लमजुङ : भूगोलविद् डा हर्क गुरुङका जन्मस्थलमा डा हर्क गुरुङ उद्यान निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकार र मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा मस्र्याङ्दी–७ मा उद्यान निर्माण भइरहेको डा हर्क गुरुङ प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार साढे पाँच रोपनी जग्गामा हालसम्म समाधिमा ढुङ्गाको छपनी बिच्छाउने, प्याराफिट निर्माण सम्पन्न भएको छ, भने, बगैँचा निर्माण भइरहेको वृक्षरोपण लगाउने र दुबो लगाउने काम भइरहेको छ । आर्थिक वर्ष २०७४/२०७५ देखियता प्रदेश सरकारले रु १० लाख र गाउँपालिकाबाट रु १४ लाख गरी २४ लाख बजेटमा विनियोजन गरेको प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाधिस्थलसँगै उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन९ डिपिआर० तयार भइसकेको छ भने, यस वर्ष सङ्घीय सरकाबाट १५ लाखको योजना परेको छ ।” यस रकमबाट शौचालय बनाउने र अन्य संरचना बनाउने भएको छ । उद्यान १० रोपनीमा निर्माण हुने भएको छ । उद्यान निर्माणका लागि रु छ करोड ३१ लाखको डिपिआर तयार भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा पुस्तकालय, डा गुरुङको शालिक, सङ्ग्रहालय, डा गुरुङका सामग्री प्रदर्शन कक्ष, सभा हल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने जनाएको छ । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते ९२००६, सेप्टेम्बर २३० को दिन हेलिकोप्टर दुर्घटना हुँदा डा गुरुङ सहित २४ जनाले एकै पटक ज्यान गुमाउनुपरेको थियो । डा गुरुङको १६ औँ स्मृति दिवसका अवसरमा आज लमजुङ बेँसीसहरमा निर्माण गरिएको शालिकमा विभिन्न व्यक्तिद्वारा माल्यार्पण गर्दै सम्झना गरिएको छ ।
कञ्चनपुर : जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् । बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् । उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । “अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो, “मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।” परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो ।
काठमाडौं : कलाकार बुद्धि तामाङले अनु थिङसंग वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु विद्यार्थी समेत हुन् । ‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।
गोरखा : गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय जौवारीको टोलीले तीनैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका सीताबहादुरको घरबाट एकनाले सर्ट गनसहित त्यसमा प्रयोग हुने गोली २४ थान र ३४ थान गोलीको खोका बरामद भएको लामिछानेले बताउनुभयो । अन्य दुई जना माइला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट बन्दुकसहित पक्राउ परेका हुन् ।
बागलुङ : एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो । विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको अभाव पनि उस्तै । अभावै अभावमा गुज्रिएको विद्यालय अहिले जिल्लाकै नमूना बनेको छ । अझै पनि विद्यालयमा समस्या छन्, नभएका होइनन् । तर अहिले विगतको तुलनामा निकै सुविधासम्पन्न भएको छ । निसीखोला गाउँपालिका–३ झिवाखोलामा रहेको यस विद्यालय पश्चिम बागलुङकै अग्रणी विद्यालयमध्येमा पर्छ । निसीखोलामा यस विद्यालयभन्दा अगाडि धेरै विद्यालय स्थापना भए पनि सबैभन्दा पहिले माध्यमिक तहसम्म पढाइ हुने पहिलो विद्यालय भने प्रभा मावि नै हो । विसं २०१७ मा स्थापना भएको विद्यालय २०२७ सालमा मध्यमिक तहसम्म पढाइ थालिएको थियो । विसं २०२८ मा नयाँ शिक्षा नियम लागू भएपछि विद्यालयलाई माविबाट निमाविमा झारिएको थियो । विद्यार्थीको चाप र स्थानीयको मागपछि सरकारले १४ वर्षपछि पुनः २०४२ सालमा मावि तहमै रुपान्तरण गरी पठनपाठन सञ्चालन गरिँदै आइएको छ । निसीखोलामा प्रभा माविभन्दा अघि यस क्षेत्रमा माध्यमिक तहसम्म पढाइ हुँदैनथ्यो । साविक बोहरागाउँ, निसी र देवीस्थान गाविसअन्तर्गतका विद्यार्थी घण्टौँ लगाएर यस विद्यालयमा पुगेर अध्ययन गर्दै आएका थिए । तर पछि निसीमा ज्ञानेन्द्र मावि, देवीस्थानमा देवीस्थान माविमा १० कक्षासम्म पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई केही राहत पुगेको थियो । लामो समय माध्यमिक तहसम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा विसं २०६७ देखि बाह्र कक्षा सञ्चालनमा आयो । कक्षा १२ सम्म सञ्चालनमा आएपछि निसीखोलाका विद्यार्थीलाई सहज भएको छ । किसान मजदुरका छोराछोरीले पनि घरबाटै उच्च शिक्षा हासिल गर्न पाउने वातावरण तयार भएको स्थानीय बताउँछन् । झिवाखोलामा बाह्र कक्षा सञ्चालन नहुँदा यहाँका सयौँ विद्यार्थी उच्च शिक्षा लिन निसीखोला बाहिर जानुपर्ने बाध्यता थियो । निसीखोलाको केन्द्र भागमा रहेको हुँदा विद्यार्थीको चाप पनि उत्तिकै छ । विद्यालयमा स–साना टहरादेखि काठ र ढुङ्गाबाट बनेका भवनमा पठनपाठन सञ्चालन गर्दै आएको यस विद्यालयमा अहिले सुविधासम्पन्न भवन बनेका छन् । भौतिक संरचनाका हिसाबले सुविधासम्पन्न भएको र अब शिक्षालाई गुणस्तरीय बनाउनतर्फ लागेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताउनुभयो । उहाँले पछिल्लो समय कक्षा ११ मा विद्यार्थीको चाप बढेपछि विद्यालय भवनसमेत आवश्यक परेको बताउनुहुन्छ । “वर्षौँसम्म भौतिक संरचना अभावमा विद्यार्थीलाई कहिले खुला चौरमा, कहिले जीर्ण भवनमा राखेर पठनपाठन गरायौँ, जोखिममै विद्यालय सञ्चालन गर्न बाध्य भयौँ, केही वर्ष अघिसम्म पर्याप्त विद्यालय भवन थिएन, पुराना र जीर्ण भवनमा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो, अहिले विभिन्न सङ्घसंस्था र सरकारको सहयोगमा भवन निर्माण भएका छन्, निकै सहज भएको छ”, आचार्यले भन्नुभयो, “अहिले भवन करिब–करिब अन्तिम चरणमा पुगेको छ, चारकोठे भवन बन्दै छ, यो बनिसक्यो भने भौतिक संरचानमा हामी कमजोर हुने छैनौँ, अहिले विद्यार्थीको चाप पनि बेढेको छ ।” आचार्यले भौतिक संरचनाको पर्याप्ततासँगै अब गुणस्तरीय शिक्षा प्रदानतर्फ जोड दिन थालेको बताउनुभयो । नयाँ–नयाँ प्रविधिको विकाससँगै शिक्षहरूलाई पनि सोहीअनुसारको तालिम प्रशिक्षण दिएर शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन थालेको आचार्यको भनाइ छ । “भौतिक संरचनाको विकाससँगै हामी अब कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौँ भन्नेतर्फ केन्द्रित भएका छौँ, अहिलेसम्म भवन अभाव थियो, अब त्यति धेरै समस्या नहोला, विद्यार्थीको चाप पनि बढेकै छ, विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर शिक्षालाई प्रविधिसँग पनि जोडेर जाने लक्ष्य राखेका छौँ”, प्रअ आचार्यले भन्नुभयो । अहिले विद्यालयमा सात सय ५० विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै उहाँले प्रावि तहमा पनि विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउनुुभयो । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा प्रावि तहमा एक सय ३०, आधारभूत र मावि तहमा गरी छ सय २० विद्यार्थी अध्ययनरत छन् । उहाँले नमूना विद्यालयका रूपमा यस विद्यालयलाई अगाडि सार्न माग गरिरहेको बताउनुभयो । अहिले कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको उहाँको भनाइ छ । “विद्यार्थीको उत्साह निकै देखियो, यहाँ कहिल्यै पनि विद्यार्थीको कमी भएन, अहिले झन् विद्यार्थीको चाप बढेको छ, व्यवस्थापनलाई पनि हामीले चुस्त बनाएका छौँ, ११ कक्षा र साना कक्षामा देखिएको विद्यार्थीको चापले हामी पनि उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो, “शिक्षाको गुणस्तर राम्रो भएर पनि हो कि जस्तो लागेको छ, विद्यार्थीको बाक्लो उपस्थितिले हामी पनि खुसी छौँ, अझै केही व्यवस्थापन गरिरहेका छौँ, चारकोठे भवन बनिसकेपछि हाम्रा धेरै समस्या समाधान हुने छन् ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशविक्रम शाहीले प्रभा मावि भौतिक संरचनाको विकाससँगै गुणस्तरीय शिक्षाका लागि आफूहरू लागिरहेको बताउनुभयो । उहाँले गोर्खा वेलफेयर ट्रसले १३ कोठे सुविधासम्पन्न भवन बनाइदिएपछि विद्यालयको भौतिक संरचनामा ठूलो परिवर्तन आएको भन्दै अब भौतिक संरचनामा विद्यालय कमजोर नरहेको बताउनुभयो । “अब विद्यालय पहिलेको जस्तो भौतिक संरचनाको अभावमा गुज्रिनु पर्दैन, विभिन्न सङ्घसंस्थाको सहयोगले विद्यालय भवन निकै राम्रो बनेका छन्, अझै केही कोठा थपिँदैछन्”, अध्यक्ष शाहीले भन्नुभयो, “निरन्नतर प्रयास गरिरहेका छौँ, अब गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित भएको छ ।” विद्यालयमा विज्ञानका प्रयोगशाला, कम्प्युटरलगायत अन्य आवश्यक सामग्रीको समेत व्यवस्थापन भएको अध्यक्ष शाहीको भनाइ छ ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरिएको उक्त समितिमा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, सात प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य तथा विभागीय प्रमुखहरूलाई समावेश गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । यसैगरी प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । निर्वाचन आर्थिक समिति, केन्द्रीय निर्वाचन प्रचार समिति र भ्रातृ सङ्गठन परिचालन समितिसमेत गठन गरिएको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार छनोट गर्न सम्बन्धित प्रदेशका जिल्लासँग समन्वय गरी सुझाव पेश गर्ने जिम्मेवारी प्रदेश अध्यक्षहरूलाई दिइएको छ । नेता पाण्डेका अनुसार पार्टीले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि वैचारिक दृष्टिकोणले निकट तथा समान आदर्श बोकेका सङ्घसंस्थालाई एकता तथा सहकार्यका लागि आग्रह गरेको छ ।
सिन्धुपाल्चोक : बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा माछा पाइन थालेको छ । मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ । “माछा फेरि पाइन थालेको छ, खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन्”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले भन्नुभयो । काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आउनुभएको बताउनुहुन्छ । मेलम्चीका माछा निकै स्वादिलो भएको उहाँ बताउनुहुन्छ । यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा मारेरै जीविका चलाइरहेको माझी समुदायको पेशा बाढीका कारण सङ्कटमा परेको थियो । बाढीपछि अहिले माछा पाउन थालेको शम्भु माझीले बताउनुभयो । उहाँले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आउनुभएको छ । प्रतिकिलो रु एक हजार एक सयसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो । माछा पुनः पाइन थालेपछि यहाँका व्यापारी, माझी, पर्यटकलगायत खुसी भएका छन् । बाढीका कारण माछा व्यवसायीको उठिबास भएपछि पछिल्लो समय मेलम्चीमा बाहिरबाट आयात गर्नुपर्ने स्थिति थियो ।
हनुमाननगर : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ५ सम्मको पठनपाठन हुन्छ । विसं २०१६ मै स्थापना भएको यो विद्यालय जिल्लाकै पुरानो विद्यालयमध्ये एक हो । विद्यालय तथ्याङ्कअनुसार हाल यहाँ दुई सय २५ विद्यार्थी अध्ययनरत छन् । पाँच कक्षासम्म सञ्चालित यस विद्यालयमा शिक्षक भने दुई जना छन् । “दुई जना शिक्षकले पाँच वटा कक्षाको पठनपाठन कहाँ सम्भव हुन्छ र”, विद्यालयका प्रधानाध्यापक प्रविण कर्ण भन्नुहुन्छ, “पठनपाठनको औपचारिकता मात्रै निर्वाह गरिरहेको छु ।” विद्यालयको पठनपाठन सँगसँगै प्रधानाध्यापकका रुपमा अन्य जिम्मेवारीसमेत बहन गर्नैपर्ने बाध्यता उत्तिकै रहेको उहाँको भनाइ छ । केही महिनाअघिसम्म विद्यालयमा चार जना शिक्षक थिए । दुई जना लगातार अवकाश पाएर गए । अब सम्पूर्ण विद्यालयको जिम्मेवारी प्रधानाध्यापक कर्ण र अर्का शिक्षक अमनकुमार मिश्र माथि छ । शिक्षकको अभावमा एउटै कोठामा दुई÷दुई वटा कक्षालाई राखेर पढाउँदा पनि एउटा कक्षामा शिक्षक अपुग नै हुन्छ । प्रायःजसो कार्यालय सहयोगीलाई समेत खटाउनुपर्ने बाध्यता रहने गरेको प्रधानाध्यापक कर्ण बताउनुहुन्छ । वडा नं १ मै रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालय बेल्ही मल्हनियाँमा हाल तीन सय ९२ बालबालिका अध्ययनरत रहेको विद्यालय तथ्याङ्कले देखाउँछ । कक्षा ६ सम्मको पठनपाठन हुने यस विद्यालयमा शिक्षक भने तीन जना मात्रै छन् । शिक्षकको अभावमा एउटै कोठामा तीन÷तीन वटा कक्षा राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक राम साह बताउनुहुन्छ । तिलाठी कोइलाडी गाउँपालिकाकै वडा नं ५ मा रहेको राजाजी आधारभूत विद्यालयको अवस्था झन् बिजोग छ । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ३ सय ६१ बालबालिका अध्ययनरत छन् । शिक्षक भने दुई जना मात्रै छन् । दुई शिक्षकमध्ये प्रधानाध्यापकलाई अधिकांश समय अफिसको काम तथा बैठक गोष्ठीमै जानुपर्ने बाध्यता हुन्छ । चालु शैक्षिकसत्रको चौथो महिना चलिरहँदासमेत यहाँका विद्यार्थीले पाठ्यक्रमअनुरुप सबै विषय पढ्न पाएका छैनन् । शिक्षकको अभावमा एउटै कोठामा विद्यार्थीलाई राखेर पठनपाठनको औपचारिकता निर्वाह गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक देवनारायण पण्डित बताउनुहुन्छ । विसं २०३६ मै स्थापित यस विद्यालयले पछिल्लो लामो समयदेखि यसरी नै शिक्षकको अभाव झेल्दै आएको छ । दुई वर्षअघिसम्म यहाँ चार जना शिक्षक कार्यरत थिए । दुई जना शिक्षकले अवकाश पाएको पनि दुई वर्ष भयो तर रिक्त रहेका ती पद अझै पूर्ति गर्न सकिएको छैन । सोही वडामा रहेको कृष्णकुमारी देवी आधारभूत विद्यालयमा कक्षा ६ सम्मको पठनपाठनका लागि मात्र चार शिक्षक छन् । वडा नं ५ कै राष्ट्रिय प्राथमिक विद्यालय कोबर्साइन र राष्ट्रिय प्राथमिक विद्यालय कुसहा कोबर्साइनमा पाँच/पाँच वटा कक्षा सञ्चालन भने दुई/दुई जना शिक्षकका भरमा भइरहेको छ । साविको छ वटा गाविसलई समाहित गरेर बनाइएको तिलाठी कोइलाडी गाउँपालिकाको आठ वडामा १३ आधारभूत विद्यालय सञ्चालित रहेकामा १३ वटै विद्यालयमा शिक्षकको अभाव रहेको छ । दरबन्दीअनुसार त परै जाओस् कम्तीमा एउटा कक्षा बराबर एक शिक्षकको न्यूनतम आवश्यकता पनि पूरा गर्न सकिएको छैन । शिक्षक अभावबारे आफूहरु पछिल्लो लामो समयदेखि गाउँपालिकालाई ताकेता गरिराखेको भए पनि हालसम्म पालिकालगायतका सरोकारवाला निकायबाट ठोस पहल हुन नसकेको स्थानीय प्रधानाध्यापकको सामूहिक गुनासो छ । गाउँपालिका भएदेखि नै यहाँका विद्यालयमा शिक्षकको अभावै रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झा बताउनुहुन्छ । “सुरुदेखि नै शिक्षकको अभावै रहेको छ, पछिल्लो समय शिक्षकको अनिवार्य अवकाशपश्चात् झन् अवस्था जटिल भएको हो”, झाले भन्नुभयो, “हामी पहल गरिराखेका छौँ, स्वयंसेवक शिक्षक भर्ना गरेर भए पनि समस्या समाधानतर्फ हामी अघि बढ्ने योजनामा छौँ ।” निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीले शिक्षा क्षेत्रलाई वास्तै नगरेका कारण यस्तो अवस्था आएको स्थानीय अभिभावक सुशील यादवको आरोप छ । “यस पालिकाअन्तर्गतका विद्यालय पछिल्लो तीन वर्षदेखि व्यवस्थापन समितिविहीन रहेको छ”, यादवले भन्नुभयो, “पुराना जनप्रतिनिधि त जे गर्नु थियो गरेर गए, आएका नयाँ जनप्रतिनिधिको रवैया पनि उस्तै देख्छु ।” शिक्षा शाखा प्रमुख झाका अनुसार यसअघिका जनप्रतिनिधिको संलग्नतामा त्यतिबेलै बनाइएको कार्यविधिको विवादका कारण यहाँका विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसकेको हो । कार्यविधिमा विद्यालय व्यवस्थापन समिति छनोट प्रक्रिया निकै विवादित रहेको थियो । कार्यविधिअनुसार विद्यालय व्यवस्थापन समितिका चार सदस्यमध्ये दुई वडाध्यक्षले र दुई गाउँपालिका अध्यक्षले मनोनीत गर्ने प्रावधान थियो । उक्त प्रावधानलाई कुनै पनि विद्यालयका अभिभावकले स्वीकार गर्न नमानेपछि विद्यालय व्यवस्थापन समिति छनोट कार्य पछिल्लो तीन वर्षदेखि ठप्प रहेको हो । विद्यालय व्यवस्थापन समिति नहुँदा बाहिरबाट शिक्षक सरुवा गरेर ल्याउन तथा नयाँ शिक्षक नियुक्त गर्नसमेत कठिनाइ भइरहेका कारण प्रायजसो विद्यालयमा शिक्षकको अभाव भएको हो । वर्षौंदेखिको समस्यालाई एकैछिनमा समाधान गर्न सकिने अवस्था नरहेको गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी साह बताउनुहुन्छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको वेथितिकै आधारमा आफूहरुले जनतासँग मत मागेको साह भन्नुहुन्छ, “हाम्रो प्राथमिकता नै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार गर्नुपर्ने हो, थोरै समय लाग्ला तर त्यसलाई सुधार गर्छौं ।”
गलेश्वर : विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ । एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो । बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो । अहिले पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो । विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको श्रेष्ठले जानकारी दिनुभयो । “यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही बन्यो”, उहाँले भन्नुभयो । जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ । पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार प्राविधिकको सल्लाहअनुसार पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गर्ने योजना छ । साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन् ।