ललितपुर : ‘सक्नेछन् रचना बिलाउन त्यसै बाटो नपाएपछि केको हुर्कन सक्छ स्वच्छ बिरुवा माटो नपाए पछि’ स्व कवि नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ बजारमा आएको छ । प्रस्तुत कविता सङ्ग्रहमा रहेका ७९ कवितामा स्पष्ट भाव, सकारात्मक सन्देश, समाजका विकृतिमाथि प्रहार, राष्ट्र प्रेम, प्रकृतिमाथिको सुन्दर प्रस्तुती, मानवीय संवेदना र वात्सल्य प्रेम झल्किएको छ । उल्लेखित कवितामध्ये दशवटा मन्दाक्रान्ता, छ वटा वसन्ततिलका, पाँचवटा अनुष्टुप, छ वटा उपजाति र एउटा इन्द्रबज्रा छन्दका रहेका छन् । यसैगरी दुईवटा गीत पनि समावेश गरिएका छन् । सरकारी सेवा, प्राध्यान र सामाजिक सेवामा जीवन बिताउनुभएका श्रीमहालक्ष्मी नगरपालिकाको लामाटार निवासी उहाँका कविता विभिन्न साहित्यिक पत्रिकामा छापिएका छन् । कवि गौतमको निधन विसं २०५७ साउन २१ गते भएको थियो । श्रीमती भगवती गौतमले प्रकाशित गर्नुभएको उक्त कविता सङ्ग्रह १०२ पृष्ठको छ।
काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्। यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए। ‘उनी अहिलेसम्म सम्पर्कमा आएनन्, इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया सुरू भइसक्यो,’ ती अधिकारीले भने। प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो। अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन। इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ। ‘कस्तो खालको अपराध र परिस्थिति हो त्यसअनुसार नोटिस जारी हुन्छ। मृत्यु भइसकेको मान्छे खोज्न परे ब्ल्याक कर्नर, बिस्फोट गराएको मुद्दाका मान्छे पक्राउ गर्न परे पर्पल, बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधमा रेड कर्नर नोटिस जारी हुन्छ,’ उनले भने, ‘नोटिस जारी गर्न पनि एकैचोटी हुँदैन। कार्यविधि, कानुनअनुसार अघि बढ्ने हो।’ यसबारेमा अदालतको पनि आदेश चाहिने उनले बताए। अनुसन्धान गर्दै जाँदा अनुसन्धान अधिकृतको आवश्यकता भएमा अदालतको आदेशपछि इन्टरपोलबाट पक्राउ गर्न सकिने उनको भनाइ छ। फरार भएको यति नै दिनमा पक्राउ गर्नुपर्ने भन्ने नभएको उनले बताए। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ। केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए। लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। तर पीडित प्रहरीकै संरक्षणमा भएको प्रहरी अधिकृतले बताएका छन्। उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो । शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीरबाट सिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए । ‘२२ घण्टापछि उहाँलाई सेनाको सहयोगमा उद्धार गरिएको हो,’ उनी भन्छन्,’ठूलो पानी परेको भए राति नै बगाउन सक्थ्यो, तर खोलाको सतह नबढेकाले उहाँ ढुंगामै अड्किरहनु भएछ ।’
पोखरा : आज आइतबार तनहुुँ जिल्ला अदालतमा हुने भनिएको अभिनेता पल ( पूर्णविक्रम ) शाहको सुनुवाई स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्धाको सुनुवाई पहिलो नम्बरमा परेको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति बेलुकासम्म आउँछ,’ वाग्लेले भने । शाह बलात्कार मुद्दाको पुर्पक्षका लागि अहिले तनहुँ कारागारमा छन् । सोही प्रकृतिको मुद्दामा गत साता नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । नवलपुर अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन । फैसलाको पूर्णपाठ आउने बित्तिकै यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी रहेको कानुन व्यवसायी वाग्लेले जानकारी दिए ।
काठमाडौं : महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार सार्वजनिक भएको छ । महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ । साथै केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने पनि उल्लेख छ । संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमले पनि गत २०७८ फागुन १ गते राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्याय परिषद र जबरालाई पठाएको पत्रमा संविधानको धारा र प्रतिनिधि सभा नियमावली २०७५ मा भएको व्यवस्था उल्लेख गर्दै जबरामाथि महाअभियोगको कारबाही टुंगो नलागेसम्म कामकाज गर्न नपाउने व्यहोरा उल्लेख गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसदले सफाइ नदिएसम्म जबराको निलम्बन कायमै रहने बताए । संवैधानिक व्यवस्था विपरीत जबरा सर्वोच्च फर्किन लागेको हल्लापछि कानुन व्यवसायीहरुले उनलाई गेटमा रोक्ने तयारी गरेका छन् । यसअघि जबराको कार्य सम्पादनमा प्रश्न उठाउँदै कानुन व्यवसायीहरुले तीन महिना लामो आन्दोलन गरेका थिए ।
अछाम : अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यू हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही,सोही गाउँपालिका का १७ बर्षीय बिमला शाही,४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही,१७ बर्षीय कल्पना शाही,१३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही,३ बर्षीय कल्पना शाही,२१ बर्षीय भावना शाही र कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी,१७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी,३६ बर्षीय मैनकला कामी,१५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ । यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने २६ बर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ बर्षीय डिग्रा दमाई,३ बर्षीय कलु दमाई,४ बर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।
काठमाडौं : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ । यही सम्झनामा नेपालका कालिगडहरुले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।
काठमाडौं : सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आज (शनिबार) देखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शनिबार बिहानदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुल्ने जानकारी दिनुभयो । यही भदौ २२ गतेको बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, कोभिड–१९ महामारीलाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरेको थियो । अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दसैँका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय गरिएको थियो । यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको थियो । नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले शनिबार बिहान ७ बजेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार धेरै गाडी आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।
तनहुँः काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारी र सार्वजनिकस्थलका अतिक्रमित संरचना हटाउने अभियानको प्रभाव देशको अन्य भागमा पनि परेको छ । यसैको नतीजाअनुसार तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ । काठमाडाँै महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त नगरपालिका पनि त्यसतर्फ अग्रसर भएको हो । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ९२० मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भन्ने प्रावधान भएकाले अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिनको सूचना जारी गरिएको हो । सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन गरिएका व्यापार तथा व्यवसाय, सडकको क्षेत्राधिकारभित्र सञ्चालन भएका व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडक ओगटी गरिएका निर्माण कार्य, सार्वजनिक जग्गा तथा सडकको क्षेत्राधिकारभित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउन आग्रह गर्दै ३५ दिनभित्र उक्त संरचना नहटाइए नगरपालिकाले नै हटाउने जनाइएको छ ।