पोखरा: इ.अ.स पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखरामा शनिबार पूर्वविद्यार्थीसँग पुर्नमिलन कार्यक्रम (२०७९) सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनद्धारा स्थापनाकालदेखि अहिलेसम्म क्याम्पसमा अध्ययन गरेका सम्पूर्ण विद्यार्थीहरूसँग पुनर्मिलन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा पूर्वविद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस तदर्थ समितिका सचिव उमेश रुपाखेतीले पूर्वविद्यार्थी मञ्चका लागि विधान तयार गरी जिल्ला प्रशासनमा ‘पूर्व विद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस’ दर्ता प्रक्रियालाई अघि बढाएकोमा आफूहरू हर्षित रहेको जानकारी गराउनु भएको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख ई. सुरेश तिमिल्सिनाले क्याम्पसका गतिविधिहरू र भावी कार्ययोजनाका बारेमा गहन प्रस्तुति दिनुका साथै देशका विभिन्न क्षेत्रका नीति निर्माता, सफल व्यवसायी तथा प्राविधिकका रूपमा रहेका पूर्वविद्यार्थीहरू क्याम्पसलाई गतिशील गराउने गौरवका आधार भएको वताउनु भयो । क्याम्पसका पूर्वविद्यार्थी उर्जा सचिव श्री रामकुमार श्रेष्ठ र ई. दामोदर तिवारीको पहलमा क्याम्पसको नवनिर्मित भवनमा २० किलोवाटको सोलार उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकारको सहयोग प्राप्त भएको, त्यसैगरी पूर्वविद्यार्थी ई.राम पराजुली, ई. सोभियत खड्काको पहल तथा पूर्वविद्यार्थी निवर्तमान भौतिक योजना तथा सहरी विकास पुर्वाधारमन्त्री कुमार खड्काको सहयोगमा क्याम्पसको सिभिल एकेडेमिक ब्लकको मल्टिमिडिया हल निर्माण कार्य भइरहेको तथा पूर्वविद्यार्थीहरू ई.धुब्र भट्टराई र ई.नविन गौतमको पहलमा क्याम्पस परिसरभित्र ओपन जिम निर्माण कार्य पोखरा महानगरपालिकाको सहयोगमा सम्पन्न भएकाले सम्बद्ध सबैप्रति क्याम्पस परिवार आभारी रहेको वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान माननीय मन्त्री कुमार खड्काले यस क्याम्पसमा आफूले अध्ययन गर्दाको समयभन्दा अहिले क्याम्पस स्तरोन्नति भई नयाँ नयाँ कार्यक्रमहरू थपिएकाले आवश्यकताहरू पनि बढ्दै गईरहेको वताउनुभयो । त्यसैले गर्दा पनि क्याम्पसमा अध्ययन सम्पन्न गरेर कार्यक्षेत्रमा लागेका विद्यार्थीहरू आफैले मनन् गरी क्याम्पसलाई आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मलप्रसाद बरालले क्याम्पसका लागि अत्यावश्यक भौतिक पूर्वाधारको विकासमा पूर्वविद्यार्थीहरूको अविस्मरणीय योगदान रहँदै आएको र आगामी दिनहरूमा पनि साथ सहयोग आवश्यक रहने वताउँदै उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । क्याम्पस प्रमुख बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलेक्ट्रोनिक्स तथा कम्प्युटर विभागका उपप्राध्यापक होमनाथ तिवारीले स्वागत् मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्याम्पसका पुर्वविद्यार्थी तथा सिभिल विभागमा कार्यरत उपपा्रध्यापक नारायणप्रसाद दवाडीले गर्नुभएको थियो ।
बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् । रामेछाप निर्वाचन क्षेत्र नं १ (१)बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ वर्षीय युवराज चौलागाईं, सिन्धुली १ (१) बाट ४७ वर्षीय मातृकाप्रसाद भट्टराई, सिन्धुली २ (२) बाट ५२ वर्षीय गङ्गानारायण श्रेष्ठ, रसुवा १ (२) बाट ५१ वर्षीय इन्द्रप्रसाद गोतामे, नुवाकोट १ (१)बाट ३९ वर्षीय राधिका तामाङ र नुवाकोट २ (१) बाट ७२ वर्षीय रामप्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ । काभ्रेपलाञ्चोक १ (१) बाट ४१ वर्षीय रत्नप्रसाद ढकाल, सिन्धुपाल्चोक १ (२) बाट ४१ वर्षीय सरल सहयात्री पौडेल, सिन्धुपाल्चोक २ (१) बाट ३९ वर्षीय युवराज दुलाल, मकवानपुर २ (१) बाट ४२ वर्षीय कुमारी मुक्तान, मकवानपुर १ (१) बाट ४९ वर्षीय प्रेमबहादुर पुलामी, चितवन (२) बाट ६७ वर्षीय ठाकुरप्रसाद ढकाल, धादिङ १ (२) बाट ५१ वर्षीय शालिकराम जम्मकट्टेल विजयी हुनुभएको छ । जम्मकट्टेल हाल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना र ढकाल युवा तथा खेलकूदमन्त्री र तामाङ बागमती प्रदेशको उपसभामुख हुनुहुन्छ । दुलाल यसअघि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । सरल सहयात्री माओवादीको बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ । माओवादीबाट बागमती प्रदेशसभामा उम्मेदवार बनेका चार नेता पराजित भएका छन् । धादिङ क्षेत्र नं १ (१) बाट जगतबहादुर सिङ्खडा, चितवन २ (१) बाट घनश्याम दाहाल, ललितपुर १ (१) बाट हरि दाहाल र लतिलपुर ३ (१) बाट राजकाजी महर्जन पराजित हुनुभएको हो । बागमती प्रदेशसभाको प्रत्यक्षतर्फ माओवादीले १८ उम्मेदवार उठाएको थियो । यस प्रदेशसभाको कुल ६६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ६४ स्थानको नतिजा आइसके पनि दोलखाका दुई प्रदेशसभा सदस्यको मतगणना हुन सकेको छैन । बागमतीमा कांग्रेसका २४, एमालेका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का पाँच तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका एक÷एक उम्मेदवार निर्वाचित भएका छन् ।
काठमाडौँ: अमेरिकी फोटोग्राफर भनिएकी कित्तिया पाव्लोभ्स्कीले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको दाबी गरिएका भाइरल तस्बिरहरू अमेरिकी दूतावासले आफ्नो सामाजिक सञ्जालबाट हटाउने भएको छ । अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर भन्दै केही समयअघि दूतावासले उक्त फोटोहरू आफ्नो फेसबुक र इन्स्टाग्राम पेजबाट सेयर गरेको थियो जुन त्यतिबेला निकै चर्चित पनि भएको थियो । अहिले आएर फ्रान्सेली अल्पाइन म्यागाजिनका विज्ञहरूले सो तस्बिर सम्पादित र विभिन्न तस्बिरहरूको मोन्टाज भएको भन्ने प्रमाण प्रस्तुत गरेपछि कित्तिया सामाजिक सञ्जालहरूबाट गायब भएकी छिन् । तर उनको वेबसाइटमा अझै पनि उनको यात्रा विवरण र तस्बिरहरू यथावत छन्, जहाँ उनले आफूले अमेरिकी दूतावाससँग काम गरेको दाबी पनि गरेकी छन् । हामी केही समयअघि हामीले सेयर गरेका तस्बिरहरू हटाउँदैछौं,ु पोस्टमा भनिएको छ,‘उनले दाबी गरेजस्तो हाम्रो उनीसँग कुनै साझेदारी छैन ।’ तथ्यजाँच लेखको बारेमा आफूले थाहा पाएको र फोटोग्राफरले आफ्नो सामाजिक सञ्जालहरू बन्द गरेपनि वेबसाइट अझै सञ्चालनमा रहेको पनि दूतावासले आफ्नो पोस्टमार्फत जानकारी गराएको छ । सामाजिक सञ्जालमा सेयर भएका पोस्टहरू नहटाउने र हटाउनुपर्ने भएमा जानकारी दिएर हटाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ। यो सबै विवादका बीचमा फोटोग्राफर भनिएकी कित्तियाको तर्फबाट यो समाचार लेख्दासम्म केही औपचारिक प्रतिक्रिया आएको छैन । ती तस्बिरहरू वास्तविक नभएको बाहिर आएपछि सामाजिक सञ्जालमा अमेरिकी दूतावासलाई मेन्सन गरेर प्रश्न सोध्ने र हाँसिमजाक गर्ने क्रम भने जारी रहेको छ ।
मलेखु: अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४ सल्यानकोटबाट त्रिपुरा सुन्दरी भगवतीको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिकाकै वडा नं ६ हाँसेबजारस्थित माइथानबेंसी सारिदाको यसरि तामझामसित सारिन्छ । भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो । अझ रोचक त के छ भने बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पनि नपाइने परम्परा छ । भगवती माइको दर्शनका लागि बाटो कुरेर बस्नुभएका स्थानीय कृष्णबहादुर थापाले भन्नुभयो, “पहिलेदेखिकै परम्परा यही हो । भगवानलाई छुन हेर्न पाइँदैन, बाहिरबाटै दर्शन गर्ने फूल अक्षेता चडाउने हो ।” देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो ढुकेर बसेका थिए । मुर्ति देख्न र छुन नपाएपनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गरिरहेका थिए । वडा दसैँको चतुर्थीको दिनपूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाँघी घर आगिञ्चोक हाँसे बजार मन्दिरमा सारिएको हो । रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरा सुन्दरी भगवतीमाइको मूर्तिलाई पिँठ्युमा बोकेका थिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिनाबाहेक अरु कसैले हेर्न र छुन नपाउने परम्परा छ । यी तीन जातीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम छ । यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूल अक्षेताले पूजा गर्ने स्थानीय अगुवा कृष्णकुमार श्रेष्ठले बताउनुभयो । विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईंलाई तुलना गरिएको छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरका रुपमा प्रसिद्ध छ । स्थानीय पुजारी अर्जुन सापकोटाका अनुसार मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिञ्चोक गाविसस्थित बेंसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीका रुपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिने चलन छ । मङ्सिर महिनाको विशेष तिथि पारेर आइतबार गाउँको मन्दिरबाट बेंसीको मन्दिरमा भगवतीलाई ल्याइँदै गर्दा भक्तजनले बाटोमा नै भगवतीको दर्शन र पूजापाठ गरेका थिए । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । “प्रत्यक वर्ष मेला हेर्न आउँछौँ, तर छुन हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो, हामी यो परम्परा बदल्न सक्दैनौँ”, मेला हेर्न आउनुभएकी अप्सरा खड्काले भन्नुभयो । नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आशीर्वाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । तर भगवतीको माइतीका रुपमा परिचित माइथानबेंसीको मन्दिर राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाले प्रभावित बन्ने भएको छ । सरकारले व्यवस्थित ढङ्गबाट स्थानान्तरण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम धादिङबेंसीबाट ४० किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँलगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् । मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिँठ्युमा बोकेर करिब तीन घण्टाको पैदल दूरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माइथानबेंसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।
काठमाडौंँ: प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा(एमाले)ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ६९ हजार तीन सय ९६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख २८ हजार एक सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीले दुई लाख ८९ हजार आठ सय ६८, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख २४ हजार एक सय ७१ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले दुई लाख २३ हजार नौ सय ७९, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९८ हजार ३४, लोकतान्त्रिक समााजवादी पार्टीले एक लाख २० हजार आठ सय ४८, नेपाल मजदूर किसान पार्टीले ७० हजार २२, हाम्रो नेपाली पार्टीले ४७ हजार नौ सय ७१, राष्ट्रिय जनममोर्चाले ४३ हजार एक सय १६ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३ हजार ९८ मत प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार तीन सय ७४ मत प्राप्त गरेको छ
सुनसरी: सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो । लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा छ सय छ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राख्नुभएको छ । उहाँले आयोगकै मिलेमतोमा मत हिनामिना भएको सूचना आफूले पाएको बताउनुभयो । आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनःमतगणना गर्नुपर्ने माग दोहोर्याएपछि अहिलेसम्म गणना स्थगित छ । उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाउनुभएको छ । कार्की कुसियतभन्दा ९८ मत अगाडि हुनुहुन्छ । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ ।
बागलुङ: बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् । औँसा किराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्न लागेका हुन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका कृषक फल झरेपछि मर्कामा परेका छन् । बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर भुइँमा झरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोपबहादुर खड्काले बताउनुभयो । “बर्सेनि समस्या बढ्दै आएको छ र्आँसा किराका कारण सुन्तला उत्पादनमा केही कमी आउने देखिएको छ”, उहाँले भन्नुभयो, “झरेका सुन्तलाको सही व्यवस्थापन गर्न नसक्दा बर्सेनि यस्तो समस्या आइरहेको छ ।” सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा किराको प्रकोट देखिएपछि कृषि ज्ञानकेन्द्रले कृषकको बगैँचामा पुगेर त्यसको अध्ययन तथा रोकथाम र व्यवस्थापनबारे सचेत गराएको केन्द्र प्रमुख भट्टराईले बताउनुभयो । औँसाको जीवनचक्र अध्ययन गर्न ज्ञानकेन्द्रले प्लाष्टिकको बोतलमा माटो हालेर त्यसमा औँसा राखेको छ । माटोमा राखेको छ दिनमा प्युपाबाट लार्भा भएको र कुन समयमा विषादी प्रयोग गर्दा औँसा बढीभन्दा बढी मार्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाभर समस्याकै रुपमा सुन्तलाखेतीमा फैलिएको औँसाको नियन्त्रणका लागि एक÷दुई जना कृषकले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या देखिएको अभियानकैरुपमासञ्चालन गर्नुपर्नेमा कृषकहरुले जोड दिए । सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमो यो रोगको सङ्क्रमण फैलिएको छ । बोटबाट रोग सङ्क्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थितरूपले व्यवस्थापन गर्न आवश्यक रहेको कार्यालय प्रमुख भट्टराईको भनाइ थियो । झरेका दानामा भएका औँसालाई माटोमा हुर्कंन नदिन दाना टिपेर प्लाष्टिकको झोलामा पोको पारेर राख्नुपर्ने हुन्छ । बागलुङको सिगाना, तित्याङ, बिहुँ, भकुण्डे र सर्कुवालगायत स्थानमा सुन्तला बढी उत्पादन हुन्छ ।
डोल्पा: डोल्पा अस्पतालमा जटिल खालको शल्यक्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा सदरमुकाममा दुई वर्षदेखि मजदूरी गर्दै आउनुभएकी कमला विकको सफल शल्यक्रिया गरिएको हो । पाठेघरको नलीमा बच्चा बसी,नली फुटेर पेटभित्र रगत जमेपछि उक्त समस्याको लागि डोल्पामै पहिलो पटक शल्यक्रिया गरिएको डा अखण्ड उपाध्ययले बताउनुभयो । यस्तो खालको शल्यक्रिया तत्काल नगरे आमाको ज्यान जोखिममापर्ने सम्भावना बढी हुने डा उपाध्ययको भनाइ छ । ‘एक्सप्लोरेट्रि ल्याप्सटोमि’ को शल्यक्रिया डोल्पामा पहिलो पटक भएको उहाँको भनाइ छ । डाक्टर उपाध्ययले भन्नुभयो, “पेट खोलेर पाठेघर भन्दा बाहिर पाठेघरको नली फुटेको पत्ता लगाइ, त्यो फुटेको भाग मिलाएर पेटमा जम्मा भएको रगत सफा गर्ने कामलाई एक्सप्लोरेट्रि ल्यापारोटोमी भन्ने गरिन्छ ।” बिरामीलाई समयमा जिल्ला बाहिर सिफारिस गरेमा पनि तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याउन मुस्किल हुँदै आएको छ । जुफाल विमानस्थलमा जहाज नियमित नआउने भएकाले पनि बिरामीले भनेको समयमा उपचार पाउन पाउँदैनन् । रगतको अभावमा जिल्लास्थित सुरक्षाकर्मीको सहयोगमा रगत दिने काम हुँदै आएको डा उपाध्यायले जानकारी दिनुभयो ।
काठमाडौं: गत शुक्रबारदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् । भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा निर्देशित ‘थ्री कन्ट्रीः वन मदर’ र लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन हुँदैछन् । अङ्ग्रेजी भाषामा रहेको ‘थ्री कन्ट्रीः वन मदर’ नाटकलाई नीमा बल, क्याटी बेक र बेञ्जामिन रेक्सरोडले संयुक्तरुपमा लेख्नुभएको हो । यो प्रयोगात्मक र एकल नाटक हो । यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात् शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी नागरिकको इतिहास र संस्कृतिबारे बताउन खोजेको छ । नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो । कोन्द्रातोएभा क्रिस्टिनाद्वारा लिखित नाटक ‘द म्याजिक स्वान–गिज’लाई सुखोरुकोभा तातियानाले निर्देशन गर्नुभएको हो । नाटकमा सामाजिक दृष्टिकोणबाट एउटी युवतीको कथा उल्लेख छ । आफ्ना मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी छोरीले आफ्नो स्वतन्त्रताको यात्रामा सानो भाइलाईसमेत बिर्सिएको प्रसङ्ग नाटकमा छ । यस्तै, नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ । नाटकसँगै महोत्सवस्थलमा ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ । शनिबार भारतको कथावाचन शैलीको ‘देस्देमोना रुपकम’ र स्पेन÷इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेज क्राफ्ट’ मञ्चन भएको थियो । यही मङ्सिर १७ गतेसम्म चल्ने ‘निटफेस्ट २०२२’ मा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।

