तनहुँ । को बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो । “घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ”, उहाँले भन्नुभयो । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत छिन् । पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
पोखरा : दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथी प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरे । यस अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराए । परिषद्को ११५ औं बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक निर्माण गरिएको रनिङ्ग ट्रफी समापन समारोहका प्रमुख अतिथी प्रधानमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतीलाई प्रदान गरे । १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक सहित कुल ३९१ पदक प्राप्त गर्दै आर्मी टिम च्याम्पिन बन्न सफल भएको हो । समापन समारोहका विच प्रतियोगिताका दौरान दुर्घटनामा परि निधन भएका पाराग्लाईडिङ्गका खेलाडी निसिम थापाको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो । औपचारिक रुपमा असोज २८ गते देखि कार्तिक ३ गते सम्म सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद भब्य रुपमा सम्पन्न भएको छ । समापनका अवसरमा विविध साँस्कृतीका कार्यक्रम, विभिन्न प्रदेशका झाँकीको आयोजना गरिएको थियो । सो क्रममा भव्य आतिसबाजी समेत गरिएको थियो ।
पोखरा : नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौंमा देखिएका समस्यालाई दशौंमा सुधार गर्ने बताए । उनले नवौं खेलकुदले धेरै कुरा सिकाएको र यसलाई खेलकर्मी तथा पदीय जिम्मेवारीमा बसेकाले पनि ख्याल गर्नुपर्नेमा जोड दिए । यो प्रतियोगिताले विभिन्न विधाका खेलाडीहरूले स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट उत्कृष्ट खेलकौशल प्रदर्शन गर्दै उच्च मनोवलका साथ प्रतिस्पर्धामा सहभागी भई पदक प्राप्त गर्ने तथा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने काम समेत भएको उनले सुनाए । नवौंबाट प्राप्त ज्ञान, सीप र क्षमताले आगामी दिनमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको उपस्थिति अझ सशक्त हुनेमा आफु आशावादी रहेको बताए । खेलकुद क्षेत्रको २० वर्षे गुरुयोजना निर्माण तथा खेल विश्वविद्यालय स्थापनाको चरणमा रहेको उनले सुनाए ।
पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सिमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए । चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुद लगायतका प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै भने “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तराष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।” नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी संख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको भन्दै प्रधानमन्त्रीले “प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएकोमा छ हजार भन्दा बढी खेलाडीले ३९६ स्वर्ण लगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए” उनले भने ।
काठमाडौं : हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ । उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्नुभयो । “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु”, अभिनेता श्रेष्ठले भन्नुभयो । महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ । उहाँ पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्नुहुन्छ । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहनुभएको छ । “बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गर्नुभएका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ”, अभिनेता श्रेष्ठले भन्नुभयो । लेखकसँगै निर्देशकसमेत रहनुभएका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिनुभयो । “काठमाडौँमै छायाङ्कन हुने भएकाले उहाँको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ । उहाँहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ”, निर्देशक भट्टराईले भन्नुभयो । उहाँहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गर्नुभएको थियो । पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गर्नुभयो । “मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरूझैँ यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु”, अभिनेता आचार्यले भन्नुभयो । फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमा उहाँले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा धेरै काम गर्नुपर्ने उल्लेख गर्दै यसबाट नेपाल र नेपालीले धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालको मनोरम हिमशृङ्खला, तराईदेखि हिमालसम्मको भौगोलिक विविधता एवं संस्कृति र यहाँ पाइने वन्यजन्तु तथा चराचुरुङ्गीजस्ता प्रकृतिको गहनाका रुपमा रहेको उल्लेख गर्दै प्रकृति संरक्षण तथा जैविक विविधताको माध्यमबाट नेपालको पर्यटन विकास र समृद्धिको महत्वपूर्ण आधार हुन पुगेको बताउनुभयो । कोषका संरक्षकसमेत रहनुभएका उहाँले नेपालले बाघ संरक्षणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको जनाउँदै पछिल्ला वर्षमा नेपालबाट अन्तर्राष्ट्रिय समुदायसामु सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गर्नुभयो । “सन् २०१० मा बाघको सङ्ख्या एक सय २१ लाई दोब्बर बनाएर दुई सय ५० पु¥याउने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता थियो । त्यसमा नेपाललाई अपार सफलता मिलेको छ । अब, हामीले बाघको सङ्ख्या त बढायौँ पछिल्ला दिनमा मानव–वन्यजन्तुद्वन्द्व बढिरहेको अवस्थामा यस चुनौतीका बिचमा हामीले असिमित सम्भावना खोज्न जरुरी छ ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकको दिगो विकाससँग प्रकृति र जैविक विविधता संरक्षण प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै योसँग जोडिएर संरक्षणसम्बन्धी ठोस् तथा उपलब्धिमूलक कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले कोषले समुदायमा आधारित संरक्षणको अभ्यास गर्दै नयाँ अभ्यास अपनाउन सफल भएको बताउदैँ संरक्षण क्षेत्रको व्यवस्थापनमा अन्नपूर्ण संरक्षण क्षेत्रको मोडेल विश्वप्रसिद्ध रहेको धारणा व्यक्त गर्नुभयो । कोषले संरक्षण क्षेत्र व्यवस्थापनमा जनसहभागितामा आधारित संरक्षण र वन्यजन्तुको अध्ययन अनुसन्धानमा पु¥याएको योगदान विश्वमै ख्याति रहेको बताउदैँ उहाँले नेपालको कूल भू–भागमध्ये संरक्षित क्षेत्रले ओगटेको २३ दशमलव ३९ प्रतिशत भू–भागलाई वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । कोषले आफ्््नो गौरवशाली इतिहासमा सदरचिडियाखानाको व्यवस्थापनमा पु¥याएको योगदान स्मरणीय रहेको बताउँदैँ उहाँले यो चिडियाखानालाई संरक्षण शिक्षा केन्द्रका रुपमा राख्दै भक्तपुरको सूर्यविनायकलाई अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यानमा विकास गर्नेगरी कार्य भइरहेकामा यसलाई तदारुपताकासाथ अघि बढाउन निर्देशन दिनुभयो । कोषले जलवायु परिवर्तनको क्षेत्रमा जलवायु वित्त संयन्त्रमा प्रवेश गरी यस क्षेत्रको हरित जलवायु कोषको रुपमा मान्यता प्राप्त गरिसकेको सन्दर्भमा सम्बन्धन प्राप्त निकायका रुपमा मुलुकको जलवायु अनुकूलन र न्यूनीकरणका लागि परियोजना भित्र्याउन सहज वातावरण निर्माण भएको उहाँको भनाइ छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रकृति संरक्षण, वन्यजन्तु एवं जैविवि विविधताको प्रवद्र्धनमा कोषले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अन्तर निकायबीच समन्वय गरेर प्रकृति संरक्षणको कामलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्वमन्त्री दीपक ज्ञवाली, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेल, कोषका अध्यक्ष डा कृष्णप्रसाद आचार्य र सदस्यसचिव शरद अधिकारीलगायतले संरक्षणको क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि विश्व समुदायका लागि उदाहरणीय रहेको भन्दै आगामी दिनमा प्रकृति तथा जैविक विविधता सम्पदाको संरक्षणलाई आधुनिक ढङ्गले अघि बढाइनुपर्ने बताउनुभयो । प्रकृति तथा प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले विसं २०३९ मा राष्ट्रिय प्रकृति कोष स्थापना गरिएको थियो । अन्नपूर्णलगायत तीन संरक्षित क्षेत्रको व्यवस्थापन कोषबाट हँुदै आएको छ । ‘संरक्षणका चार दशकः गौरवमय इतिहास र अबको बाटो’ भन्ने नाराका साथ कोषले वार्षिकोत्सव मनाएको हो । सो अवसरमा प्रकृति, वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विश्वनाथ उप्रेतीलाई रु एक लाख २५ हजार राशिको कोषको संरक्षक संरक्षण पुरस्कारबाट सम्मान गरिएको छ । पुरस्कृत उप्रेतीलाई प्रधानमन्त्री देउवाले नगदसहित दोसल्ला र कदर–पत्रद्वारा सम्मान गर्नुभएको थियो । कोषले वंयजन्तु संरक्षणमा योगदान पु¥याउने विभिन्न निकाय तथा व्यक्तिलाई पनि कदर–पत्रबाट सम्मान गरेको छ ।
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ७० तोकिएको महासङ्घले जनाएको छ ।
पोखरा : गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउनुहुने भएको छ । पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनुहुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्नुहुनेछ । संयोजक कुँवरका अनुसार समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ । यसअघि गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । समारोह उपसमितिका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा जस्तै गरी समापन पनि भव्य हुनेछ । मार्चपास, मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्याण्ड प्रदर्शन, झाँकीसहित दुई घण्टाको भव्य समापन समारोह हुने समारोह उपसमितिका संयोजक कुँबरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जसरी हामीले भव्य उद्घाटन गरौँ, त्यसरीनै हजारौँको सहभागितामा नवौँ राष्ट्रिय खेलकुदको बिदाइ गर्नेछौँ ।” समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ । समारोहमा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत हुने र अन्तिममा भव्य आतिशबाजीसहित समारोहको समापन हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
बागलुङ । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुनुहुन्छ काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राख्नुभयो । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उहाँको बारी बाझिँदै थियो । तर बारीलाई बाँझै राख्न उहाँलाई पटक्कै मन लागेन् । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेबारी पाउनुभएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका लामिछानेले अहिले भने त्यही बाझिँन थालेको बारीबाट लाखौँ कमाइ गर्न थाल्नुभएको छ । काठेखोला गाउँपालीका–७ रेशमा रहेको उहाँको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । “चार–पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ”, लामिछानेले भन्नुभयो, “वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैप¥यो”, लामिछानेले दुई रोपनी बाँझो बारीमा ४५ वटा किवीका बिरुवा लगाउनुभएको छ । तिनै बिरुवामा यो वर्ष सात सय किलो किवी फलेको लामिछानेले बताउनुभयो । “दुई क्विन्टल त बिक्री भइसके, अझै पाँच क्विन्टल जति बोटमै छन्”, उहाँले भन्नुभयो, “बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौँ”, पाँच सय रुपैयाँ प्रतिगोटा खरिद गरेका ४५ वटा बिरुवाले गत वर्ष नै लगानी उठाएको उहाँले बताउनुभयो । बगानमा किवीको बिरुवालाई आडदिन गत वर्ष ७० हजार खर्चेर उहाँले टहरा बनाउनुभएको छ । लामिछानेको बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो रु दुई सय ५० मा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उहाँकी श्रीमती कमला लामिछानेले बताउनुभयो । “बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर बिचौलिया आउँछन्, उपभोक्तालाई पनि महँगो पर्ने”, लामिछानेले भन्नुभयो, “हामी आफौँले उपभोक्तालाई दिँदा उहाँहरूले रोजेर लैजान पाउनुभएको छ, मूल्य पनि सस्तो पर्छ ।” यो वर्षमात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उहाँले बताउनुभयो । वहुबर्षे बाली भएकाले बेला–बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उहाँको भनाइ छ । त्यही बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभव समेत लामिछानेसँग छ । “हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ”, लामिछाने भन्नुहुन्छ, “पछिल्लो समय मैले नगदेबाली र फलफूल खेतीमा वडावासीलाई प्रेरित गर्ने गरेको छु ।” लामिछानेले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आउनुभएको छ । उहाँ गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।