बझाङ । खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्नुहुन्छ । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहनुहुन्छ । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने बित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाब बढेको दिन रातभर जाग्राम बस्नु उहाँको नियति नै हो । आइतबार राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर झरी परेपछि सो खोलाले दिउँसै बाटो मोडेको थियो । तल्लाबगणको अर्को छेउमा बग्ने खोलाले बस्तीतिर धार फर्काएको थियो । साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो । “एक्कासि राति जडारीगाडमा ढुङ्गाको गड्याङगुडुङ आवाज आएपछि निन्द्रा खुल्यो,” महादेव भन्नुहुन्छ, “राति बाहिर आउँदा त बगर पूरै जलमग्न भएको रहेछ ।” त्यसपछि महादेवले गाउँलेलाई उठाउनुभयो । रातिको खाना खाएर सुतेका तल्लाबगणवासीले मध्यराति दुईबजेदेखि नै जाग्राम बस्नुपर्यो । “गाउँमै भए पनि सडकको छेउमा पसल भएकाले हामी त पसलमै थियौँ,” महादेवले भन्नुभयो, “गाडले ठूलै सङ्केत गरेपछि श्रीमान् श्रीमती नै टर्च बालेर गाउँमा सबैलाई उठाउन गयौँ । गाउँमा सबैले जानकारी पाएर एउटा घरको छेउमा बसेका रहेछन् । पछि सबैजना त्यतै जम्मा भएर रात बितायौँ ।” खप्तडछान्ना –१ खातीगाउँका हर्कबहादुर खातीले आइतबार रातभर नै गाउँमा पहरा दिनुभएको रहेछ । उहाँले भन्नुभयो, “दिनभर परेको पानीले जडारीगाडको बहाब बढेको भन्दै गाउँलेलाई दिउँसै सचेत गराएको थिएँ । साँझ मौसम केही सुधार भयो । मध्यराति त जडारीगाडले बगाएर ल्याएका ढुङ्गाको आवाज घरको छेउमा आएजस्तै भयो । डेढ बजे राति बाहिर हेर्दा त बगरभरि पानी फैलिएको देखियो । त्यसपछि सबै गाउँलेलाई बोलाएर डाँडाको घरमा जाग्राम बस्यौँ ।” खातीका अनुसार खातीगाउँको अवस्था पनि तल्ला बगणको जस्तै छ । राति पानी पर्दा नसुत्ने, आकाश हेरेर सुत्ने समय यकिन गर्ने, जोखिममा रहेका घरबाट उकालो चढेर डाँडामा आफन्तको घरमा जाने । यो समस्या खातीगाउँवासीको मनसुन सुरू भएयता दैनिकी जस्तै हो । “पानी पर्दा आसपासका बस्तीले डाँडातिर, चौतारातिर जाग्राम बस्दै भगवानलाई पुर्कानुबाहेक केही हुँदैन,” खातीले भन्नुभयो, “जडारीगाड नजिकैका बस्तीका लागि भगवान भरोसा मात्रै हुन्छ । अन्य गाउँको त अरू व्यवस्था पनि होला तर, हाम्रो खातीगाउँमा भने गत वर्ष नै बाढीले सर्वस्व लुटेको थियो ।” गत वर्ष असोज ३० देखि कात्तिक ३ गतेसम्म अविरल बेमौसमी वर्षापछि जडारीगाडमा आएको बाढीले खप्तडछान्नामा शताब्दीकै ठूलो क्षति गरेको थियो । सयौँ रोपनी उत्पादन हुने जमिन, करोडौँ मूल्य बराबरको भौतिक संरचना, नहर कुलो, सडक, खानेपानी, विद्युत्लगायत भौतिक सम्पति सबै पूर्णरूपमा ध्वस्त भएको थियो । “गत वर्षको बाढी आउँदा हामी घरमै थियौँ”, उहाँ भन्नुहुन्छ, “दिउँसोतिर खातीगाउँ जिउलोको छेउमा पानी घट्टको आगन मात्रै बगाएको थियो । राति त हेर्दाहेर्दै जिउलोसहित त्यसमा बनाइएका संरचना सबै एकै झट्कामा निल्यो । दुई परिवारका बच्चा त नाङ्गै घरबाट तानेर ज्यान जोगाएका थियौँ । मानवीय क्षति नभए पनि भौतिक सम्पत्ति सबै ध्वस्त भएको थियो ।” खातीगाउँमा सर्वस्व गुमेका दुई परिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेका छन् । उब्जनी गर्ने जमिन कसैको पनि छैन । घर भने दुई परिवारबाहेक सबैका छन् । “हाम्रो जमिन जै जीवनको आधार हो, त्यो सबै खोलाले बगाएपछि अहिले घरबाहेक केही छैन,” हर्कबहादुरले भन्नुभयो, “मेरो त भिरालो ठाउँमा सानो जमिन पनि थियो । गतवर्ष बाढीमा स्कुल बगाएको हुँदा त्यो जमिन स्कुललाई दिएँ । अहिले जमिन शून्य छ । घर भने त्यसैमा बसिरहेका छौँ ।” गतवर्ष सर्वस्व गुमेका प्रेम खातीको परिवारमा ६ जना हुनुहुन्छ । रोजगार कसैको पनि छैन । बाढीको चपेटामा परेका उहाँलाई कपडा, भाँडाकुँडा, खानेकुरालगायत सबै आफन्तले सहयोग गरेका थिए । प्रेम खाती अहिले तत्कालको सहयोगको पर्खाइमै हुनुहुन्छ । “कमाउने कोही छैन । छोरा प्यारालाइसिस भएर हिँड्न सक्दैन । सबैलाई पाल्ने जिम्मेवारी म बूढोकै काँधमा छ । नातिनातिना साना छन् । अहिले कसैले दिए खाने, नदिए भोकै बस्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ । अहिले खोलामा गड्याङगुडुङ सुरू हुने वित्तिकै खोला आइहाल्यो कि भनेर खातीगाउँ, तल्लाबगण, गोटखोला, डाँडाखेतलगायतका मान्छे त्रसित भइहाल्छन् । “तल्लाबगणमा १० परिवार छन्”, महादेव भन्नुहुन्छ, “राति पानी परेको दिन गाउँमा अगाडि नै सल्लाह गरेर एउटै ठाउँमा बस्छौँ । आकाश खुलेको छ भने मात्रै आरामले सुत्न पाइन्छ ।” शुक्रबार पनि मध्य रातिदेखि नै नसुतेको उहाँले बताउनुभयो । “निकै वर्षा आएपछि खोलाको किनारामै बसेका थियौँ”, उहाँले भन्नुभयो, “त्यो दिन पनि रातभर निन्द्रा नै लागेन । गत वर्षकै बाढीको सम्झना आएर गाउँले कसैले पनि सुत्न पाएनन् । “गत वर्ष बाढी आउँदा म त निन्द्रामै थिए”, गिरी भन्नुहुन्छ, “राति सुतेको बेलामा ११ बजेतिर एक्कासि डरलाग्दो सपना देखेर बिउँझिएको त बाढी आएको रहेछ । त्यसपछि भागाभाग भयो ।” गिरीको पसल र खोला झण्डै १०० मिटर टाढा थियो । घरभन्दा बढी बसाइँ पसलमै हुन्थ्यो । “त्यो दिनको बाढीले क्षणभरमै पसल भएको ठाउँ बगर बनायो ।” उहाँकी श्रीमतीले भन्नुभयो, “बाढी पसल नजिक आइरहेकै बेलामा कागजात तथा गहना त झोलामा हालेकी थिएँ । भागाभाग हुँदा झोलासमेत त्यतै छुट्यो ।” जडारी खोलाले स्थानीयवासीको सर्वस्व लुटेको एक वर्ष भइसकेको छ । तर, पीडित परिवारले भने अहिलेसम्म कतैबाट पनि राहत पाएका छैनन् । खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष देवीभक्त जोशी भन्नुहुन्छ, “अघिल्लो पटक हामीसँग बजेट नहुँदा केही गर्न सकिएन । यो पटक छुट्याएका छौँ । अब त्यसै रकमले उहाँहरूलाई सहयोग गर्छौँ ।” खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पनि यो पटकको बजेटले उहाँहरूलाई केही सहयोग गर्ने र बाढीबाट हुने जोखिम कम गर्न आफूहरू लागि परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन । घटना घटिहाले पनि तत्काल राहत उद्धारका लागि विभिन्न निकाय उच्चसर्तकता अपनाउन भनेका छौँ ।”
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार आठ ३७ दशमलव ६० मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक सात अङ्कले ओरालो लागेर तीन सय ५८ दशमलब ८७ मा सीमित भएको छ । कूल दुई सय ३१ कम्पनीको ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता शेयर रु एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भयो । कारोबारका आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ६५ लाख ३३ हजार आठ सय २९ बराबरको कारोबार भयो । रिडी हाइड्रो पावर रु पाँच करोड ३५ लाख १३ हजार सात सय ४९, नवील बैंक रु चार करोड ७३ लाख ६५ हजार एक सय ८०, अरुण काबेली पावर रु तीन करोड २६ लाख दुई हजार सात सय ५८ र अपि पावर कम्पनी रु तीन करोड भार लाख ३७ हजार पाँच सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, स्वाभिमान लघुवित्त तीन दशमलव ९२, एनएमबी–५० तीन दशमलव ८७, आर्दश लघुवित्त दुई, तेह्रथुम पावर कम्पनी एक दशमलब ९१ र सिभिल लघुवित्तका लगानीकर्ताले एक दशमलव ३८ प्रतिशतले कमाएका छन् । यस्तै कालिका पावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट देखिएपछि नकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक सात दशमलव ९४, समृद्धि फाइनान्स छ दशमलव ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ । यस्तै चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिङ्गल बनाएर सुनाउने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने, लागुपदार्थ सेवन जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ । कार्यालयका प्रवक्ता भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।
भरतपुर । नेपाल नेत्रज्योति सङ्घ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत एकवर्षमा झण्डै तीन लाखलाई सेवा दिएको छ । अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म दुई लाख ८९ हजार तीन सय ९२ जनाको आँखा उपचार गरेको हो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बहिरङगतर्फ भरतपुर आँखा अस्पतालमा एक लाख ३२ हजार पाँच सय २१, भरतपुर ओरालोमा रहेको चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग (सिटी क्लिनिक)मा १९ हजार एक सय आठ, ठोरी अस्पतालमा आठ हजार पाँच सय २३ जनाको उपचार गरिएको छ । यसैगरी कावासोती अस्पतालमा नौ हजार १४, सिम्रनगढ अस्पतालमा ६ हजार छ सय ९० र आँखा उपचार केन्द्रमा २६ हजार सात सय ९८ जनाको उपचार गरिएको छ । अस्पतालले ग्रामीण क्षेत्रमा पुगेर सञ्चालन गरेको आँखा शिविरमार्फत् ८६ हजार सात सय ३८ जनाको उपचार गरेको छ । अस्पतालले उक्त अवधिमा नौ हजार आठ सय ९६ वटा शल्यक्रिया गरेको छ । तीमध्ये हातले गर्ने शल्यक्रिया सात सय दुई, उपकरणको माध्यमबाट गरिने तीन हजार ३०, आँखाको नानी (कर्निया) को तीन सय ८१, जलविन्दुको ८४, आँखाको पर्दा (रेटिना) को एक सय ६१ शल्यक्रिया गरिएको हो । यस्तै आँखाको वरिपरिको भागको तीन सय ८७, बालबालिकाको आँखाको ९०, अन्य शल्यक्रिया दुई सय १२ र शिविरमार्फत् रिफर गरिएका चार हजार आठ सय ४९ को शल्यक्रिया गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । बहिरङ्ग र शल्यक्रिया गरी लक्ष्यको एक सय २४ दशमलव ९७ प्रतिशत सफलता मिलेको जनाइएको छ । अस्पतालले सन् २०२० को जुलाई १ देखि सन् २०२१ को जुन ३० सम्म एक लाख १८ हजार नौ सय ४७ जनाको उपचार गरेको थियो । सोही अवधिमा पाँच हजार तीन सय ३५ जनाको विभिन्न शल्यक्रिया गरेको थियो । कोभिडका कारण उक्त अवधिमा बिरामीको सङ्ख्या कम भएको थियो । अस्पतालले २०२२ जुलाई १ देखि सन् २०२३ जुन ३० सम्म तीन लाख ४१ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलका अनुसार अस्पतालमा विशेषज्ञ प्राप्त गरेका दक्ष चिकित्सक रहेका छन् । हाल नौ विशेषज्ञ चिकित्सक कार्यरत छन् । नौ विशेषज्ञ अध्ययनरत रेसिडेन्टल चिकित्सक छन् । विशेषज्ञता हासिल गरेकामध्ये आँखाको पर्दा (रेटिना), आँखाको बाहिरी नानी(कर्निया), जलविन्दु, प्लास्टिक सर्जरी, बच्चाको आँखामा फेलोसिप गरेका चिकित्सक कार्यरत छन् । उहाँको भनाइमा एक सय १७ जनाको विशेषज्ञ चिकित्सकदेखि सहायकसम्मको कर्मचारीको समूह उपचारमा जुटेको छ । अस्पतालले एक सय ११ को नानीको प्रत्यारोपण गरिसकेको छ । यस अस्पतालमार्फत ३९ नानी सङ्कलन गरिएको छ । आठ सय ८६ जनाले आँखा दानका लागि इच्छा गरेका छन् । धरेलका अनुसार अस्पतालमा चितवन, मकवानपुर, नवलपरासी सुस्ता–बर्दघाट पूर्व, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, गोरखा, लमजुङ्, तनहुँ, धादिङ्लगायतका जिल्लाका बिरामीले प्रत्यक्ष रुपमा सेवा पाएका छन् । यसको अतिरिक्त नेपालका अन्य जिल्ला र छिमेकी देश भारतका सीमा क्षेत्रका बिरामीले यहाँ सेवा लिँदै आएका छन् ।
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ मान्हौका ६५ वर्षीया मधुमाया कामीले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभयो । गाउँपालिकाको कार्यालयसम्म पुगेर परिचयपत्र बनाउन नभ्याउनुभएका उहाँले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुसी लागेको बताउनुभयो । “गाउँपालिका जान भ्याएको थिइनँ, घरमै ल्याएर गाउँपालिकाले दियो”, उहाँले भन्नुभयो, “स्थानीय सरकार घरमै आएजस्तो अनुभूति भयो ।” स्थानीय तह निर्वाचनका बेला उम्मेदवार घरघरमा आएर भोट मागेको सम्झिँदै उहाँले सेवा पनि घरदैलोमा नै आउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । सोही ठाउँकी बुद्धिमाया कामीले पनि घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभयो । “सिंहदरबारको अधिकार गाउँमा भन्ने त सुनेका थियौँ, आज त आफैँले घरदैलोमा सेवा पाउँदा साँच्चै हो रहेछ भन्ने अनुभूति भयो”, उहाँले भन्नुभयो । सोही ठाउँका ओमबहादुर आलेले घरको डिजिटल नम्बर शिविरकै अवसरमा प्राप्त गर्नुभयो । उहाँले घरदैलोमा नै सेवा पाउँदा समयको बचतसँगै गाउँपालिकासम्म पुग्दा लाग्ने खर्चको पनि बचत भएको उल्लेख गर्नुभयो । जनतालाई घरदैलोमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । उक्त ठाउँका एक सयभन्दा बढीलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “जनतालाई गाउँघरमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाका सम्पूर्ण सेवा घरदैलोमै पु¥याउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा घरदैलोमा नै प्रदान गर्छौँ ।” म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताउनुभयो । “स्थानीय सरकार जनताको घरमा पुग्नुपर्छ भन्ने मान्यतासहित यो शिविर सुरु गरिएको हो, घरदैलोमा जाँदा आम जनतासँग साक्षात्कार पनि हुन्छ, समस्या पनि सुन्न पाइन्छ”, उहाँले भन्नुभयो । घरदैलोमै गएर सेवा प्रदान गर्दा जनतामा खुसी छाएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । “हामी सधैँ जनताप्रति उत्तरदायी हुनुपर्छ”, उहाँले भन्नुभयो । घुम्ती शिविरमार्फत कृषि, पशु, स्वास्थ्य, घरनक्सा, पञ्जीकरणलगायतका सेवा प्रदान गरिएको छ । विषयगत शाखाअन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य–आर्युर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिडविरुद्धको खोप प्रदान गरिएको छ । कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फार्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिएको छ । पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बर प्लेट वितरण गरिएको छ । एकीकृत घुम्ती शिविर असोज २ देखि ४ सम्म वडा नं १ मा, असोज ५ र ६ गते वडा नं २ मा, असोज ७ देखि ९ सम्म वडा नं ३ मा, असोज ११ र १२ गते वडा नं ४ मा, असोज २७ र २८ गते वडा नं ६ मा र असोज ३० र ३१ गते वडा नं ७ मा सञ्चालन हुनेछ ।
टीकापुर । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन् । बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ । यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो । बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन । भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बस्नुभएको छ । विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहनुभएको छ भने उहाँका वस्तुभाउ पनि भोकै छन् । उहाँलाई आफूले के खाने, वस्तुभाउलाई के खुवाउने तनाव भएको छ । “वस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयो”, उहाँले भन्नुभयो, “अब आफू पनि भोकै, वस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन् ।” वडा नं ८ कै शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहनुभएको छ । उहाँले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको जनाउँनुभयो । वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ । उहाँको परिवार वस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ । वस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ । “अधिकांशका वस्तुभाउ पनि सडकमै छन्, सबैलाई वस्तुभाउको आहारा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ”, उहाँ भन्नुहुन्छ, “हामी त सहयोगीहरूले दिएका चाउचाउ र चिउराले ज्यान धानिरहेका छौँ, तर वस्तुभाउलाई के खुवाउनु रु” शनिबार विस्थापित हुनुभएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन । उहाँहरू पनि वस्तुभाउसहित सडकमा बस्नुभएको छ । विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ । बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ । यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ । खुला आकाशमा सडकमै बसिरहनुभएकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ । उहाँको घरखेत सबै बाढीमा मिसिएकाले उहाँको परिवार र उहाँले पालेका वस्तुभाउको आहारामा समस्या भएको छ । “पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेन”, उहाँले भन्नुभयो, “सम्पत्तिका नाममा बचेका यी वस्तुभाउ हुन्, वस्तुभाउ पनि भोकले मर्ने भए ।” भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुवस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । “हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौँ, अझै मानिसकै उद्धार भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन । पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन ।” पशु शाखा प्रमुख जैसी आजबाट पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताउनुभयो । “अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “धेरै मानिसका वस्तुभाउ बगेका, बङ्गुर मरेका, कुखुरा मरेका खबर आएका छन् । अब हामी तथ्याङ्क लिन्छौँ ।” नगरपालिकाद्वारा सहयोगको अपिल भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पुर्याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ । नगरप्रमुख केवल चौधरीद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ “जसरी सबैको सहयोगमा बाढीबाट प्रभावितलाई उद्धार गरियो, त्यसरी नै उनीहरूलाई राहतका लागि पनि सहयोग गर्न आग्रह गरिन्छ । यस घडीमा सम्पूर्ण नागरिक, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई नगरपालिकासँग समन्वय र सहकार्य गरी सहयोग गर्न अपिल गरिएको छ । ”भजनीका सबै वडा प्रभावित भएकाले नगरपालिका एक्लैले उनीहरूलाई राहत तथा उद्धारजस्ता कार्य गर्न नसक्ने भएकाले सहयोगीलाई साथ दिन आग्रह गरेको हो ।
बागमती : मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।
काठमाडौं : राजीव साह भर्खर १५ वर्षमा हिँड्दै हुनुहुन्छ । तर उहाँको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उहाँको भूमिका फेरिन्छ । मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उहाँका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउनुहुन्थ्यो । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ । बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउनुहुन्छ । “डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उहाँ बताउनुहुन्छ । सफारी कुदाएर दैनिक चार÷पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उहाँले गुनासो गर्नुहुन्छ । सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उहाँको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उहाँ लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउनुहुन्छ । “कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ”, उहाँ बताउनुहुन्छ । स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसंग आग्रह गर्नुभयो ।
चितवन : पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर -१ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।