पुनहिलमा पर्यटकको भीड
म्याग्दी | कात्तिक ५, २०७९

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् ।
विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि अहिले हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनथालेको होटल व्यवसायीले बताएका छन् ।
विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीहरु उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले जानकारी दिनुभयो । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा पुनहिल रहेको छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।
असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखैअगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयवासी सुरेन गुरुङले बताउनुभयो । चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले जानकारी दिनुभयो ।
पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । “दसैँसँगै प्रतिदिन तीन सय ५० जनासम्म विदेशी पर्यटक घोरेपानी भित्रिएको हाम्रो अभिलेख छ । धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी) बाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबिसीतिर जाने गरेका छन्”, प्रहरी सहायक निरीक्षक सन्तोष भुसालले बताउनुभयो ।
घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या छन् । अन्नपूर्ण फन्को मार्न र दसैँतिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भएका हुन् ।
पोखरा: अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...
म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ। कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अ...