काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार बैठकको सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिनुभएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम सो माफी दिइएको जानकारी दिनुभएको छ ।
सिमकोट : हिमालपारिको गाउँको नामले चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीसहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुई दिन लगातार पानी परेपछि लिमीसहित अग्गा डाँडामा हिमपात भएको छ । हिमपातले हिमाल सेताम्य देखिएको छ । हिमपातले चिसो बढेसँगै लेकमा भएका पशुवस्तु र गाई गोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चाँैरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन् । नाम्खा–६ को लिमी गाउँमा असोज महिनामै हिमपात भएको हो । बिहीबार रातिदेखि लगातर वर्षा हुँदा हुम्लाको उतरी लिमीका तीनवटै तिल, हल्जी र जाङ गाउँमा एक्कासि हिमपात भएको स्थानीयवासी तेन्जिननुर्वु लामाले बताउनुभयो । उहाँका अनुसार अविरल परेको हिमपातले अन्नबालीमा क्षति पुर्याएको छ । अविरल वर्षा हुँदा वर्षको एक पटक पाक्ने बाली नाफललगायत अन्नपात नष्ट गरेको छ । फेरि यो वर्ष पनि लिमीबासीलाई सरकारी राहतमाथि निर्भर हुन् बाध्य पर्ने लामाले गुनासो पोख्नुभयो । गाउँपालिकाका अध्यक्ष प्रेम लामाले न्याउलु लेकको बाटो खुलाई सक्दो राहतको पहल गर्ने बताउनुभयो । उत्तरी हुम्लामा कात्तिक महिना अन्तिम सातादेखि हिमपाता सुुरु हुनुपर्नेमा यसपटक समयमा मौसम परिवर्तनकै कारण भदौ अन्तिम दिनमा हिउँ परेको हो । उत्तरी नाम्खाको लिमीमा चार इञ्च हिउँ जमेकोे नाम्खा–६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताउनुभयो । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र अविरल वर्षापछि प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाका स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त सूची बुझाउन असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेकाले आज पहिलो दिन ठला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा, प्रदेशसभाका लागि सूची बुझाउन आठ स्थल र १० कक्ष व्यवस्था गरी तम्तयारी अवस्थामा आयोग रहेको बताउनुभयो । आयोगले सो प्रणालीका लागि सचिव गोकर्णमणि दुवाडीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल यही असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट भएपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त भएको छ ।
म्याग्दी : चार दिनदेखिको निरन्तरको वर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङ जिल्लाको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बाग्लुङ–बेनी सडक अवरुद्ध भएपछि जनजिवन प्रभावित भएको छ । पर्वतको जलजला गाउँपालिका-९ ज्यामिरेमा खसेको पहिरोले आज बिहानदेखि मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका-२ हाँडेभिरमा शनिबार राति खसेको पहिरोका कारण बागलुङ–बेनी सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विस्तारका क्रममा रहेको मालढुङ्गा बेनी सडकका ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले डोजर परिचालन गरेर पहिरो पन्छाउन थालिएको जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले हाँडेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनगर्न बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग समन्वय गरिएको बताउनुभयो । उहाँका अनुसार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरो पन्छाएपछि बेनी–जोमसोम सडक भने आज बिहानदेखि सञ्चालन आएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका सर्वसाधारणलाई बागलुङ, पर्वत, प्रदेश राजधानी पोखरामा आवतजावत गर्न समस्या भएको छ । सडक अवरुद्ध हुँदा उपचारका लागि बिरामीलाई अस्पताल पु¥याउनसमेत कठिन भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलुलगायत कृषिउपजको निकासीसमेत प्रभावित भएको छ ।
काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्रसङ्घले नै विश्वभर जलवायु परिवर्तनका कारण मानवीय सङ्कट सुरु भएको भनेकाले नेपाल जस्तो उच्च जोखिमयुक्त मुलुक पनि यस विषयमा गम्भीर हुन जरुरी रहेको निष्कर्षमा वन तथा वातावरण मन्त्रालय पुगेको बताइएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्नका लागि योजना बनाउने जानकारी यसअघि नै दिनुभएको छ । यसै आधारमा सो मन्त्रालयले यसको अध्ययन तथा सम्बन्धित विज्ञसँग राय सुझाव लिन सुरु गरेको छ । मन्त्रालयका जलवायु महाशाखा प्रमुख बुद्धिसागर पौडेलले सङ्कटकाल घोषणाको अध्ययन र प्राविधिक तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कटकाल लगाएपछि फाइदा वा घाटा के हुन्छ, कुनै क्षेत्र विशेषमा असर पर्छ कि भन्ने विषयमा अध्ययन गर्ने भनेर तथ्य–तथ्याङ्क जुटाउने र विश्लेषण गर्ने काम सुरु गरिएको छ । ‘जलवायु सङ्कटकाल’ घोषणा गरेपछिको अवस्थाकाबारेमा अध्ययन गरी जानकारी लिनका लागि मन्त्रालयले एक प्राविधिक टोली पनि तयार गरिरहेको बताइएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भनेर निरन्तर सचेत गराइरहेका छन् । जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमका विषयमा तथ्याङ्क राख्ने अन्तर्राष्ट्रिय संस्था ‘जर्मनवाच’ का अनुसार नेपाल अहिले जलवायु परिवर्तनका कारण उच्च जोखिम भएका देशमध्ये दशौँ स्थानमा पर्छ । सङ्कटकाल नै घोषणा गर्न भने हतार गर्न नहुने अधिकांशको भनाइ छ । तथ्यमा आधारित प्रमाणसहित ‘जलवायु सङ्कटकाल’ घोषणा गर्न आवश्यक रहेको यसका विज्ञ तथा मन्त्रालयका कर्मचारीको भनाइ छ । नेपाल सरकारसँग अहिलेसम्म जलवायु परिवर्तनकै कारण कति हानिनोक्सानी भयो भन्ने यकीन तथ्याङ्क नभएका कारण सङ्कटकाल घोषणापछि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने योजना बनाउनुपर्ने आवश्यकता रहेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ । मुलुकले लामो समयदेखि पर्यावरणीय र जलवायुजन्य समस्या भोग्दै आए पनि सरकारले कोप–२७ को तयारीका क्रममा सङ्कटकाल घोषणाका विषयमा सरोकारवाला निकाय र विज्ञसँग छलफल गरिरहेको छ । उता वन तथा वातावरणमन्त्री प्रदीप यादव नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायत सबै क्षेत्रमा देखिने गरी जलवायु परिवर्तनको असर परिरहेकाले नेपालमा जलवायु सङ्कटकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको दाबी गर्दै आउनुभएको छ । हालसम्म विश्वका ३९ देशले जलवायु सङ्कट घोषणा गरेका छन् । जलवायु परिवर्तनको असरले नेपालमा प्राकृतिक विपद्का घटना बर्सेनि दोहोरिइरहने तथा हरेक वर्ष कहिले खडेरी हुने त कहिले भारी वर्षाका कारण बाढी, पहिरो आउने समस्याका कारण ठूलो मात्रामा धनजनको क्षति भइरहने एवं पछिल्ला केही वर्षयता हिमालमा हिउँ पग्लिने र मधेस तथा पहाडमा खानेपानी र सिँचाइकै समस्या हुने खालका समस्या बढ्ने गरेका छन् । जलवायु सङ्कटकाल घोषणा गर्ने खास मापदण्ड नभए पनि यसको संवेदनशीलताको मनन् गरी घोषणा गर्नुपर्ने सबैको राय छ ।
मनाङ : हिमाली जिल्ला मनाङमा शिक्षण संस्थाअनुसार विद्यार्थीको सङ्ख्या भने घट्दो छ । जिल्लाका शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मनाङका अनुसार कक्षा बढ्दै गएपछि कतिपय विद्यालयमा विद्यार्थी रित्तिने अवस्थामा पुगेका छन् । एकाइ कार्यालयको तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, सदरमुकाम चामे गाउँपालिकामा ५५, नासों गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । इकाइ प्रमुख चपाईंले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा कूल ७२ जना रहेका छन् । चामे गाउँपालिकामा एक सय ७६, नासों गाउँपालिकामा एक सय ७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको जानकारी दिनुभयो । “इसिडीमा विद्यार्थी बढी भए पनि कक्षा बढ्दै गएपछि घट्ने गरेको छ”, उहाँले भन्नुभयो, “शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना दिवा खाजा तथा आवासीय व्यवस्था गरिएको छ । विद्यालयमा विद्यार्थी घट्ने क्रममा छन् ।” विशेषगरी कक्षा ६ देखिमाथिका कक्षामा विद्यार्थी घटेको शिक्षाको तथ्याङ्कले देखाएको छ । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने चपाईंले बताउनुभयो । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी बाहिरिएको हुनसक्ने उहाँको भनाइ छ । जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यालय भवन र शिक्षक छ विद्यार्थी छैनन् । “यस्तो अवस्थामा विद्यालय बन्द छन्”, उहाँले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थीबाहेक अन्य विद्यार्थी नै छैनन् ।” जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर बालबालिका पढाउने आशा रहेको अभिभावकको भनाइ छ । मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक रहेका छन् । चामे गाउँपालिकामा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासों गाउँपालिकामा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरुलाई पठनपाठन गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
बलेवा : बागलुुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा व्यावसायिक जुनेलो खेती थालिएको छ । स्थानीय एक कृषि सहकारी संस्थाले बाँझो जग्गाको उपयोग गरेर व्यावसायिक जुनेलो खेती सुरु गरेको हो । कुश्मीशेराको फलाँटे कृषि सहकारी संस्थाले बाँझो जग्गामा व्यावसायिक जुनेलो खेती थालेको हो । कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाइएको सहकारीका अध्यक्ष मोतीप्रसाद शर्माले बताउनुभयो । स्थानीयले जनशक्तिको अभावमा केही वर्षदेखि बारी बाँझो छाडिएको थियो । बाँझो जग्गा भाडामा लिएर सहकारीको उद्देश्यअनुसार खेती थालिएको शर्माले बताउनुभयो । रैथाने बालीको संरक्षण र सहकारीमार्फत कृषक सदस्यको आय वृद्धिका लागि व्यावसायिक खेती थालिएको हो । गत जेठ महिनामा लगाइएको जुनेलोले यसै वर्ष उत्पादन दिनेछ । “यो वर्ष पाँच क्विन्टल जुनेलो फलाउने लक्ष्य छ, बिरुवामा राम्रो भएका छन्, हामीले सोचेअनुसारकै उत्पादन हुन्छ”, शर्माले भन्नुभयो “बर्सेनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष सहकारीलाई जुनेलोबाट आम्दानी जोडिनेछ ।” जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशील छन् । बीउ लगाउने, गोडमेल गर्ने र सिँचाइ गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको अध्यक्ष शर्माले बताउनुभयो । “यो वर्षको उत्पादनबाट हुने आम्दानी सहकारीको पुँजी वृद्धिमा लगाइनेछ”, शर्मा भन्नुहुन्छ, “अर्को वर्षदेखि हुने आम्दानी, खर्च कटाएर सहकारीका सदस्यले दामासाहीले पाउँछन् ।” सहकारीले रु एक लाख खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको हो । दश किलो बीउ रु चार सय ५० प्रतिकिलोका दरले खरिद गरेर लगाइएको शर्माले बताउनुभयो । “यो रैथाने बाली हो, पहिले हामीलाई बीउ पाउनै कठिन भयो”, उहाँ भन्नुहुन्छ, “बजारमा बीउको अभाव छ, हामीले केही वर्ष बीउकैरुपमा उत्पादन गर्छौं र बिक्रीका लागि पनि सोहीअनुसारको बजारको खोजी भइरहेको छ ।” केही वर्षअघिसम्म अस्मिता कृषक समूहमा आबद्ध भएर मूला तथा केराउको मूल बीउको व्यावसायिक उत्पादन गरेका कृषक सहकारीमा आबद्ध रहेकाले उनीहरुलाई बीउ उत्पादनको अनुभव र बजारको जानकारी रहेको शर्माले दाबी गर्नुभयोे । यो बाली रोपिएको करिब ६० दिनमै उत्पादन दिने र सिचाइँको सुविधा कम भएको तथा चिस्यान कम हुने माटोमासमेत उत्पादन हुने गर्दछ । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीका रुपमा रहेको जुनेलो लगभग लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले संरक्षण थालेको हो । धार्मिक कार्य, पूजाआजा, अनुष्ठानमा प्रसादका साथै भोजनका लागिसमेत प्रयोग गरिने जुनेलो औषधिका रुपमा पनि प्रयोग गरिन्छ । जुनेलोको सेवनबाट पित्त, मूत्र तथा पेट सफा हुनुका साथै स्फूर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ । माग बढ्न थालेपछि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा रहेका कृषक जुनेलो खेतीतर्फ आकर्षित बन्दै गएका छन् । होटल रेस्टुरेन्टमा पनि जुनेलोको परिकार बन्न थालेपछि यसको महत्व झन बढ्न थालेको छ । पहाडी भिरालो, खोरिया र रुखो जमिनमा सहजै उत्पादन गर्न सकिने भएपछि जुनेलोलाई खासै मेहनत पनि गर्नु पर्दैन । न्यानो हावापानी मन पराउने जुनेलो मकैजस्तै खाद्यान्न बाली हो । सहकारीले रैथाने बालीका रुपमा रहेका कोदो र फापरको ‘ब्राण्डिङ’ समेत गर्ने योजनामा रहेको छ । सहकारीमा आबद्ध किसानले व्यक्तिगत खेतबारीमा उत्पादन गरिरहेको कोदो र फापरलाई सहकारीले खरिद गरेर पिठोको ब्राण्डिङ गर्ने योजना छ । रैथाने बालीको संरक्षण, बाँझो जग्गाको उपयोग र किसानलाई व्यावसायिक बनाउनका लागि सहकारी लागेको हो ।
कञ्चनपुर : भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो । त्यही सन्देशले शिविरका सबै जनाको ज्यान जोगायो । रञ्जितको मोबाइलमा सन्देश जल तथा मौसम विज्ञान विभागबाट आएको थियो । त्यसमा लेखिएको थियो, “पछिल्लो तीन घण्टामा कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भएकाले नदीमा आकस्मिक बाढी आई खतरा आसपास पुगिसकेकाले सतर्कता अपनाऔँ”, रावतले मोबाइलमा आएको सन्देश पढ्नुभयो । सन्देश पढ्नासाथसँगै सुत्नेकी श्रीमतीलाई उठाएर सन्देशका बारेमा सुनाउनुभयो । “सन्देशमा भने झैँ ठूलो वर्षा भइरहेको थियो”, रावतले भन्नुभयो, “बाहिर हेरे वनहरा नदीको पानी झोपडी भित्रै आइपुगेको थियो, हतारमा श्रीमतीलाईसँगै आवश्यक सामान बोकेर भाग्नका लागि तयार पारे, शिविरका अन्य बासिन्दालाई बाढी आएको कुरा ठूलो आवाजले कराएर सुनाए सबैजना वन क्षेत्रमा भाग्यौँ, त्यो सन्देश नआएको भए ठूलो दुर्घटना निम्तिन्थ्यो ।” नदीको बाढी शिविरमा छिरेपछि लत्ताकपडा, भाँडाकुँडा, खाद्य सामग्री सबै झोपडीमै छाडेर एक सरो लुगामा सबै भागेर ज्यान जोगाएको उहाँ बताउनुहुन्छ । “शिविरमा बाढीको पानी पसिसकेकाले भाग्नका लागि आवाज आयो”, गौरे दमाईंले भन्नुभयो, “सुतेका मात्रै थियौ, लत्ताकपडा केही बोक्नै पाएनौँ ।” उहाँले रातिका समयमा शरीरमा एकसरो कपडा मात्रै लगाएर सामुदायिक वन क्षेत्रमा भागेको सुनाउनुभयो । “पानी छातीसम्म पुगिसकेको थियो, बाँचिएला भन्ने आशा नै थिएन जसोतसो कम पानी भएको ठाउँमा पुगेपछि अब बाँचिन्छ झैँ लाग्यो”, उहाँले भन्नुभयो, “वनको माथितर्फ लाग्यौँ, त्यतिबेला शिविरका अरु पनि आइपुगे, पानीमा भिज्दै उभिएरै रात कटायौँ ।” उहाँ अहिले पनि शिविरमा फर्केर जान डराउने हुन्छ । वर्षा भएपछि अझै पहिला जस्तै बाढी आउने डर उहाँको मनमा खेल्ने गरेको छ । शिविरमा पानी पसेपछि वन क्षेत्रमा रातिको समयमा बालबालिकालाई काखिमै च्यापेर भिज्दै रात काटेको कुरा मथुरादेवी सार्की बताउनुहुन्छ । “डोरीको खटियामा सुतेका थियौँ”, उहाँले भन्नुभयो, “झोपडीभित्रै पानी आइपुगेकाले ज्यान जोगाउनकै हतार भयो, केही बोक्नै पाएनौँ, सबै बगाएर लग्यो, शरीरमा लगाएको एकसरो लुगामात्रै छ, त्यसबाहेक केही छैन ।” रातको समयमा मुसलधारे पानीमै बालबालिकासहित अनिदोमै रात काट्नु परेको दुखेसो उहाँले पोख्नुभयो । शिविरकी कलावती दमाईंको झोपडी बाढीले बगाउँदा एकसरो लुगामै हुनुहुन्छ । रातिमा बालबालिका पानीमा भिजेपछि बिरामी पर्न थालेको उहाँले बताउनुभयो । “शिविरमा बाढी पसेको हल्लाखल्ला हुन थालेपछि सबैभन्दा पहिला गाईबस्तुलाई फुकाएर जङ्गलतर्फ भगाउँदासम्म झोपडीमा घुँडासम्म पानी पुगिसकेको थियो”, स्थानीय दलबहादुर बोहराले भन्नुभयो, “झोपडीमा सुतेकालाई उठायौँ भाग्न भन्यौँ, त्यसपछि एकसरो लुगामै जङ्गलै जङ्गल पानीमै भागेर ज्यान जोगायौँ ।” शिविर रहेको पश्चिमतर्फ वनहरा नदी, दक्षिणतर्फ नदीले नै बनाएको नाला छ, उत्तरतर्फ घना वन क्षेत्र छ । बिहानको ५ बजेपछि जनप्रतिनिधिसहित सुरक्षाकर्मी आएर सुरक्षित स्थानमा ल्याएर राखेको उहाँ बताउनुहुन्छ । सुरक्षाकर्मीको उद्धार टोलीले शिविरमा पुगेर बग्नबाट बाँकी रहेका सामान जोगाएको उहाँले बताउनुभयो । विस्थापित परिवारको झोपडीमा अहिले घुँडासम्म हिलो छ । बस्नसक्ने अवस्था छैन । विस्थापित परिवारलाई शुक्लाफाँटा नगरपालिका–११ को वडा कार्यालयले सरस्वती माध्यमिक विद्यालयमा तत्कालका लागि बस्ने र खाने व्यवस्था मिलाएको छ । शिविरमा २८ परिवारको बसोबास रहेको छ । शिविरका बस्दै आएका बासिन्दालाई नेपाल रेडक्रस उपशाखा झलारीले कम्बल उपलब्ध गराएको छ भने झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले राहत सामग्री वितरण गरेको छ । शिविरमा बसोबास गर्दै आएका बासिन्दाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन् । “नदी छेउको शिविरमा जुनसुकैबेला अझै पनि विपद् आउनसक्ने भएकाले सुरक्षित स्थानमा बसोबासका लागि धेरै पहिलेदेखि माग गर्दै आएका हौँ”, मानध्वज लुहारले भन्नुभयो, “कसैले सुनेनन् अव त्यो शिविरमा फर्केर जाने मन छैन, निकै डर लाग्न थालेको छ, यस पटकको विपद्बाट मोबाइलमा आएको सन्देशले बचायो । अर्कै पटक विपद् आए के हुने हो थाहा छैन ।”
बाँके : समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो । यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताउनुभयो । यस वर्ष समयमै पानी नपरेका कारण ढिलोगरी धान रोपाइँ भएको थियो । खेतीका बेला मल नपाएउँदा खेती लाउन नपाइएको उहाँको भनाइ छ । बाँकेको नरैनापुर गाउँपालिकामा पानी नपर्दा यस वर्ष १५ प्रतिशत मात्र धान रोपाइँ भएको स्थानीयले बताएका छन् । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीका भरमा धानखेती गर्दै आएका नरैनापुरका किसानले यो वर्ष रोपाइँ गर्न नपाएको सोहनलाल यादवले बताउनुभयो । पर्याप्त सिँचाइको व्यवस्था नभएकाले किसानले नरैनापुरमा धान रोपाइँ गर्न पाएका छैनन् । वैकल्पिक उपायमार्फत लगाएको धानबालीसमेत नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताउनुभयो । बाँकेमा खडेरीका कारण यो वर्ष धानखेतीयोग्य १० प्रतिशत जमिन बाँझै रहेकाले अघिल्लो वर्षको तुलनमा उत्पादन कम हुने अनुमान गरिएको उहाँले बताउनुभयो । बाँकेमा अन्य स्थानीय तहमा धेरै समस्या नभए पनि नरैनापुरमा खडेरीका कारण यो वर्ष धानखेती गर्न सकिएको छैन । पानीको अभावमा समस्या भएपछि नरैनापुरलाई गाउँपालिकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । नरैनापुरमा धानखेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर छ । जिल्लाका अन्य क्षेत्रमा ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।