रामपुर । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाईन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्नुहुन्छ, सयपत्री र मखमली, घरको दायाँबायाँ । पवित्र होस् सधैँभरि, दिदीभाइको माया ।। यी माथि व्यक्त गरिएका साहित्य हरफले तिहार पर्वमा गलामा सयपत्री, मखमली फूलको माला र दिदीको न्यानो स्नेह, ममता पाउँदाको भाव र ती क्षणलाई सम्झदै उहाँले आफ्ना शब्दमार्फत दर्शाउन खोज्नुभएको छ । तिम्रै साथमा रहन पाऊँ, बनी तिम्रो छाया । पवित्र होस् सधैँभरि, दिदीभाइको माया ।। तिहार पर्वले दिदीभाइ र दाजुबिहिनीबीचको सम्बन्ध अझै पवित्र प्रगाढ स्नेही र पुनर्मिलन गराउनमा महत्वपूर्ण भूमिका खेलेको उहाँको बुझाइ छ । “दाजुभाइ पनि आफ्नो कार्यव्यस्तताले जहाँ रहे पनि वर्ष दिनमा एक पटक आउने चाड तिहारमा जस्तोसुकै काम भए पनि थाती राखेर दिदीबहिनीसँग पुनर्मिलन हुन पुग्ने गर्दछन्”, उहाँले भन्नुभयो, “मलाई सबैभन्दा बढी मनपर्ने चाड तिहार हो, यस पर्वले सबैलाई उमङ्ग, उज्यालो र आत्मीयता बढाएको हुन्छ ।” निधारमा सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलले सजिएका ती गला, दिदीबहिनीको माया, स्नेह र आशीर्वाद लिने पर्व भाइटीकाले सबै उमेर समूहमा उत्तिकै आत्मीयता र महत्व राख्दछ । साहित्यकार मित्रलाल गौतम कवितामार्फत भाइटीकालाई यसरी व्यक्त गर्नुहुन्छ, बल्छन् बत्तीहरु झिलीमिली गरी सबैका घर । दुःखी हुन् अथवा गरिब पनि सुखी देखिने तर।। आफ्ना जो घरका दिदी र बहिनी छन् जसका जहाँ जति । आशीर्वाद लिनेदिने समयको मौका मिलेको कति ।। सबका घरमा बलेका ती झिलीमिली बत्तीले को धनीको गरिब छुट्याउँदैनन्, धनी गरिब सबैलाई समानरुपमा जोड्ने पर्व तिहार अर्थात् भाइटीकालाई लिनुहुन्छ, साहित्यकार गौतम । उहाँका कविताले दिदीभाइ, दाजुबहिनीले एकापसमा भाइटीका ग्रहण गरी आशीर्वाद दिने र लिने एक महत्वपूर्ण अवसर, उत्सवका रुपमा लिने गरेको गौतम बताउनुहुन्छ । “अन्य पर्वका तुलनामा यो पर्वले फरक भूमिका खेलेको छ, दाजुभाइ दिदीबहिनीले एकले अर्कोलाई गर्ने माया प्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई फराकिलो बनाएको पाइन्छ, दिदीभाइ, दाजुबहिनीबीचको माया, प्रेम, आशीर्वाद लिने र दिने गर्दा अझ बढी तिहारको महत्व बढेको पाइन्छ”, उहाँले भन्नुभयो । रामपुर साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको तिहारको सन्दर्भ पारेर आयोजना गरिएको रचनावाचन कार्यक्रममा लक्ष्मीपूजा, देउसीभैलो, भाइटीकाको महत्व समेटिएका आफ्ना सिर्जना साहित्य श्रष्टाले अभिव्यक्त गरेका छन् । करिब दुई दर्जन श्रष्टाले तिहार विशेष आफ्ना साहित्य सिर्जनामार्फत दिदीभाइ, दाजुबहिनीबीचको सम्बन्धलाई जोड्ने, मखमली फूल, सप्तरङ्गी टीकाको महत्वलाई उजागर गरेका छन् । दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । मखमली फूलको तिहारमा धेरै महत्व छ । यो फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । विभिन्न समयमा पर्व विशेष, मोती जयन्ती, भानु जयन्ती, लक्ष्मी जयन्ती, मेला पर्व, विभिन्न मठ मन्दिरमा हुने पूजाका अवसरमा विभिन्न क्लब सङ्घ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई रचनावाचन कार्यले कला, संस्कृति, सिर्जना, साहित्यको विकासका निम्ति महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ, रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष वासुदेव ढकाल । “रामपुर नगरपालिका मात्रै नभई कालीगण्डकीबेँसी आसपासका साहित्यकारले नियमित रचनावाचनका अलवा चाडपर्व विशेष र समय सान्दर्भिक बिशेष कार्यक्रमलाई असाध्यै चासो दिनुुहुन्छ, बेला बेलामा रचनावाचन कार्यक्रम आयोजना हुने गरेपछि साहित्य श्रष्टा जुर्मुराउन थालेको पाइएको छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानले साहित्यिक रचनावाचन कार्यक्रमलाई नियमितरुपमा हरेक महिना गर्न थालेपछि लुकेर रहेका प्रतिभाको उजागर गर्ने अवसर मिलेको छ । कला र गला भएका श्रष्टाले आफ्ना सिर्जना, भावनालाई बेला बखत पोख्ने माध्यम बनेको छ । प्रतिष्ठानले घुम्तीरुपमा रामपुरका विभिन्न स्थानमा साहित्यिक गतिविधि गर्दै आइरहेको छ ।
ढोरपाटन । बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता पहिलेनै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशकयता निकै कम भएको छ । आधुनिक गीत सङ्गीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बुढापाका बताउँछन् । यो नाच समूहमा नाचिने गरिन्छ । नाच प्रस्तुत गर्दा एक जना सिङारु हुन्छ । जसले महिलाको पहिरन गरेर नाच्छ । समूहमा रहेका केही बूढापाकाले मादल बजाउने र गीत गाउने गर्छन् भने अन्यले उनीहरुसँगै गाउने र नाच्ने गर्छन् । एक दशक अगाडिसम्म बागलुङ पश्चिमका ग्रामीण भेग तिहारको बेला निकै रमाइलो हुने गथ्र्यो । जताततै सोरठी नाच्ने र गाउनेहरु भेटिन्थे । अहिले यो नाच देख्नसमेत मुस्किल पर्छ । बडिगाडका ७७ वर्षीय रत्नबहादुर बुढा आफ्नो जवानीमा सोरठी नाचेर थाक्नु हुँदैनथ्यो । आफ्नो हात खुट्टा चल्न थालेपछि उहाँले नाच्न छोड्नु भयो । नयाँ पुस्ताले यो नाच नाच्न चासो नदेखाएपछि लोप हुने अवस्थामा पुगेकोमा उहाँ चिन्तित हुनुहुन्छ । “हराउँछ अब, अहिलेका युवाले सिक्नै चाहन्न्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने डर लाग्छ, हाम्रो हात खुट्टा बस्न थाले, म नाच्न सक्दैन, सिकाउ मैले धेरै खोजे तर सिक्नेले सिक्नै नखोजेपछि सकिँदो रैनछ, बरु अरु गीतमा नाच्छन् सोरठीमा नाच्दैनन् ।” नाच लोप हुने डरले उहाँलाई पिरोली रहन्छ । बाउ, बाजे र काकाबाट नाच्न सिक्नुभएका बुढाले आफ्नो छोरा, भतिज र नातीले सिक्न नचाहँदा नाच सङ्कटमा परेको बताउनुहुन्छ । “हामीपछिका भाइहरुले त अहिले पनि नाच्दैछन्, अब उनीहरुले पनि दुई/चार वर्षपछि नाच्न सक्दैनन्, उतिबेला बाउ, बाजे र काकाले हाम्लाई सिकाए, हामीहरुले भाईहरुलाई सिकाइयो, तर अहिलेका जवानले चासो दिँदैनन्, हराउने भयो अब यो नाच”, बुढाले भन्नुभयो । पुराना पुस्ताबाट नयाँ पुस्ताले मौलिक कला संस्कृति नसिक्दा सोरठी नाच हराउँदै गएको तमाखोला–३ का ६७ वर्षीय भक्तबहादुर पुनले बताउनुभयो । पुनले आफूले १०/१२ वर्षको उमेरदेखिनै सोरठी नाच सिकेर नाच्दै आएको बताउँदै अहिलेका युवाले यसतर्फ चासो नदेखाउँदा हराउँदै गएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई सिकाउने कोसिस गर्दा पनि सिक्ने इच्छा नदेखाउने बताउनुहुन्छ । “जमाना फेरिए अहिलेका युवाले पुराना कला संस्कृति सिक्नै चाहन्नन्, के–के गीत सुन्छन्, गाउँछन्, तर पुराना गीत सङ्गीत त मनै पराउँदैनन्, हाम्ले सिकाउन खोजे पनि सिक्न चाहन्न्”, उहाँले भन्नुभयो, “हामी मरेपछि पुराना संस्कृति पनि मर्छन् होला, यस्ता राम्रा संस्कृति हराउँदै गए, निकै दुःख लाग्छ, अहिलेका युवाले सिके त पुर्खौंसम्म पनि जीवित रहने थिए ।” मौलिक संस्कृतिमध्येको विशिष्ट संस्कृति भएको भन्दै यसको संरक्षण गर्नका लागि युवापुस्ता नै जागरुक हुनुपर्ने पुनले बताउनुभयो । उहाँले आधुनिकतासँगै पुराना संस्कार संस्कृतिलाई निरन्तरता दिनसके यस्ता संस्कृति युगौँसम्म संरक्षण गर्न नसकिने बताउनुहुन्छ । पुनले भन्नुहुन्छ, “मौलिक संस्कृतिलाई बिर्सिएर विदेशी संस्कृतिलाई अंगाल्नु गलत हो, संस्कृतिले हाम्रो पहिचान बोको छ, आधुनिक संस्कारसँगै पुराना संस्कार संस्कृतिलाई पनि निरन्तरता दिने हो भने मौलिक संस्कृतिको संरक्षण हुन्छ ।” निसीखोला गाउँपालिका–६ का ७० वर्षीय पृथबहादुर घर्तीमगर पुस्ता हस्नान्तरण नहुँदा पुराना कला संस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । केही वर्ष अगाडिसम्म मेला पर्वमा पुराना परम्परासँग जोडिएका गीत गाइने, पुराना नाच नाच्ने गरेकोमा अहिले त्यस्ता गीत र नाच सुन्न र देख्नसमेत नपाइने बताउनुहुन्छ । “अहिले बूढो भएर पनि यो नाच्न गाउन निकै मन लाग्छ, परानले भेट्दैन, हात खुट्टाले पनि धोका दियो, बैसमा मेला पर्व सुरु भयो भने सोरठी नाच्ने पुराना–पुराना गीतहरु गाउने गरिन्थ्यो, अहिले त्यस्ता गीत र नाचहरु कतै देख्न पनि पाइन्न, सुन्न पनि पाइन्न, अहिले त सुन्दा रिस उठ्नेजस्ता गीतहरु गाउँ छन् आफन्तसँग बसेर हेर्नै नमिल्ने गरी नाँच्छन्, यसले त हाम्रो संस्कृतिलाई फोहोर बनाएको छ”, उहाँले भन्नुभयो । अहिले गाउँ सहरमा बूढापाकाले नाच्दै आएको सोरठी नाच खास्सै नदेखिने गलकोटका ३२ वर्षीय प्रेम काउचाले बताउनुभयो । उहाँले आफ्नो पुस्ताले पुराना लोक संस्कृतिलाई जगेर्ना गर्नुको सट्टा पश्चिममा संस्कृतिलाई बढावा दिइरहेको कारण सोरठी हराउँदै गएको उहाँ स्वीकार गर्नुहुन्छ । “हामी १५/१६ वर्ष हुँदासम्म पनि गाउँमा सोरठी नाच्ने टिम धेरै हुन्थे, हामीहरुले पनि सिक्ने कोसिस गरेनौँ, त्यही भएर पनि अहिले यो लोप हुँदै गयो, अझै पनि पुराना बूढापाका अग्रजसँग सिक्ने अवसर छ, हामीहरुले सिक्यौँ भने नयाँलाई पनि सिकाउन सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “मौलिक संस्कृतिलाई दैनिक भित्रिएका पश्चिमा कला संस्कृतिले विस्थापित गरिरहेको छ, नयाँ संस्कृतिलाई अंगाल्ने र पुरानालाई संरक्षण गर्न जरुरी छ ।” काउचाले पछिल्लो सयम अध्ययन तथा रोगारीका लागि बजार झार्ने र बजारमा आधुनिक किसिमका गीत सङ्गीत सुन्ने र गाउने हुँदा सोरठी नाच लोप हुने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । उहाँले तिहारमा समेत विद्यार्थी, विभिन्न सङ्घसंस्था र स्थानीय पनि आधुनिक गीत सङ्गीत बजाएर नाच्न थालेका बताउनुहुन्छ ।
काठमाडौं । बेलायतको भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ । मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी हुनुहुन्थ्यो । यस्तै सोमबार बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा पनि तिमिल्सिना सहभागी हुनुभयो ।
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । म्हः (आत्म)पूजा आजैको दिन नेवार समुदायमा म्हः (आत्म)पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।
बागलुङ । बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याउनुभएको छ । दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याउनुभएको हो । दसैँमा ६७ वटा च्याङ्ग्रा बागलुङ ल्याएर बिक्री गरेको बताउँदै शर्माले तिहारका लागि ५१ च्याङ्ग्रा÷च्याङ्ग्री बागलुङ भित्र्याएको बताउनुभयो । “दसैँमा च्याङ्ग्राको व्यापार राम्रै भयो, त्यसबेला रोज्जा च्याङ्ग्रा थिए, अहिलेका अलि साना र कम मूल्यका छन्”, शर्माले भन्नुभयो, “बाटोमा चराउँदै र बिक्री गर्दै ल्याउँदा सहज हुन्छ, आठ दिनको हिँडाइपछि बागलुङ आएको छु, अहिले रोज्जा च्याङ्ग्राको मूल्य रु ३५ हजार छ, दसैँमा ठूला च्याङ्ग्रालाई रु ४५ हजारसम्म बिक्री गरियो ।” उहाँले बागलुङ बजारमा च्याङ्ग्राको माग उच्च रहेको बताउनुभयो । तिहारअघिसम्म च्याङ्ग्रा बिक्री गरिसक्ने उहाँको लक्ष्य छ । उहाँले ल्याएका ५१ वटा च्याङ्ग्रा÷च्याङ्ग्रीमध्ये २० वटा बिक्री भइसकेको बताउनुभयो । च्याङ्ग्राको मूल्य रु ३५ हजार र च्याङ्ग्रीको मूल्य रु २७ हजार रहेको शर्माको भनाइ छ । मुस्ताङका च्याङ्ग्राको माग दसैँमा उच्च भए पनि तिहारमा समेत यसको बिक्री राम्रो हुने भएकाले आफूले मुस्ताङ पुगेरै च्याङ्ग्रा खरिद गरेर ल्याएको शर्माको भनाइ छ । सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण व्यापार नाका नखुल्दा यस पटकको दसैँ तिहारमा मुस्ताङमा मात्रै उत्पादन भएको च्याङ्ग्राको आयात भएको थियो । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा मूल्यमा भने भारी वृद्धि भएको चयाङ्ग्रा व्यापारीले बताएका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा च्याङ्ग्रा खोज्ने गर्छन् । मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी र बागलुङको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको पनि माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष १२ हजारदेखि १५ हजारसम्म मुस्ताङका च्याङ्ग्रा निकासी भएको अनुमान छ । तिहारमा मासुसँगै अन्य रोटीका परिकारसमेत खाने चलन छ ।
डोल्पा । डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्याउने चिन्ताले सताएको छ । कात्तिक महिनादेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएर बाटो बन्द हुने भएपछि गुरुङलाई जसरी नि चिसो मौसममा परिवार पाल्नका लागि खाद्यान्नको जोहो गर्नुपरेको हो । उहाँको घरमा आठ जनाको परिवार छ । वर्षमा एक पटक मात्र पाक्ने अन्न उवाले सबै घर परिवारलाई पाल्न मुस्किल भएपछि सदरमुकाम दुनैबाट चामल ढुवानी गरेर गाउँ सम्मा लिनुपर्ने गुरुङको बाध्यता हो । सदरमुकाम सम्मा मात्र सडक सञ्जाल जोडिएका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्ने उपयुक्त माध्यम घोडा, खच्चड र चौँरीको सहारा नै हुन् । उहाँजस्तै डोल्पोबुद्ध–१ का फुर्बा लामालाई समेत खाद्यान्न जम्मा गर्नकै पिरलो छ । हिमपातले बाटो बन्द नहुँदै खाद्यान्न जोहो गर्नु उहाँलाई बाँच्नका लागि सङ्र्घषजस्तै भएको छ । आर्थिकरुपमा बलियो भएका यहाँका स्थानीयवासी उपल्लो डोल्पाबाट अन्यत्र अस्थायीरुपमा बसाई सरे पनि निम्न आर्थिक अवस्था रहेका उपल्लो डोल्पाका सर्वसाधारण हिउँमै प्राकृतिक नाकाबन्दीमा परेर भए पनि थाकथलोमा बस्दै आएको लामाले जानकारी दिनुभयो । मङ्सिर ४ गते हुने चुनावको अन्य ठाउँमा भारी चिन्ता भए पनि उपल्लो डोल्पामा खाद्यान्न जोहोदेखि हिउँले कति समयभित्र बाटो बन्द गर्ला भन्ने चिन्ता बढी रहेको लामाको भनाइ छ । उपल्लो डोल्पाका तीनवटा पालिकामा कुन समयमा हिमपात हुन्छ वा मौसम बिग्रिन्छ थाहा नै नहुने गरेको शे फोक्सुण्डो गाउँपालिका–२ का पेम्मा ग्याल्छेल लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुविधा सम्पन्न ठाउँमा गफ लगाएजस्तो हाम्रो ठाउँमा छैन, भनेको समयमा औषधि, खानेकुरा, यातायातको सुविधा पाइँदैन । अब प्रकृतिले नै हामीलाई नाकाबन्दी लगाउँदै छ । भोट पनि कसरी खसाउने हो, समयमै हिउँ बढी परेमा मतदान केन्द्र सम्मा जानसमेत मुस्किल होला ।” उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रमा चामलसमेत छैन । लामो समयदेखि उपल्लो डोल्पामा चामल अभाव भए पनि व्यापार कम्पनीले ढुवानी गर्न नसकिएको खाद्य व्यस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो । कात्तिकदेखि फागुनसम्मा उपल्लो डोल्पामा हिउँले ढोकेको हुन्छ । हिउँले ढाक्ने समयमा सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा जान र आउन समस्य हुने गरेको छ । जुफाल र दुनैबाहेक अन्य कुनै पनि ठाउँमा चामल नभएको उहाँले जानकारी दिनुभयो । जुफालमा दुई सय क्विन्टल चामल रहेको र दुनैमा पनि सोही अनुपातमा भएका कारण तत्काल सडक सञ्चालन नभए खाद्यान्न सङ्कट पर्नसक्ने प्रमुख घिमिरेले जानकारी दिनुभयो । जाजरकोट– डोल्पा सडकखण्डको डोल्पाखण्डको सडक अझै सञ्चालन नभएका कारण खाद्यान्न ढुवानीमा समस्य हुँदै आएको घिमिरेको भनाइ छ । उपल्लो डोल्पामा एकमात्र बिक्री केन्द्र रहेको छ । त्यहाँ रहेको डिपोमा एक वर्षदेखि चामल नभएको स्थानीयवासीले बताएका छन् । नयाँ ठेक्का सदर भए पनि अहिले सम्मा चामल ढुवानी हुन सकेको छैन । सहुलियतमा पाइने व्यापार कम्पनीको चामल जनताले नपाएर दैनिक फर्किरहेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । चामल मात्र नभएर यहाँ नुनसमेत नभएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा आयोडिनयुक्त नुन ढुवानी नभएको पाँच वर्ष भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताउनुभयो । तिब्बतको बाटो हुँदै उपल्लो डोल्पामा नुन ढुवानी गर्नुपर्ने भए पनि सो कार्य पाँच वर्षदेखि रोकिएका कारण तेन्जे डिपोमा नुन ढुवानी हुन नसकेको हो । तीन पालिकामा लक्षित गरेर तिन्जे डिपोमा नुन ढुवानी हुने गरेको थियो । तल्लो डोल्पाका पाँच ठाउँमा रहेका केही डिपोमा मात्र नुन ढुवानी हुने गरेको छ । यातायातको पहुँच भएको ठाउँमा मात्र नुन ढुवानी हुने गरेको कार्यालय प्रमुख धामीले बताउनुभयो ।
झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा आज माल्यार्पण गरिएको छ । पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने बित्तिकै सुन्दर पार्कमा रहेको भव्य शालिकमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति तथा साहित्यकार गङ्गाप्रसाद उप्रेतीले ११४औँ देवकोटा जयन्तीको अवसर पारेर माल्यार्पण गर्नुभयो । सुसेली साहित्य प्रतिष्ठानले लक्ष्मीपूजाको दिन प्रत्येक वर्ष सो पार्कमा भव्य कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रज्ञासभा सदस्य सुभद्रा अर्याल, साहित्यका पुण्य खरेललगायतले देवकोटाको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा साहित्यकार मीरा पोखरेल, गणेश निरौला, लय भण्डारी, विनोद खनाल, ज्ञानेन्द्र ढुङ्गाना, देवेन खरेललगायतले कविता वाचन गर्नुभएको थियो ।
काठमाडौं । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो”, तामाङले भन्नुभयो, “थोक मूल्यका आधारमा रु साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ ।” यद्यपि, खपत र कारोबार रकमबारे वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने उहाँको भनाइ छ । फ्यानका अनुसार यस वर्षको तिहारका लागि साढे २४ लाख मालाको माग छ । सबैभन्दा बढी सयपत्री मालाको माग छ । यसवर्ष बिक्री हुने अनुमान गरिएका २० लाख सयपत्रीका मालामध्ये १७ लाख माला नेपालभित्रकै उत्पादन रहेको र तीन लाख माला भारतबाट आयात गरिएको छ । त्यस्तै, यस वर्ष तीन लाख २५ हजार हाराहारी मखमली मालाको किनबेच हुने अनुमान गरिएको छ । बीसदेखि २५ हजारको सङ्ख्यामा गोदावरी फूलको माला बिक्री हुनेछ । नेपालबाट मखमली माला निर्यात भएको छ । तिहारको समयमा मात्रै करिब एक लाखको सङ्ख्यामा मखमली माला निर्यात हुने गरेको फ्यान अध्यक्ष तामाङले बताउनुभयो । “मखमली फूल विश्वका विभिन्न देशमा जान्छ । भारत र विभिन्न देशमा रहेर तिहार मान्ने नेपालीले मखमली मालाको माग गर्ने गरेका छन् । एक लाखको सङ्ख्यामा मखमली माला हामीले निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो । यस वर्ष सयपत्री फूलको प्रतिमाला थोक मूल्य रु ५५ रहेको छ । त्यस्तै, मखमली फूलको मालाका रु ४० मा कारोबार भइरहेको छ । यद्यपि खुद्रा मूल्य भने फरक छ । पसलैपिच्छे फरक–फरक मूल्यमा बिक्री भइरहेका छन् । फूल र मालाको कारोबार यस वर्ष पनि गत वर्षकै मूल्यमा भइरहेको फ्यानले जनाएको छ । “उत्पादन, आयात र कारोबारको अवस्था हेरेर हामीले यस्तो अनुमान गरेका हौँ । यो वर्ष सयपत्रीको माला गत वर्षकै मूल्यमा कारोबार भएको छ । मखमलीको मालामा भने रु पाँच जति बढेको छ ।” अध्यक्ष तामाङले भन्नुभयो । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपालभित्रकै उत्पादनले धान्न सक्ने अवस्था रहे पनि व्यवसायीले बढी नाफा कमाउनका लागि भारतबाट आयात गर्ने गरेका छन् । “हामीलाई चाहिने जति माला नेपालभित्रै उत्पादन हुन्छ । यस वर्षको उत्पादन पनि बढी नै हो”, तामाङले भन्नुभयो, “नेपालको उत्पादन पर्याप्त भए पनि भारतीय मालामा बढी नाफा हुन्छ । त्यस कारण व्यापारीले भारतबाट ल्याउने गरेका छन् ।” यस वर्ष बजारको मागभन्दा बढी आयात भएको देखिन्छ । अर्कोतर्फ आयातित माला मूल्यमा पनि सस्तो हुने भएका कारण नेपाली उत्पादनले बजार नपाउने तर भारतबाट ल्याइएका फूलमाला तिहारमा प्रयोग हुने देखिएको छ ।