पर्वत: पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा एमालेका उममेदवार विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका छन्। खसेका कुल मत ६६ हजार २२६ मध्ये गिरीले २९ हजार ८७२ मत पाउँदा जोशीले २७ हजार ६०९ मत पाएका छन्। जीतसँगै एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरीले दोस्रो पटक संसदीय यात्रा तय गरेका छन्। २०७४ सालको निर्वाचनमा पनि गिरी र जोशी नै आमनेसामने भएका थिए। गिरीले जोशीलाई १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए। गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए। पहिलो पटक २०५६ सालको संसदीय निर्वाचनमा पर्वत क्षेत्र नं १ बाट विजयी बनेका जोशी संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार मनरूपा सुवेदी र २०७० मा माओवादीकै उम्मेदवार नेत्र अधिकारीलाई पराजित गर्दै लगातार तीन पटक संसदीय निर्वाचनमा विजयी भएका थिए। २०७४ सालको निर्वाचनमा चौथो र अहिले पाँचौँपटक संसदीय निर्वाचनमा होमिएका जोशीले दोस्रोपटक संसदीय निर्वाचन लडेका गिरीसँग फेरि पनि पराजित हुनु परेको हो। को हुन् गिरी ? २०३३ साल २८ फागुनमा पर्वतको दुर्लुङमा जन्मिएका पदम गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । २०४७ मा अखिल पाँचौंमा संगठित उनी स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको सदस्य, उपसभापति हुँदै सभापति भए । २०५४ मा नेकपा (एमाले) दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टी राजनीति सुरु गरेका गिरी २०६७ मा पर्वत जिल्ला सचिवालय सदस्य हुँदै २०७२ मा आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
गोरखा: गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ । बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार १०३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतले पछाडि पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कुल १२ हजार ६३७ मत प्राप्त गर्नुभएको छ । दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहनुभएको छ । उहाँले सात हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । गोरखा क्षेत्र नम्बर २ मा कुल ५३ हजार ९७८ मत खसेको थियो ।
काठमाडौं: मोरङ ६ को प्रदेशसभा ‘क’बाट जीवन आचार्य निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत ल्याएर जित हात पारेका हुन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको ज्वाइँ हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५७२ मत पाएकी छन् ।
सिरहा: कम्युनिष्टको किल्ला मानिने सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ मा जनमत पार्टीका उम्मेदवार त्रिभुवन साह निर्वाचित भएका छन् । साहले पूर्वमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका महेन्द्र पासवानलाई पराजित गरे । उनले ८ हजार २२९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत ल्याए । नेकपा एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका दिलीप साह विजयी भएका थिए ।
काठमाडौँमा: काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौँ, चन्द्रागिरि नगरपालिका– ४ गोदामस्थित सडकमा चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटर अचानक आगलागी भएको छ । आगलागी हुँदा स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ ।
डडेल्धुरा: सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना बजारका लागि व्यवस्थापन, व्यवस्थित सहरीकरण योजना, ग्रामीण सडकको कालोपत्र र स्तरोन्नति, सिँचाइ र खानेपानीमा सबैको पहुँचका साथै गुणस्तरीय शिक्षा र बेरोजगारी तथा उद्योग, कलकारखाना निर्माणका लागि आशा गरेका छन् । साथै पर्यटकीय हबका लागि परशुराम, उग्रतारा, कोलासमैजी, गन्याप, भागेश्वर, डागेश्वरीसम्म धार्मिक पर्यटक भित्र्याउनका लागि होमस्टे निर्माण गरी धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने, आत्मनिर्भरताका लागि आधुनिक शिक्षा स्वास्थ्यको पहल गरी विकास गर्नुपर्नेमा उनीहरुको जोड छ । डडेल्धुराबाट सातौँ पटक निरन्तरका चुनाव जित्दै आएका देउवाले अब् युग सुहाउँदो विकासका लागि पहल गर्नुपर्ने अजयमेरु– १ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताउनुभयो । वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोक्नका लागि उद्यमशीलतालाई जोड दिनुपर्ने र आधुनिक कृषिखेतीमा किसानलाई सहुलियत एवं अनुदानमा उहाँको जोड छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौँ पटक बाह्र हजार चारसय ९२ मतान्तरले जित हासिल गरेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार कूल ५१ हजार दुई सय तीन मतमा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मतमात्र प्राप्त गर्नुभएको थियो । अर्का उम्मेदवार नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत ल्याउनुभयो । उहाँलाई नेकपा ९एमाले० ले समेत समर्थन गरेको थियो । देउवाको जीवनी देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस—५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुनुभएको थियो । उहाँ विसं २०३६ को जनमत सङ्ग्रहदेखि नेपालका पटक पटकका विद्यार्थी आन्दोलनमा अग्रपङ्क्तिमै रहेर प्रजातन्त्रका पक्षमा लड्नुभएको छ । नेपाली कांग्रेसका सभापति देउवा २०४८ सालको आम चुनाव डडेल्धुराबाटै विजयी हुनुभएको थियो । त्यसपछि उहाँ २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाटै जित हासिल गर्दै आउनुभएको छ । सातौँ पटक पनि डडेल्धुराका मतदाताको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समय नेपालको राजनीतिमा युवाप्रति आकर्षण बढ्दो देखिएको छ । चुनावमा पनि युवाले उम्मेदवारी दिएका ठाउँमा मतदाता आकर्षित भएको देखिन्छ तर यस जिल्लामा भने यहाँका नागरिकले सातौँ पटक पनि देउवालाई नै रोजेका छन् । त्यसैले पनि अब देउवाले मुलुकका युवाका लागि केही गर्नुपर्छ । उहाँले डडेल्धुराका मात्र नभएर देशभरको युवा वर्ग नै प्रेरित हुने गरी विकासको अभियानलाई अघि बढाउनुपर्छ । नेपाली सर्वसाधारण नागरिकले पनि विकासको अनुभूति हुने गरी आधुनिक प्रविधि र शिक्षामा जोड दिनुपर्छ र उहाँका अबको पार्टी तथा सरकारको नेतृत्वले युवामैत्री विकास र शिक्षाको पहल थाल्नुपर्छ । विसं २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो पटक कांग्रेसको सभापति बन्नुभयो । पार्टीमा पनि युवाको नेतृत्वको खुबै बहस र चर्चा भएकै थियो तर पनि देशभरका कांग्रेसका प्रतिनिधिले देउवामा नै पार्टीको भविष्य देखे र उहाँलाई निर्वाचित गरे । देउवा पाँच पटकसम्म यो मुलुकको प्रधानमन्त्री भइसक्नुभएको छ । विसं २०५२ भदौ २६ गते पहिलोपटक प्रधानमन्त्री बन्नुभएका देउवा पछिल्लो पटक विसं २०७८ असार २९ गते माओवादी लगायतका वामपन्थी दलहरुको सहकार्यमा प्रधानमन्त्री बन्नुभयो । यसरी देशमा राष्ट्रिय एकताको आवश्यकता परेका बेला उहाँ सबैलाई मिलाएर सहमति र सहकार्यको सरकार निर्माण गर्नसक्ने क्षमता राख्नुहुन्छ । प्रधानमन्त्री देउवा समयमै निर्वाचन गराउने जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आउनुभएको छ । यसअघि विसं २०७४ को आमनिर्वाचन सम्पन्न गराउनुभयो । केही समयमात्र अघि नेपालको पहिलो गणतान्त्रिक संविधान जारी भएको थियो र त्यसप्रति कतिपय मधेस केन्द्रित दल र नेताहरुले संविधानप्रति नै असन्तुष्टि व्यक्त गरेर निर्वाचनमा सहभागी नहुने बताएका थिए तर तत्कालीन प्रधानमन्त्री देउवाले विभिन्न चरणमा ती दलहरुसँग वार्ता गर्नुभयो र निर्वाचनका लागि तयार पार्नुभयो । सकुशल रुपमा आमनिर्वाचन भयो । उहाँले नै करिब तीन दशकदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन पनि सम्पन्न गराउनुभयो जुन सराहनीय काम थियो । करिब छ महिनाअघि देशमा स्थानीय तहको निर्वाचन भयो त्यो पनि एकैचरणमा । पहिलो पहिले स्थानीय तहका निर्वाचन विभिन्न चरणमा गराउने गरिन्थ्यो तर यसपटक भने देशैभरि एकै दिन गत वैशाख ३० गते शान्तिपूर्ण र सफलतापूर्वक निर्वाचन सम्पन्न भयो । त्यतिबेला पनि सरकारले निर्वाचन सार्छ कि या समयमै निर्वाचन सम्पन्न हुन्छ या हुँदैन भन्ने विभिन्न अडक्लबाजी थिए तर त्यसको विपरीत देउवा सरकारले समयमै चुनाव सम्पन्न ग¥यो । प्रदेशसभा र प्रतिनिधिसभाको यो निर्वाचन पनि देउवा सरकारले समयमै र शान्तिपूर्ण रुपमा एकैदिन सम्पन्न गराउन सफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । हुनत यो अहिले नै भन्नु हतार हुनसक्छ तर पनि यो परिणाम हेर्दा कुनै एउटै पार्टीले स्पष्ट बहुमत हासिल गरेर सरकार निर्माण गर्नसक्नेजस्तो अवस्था देखिँदैन । कांग्रेस सभापति देउवा देशका वामपन्थीदेखि सबै राजनीतिक शक्तिलाई एकताबद्ध गरी उनीहरुसँग राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नसक्ने क्षमता राख्नुहुन्छ । अब यो निर्वाचनपछि पनि देशमा यस्तै प्रकारको सहमति निर्माण र कायम गरी अघि बढ्नसक्ने वातावरण उहाँबाट निर्माण हुने अपेक्षा नेपाली जनताले गरेका छन् । त्यसैले उता डडेल्धुराका आफ्ना मतदाताहरुका अपेक्षासँगै यता देशवासीले गरेको यो आशा र अपेक्षा पनि उहाँले मनन गर्नुपर्ने देखिन्छ ।
वीरगञ्ज: पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० बढी मत ल्याएका छन् । यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत पाए । तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाए । २०७४ मा कर्ण पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । २०७४ को निर्वाचनमा यादवले २१ हजार १३२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अनिलकुमार रुंगटाले भने १६ हजार ४८१ मत मात्रै पाएका थिए ।
बागलुङ: बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । २०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।
काठमाडौं: सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।

