पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।   यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएका प्रवक्ता कार्कीले बताउनुभयो । काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।   दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।  

पोखरा: गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ ।   दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।   कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यात्रुवहाक सवारी साधनहरुलाई टाईम कार्ड लागू गरिएको जानकारी दिनुभयो ।   “यहाँबाट छुट्ने र पोखराबाट धौलागिरी क्षेत्रमा भित्रने सवारी साधनले डिमुवा र पोखराको जौवारी चेक प्वाइन्टमा टाइमकार्ड देखाएर इन्ट्री गर्नुपर्नेछ,” उहाँले भन्नुभयो “तोकिएको समय भन्दा छिटो जाने आउने गरेमा र इन्ट्री नगरेमा जरिवाना हुन्छ ।”   प्रहरी सहायक निरीक्षक थापाका अनुसार ढिला कुदाउने हुदाँ ठुला बसका लागि भने टाइमकार्ड लागु गरिएको छैन् । डिमुवा–बेनी १ घण्टा ४० मिनेट, बागलुङ–डिमुवा ५५ मिनेट र कुश्मा–डिमुवा २५ मिनेट समय तोकिएको छ । ४५ किलोमिटर दुरीका डिमुवा–जौवारी खण्डका लागि एक घण्टा २० मिनेटको समय तोकिएको छ ।   प्रत्येक सवारी साधनका लागि टाईमकार्ड उपलब्ध गराइएको छ । चाडपर्वका समयमा तीव्र गतिमा सवारी साधन कुँदाउदा दुर्घटना हुने भएकाले न्युनीकरणका लागि टाइमकार्ड लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने भूपी–शेरचन राजमार्ग प्रयोग गरेर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा आवत जावत हुन्छ ।  

दशैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।   दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो ।   महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ ।   यसैगरी महानगरले हाल काठमाडौँसहित देशैभरिमा डेङ्गु रोग महामारीकै रुपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ । महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेङ्गुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो ।   यतिमात्र नभई दशैँ बिदा अवधिभरमा महानगर पालिकाले पाँच सय ५८ स्वयंसेवक खटाउने भएको छ । उनीहरुले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ ।

बडादशैँको आठाैँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो ।   महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ ।   केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।   नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।   दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभं्रस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ । आजै सो समुदायले घरघरमा दशैँको मासु भित्र्याएका छन् ।   समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

काठमाडौँ  :  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।   घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।   नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।   “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उहाँले भन्नुभयो ।   फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।   हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।   जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । हनुमानढोकामा यस वर्षको फूलपाती आइतबार अपराह्न भित्र्याइने कार्यक्रम रहेको छ । फूलपाती लिन शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । गोरखाबाट फूलपाती लिएर आजै धादिङको जीवनपुरतर्फ अर्को समूह आएको पनि उहाँले सुनाउनुभयो ।   आइतबार बिहान जीवनपुरबाट स्वयम्भू हुँदै राजधानीबाट गएको समूहले फूलपाती ल्याउने छ । त्यस क्रममा स्यवम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिका समावेश गरिने जनाइएको छ । स्वयम्भूबाट जमलको दसैँघरमा फूलपाती आइपुग्ने छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्र्याइने कार्यक्रम रहेको हेरचाह अड्डाले जनाएको छ ।   आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।   फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । यस अवसरमा चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्परा पनि छ । पछिल्लो समय पिङ र चङ्गाको परम्परामा कमी आएकाले पनि दसैँको मौलिकता गुम्न थालेको बूढापाका बताउँछन् ।  –––

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।   डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मृत्यु हुनेमा खानीखोला गाउँपालिका–४ का २५ वर्षीय दिपेश जिम्बा रहेका छन् ।   जिम्बाको शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।   सो घटनामा परी घाइते भएका चार जनामध्ये दुई जनाको धुलिखेल अस्पताल धुलिखेलमा र दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।   घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचार भइरहेको एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँबाट दसैँको लागि खसीबोका बेच्न ल्याउने क्रममा गाडी दुर्घटनामा परेको बताउनुभयो ।

गलकोट  ः आधुनिक बसपार्कको छाना हावाले उप्काएको छ भने यात्रु प्रतिक्षालयको केही भाग भासिएर चर्किएको छ ।   बसपार्कको टर्मिनल भवनको बीच भागबाट पानी चुँहिएर अन्डरग्राउन पार्किङस्थलमा ताल परेको छ । बसपार्कको दायाँबाँया चर्किएको भाग सिमेन्टले पोतिएको छ । उक्त दृश्य कुनै जीर्ण बसपार्कको नभएर निर्माण सम्पन्न भएर सञ्चालनमा आइनसेको आधुनिक बागलुङ बसपार्कको हो ।    रु नौ करोड लागतमा निर्माण सम्पन्न गरिएको बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको छ । निर्माण व्यवसायीको लापारबाहीका कारण सञ्चालनमा नआउँदै बसपार्क मर्मत गर्नुपर्ने अवस्था आइपुगेको छ ।    आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको एक वर्ष मात्रै बित्यो । बसपार्क सञ्चालनमा नआउँदै मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेको बागलुङ नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीले बसपार्क निर्माण सम्पन्न गरे पनि बसपार्क हस्तान्तरण भने भएको छैन तर बसपार्कको संरचना भने बिग्रिएको छ ।    बसपार्कको टर्मिनल भवनको बीच भागबाट अन्डरग्राउन पार्किङस्थलमा पानी जमेको छ भने केही भाग प्लास्टरसमेत उप्किएको पाइएपछि नगरपालिकाले निर्माण व्यवसायीलाई पत्र नै काटेर मर्मत गर्न लगाएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    “बसपार्क हस्तान्तरण त भएको छैन, तर निर्माण भइसकेका संरचना कतै चर्किएको त कतै उप्किएको प्राविधिकबाट जानकारी आएपछि निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मत गर्न भनेका छौँ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले निर्माण कम्पनीले बसपार्क मर्मत गरिरहेको छ, तर निर्माण भइसकेको संरचना कसरी बिग्रन पुग्यो, त्यो नगरपालिकाका प्राविधिकले अध्ययन गरिरहेका छन्, पूरै मर्मत नभए अन्तिम भुक्तानी रोक्छौँ ।”    बागलुङ-४ स्थित दाबगरामा स्थानीयवासीले निःशुल्क दिएको जग्गामा बसपार्क निर्माण भए पनि गुणस्तरमा भने प्रश्न चिन्ह उठेको छ । बागलुङ बजारमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पूरा भए पनि बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको हो ।    बसपार्कको यात्रु प्रतिक्षालयको जस्ता हावाले उडाएपछि बसपार्क टिकाउ नहुने स्थानीयवासीको आशङ्का छ । अहिले बसपार्कको बिग्रको भाग मर्मत निर्माण कम्पनीबाटै भइरहेको नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले जानकारी दिनुभयो ।    “स्टमेट अनुसार निर्माण सम्पन्न भइसकेको संरचनामा क्षति पुगेको देखियो, तत्कालै निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मतमा खटाएका छौं , बसपार्क पूरै मर्मत नभएसम्म बाँकी रहेको रकम भुक्तानी रोकिनेछ”, गिरीले भन्नुभयो, “हस्तान्तरण नहुँदै बसपार्क मर्मत गर्न थालिनु दुःखद् विषय हो, हस्तान्तरणको एक वर्ष समेत निर्माण व्यवसायीले बिग्रे वा भत्केमा मर्मत गर्नुपर्दछ ।”         निर्माण व्यवसायीले अन्तिम किस्ता रु ३८ लाख रकम भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । 

पोखरा :  संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा पोखराको बन्जी नेपाललाई सम्मन गरेको छ ।    मन्त्रालयका सचिव सुरेश अधिकारीले  काठमाडौंमा आयोजित एक कार्यक्रममा बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए ।  नेपालको साहसिक खेल पर्यटनमा उल्लेखनिय योगदान पु¥याएको भन्दै बन्जी नेपाललाई सम्मान गरेको हो । गत सालबाट सन्चालनमा आएको बहुराष्ट्रिय कम्पनीबाट फ्रेन्चाइज लिएको बन्जी नेपालले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । पोखरा महानगरपालिका–१७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा)मा बन्जी नेपाल सञ्चालित छ ।   बन्जी नेपालका अध्यक्ष भट्टराई तनहुँको शुक्लागण्डकी–११ राइपुरमा जन्मिएका हुन् । मध्यम परिवारमा जन्मिएका उनी अन्तराष्ट्रिय जम्पमास्टर हुन् । उनले साहसिक खेल नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा बञ्जी सम्बन्धी निति नियम निर्माणमा समेत सरकारलाई सहयोग गरेका उनी मकाउ, इन्डोनेसीया, जापान, रसिया लगायतका देशमा एक दशक बढि साहसिक खेलमा अनुभवी बटुलेका छन् । सोहि अनुभव नेपालमा उपयोग गरेका हुन् ।   सम्मानले थप राम्रो काम गर्न हौसला मिलेको बन्जी नेपालका अध्यक्ष भट्टराईले बताए । पर्यटकीय, धार्मिक र ऐतिहासिक रुपमा प्रशस्त सम्भावना रहेको शुक्लागण्डकीमा समेत साहसिक खेल भित्र्यान स्थानीय सरकारले चासो र पहल गर्नुपर्नेमा उनले जोड दिए ।

  बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।    राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैं अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ ।       सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन् । अम्कोटमा अवरुद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन् । सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन् । दसैं तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ ।   चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन् । स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो । उहाँले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताउनुभयो । “वैकल्पिक सडक बनाउन जग्गा दियौँ, काम नगरेपछि हाम्रो के लाग्यो”, जैशीले गुनासो गर्नुभयो ।    सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताउनुभयो । वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उहाँको भनाइ छ । सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ ।    प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताउनुभयो । विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो । हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताउनुभयो ।     सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ । बूढीगङ्गा नगरपालिकाको अम्कोटस्थित सडक पहिराको उच्च जोखिममा छ । अम्कोटमा २०७७ भदौमा  सडक भासिँदा एक जनाको मृत्यु भएको थियो ।   चार वर्षदेखि साँफे–मार्तडी सडक अवरुद्ध हुँदै आएको छ । सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले बताउनुभयो । अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ । बर्सातमा पूर्णरुपमा बन्द हुने उक्त ठाउँमा  वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ ।