पूर्वी नवलपरासी: पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी कांग्रेस नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दावी गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि विजय भएपछि कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले यो पटक प्रधानमन्त्रीको दावी गर्ने धेरै देखिएको र आफ्नो पनि दाबी रहने सुनाए । ‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ’ उनले भने ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ ।’ युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको पनि उनले बताए । ‘देशभर यस पटकको निर्वाचनले युवाहरुलाई अघि बढाऊ भन्ने सन्देश दिएको छ’ उनले भने ‘त्यसलाई आत्मासाथ गर्नपर्ने अवस्था राम्ररी बुझेको छु ।’ जिल्लामा राष्ट्रिय लेबलको ट्रमा सेन्टर र अन्तराष्ट्रिय खेलमैदान बनाई छाड्ने उनले दावी गरे ।
सप्तरी: सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गरेका हुन् । यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाए । यादव चौथो प्रयासमा जनताबाट अनुमोदित भएका हुन् । उनी २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै आएका थिए । तर उनले दोस्रो स्थानमा चित्त बुझाउँदै आउनु परेको थियो ।
धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर १बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए । २०७४ सालमा टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीले भूमिगत अवस्थामै ३४ हजार बढी मतले यो क्षेत्रबाट जितेका थिए । कारागारमै रहेका बेला चौधरीले केही महिना अघि मात्र श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी खोलेका थिए । ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि चौधरीको पार्टीले क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको थियो । कैलाली प्रदेशसभा (क) मा उन्मुक्ति पार्टीकै कैलाश चौधरी र प्रदेशसभा (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका हुन् । प्रदेशसभा (१) मा १५ हजार १०१ मतसहित कैलाश चौधरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका दीर्घराज विनाडी १० हजार ३७७ मत ल्याए । यस्तै प्रदेशसभा (२) मा ११ हजार ३१७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा।रणबहादुर रावलले ८ हजार ५३ मत पाए भने नेकपा एमालेका द्धारिका न्यौपानेले ५ हजार ३२० मत मात्र ल्याए ।
काठमाडौं: झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो । २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए । लिङ्देनले ४४ हजार ६१४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा चाहिँ सिटौलाले लिङ्देनलाई हराएका थिए । लिङ्देनले २०३६ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । तत्कालीन समयमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भई राजनीति सुरु गरेका थिए । ०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठन गरेर त्यसको संस्थापक अध्यक्ष बने । उनको राप्रपाको राजनीति भने ०५१ सालको महाधिवेशन प्रतिनिधिबाट सुरु भएको थियो । पञ्चायत कालमै उनी गोलधाप गाउँपालिकामा वडाध्यक्ष बनेका थिए । २०६१ देखि ०६३ सम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए उनले कमल थापाले राप्रपा विभाजन गरेर राप्रपा नेपाल गठन गर्दा थापालाई साथ दिएका थिए । उनी ०७१ सालमा तत्कालीन राप्रपा नेपालको महामन्त्री बने । ०७८ को मंसिरमा राप्रपा अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापालाई पराजित गरेर अध्यक्ष चुनिए । लिङ्देनले एक हजार ८४४ मत ल्याई अध्यक्षमा निर्वाचित हुँदा थापाले एक हजार ६१७ प्राप्त गरेका थिए । राप्रपामा नेतृत्व रुपान्तरणको नारा लिएर उनले अध्यक्ष पद जितेका थिए । झापामा आफ्नो चुनाव क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका लिङ्देनले शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने मुद्धा उठाइरहेका हुन्छन् । झापामा दर्जनौं पुल र सडक निर्माण गरेको उनी दाबी गर्छन् । जंगली हात्ती नियन्त्रणमा ‘लिङ्देन मोडल’ भनी उनले प्रचार गर्दै आइरहेका छन् । उनले सौर्य उर्जाबाट हात्तीलाई करेन्ट लगाएर भगाउने उपाय निकालेका थिए ।
काठमाडौं: चितवन क्षेत्र नंं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ढकाल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केहिवेरमा मत परिणाम सार्वजनिक गर्ने तयारी छ । ढकालले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेल र एमाले नेता सुरेन्द्र पाण्डेलाई हराएका हुन् । चितवन क्षेत्र नं. २ बाट पनि हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।
काठमाडौं: सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.५६ अंक (०.६० प्रतिशत) ले बढेर १९३३.५५ अंकमा बन्द भएको छ । बिहीबार निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि भएका छन् । निर्जीवन बीमा उपसूचक भने ०.०४ प्रतिशतको सामान्य गिरावट भएको छ । बजार परिसूचकमा सुधार भएपनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन । बिहीबार बजारमा कुल २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ । जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक ७ करोड ६२ लाख ४८ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख ४१ हजार र एनआईसी एशिया बैंकको २ करोड ९३ लाख ७ हजारको कारोबार भएको छ । बिहीबार बजारमा कुल १९० कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४९ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १७ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सवार्धिक ६.८३ प्रतिशतले वृद्धि हुँदा आरएमडीसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.८९ तथा साना किसान लघुवित्तको सेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । यता किसान लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य २।०८ प्रतिशत तथा समता घरेलु लघुवित्तको सेयर मूल्य १।९७ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं: चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् । चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन् । लामिछानेले अहिले कुनै विजय र्याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्याली गरिने जानकारी दिएका छन् । धन्यवाद र्यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन् । उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् । ‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला,’ लामिछानेले लेखेका छन्, ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्राय: विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’ उनले छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको समेत उल्लेख गरेका छन् ।
काठमाडौं: ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी छिन् । ‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’ उनले मतदाता र समर्थकमाझ भनेकी छिन् । उनले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बताइन् । ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन,’ उनले भनिन् । जनताको आशा, विश्वास र भरोसालाई ५ वर्ष सदनमा पेश गर्ने उनको प्रतिवद्धता छ । ‘जनताका मुद्दामा म सधैं साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ,’ उनले भनिन्, ‘मलाई निरन्तर खबरदारी गरिदिनुहोला ।’ संसदमा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उनको भनाइ छ । ‘संसदमा सांसदले जनता र जनमुद्दाको पक्षमा कसरी उभिने भनेर देखाउने छ। यसमा तपाईको साथ चाहिन्छ ।’ उनले भनिन् ।
रौतहट: रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

