशः आत्मसात् गर्न थालेको छ ।” यो भनाइ हो, काठमाडौँ विश्वविद्यालयका उपकूलपति भोला थापाको । काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजनको प्राज्ञिक अध्यापनसमेत सुरु गरेको छ । नेपालमा ऊर्जाको वैकल्पिक स्रोतका रुपमा ग्रीन हाइड्रोजन पनि एउटा उत्तम किवल्प हुनसक्छ भन्ने मान्यता नीति निर्माणको तहले बल्ल अनुभूत गरेको बताउनुहुन्छ, उपकूलपति थापा । काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजनका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगमजस्ता निकायसँग सहकार्य गरिरहेको छ । नेपालमा जलविद्युत्को प्रचूर सम्भाव्यता रहेकै सन्दर्भमा अब ‘हाइड्रोबाट हाइड्रोजन’ को नयाँ यात्रा प्रारम्भ भएको छ । यसै सन्दर्भमा नीति निर्मातालाई जानकारी गराउने लक्ष्यका साथ आजदेखि यहाँ ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो समिटको आज यहाँ उद्घाटन गर्नुभयो । ऊर्जाको आगामी भविष्यका रुपमा विश्वले प्राथमिकतामा राखेको हरित हाइड्रोजनसम्बन्धी हुन लागेको यो सम्मेलन हरित हाइड्रोजनसँग मात्र सम्बन्धित भएर यस तहमा गरिएको नेपालको पहिलो सम्मेलन भएको उहाँले उल्लेख गर्नुभयो । हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको छ । विभिन्न विकसित मुलुकले यसको उत्पादन र उपयोगको सम्बन्धमा नीति निर्माण सुरु गरिसकेको जानकारी दिँदै मन्त्री भुसालले प्रविधिको अनुसन्धान र अन्वेषण गर्ने, खपतको क्षेत्र निर्धारण गरी त्यसलाई अन्वेषण र विस्तार गर्ने कार्यमा छिट्टै नीति निर्माण गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । सम्मेलनले नेपाललाई हरित हाइड्रोजन ऊर्जाका सम्बन्धमा विश्वमा अग्रणी भूमिका निर्वाह गर्नका लागि मार्गनिर्देश गर्ने आफूले विश्वास लिएको मन्त्री भुसालको भनाइ छ । नेपालको प्रमुख प्राकृतिक स्रोतको रुपमा रहेको जलस्रोतलाई जलविद्युत्मा परिणत गर्ने र जलविद्युत्को प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन र महत्वपूर्ण रहेको मन्त्री भुसालको भनाइ छ । किफायति, विश्वसनीय, भरपर्दो र हरित ऊर्जामा सबै जनताको पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न जलविद्युत् आयोजनाको दिगो रुपमा विकास गरिनुपर्ने आवश्यकता औल्याउँदै उहाँले नेपालमा उपलब्ध प्रचूर जलस्रोतको विकासबाट देशभित्रको नवीकरणीय ऊर्जाको बढ्दो माग पूरा गर्दै बढी भएको स्वच्छ ऊर्जा छिमेकी मुलुकसम्म पु¥याइ विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राख्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “जीवाष्म इन्धनको खपतबाट उत्पन्न पर्यावरणीय असर, जलवायु परिवर्तनलगायतका समस्याले मानव समुदाय र पृथ्वीकै अस्तित्वमा खतरा पैदा भइरहेकाले विश्व मानव समुदायको रक्षा गर्दै भावि सन्ततिलाई सुरक्षित भविष्य दिनका लागि दिगो विकास र ऊर्जाका रुपमा नवीकरणीय ऊर्जाको प्रयोग आजको अपरीहार्य आवश्यकता हो ।” जलविद्युतको विकास गरी हामीले प्रयोग गर्ने सबै ऊर्जाका स्रोतका रुपमा जलविद्युत्लाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने साथै जलविद्युत्लाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य रहेको मन्त्री भुसालको भनाइ छ । त्यसका लागि मन्त्रालयले आवश्यक तयारीसमेत गरेको जानकारी दिँदै उहाँले त्यसका लागि कार्यदल गठन गरी जलविद्युत्को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको बताउनुभयो । सन् २०३० भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने, सन् २०२६ मा मध्यम आय भएको मुलुकमा पुग्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्न एवं सबल अर्थतन्त्रको विकास गर्न कृषि, पर्यटन, औद्योगीकक्षेत्र सहित जलविद्युत् आयोजनाको तीव्रतर विकास हुनु आवश्यक रहको उहाँको भनाइ छ । सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष शेष घलेले ग्रीन हाइड्रोजनसम्बन्धी नीति तत्काल बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । कोरोनाकालका संसारभर नै लकडाउन भएको अवस्थामा ग्रीन हाइड्रोजनको विकल्पका बारेमा आफू र आफ्नो समूहले विशेष अध्ययन गरेको जानकारी दिँदै उहाँले नेपालले ग्रीन हाइड्रोजन उत्पादनमा विश्वव्यापी रुपमा नै नेतृत्व लिनसक्ने बताउनुभयो । नेपालले विद्युत् उत्पादनमा ठूलो फड्को मारेको छ । यसबाट प्राप्त हुने लाभ अर्थतन्त्रका लागि जुन हिसाबले लाभदायी छ त्यो भन्दा ठूलो रणनीतिक लाभ वातावरणीय क्षेत्रमा हुनेछ । नेपालको बिजुलीले अब नेपालभित्रको कार्बन उत्सर्जन मात्र प्रतिस्थापन गर्ने छैन । भारत बङ्गलादेश भुटान श्रीलङ्कासम्म नेपालको स्वच्छ हरित जलविद्युत् पु¥याएर दक्षिण एसियाली क्षेत्रमा नै योगदान गर्ने प्रबल सम्भावना पनि बोकेको छ । बिजुलीको खपत गरेर इलेक्ट्रोलाईसिस पद्धतिमार्पmत पानी खण्डिकरण गरी हाइड्रोजन उत्पादन गर्ने र त्यसलाई स्वदेशी खपत तथा विदेश निर्यातको सम्भावना छ । नवीकरणीय ऊर्जाबाट उत्पादन गरेको विद्युत्को प्रयोग गरी पानीको विद्युतीय विच्छेदन (इल्ेक्ट्रोलाइसिस)बाट उत्पादित हरित हाइड्रोजनलाई केमिकल फिडस्टकको रुपमा रासायनिक मल उद्योग, स्टील उद्योग, यातायातमा प्रयोग गर्न सकिन्छ । हरित हाइड्रोजनको उत्पादन लागत ग्रे हाइड्रोजनको तुलनामा धेरै रहेको बताइन्छ । हरित हाइड्रोजनको उत्पादन लागत प्रतिकेजी ५/५ अमेरिकी डलर रहेको छ भने ग्रे हाइड्रोजनको उत्पादन लागत दुई डलर रहेको छ । उत्पादन लागत घटाउन विद्युतीय विच्छेदनमा लागेको लागत र नवीकरणीय ऊर्जा उत्पादनमा लाग्ने लागत कम गर्नुपर्छ । हालको अध्ययन अनुसार इलेक्ट्रोलाइजरको लागत सात सयदेखि एक हजार अमेरिकी डलर बराबर रहेको छ । कोभिड–१९ का कारण सिर्जित माग आपूर्तिबीचको असन्तुलन र रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य आकाशिएको सन्दर्भमा संसारभर नै हाइड्रोजनलाई ऊर्जाको विकल्पका रुपमा प्रयोग गर्ने गरी लगानीसमेत विस्तार भएको छ ।
वालिङ : गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिनुभयो । गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उहाँले जानकारी दिनुभयो । “सर्पले डसेपछि अस्पतालसम्म ल्याई पुर्याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर गर्यौ तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।” खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो । स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए ।
बलेवा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार दलले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दलका नेताहरुले उम्मेदवारी दर्ता गराए । बागलुङको क्षेत्र नं १ बाट सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । मनोनयनपछि केसीले संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि उम्मेदवारी दर्ता गर्नुपरेको बताउनुभयो । यसअघि पटकपटक एमालेसँगको तालमेलमा निर्वाचन लडेको राजमोले यो पटक कांग्रेस रोजेको हो । केसीले पनि पहिलो पटक कांग्रेसको समर्थनमा निर्वाचन लड्दै हुनुहुन्छ । सोही क्षेत्रमा एमालेका निवर्तमान सांसद डा सूर्य पाठक उम्मेदवार बन्नुभएको छ । क्षेत्र नंं १ का लागि राप्रपाका लक्ष्मीप्रसाद सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि खिमानन्द कँडेलले पनि उम्मेदवारी दिनुभएको छ । कांग्रेसका नेता कृष्ण शङ्कर श्रेष्ठ र चन्द्रबहादुर क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं १ को ‘क’ प्रदेशमा कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेका अध्यक्ष हिराबहादुर केसी उम्मेदवार बन्नुभएको छ । थापा कांग्रेसका निर्वतमान सभापति हुनु्हुन्छ । त्यस्तै राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र दीपेन्द्र हमालको स्वतन्त्र उम्मेदवारी परेको छ । क्षेत्र नंं १ कै ‘ख’ प्रदेशमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेलको उम्मेदवारी परेको छ । यो क्षेत्रमा राप्रपाका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेसनका सहवीर थापाले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नंं २ मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभयो । यो क्षेत्रमा एमालेकी मञ्जु शर्मा चालिसेले उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेल अघिल्लो पटक यो क्षेत्रबाटै निर्वाचित हुनुहुन्थ्यो । राप्रपाका अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, मङ्गोल नेशनल अर्गनाइजेसनका गोवर्धन घर्तीमगरले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नं २ को क प्रदेशमा कांग्रेस सभापति जीतबहादुर शेरचन र स्वतन्त्र प्रकाश घर्तीले उम्मेदवारी दर्ता गराउनुभयो । घर्ती एमालेको समर्थनमा लड्ने तयारीमा हुनुहुन्छ । यहाँ राप्रपाका शङ्कर खरेल, स्वतन्त्रबाट भीमलाल पोखरेलको उम्मेदवारी परेको छ । पोखरेल राजमो सचिव हुनुहुन्छ । क्षेत्र नंं २ कै ‘ख’ प्रदेशमा कांग्रेसका द्रोण कुँवर र एमालेका लक्ष्मण पुनले उम्मेदवारी दिनुभएको छ । राप्रपाबाट शान्ताकुमारी चन्द, जनता समाजवादी पार्टीबाट गङ्गाबहादुर घर्ती, मंगोल नेशनल अर्गनाइजेसनका ताराबहादुर घर्तीले उमेदवारी दिनुभयो । स्वतन्त्रतर्फ दीपक थापा, नरबहादुर गुरुङ, दुर्गादेवी घर्ती, कर्मती पुन र टेकप्रसाद कामीले उम्मेदवारी दिनुभएको हो ।
पोखराः पछिल्लो समय कलाकारिताबाट फुर्सद पाएपछि करिश्मा मानन्धर अर्थात् सूर्यकुमारी अभिनेत्रीबाट नेतृ भइन् । मानन्धरलाई नेकपा एमालेले स्वागत ग¥यो, त्यसपछि उनी अध्यक्ष केपी शर्मा ओलीसँगै विभिन्न कार्यक्रममा देखिइन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशमा हुने चुनावको टिकट बाँडफाँडपछि उनले हातमा वाइनको गिलास लिएर उन्मुक्त हुँदै अर्थपूर्ण स्टाटस पोस्टिएकी छिन् । स्टाटसको आशय यही हो भनेर ठोकुवा गर्न नसकिए पनि पार्टीबाट उनले समानुपातिकमा अपेक्षा गरेको हुनसक्ने आशय निस्कन्छ । उनको स्टाटसमा ‘एमाले कम्पनीभित्र गएपछि श्वास फेर्नपनि मुस्किल हुने’जस्ता कमेन्ट गरिएको छ । त्यस्तै, धेरै कमेन्टमा उनलाई स्वतन्त्र हुन पनि सुझाइएको छ । यही क्रममा उनको स्टाटसलाई टिकट नपाएपछिको रोषसमेत भनिएको छ । यद्यपि, ‘बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ लाइनलाई अब एमाले छाडेर बाहिर निस्कन लागेको भन्ने अर्थ लगाउन सकिन्छ । लोकगायिकाको छवि बनाएकी कोमल ओलीलाई एमालेले पार्टीमा भित्र्याएपछि दिएको अवसर देखेर उस्तै अवसर पाउने विश्वासमा त्यतै लागेकी मानन्धर अहिले तस्बिर र स्टाटसमा देखिएजस्तै उन्मुक्त छिन् ।
बाँके : केही दिनयतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन् । प्राकृतिक विपद्का कारणले करिब पाँच सय घरपरिवारका कम्तीमा तीन हजार पाँच सय विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका–२ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा तीन सय घरधुरी विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । “विस्थापित भनेका जोखिम देखेर घर छाड्नेहरु हुन्” उहाँले भन्नुभयो । विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घरसमेत फिर्ता भएको उहाँले बताउनुभयो । बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ । त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ र २० का तीन सयभन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन् । बाढीले नरैनापुरका दुई सय घर भत्केका छन् । त्यहाँका छवटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिनुभयो । उहाँले पीडितलाई राहत र उद्धारका लागि पटक–पटक अनुरोध गरेको जानकारी दिँदै चार दिनदेखि विद्युत्समेत नभएको बताउनुभयो । नरैनापुरका बनियागाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर, पचपेडवा, घोडदौरिया, पण्डितपुरवा, जमुनाहालगायत धेरै बस्ती डुबानमा परेका छन् । “यहाँका सबै स्थान पानीले भरिएको छ”, उहाँले भन्नुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्याङ्क सङ्कलन गर्ने, तत्कालका लागि सुक्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ । बाढी र डुबानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानीय सरकारले राहत उपलब्ध गराउने निर्णयसमेत भएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । डुडुवामा राहत व्यवस्थापन डुडुवा गाउँपालिकामा बाढीपीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सयलाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको बताउनुभएको छ । डुडुवा–१ का छिटाइपुर्वास्थित दुई पाझा टोलका करिब एक सय २० र सोही वडाअन्तर्गत कृषि चौफेरी, बोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब दुई सय ५० अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निर्माण गरेको आश्रयस्थलमा बसिरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि आश्रयस्थलमा पुगेका स्थानीयलाई अहिले तत्काल तयारी खाजा र चार–पाँच दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ । उहाँले केही दिनसम्म स्थानीय पीडित भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गर्दै गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने जानकारी दिनुभयो ।
पाल्पा : लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको क्याङरुङ गाउँ पहिराले उच्च जोखिममा परेको छ । यहाँका करिब २२ घरमा पहिराले जोखिम बढाएको छ । गत शनिबार बिहान पहिरो खस्दा क्याङरुङको डाँडाथर टोल जोखिम परेको हो । पहिराका कारण विस्थापित परिवारलाई तत्कालका लागि छिमेकीको घरमा सारिएको छ । पहिरापीडितलाई पालिकाले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको वडाध्यक्ष नवीन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार तत्कालका लागि घरमा राखिएका अन्नपात र गाईवस्तुलाई ओत लाग्न त्रिपाल वितरण गरिएको छ । बसोबासका लागि गाउँ नै जोखिम बनेको स्थानीय गोकबहादुर सोती गुनासो गर्नुहुन्छ । उहाँ भन्नुभयोे, “तत्कालका लागि मानवीय र घरमा क्षति नदेखिए पनि कतिबेला घर पहिराले लैजान्छ भन्ने निश्चित छैन, गाउँ नै पूरै जोखिममा छ, यसपटक वर्षाले ठूलै पहिरो खसेपछि गाउँका स्थानीयमा त्रास बढेको छ ।” यहाँ रहेको लक्ष्मी माविमा पनि जोखिम पु¥याएको प्रधानाध्यापक पदमबहादुर थापाले बताउनुभएको छ । निस्दी–४ मित्यालको एक विद्यालय र दुई घरमा पनि ठूलो क्षति पुगेको छ । वर्षाले खोपलाकका दुई घर भत्केको छ । माथिबाट खसेको पहिराले जनकल्याण आधारभूत विद्यालय भवनमा ठूलो क्षति पुगेको धनबहादुर ठाडाले बताउनुभयो ।
रेसुङ्गा : गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दशैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दशैंलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उहाँको गुनासो छ । स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैं भनेर दिएको आश्वासनप्रति दिक्क हुनुहुन्छ । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरी जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ । अर्का स्थानीयवासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नएकामा दुःखी हुनुहुन्छ । चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उहाँले गुनासो गर्नुभयो । “पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौँ”, पुनले भन्नुभयो, “अहिले पनि उडान नभएपछि अब सो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ ।” उहाँहरु मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दशैंमा जहाज उड्छ भनेर भुक्काइएको वर्षौं भएको छ । निर्वाचनको समयमा होडबाजीको दौड चले पनि अघिपछि कसैले पहल नगरेको स्थानीयवासीहरुको आरोप छ । विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास गर्नुभएको थियो । जग्गा अधिग्रहण र बजेट अभावका कारणले सुरुको सात÷आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन । त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम सुरु भएन । शिलान्यासको नौ वर्षपछि २०७२ बाट विमानस्थलको नियमित काम सुरु भयो । रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनीयर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दशैंसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आउनुभयो । निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०÷४५ प्रतिशत मात्र काम भएको थियो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले परीक्षण उडान भरेकोे थियो । अर्को वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले केही असर गर्यो । विसं २०७९ वैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरुप पायो । रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले विमानस्थलमा भौतिक संरचना निर्माणको काम गरेका थिए । इञ्जिनीयर परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो । बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो । विस्थापितले मुआब्जा पाइसकेका छन् । निर्माण सम्पन्न विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । कूल रु ३५ करोड लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर परियारले बताउनुभयो । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अहिले विमानस्थल नियमित उडानका लागि तयार रहेको छ । प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इञ्जिनीयर परियारको भनाइ छ । रेसुङ्गा विमानस्थलको संरचना पूर्णरुपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन् । नियमित उडान शुभारम्भ नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालेको छ । विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापरबाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ । रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगरप्रहरी खटाउने तयारी गरेको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नको आफूहरु आतुर रहेको बताउनुभयो । उहाँले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको जानकारी दिनुभयो । “गुल्मेलीको भाग्य र भविश्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौँ”, नगरप्रमुख पन्थीले भन्नुभयो, “नियमितको उडानको प्रक्रिया अगाडि बढिसकेको छ ।” गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महशुस हुनेछ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पुर्याउने विश्वास गरिएको छ ।