तिहारलाई भित्रिए मुस्ताङ्गी च्याङ्ग्रा
बाग्लुङ | कात्तिक ८, २०७९

बागलुङ । बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याउनुभएको छ ।
दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याउनुभएको हो । दसैँमा ६७ वटा च्याङ्ग्रा बागलुङ ल्याएर बिक्री गरेको बताउँदै शर्माले तिहारका लागि ५१ च्याङ्ग्रा÷च्याङ्ग्री बागलुङ भित्र्याएको बताउनुभयो ।
“दसैँमा च्याङ्ग्राको व्यापार राम्रै भयो, त्यसबेला रोज्जा च्याङ्ग्रा थिए, अहिलेका अलि साना र कम मूल्यका छन्”, शर्माले भन्नुभयो, “बाटोमा चराउँदै र बिक्री गर्दै ल्याउँदा सहज हुन्छ, आठ दिनको हिँडाइपछि बागलुङ आएको छु, अहिले रोज्जा च्याङ्ग्राको मूल्य रु ३५ हजार छ, दसैँमा ठूला च्याङ्ग्रालाई रु ४५ हजारसम्म बिक्री गरियो ।”
उहाँले बागलुङ बजारमा च्याङ्ग्राको माग उच्च रहेको बताउनुभयो । तिहारअघिसम्म च्याङ्ग्रा बिक्री गरिसक्ने उहाँको लक्ष्य छ । उहाँले ल्याएका ५१ वटा च्याङ्ग्रा÷च्याङ्ग्रीमध्ये २० वटा बिक्री भइसकेको बताउनुभयो । च्याङ्ग्राको मूल्य रु ३५ हजार र च्याङ्ग्रीको मूल्य रु २७ हजार रहेको शर्माको भनाइ छ ।
मुस्ताङका च्याङ्ग्राको माग दसैँमा उच्च भए पनि तिहारमा समेत यसको बिक्री राम्रो हुने भएकाले आफूले मुस्ताङ पुगेरै च्याङ्ग्रा खरिद गरेर ल्याएको शर्माको भनाइ छ । सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण व्यापार नाका नखुल्दा यस पटकको दसैँ तिहारमा मुस्ताङमा मात्रै उत्पादन भएको च्याङ्ग्राको आयात भएको थियो । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा मूल्यमा भने भारी वृद्धि भएको चयाङ्ग्रा व्यापारीले बताएका छन् ।
हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा च्याङ्ग्रा खोज्ने गर्छन् । मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी र बागलुङको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको पनि माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष १२ हजारदेखि १५ हजारसम्म मुस्ताङका च्याङ्ग्रा निकासी भएको अनुमान छ । तिहारमा मासुसँगै अन्य रोटीका परिकारसमेत खाने चलन छ ।
काठमाडौं: सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार (जेठ ३) बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरम...
काठमाडौंः प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ । पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको ...
काठमाडौंः नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो। यो नतिजापछि ने...