ललितपुर:  प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को...

  पाल्पा । भवन निर्माणमा पुरुषकै नेतृत्व प्राय:जसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुनुहुन्छ । अहिले उहाँलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याई छ ।  पाल्पाको रामपुर नगरपालिका–४ स्थित बाङ्गेपसलकी सुमन करिब दुई दशकदेखि यस क्षेत्रमा आबद्ध हुनुहुन्छ । एक दशकदेखि भने आफ्नै नेतृत्वमा घर भवन निर्माण  गरिरहनुभएको छ । सुरुमा ढुङ्गा, इँटा, छड, सिमेन्ट बोक्ने, तारजाली भर्ने, गारो लगाउने, प्लाष्टर गर्ने काम गर्नुभएकी उहाँले यतिबेला समाजमा अब्बल र साहसी महिला निर्माण व्यावसायीका नामले आफ्नो पहिचान बनाउनुभएको छ । आफूले पढ्ने रहर भएर पनि परिवारको अर्थावस्थाले पढ्ने वातावरण नबनेपछि श्रीमान्सँगै सुमन यस क्षेत्रमा लाग्नुभएको हो ।  उहाँ भन्नुहुन्छ, “मैले पढ्न नपाए पनि दुःख गरेर छोरीलाई काठमाडौँमा राखेर उचित शिक्षामा लगानी गरिदिएको छु, छोरीले पनि चारवर्षे कम्प्युटर इञ्जीनियरिङ उत्तिर्ण गरिन्, मैले भोगेको दुःख छोरीले भोग्न नपरोस् ।” पूर्वी पाल्पा मजदुर व्यवसायी समितिको उपाध्यक्षसमेत रहनुभएकी सुमन घरमा बेरोजगार बसेका महिलालाई आर्थिक उपार्जनका निम्ति आफूले सीप सिकाएर काम दिने गर्नुहुन्छ । समय र कामअनुसार मजदुरलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको उहाँ बताउनुहुन्छ । सुमनको  नेतृत्वमा काम गर्ने मजदुरले दैनिक आठ घण्टा काम गरेवापत रु छ सयदेखि रु एक हजारसम्म ज्याला बुझ्छन् । उहाँले दैनिक न्यूनतम १० देखि बढीमा २० कामदार परिचालन गर्दै आउनुभएको छ ।  “हातमा सीप भएपछि पुरुषसरह नै काम गर्न सकिन्छ, अरुको भरमा रहँदा महिला हेपिनुपरेको छ”, उहाँले भन्नुभयो, “यस कामबाट समाजमा दाम र नाम मिलेको छ, यसमा म एकदमै सन्तुष्ट छु । तर कतिपय सन्दर्भमा भने मजदुर वर्ग भनेपछि गाउँ समाजमा कामको सम्मान छैन ।”  आफूले सकुञ्जेलसम्म यसै व्यवसायमा रहने सुमनको भनाइ छ । विभिन्न स्थानबाट माग आए पनि कामको चापले रामपुर नगरपालिकाभित्रै व्यस्त हुनुहुन्छ । हाल उहाँ दुईवटा घरको ठेक्का लिएर काम गरिरहनुभएको छ । उहाँले आवासीय घरमात्र नभई विद्यालय तथा मस्जिद, विभिन्न सङ्घसंस्थाको भवन निर्माण गर्दै आउनुभएको छ ।  सम्बन्धित घरधनी तथा सङ्घसंस्थाले दिएको आकारअनुसार नै जस्ताको तस्तै निर्माण गर्ने उहाँको कला छ । त्यसकारण पनि सुमन यस क्षेत्रकै निर्माण व्यवसायीमा साहसी, सफल व्यवसायीका रूपमा कहलिनुभएको छ । यस क्षेत्रमा काम सुरु गरेपछि साढे चार आनाको जग्गा किनेर घर बनाउनुभएको छ भने दुई घडेरीसमेत जोड्न सफल हुनुभएको छ । अहिले श्रीमान् र श्रीमती नै यसै क्षेत्रमा सक्रिय भएर काम गरिरहनुभएको छ । हातमा सीप भएका कारण कोभिड–१९ को समयमा पनि उहाँलाई एक दिन खाली बस्नु परेन ।  यस व्यवसायमा खर्च कटाएर वार्षिक न्यूनतम रु दुई लाख बराबरको कमाइ गर्दै आउनुभएको छ । घर भवन निर्माणमा आवश्यक पर्ने करिब सात लाख बराबरको विभिन्न सामग्री आफैँ बन्दोबस्त गर्नुभएको छ । बर्सेनि रु एक लाख ५० हजारभन्दा बढी सामग्री खरिदमा नै लगानी गर्नुहुन्छ । हालसम्म तीन सय बढी घर भवन निर्माण सम्पन्न गरिसक्नुभएको छ ।  निर्माण व्यवसायसम्बन्धी व्यावसायिक तालिम परिषद्बाट छ महिने तालिम लिनुभएको छ । रामपुर क्षेत्रमा मात्रै करिब ६० भन्दा बढी निर्माण व्यवसायी आबद्ध छन् । पूर्वी पाल्पामै यस क्षेत्रमा उहाँ एक्लो महिला व्यवसायीका रुपमा चिनिनुहुन्छ । महिलाको नेतृत्वमा आफू ज्यालादारीमा काम गर्ने अवसर पाउँदा धेरै सहज भएको बताउनुहुन्छ, २९ वर्षीया सपना परियार । सुमनकै प्रेरणा र साथ पाएपछि घर बनाउने मिस्त्री काम सिक्नुभएकी सपनालाई यतिबेला यस क्षेत्रमा काममा भ्याइनभ्याई नै छ ।     “महिलाका समस्या बुझ्ने महिलाले नै हो रहेछ, कतिपय समस्या आइपरे पनि झट्ट पुरुषलाई भन्न अप्ठ्यारो लाग्ने, सुरक्षाका हिसाबले महिला निर्माण व्यवसायी भएपछि ढुक्कसँग काम गर्न पाइयो, आफ्नै सन्तानसरह व्यवहार पाएकी छु, त्यसैले एक दिन पनि घरमा आराम गरेर बस्नै मन लाग्दैन”, उहाँले भन्नुभयो । कक्षा ७ सम्मको औपचारिक शिक्षा लिनुभएकी सपनाका १० र १२ वर्षका दुई छोरा छन् । हाल दैनिक मजदुरीबाट रु छ सय ज्याला बुझ्नुहुन्छ । यसैबाट परिवारको जीविका र दुई छोराको पढाइ खर्च चलेको छ । सात वर्ष अगाडि भारतमा रोजगारी गर्न जानुभएका उहाँका श्रीमान्को मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएपश्चात् उहाँ मजदुरीकै भरमा गुजारा चलाउन बाध्य हुनुहुन्छ । उहाँले सिमेन्ट घोल्ने, घरको गारो लगाउने, प्लाष्टर गर्नेजस्ता घर भवन निर्माणका सबैजसो सीप सिक्नुभएको छ । निर्माण व्यवसायमा महिला भए पनि पुरुषसरह नै हिम्मत र साहस, व्यवसायमा सफल र सबैका लागि प्रेरणादायी, उदाहरणीय महिलाका रूपमा रहेको कपिलवस्तुको गोरुसिङ्गेका ६० वर्षीय टीकाराम थारू बताउनुहुन्छ । उहाँ पनि सुमनकै नेतृत्वमा अहिले भवन निर्माणमा संलग्न हुनुहुन्छ ।  

  गण्डकी:  कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच/सात मिनेटमा पुग्न सकिन्छ ।      गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ । यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो । लामो समयको प्रतिक्षापछि दुवै खोलामा पक्की मोटरेवल पुल बनेसँगै यतिखेर सेराबेंसीका स्थानीय निकै खुसी छन् ।          पुलकै अभावमा विगतमा लामो समयसम्म ओझेलमा परेको सेराबेंसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीवासीमा पुल बनेसँगै यतिखेर समृद्धि र विकासको आशा जगाएको समाजसेवी एवं हंशबाहिनी मावि एक्लेखेत तनहुँका सहायक प्रधानाध्यापक ठाकुरप्रसाद खनालले बताउनुभयो ।          “गुबे खोला र खुदी खोलामा पुल नबन्दा सेराबेंसी र आसपासको क्षेत्र सम्भावना भएर पनि ओझेलमा परेका थिए”, उहाँले भन्नुभयो, “अहिले भने दुवै खोलामा पुल बनेपछि आवतजावत गर्न निकै सहज भएको छ ।”          पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौँडा र तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं २ जोड्ने गरी दोभानमा र गुबे खोलामाथि बनेका पुलले यहाँको समृद्धि र विकासको ढोका खोलेको स्थानीय बताउँछन् ।          कृषिजन्य उत्पादनमा अब्बल सेराबेंसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासमा पक्की पुलको अभाव मुख्य बाधक बनिरहेको थियो । यस्तो अवस्थामा गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिनुभयो ।          त्यस्तै गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न भएको उहाँले बताउनुभयो । “स्थानीयवासीको लामो समयदेखिको पुलको आशा निष्कर्षमा पुगेको छ”, उहाँले भन्नुभयो, “पुलसँगै अब उक्त मार्गको कालोपत्र गर्ने योजना अघि बढाएका छौँ ।”          उक्त क्षेत्रमा पुल नहुँदा पौडिएर खोला तर्नुपर्ने विवशता २०५२ सालदेखि झोलुङ्गे पुलले अन्त्य गरिदिए पनि पक्की पुलको अभावमा राजमार्गबाट नजिक रहेर पनि सेराबेंसीसहित आसपासको क्षेत्र बत्तिमुनिको अँध्यारो जस्तै बनेको थियो ।           रुपातालबाट बगेर आउने खोला र देउरालीबाट आउने फुस्रे खोला मिसिएर बनेको खुदी खोलामा दुई दशकअघिसम्म झोलुङ्गे पुलसमेत नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । लामो समयपछि २०५२ सालमा स्थानीयवासीको सक्रियतामा झोलुङ्गे पुल निर्माण गरिएको तत्कालीन भोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष एवं नवनिर्मित मोटरेवल पुल निर्माण सहजीकरण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।      उक्त समयमा मानिसको ज्यान बचाउन झोलुङ्गे पुल बहुउपयोगी बनेको बताउँदै उहाँले झोलुङ्गे पुलले हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजिकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताउनुभयो ।          पक्की पुलको अभावमा सेराबेंसी र आसपासको क्षेत्र धेरै सम्भावना बोकेर पनि पछि परेको बताउँदै उहाँले यसको निर्माण सम्पन्न हुनुले स्थानीयमा आशा जगाएको उल्लेख गर्नुभयो । पुल निर्माणसँगै स्थानीयवासीको आवतजावत एवं कृषिजन्य उत्पादन बजारमा पु¥याउन सहज भएको छ ।     सेराबेंसी, नयाँगाउँ, थप्रेक, स्याम्घा, सिसाघाट, आरुस्वाहारा, तल्लोपोखरी, काठेपीपल, चोयाबिसौँना, राङ्दी, झुप्राङ, देउराली, दगामलगायत ठाउँका स्थानीयवासी पुल निर्माणसँगै लाभान्वित भएका छन् । यसले थप्रेकमा रहेका गलेखाम कोट, थप्रेकको थुम्का जस्ता पर्यटकीयस्थलको विकास एवं प्रवद्र्धन हुने र सेराबेंसीलगायत उर्वर भूभागका उत्पादनले बजार पाउने अपेक्षा गरिएको छ ।          गण्डकी प्रदेशको राजधानी पोखरासँग नजिक रहेर पनि पुलको अभावमा तनहुँको सेराबेंसीलगायत स्थानका वासिन्दाले लामो समयदेखि दुःख कष्ट भोग्दै आएको वास्तविकतामा नवनिर्मित पुल यस क्षेत्रका लागि बरदान सावित हुने शुक्ला गण्डकी –१ का वडाध्यक्ष पौडेलले बताउनुभयो ।          विगतमा पटकपटक पुल निर्माण चुनावी मुद्दा बनेपनि यसलाई निष्कर्षमा पुया{उन पाउँदा निकै खुसी लागेको यसअघि पनि वडाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका पौडेलले बताउनुभयो । “अघिल्लो पटक चुनावी दौरानमा पुल निर्माणको प्रतिबद्धता व्यक्त गरेका थियौँ”, उहाँले भन्नुभयो, “प्रतिबद्धतालाई सबैको साथ र सहयोगमा निष्कर्षमा पु¥याउन पाउँदा खुसी लागेको छ ।”          सहरी क्षेत्रमा बढ्दो बस्ती विकासको क्रमसँगै पुल नहुँदा राजमार्गको नजिकै रहेर पनि विगतमा सेराबेंसीलगायतका स्थान छोडी राजमार्ग आसपासमा बस्न आउने क्रम आगामी दिनमा रोकिने र उक्त क्षेत्रमा बस्ती विकास बढ्ने अपेक्षा गरिएको छ ।          लामेआहालमा निर्माण गर्ने भनिएको बसपार्क बनेका अवस्थामा राजमार्ग क्षेत्रमा सम्भाव्य सवारीसाधनको चापसमेतलाई कम गर्न यहाँ निर्मित पुलबाट रुपाकोट हुँदै पोखरा जोड्न सकिने वैकल्पिक मार्गका रुपमा विकास गर्न सकिने देखिएको छ भने  नजिकैको पुडिटारमा बन्ने भनिएको औद्योगिक क्षेत्रका लागि यसले महत्वपूर्ण अर्थ राख्दछ । पुलकै अभावमा पाँच÷सात मिनेटमा नै आवतजावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता पनि अन्त्य भएको छ । तनह'Fको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई २०१८ सालका सहिद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो ।      त्यस्तै तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो । पछिल्लो समयमा दमौलीबाट थप्रेक र थप्रेक हुँदै कोत्रेसम्म जोडिने भएकाले यो मार्ग दमौलीबाट पोखराका लागि वैकल्पिक मार्ग बन्न सक्ने पनि देखिन्छ । 

  काठमाडौं । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिनुभएको थियो । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।  शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।

  जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताउनुभयो । सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङलगायतका दृश्यले पनि धेरैलाई लोभ्याउने गर्छ । पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा फाइदा पुगेको छ । मुस्ताङ नेपालका लागि मात्र नभएर विश्वकै लागि चर्चित बन्न पुगेको छ । विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइक्लिङ गर्न रुचाउँछन् ।  पोखरा–बागलुङ राजमार्गलाई मालढुङ्गामा छाडेर बेनी, तातोपानी, रुप्से हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ । मुस्ताङ सदरमुकाम जोमसोम हो । यसको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएकले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब–करिब बीच भाग भएर कालीगण्डकी नदी बग्दछ । प्रायः बस्ती यही नदीको किनारमा अवस्थित छन् । हरेक वैशाख र साउनमा जिल्लामा चौँरीको आलो रगत खाने पर्व पनि लाग्छ, नजिकका जिल्लाका बासिन्दाको यहाँ भीड लाग्छ । पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । त्यहाँबाट यातायातका साधनमार्फत करिब एक घण्टामा मुक्तिनाथ पुग्न सकिन्छ । पोखराबाट बसबाटै मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले गति लिन थालेपछि मुस्ताङको मुहार थप उज्यालिँदै गएको होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचनले जानकारी दिनुभयो । धवलागिरि, नीलगिरिलगायतका हिमालको काखैमा रहेको मुस्ताङमा सडक कालोपत्र गरिएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । पक्की सडकले यात्रुलाई सुविधा हुनुका साथै मुस्ताङको सौन्दर्यलाई समेत थप टेवा पु¥याएको स्थानीयले बताएका छन् । जोमसोमबाट कागबेनीसम्मको सडकको रौनक फेरिएको छ । नयाँ–नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदी तथा खोलामा पुल बनिरहेका स्थानीय छेप्तेन गुरुङले बताउनुभयो । कागबेनीमा होटल चलाउँदै आएका गुरुङका अनुसार मुस्ताङमा याक गुम्बा, निलगिरि, धौलागिरिलगायत हिमाल, ताल, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बा, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत हेर्न पर्यटक आउने गरेका छन् । पछिल्लो समय होटल तथा लजको सङ्ख्या वृद्धि हुने क्रम बढेको छ । स्थानीय तहहरूले आ–आफ्नो पालिकामा विकास गर्ने प्रतिस्पर्धाका कारण मुस्ताङको मुहार फेरिँदै  गएको छ ।  

  महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । यसअघिका दुई वर्ष कोराना (कोभिड–१९) सङ्क्रमण सन्त्रासले धक खोलेर पर्व मनाउन नपाइएको सम्झँदै यसपालि भने महाव्याधि नभएपछि पर्व मनाउन सहज भएको बर्तालु बताउँछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।   श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् । आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि पर्सी आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ । मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै  बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको छ । यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ । त्यसैले यसलाई लोकपर्व भनिएको मैथिल संस्कृतिविद् बताउँछन् ।

  गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो ।  नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पुर्याउनु अघि नै उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा निर्वाचत हुनुभएको थियो ।    वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवासङ्घको नेपालको केन्द्रीय सचिवालय सदस्यसमेत हुनुहुन्थ्यो ।

  चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।  यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।

काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।  प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । विभागका अनुसार अधिकांश भू–भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।

  ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिनुभयो । प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताउनुभयो ।